Saturday, April 27, 2024

-->

एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी

स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले एक अन्तर्वार्तामा भनेका थिए– ‘मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भन्दैछन्। योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ म देखाउँछु।’ उनले एनिमल बनाएर देखाइदिएका छन्।

एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी 

काठमाडौँ– बलिउड सिनेमा बजारको बक्स अफिसमा आँधीबेहेरी ल्याइरहेको ‘एनिमल’ लाई ‘अफ द एनिमल, बाइ द एनिमल, फर द एनिमल (जनावरको, जनावरबाट र जनावरकै लागि)’ भन्दै व्यंग्यात्मक तवरबाट आलोचना भइराखेको छ। यस्ता आलोचनाका बावजुद एनिमल बलिउड सिनेमा व्यापारमा नयाँ मानक खडा गर्ने दिशाउन्मुख छ।

सिनेमा व्यापार विश्लेषक सुमित कँडेलका अनुसार एनिमलले रिलिजको १० दिनमा सात सय करोड भारुको आँकडा पार गरिसकेको छ। भारतकै दर्शकहरू दुई समूहमा विभाजित छन्। एकातिर अति हिंसा तथा स्त्रीद्वेषी भनेर आलोचना गर्नेहरू छन् भने अर्कोतिर मनोरञ्जन तथा व्यापारमा सफल भएपछि अब्बल भइहाल्यो भन्नेहरू छन्।

नेपालमा पनि यसले एक सातामा सात करोड रुपैयाँ आम्दानी गरेको भनिएको छ। “युवा पुस्ताले रुचाउने लुक्सका साथै निर्देशकका यसअघिको अर्जुन रेड्डी, कबिर सिंह चलचित्र तथा स्टार कास्टको आधारमा पनि एनिमल दर्शकले रुचाउने अपेक्षा थियो,” नेपालका लागि एनिमलका वितरक मनोज राठी सुनाउँछन्, “अन्ततः चल्यो पनि।”

हुन पनि झट्ट हेर्दा युवा पुस्ताले रुचाएको लुक्समा युवा पुस्ताले भोगिरहेको ‘ड्याड–मम इस्युज’, प्रेममा ब्रेकअप, अल्फा मेल ट्याग (विषाक्त पुरुषत्व) लगायतका थिम ‘अर्जुन रेड्डी’, ‘कबिर सिंह’ हुँदै ‘एनिमल’सम्म आइपुग्दा निर्देशक सन्दीप रेड्डी वांगाको सिनेमामा पाइने समानान्तर विशेषता हुन्। चर्को आलोचनाले सिनेमाको व्यापारमा किञ्चित् कमी ल्याएको देखिँदैन। 

एनिमलको प्रशंसा गरी ट्विट गरेकी अभिनेत्री टिसा, दीपिका पादुकोण आदिलाई पनि आलोचकहरूले स्त्रीद्वेषी सिनेमाको पक्षमा उभिएको लाञ्छना लगाइरहेका छन्। “एनिमलको व्यापार एउटा बिन्दुमा पुगेर रोकिए पनि यसको बहस भई नै रहनेछ र यहाँ निर्देशक सफल भएका छन्,” निर्देशक रामगोपाल वर्माले लेखेका छन्।

सिनेमा समीक्षक प्रकाश सायमीका अनुसार एनिमलको आलोचनाभन्दा पनि विवाद भयो र विवादले सिनेमा झनै बिक्ने गर्छ। “दर्शक नकारात्मकता रुचाइरहेका छन्, फ्रस्टेसनका सिनेमामा दर्शकको रुचि छ,” उनी भन्छन्, “मलाई मेरो पितासँग समस्या छ भने म यस्ता चलचित्र हेरेर आनन्द लिन्छु अर्थात् सिनेमा बिग्रिएको होइन, यो समाज बिग्रिएको हो।” 

जोनार्स वर्थको भनाइ उद्धृत गर्दै सायमी भन्छन्, “संसारमा सबै कुरा यति छिटो परिवर्तन हुन्छ भनेर बाउवाला पुस्ताले बुझ्न सक्दैन भने छोरावाला पुस्तालाई संसार कति ढिला परिवर्तन भइरहेको भन्ने गुनासो हुन्छ। दुई पुस्ताबीचको यो लडाइँ यही सेरोफेरामा घुमिरहेको छ।

‘द गार्डियन’ मा प्रकाशित फुओङ लीको समीक्षामा सबैभन्दा खराब नायकको भूमिका खेलेका रणवीर कपुरको चलचित्र एनिमल प्रशंसित भइरहेको भनी हेडलाइन बनाइएको छ। चलचित्रले समीक्षकबाट एउटै मात्र स्टार पाएको छ।

नेपालमा एनिमल
सिनेमा हलबाट उत्रिएपछि मात्र बक्स अफिस कलेक्सनको वास्तविक विवरण आउने वितरकले बताइरहेकाले नेपालको यकिन तथ्यांक भन्न सकिँदैन। वितरक राठी न सिनेमाको वितरण अधिकारका लागि लगानी गरेको रकम भन्न चाहन्छन् न त हालसम्मको व्यापारको अंकबारे नै। “आदिपुरुष, टाइगर–३ फ्लप हुन पुगे,” राठी भन्छन्, “एनिमलको हकमा त्यो भएन, सिनेमा चल्यो।” 

आलोचनात्मक टिकाटिप्पणीका बावजुद दर्शक हलसम्म पुगे। बजारमा फिजिएको सात–आठ करोडको व्यापार भन्ने मनगढन्ते हल्ला मात्रै भएको उनले जिकिर गरे। कीर्तिपुर सिनेप्लेक्सका नरेन्द्र महर्जन सिनेमाले पहिलो साता ९५ देखि शतप्रतिशत नै हल अकुपेन्सी रहेको जानकारी दिए।

हल सञ्चालकहरूका अनुसार पहिलो हप्ता मज्जाले हाउसफुल गयो भने वितरकको लगानी सुरक्षित हुन्छ, दोस्रो हप्ताबाट नाफातर्फ जाने हो। एनिमल दोस्रो हप्तामा पनि करिब–करिब हाउसफुल नै गइरहेको छ। चलचित्र अझै दुई–तीन हप्तासम्म चल्न सक्ने उनको अनुमान छ।  

यता, क्युएफएक्स सिनेमाकी जनरल म्यानेजर तृप्ती गिरी शाहरूख खान रहेको राजकुमार हिरानी निर्देशित ‘डंकी’ (डिसेम्बर २१) र प्रभासको ‘सलार’ (डिसेम्बर २२) रिलिज नहुन्जेल एनिमलले शो पाइरहने सम्भावना छ। पहिलो साताको टिकट बुकिङ स्टक नै बाँकी रहेको कारण पनि चलचित्र दुई–तीन साता राम्रै चल्ने उनको अनुमान छ। 

‘सिनेमा होइन, समाज बिग्रिएको हो’
त्यसो त ‘एनिमल’अघि पनि डार्क र हिंसा थिमका चलचित्र नबनेका होइनन्। यस प्रकारका फिल्मका पारखी र दर्शक पनि छुट्टै छन्। अनुराग कश्यपको ‘ग्याङ्स अफ वाशेपुर पनि कम हिंसात्मक सिनेमा होइन। जबकि ‘कल्ट सिनेमा’ले एक दशकपछि पनि वाहवाही पाइरहेको छ। 

अनि एनिमलको किन यति धेरै आलोचना त? ग्याङ्ग्स अफ वाशेपुर भने सानो स्केल र सानो कास्ट हुँदा ध्यान नगएको हुनसक्ने सायमी बताउँछन्। फेरि त्यो सिनेमा हाल झारखण्डमा पर्ने वाशेपुरका सत्य घटनाहरूमा आधारित छ। 

स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले कबिर सिंहको सफलतापछि भारतीय चलचित्र समीक्षक÷लेखक अनुपमा चोपडासँग अन्तर्वार्तामा भनेका थिए, “मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भनिरहेका छन्। म योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ देखाउँछु।” उनले एनिमल बनाएर देखाइदिएका छन्। वर्माले निर्देशकको कलाकौशलको प्रशंसा गरेका छन्। बनिरहेको धारभन्दा नौलो शैलीको हिंसा प्रतित भएको उनको भनाइ थियो। वर्मा आफैँ पनि यस्ता प्रकारका चलचित्र बनाउनेमा पर्छन्

सन् १९६०–८० को दशकमा बलिउडले हिंसात्मक चलचित्र नबनाउने लहर चलेको सायमी सम्झन्छन्। पछि क्रमशः बलिउड त्यतै धकेलिएको हो। उदाहरणको लागि सिनेमा क्षेत्रमा आइकनिक मानिएको ‘गड फादर’ को प्रोजेक्सन देखिने उनी बताउँछन् जसलाई हलिउडले धेरै अघि छाडिसकेको छ। 

निर्देशक उज्ज्वल घिमिरे एनिमललाई ‘ओभररेटेड’ मान्छन्। रणवीर कपुरको पहिलो एक्सन सिनेमा भएर त्यसको लाभ पाएको उनी बताउँछन्। “यही रोलमा शाहरुख वा सलमान खान भएको भए यस्तो नतिजा आउँथेन,” उनी दाबी गर्छन्।  

‘बलिउडमा हिंसात्मक चित्रण लाउड छ’
समीक्षक सायमी एनिमल लगायतका बलिउड सिनेमाको समस्या ‘हिंसात्मक चित्रण लाउड’ भएको मान्छन्। बलिउडका मेकरले दर्शकलाई अबुझ ठान्दै दर्शकले यो दृश्य बुझ्दैनन् भनेर बुझाउन खोज्दा सिन लाउड हुन गएको हुनसक्ने उनको अनुमान छ। 

निर्देशक घिमिरे भन्छन्, “बदलाको भावमा बनेको यो चलचित्र एकदमै हिंसात्मक देखिएको छ। जबकि एक्सन खास राम्रो छैन। लामा सिन छन्, हात काटेको जस्ता दृश्य छन्। रगताम्य दृश्य यी हाम्रो दर्शकको लागि थिएन। मलाई त यो चलचित्र कसरी सेन्सर बोर्डबाट पास भयो भन्ने पनि लागिरहेको छ।” 

कुनै सिनेमाको जस्तो द्वन्द्वको दृश्य आँखैअगाडि देखियो भने के होला? कहिल्यै अनुमान गर्नुभएको छ? यसको उत्तर मार्टिन स्कोर्सेजीको ‘ग्याङ्स् अफ न्युयोर्क’ले दिन्छ। यसमा दुई भिन्न धार्मिक समूहको लडाइँ छ, हिंसात्मक। लडाइँको दृश्यले दर्शकको आँखालाई बिझाउँदैन। निर्देशक स्कोर्सेजीको जादु त्यही हो, हरेक विषयलाई कलात्मक र जीवन्त तरिकाले प्रस्तुत गर्नु। मार्टिन स्कोर्सेजी लगायतका हलिउड निर्देशकले हिंसात्मक सिनेमालाई पनि कलात्मक प्रस्तुति दिएका छन्।


सम्बन्धित सामग्री