Saturday, April 27, 2024

-->

झोँछेको सडकमा अफ्रिकाको सेटापा नाच : यस्तो छ प्रेम र कृषिसँग जोडिएको संस्कृति

दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको सेटापा नाच झोँछेको सडकमा देखाइँदा दर्शकले औधी रुचाए। यो नाच बाली संरक्षण र प्रेमको उत्सवसँग जोडिन्छ। बोत्स्वानाको एक समूह सेटापालाई विश्वभरि पुर्‍याइरहेको छ।

झोँछेको सडकमा अफ्रिकाको सेटापा नाच  यस्तो छ प्रेम र कृषिसँग जोडिएको संस्कृति

काठमाडौँ– “हामीले प्रस्तुत गरेको नाचलाई सेटापा भनिन्छ। यसको उत्पति दक्षिण अफ्रिका र बोत्स्वानाको बावाकेसी (बोत्स्वानाको दक्षिण पूर्वमा बस्ने) ट्राइबमा भएको हो। विशेषतः विवाह, पार्टीलगायत कार्यक्रममा प्रस्तुत गरिने सेटापा नाचले खुशी र उत्सवको अर्थ दिन्छ।”

वसन्तपुरनजिक झोँछेको ‘फ्रिक स्ट्रिट’मा फागुन २५ गते आफ्नो समूहले नाच देखाएपछि बोत्स्वानाका ओडेरीले राम्मोनीले उकालोसँग भने। उनी सेटापा नाच देखाउने समूहका ‘लिडर’ थिए। १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा आधा घण्टाको आफ्नो प्रस्तुतिपछि थकित देखिए पनि उनी कुराकानीका लागि उत्साही थिए।

पुरानोजस्तो देखिने झुत्रा र छोटा कपडा। अर्धनग्न शरीर। खुट्टा, कम्मर, छाती र टाउकोमा सजिएका पुरानो समयका जस्तो देखिने गरगहना। राम्मोनी र उनका साथीहरू कुनै जंगलमा बस्ने आदिवासीको झलक दिने पहिरनमा सजिएका थिए। उनीहरूको समूह ‘थेबे आर्ट्स ग्रुप’ नामबाट चिनिन्छ।

सेटापा नाचका क्रममा दर्शकले पनि उल्लास महसुस गरेका थिए। त्यही कारण हुनसक्छ ११ देशका सांस्कृतिक नाचमध्ये उनीहरूको समूहका लागि ‘वान्स मोर’ हुटिङ चलेको थियो। मेलामा बेलायत, पोल्यान्ड, अस्ट्रिया, दक्षिण अफ्रिकालगायत देशका नाच देखाइएको थियो। तर दर्शकले सेटापा नाच खुब मन पराए जसलाई दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको साझा संस्कृति मानिन्छ। यी दुई देशबीच कतिपय संस्कृति र परम्परा साझा भएको राम्मोनी बताउँछन्।

प्रेमको प्रकट र जनावरबाट जोगाउने नाच
सामान्य बुझाइमा सेटापा नाच खुट्टा बजार्दै र हातले ताली बजाउँदै नाचिन्छ। खुट्टामा लगाएको गहनाबाट निस्किएको धुन र हातको थपडीसँग शरीरलाई हावामा झुलाइने दृश्य दर्शकका लागि मनमोहक हुन्छ। “आदिवासीको नाच भएकै कारण हामीलाई नाच्दा कुनै खालको वजन महसुस गर्दैनौँ, शरीर हावामा तैरिरहेको जस्तो लाग्छ,” राम्मोनी भन्छन्, “यसको सटिक वर्णन गर्न मसँग शब्द छैन तर स्प्रिचुअल अथवा अन्य कुनै ऊर्जा महसुस हुन्छ जसले जहिल्यै नाच्दा पनि आनन्दित बनाउँछ।”

राम्मोनीका अनुसार बोत्स्वानामा ‘होसाना’ नाम गरेको अर्को आदिवासी समुदाय छ जो पहाडमा गएर नाच्छन् र वर्षाको आह्वान गर्छन्। उक्त नाचको जानकारी निश्चित आदिवासीलाई बाहेक कसैलाई हुँदैन। नाच झाँक्रीले मात्र गर्छन्। विधिविधानसहितको उक्त नाचमा हुने ऊर्जा कतिपयले हेर्न नसक्ने र बेहोस पनि हुनसक्ने राम्मोनी बताउँछन्। बोत्स्वानामा उक्त नाचपछि वर्षा हुने विश्वास छ। 

वर्षापछि उनीहरूले जमिन खनजोत गरेर बाली लगाउँछन्। बाली भित्र्याउने क्रममा अर्को नाच हुन्छ जसलाई ‘पाटिसी’ भनिन्छ। नयाँ बाली भित्र्याएपछि उक्त बालीबाट बन्ने पेय पदार्थ (वियर)सँगै उत्सव मनाइन्छ। सोही क्रममा सेटापा नाच नाचिने राम्मोनीले बताए। त्यस कारण सेटापा बाली भित्र्याएपछि मनाइने उत्सवको नाच हो। अचेल भने यो नाच विवाह, पार्टीलगायत कार्यक्रममा पनि देखाइन्छ। 

युनिभर्सिटी अफ बोत्स्वानाले सन् २०१२ मा गरेको ‘इन्टरनेशनल रिभ्यु अफ सोसल साइन्स एन्ड ह्युम्यानिटिज’मार्फत प्रकाशित गरेको अध्ययन पत्र ‘बावाकेसी अफ बोत्स्वाना सेटापा ट्रेडिसनल म्युजिक’ले सेटापा नाचलाई बोवाकेसीको पुर्ख्यौली नाच मानेको छ। यद्यपि यो नाच कति वर्ष पुरानो भनेर उल्लेख गरिएको छैन। 

खुट्टालाई ‘स्ट्याम्प’ गरिने (बजार्ने) नाच, ‘सेसेट्वाना’को अर्थ ‘गो ट्याप ट्याप’ हुन्छ। यसर्थ खुट्टाले जमिन वा कुनै सतहमा बजार्ने क्रियालाई सेटापा नाम दिइएको उक्त अध्ययनमा उल्लेख छ।

यो नाच कृषि पेशासँग प्रत्यक्ष जोडिन्छ। रातको समयमा स्याल, हाइनालगायत जनावर भगाउन राति ठूलो आगो बालेर यो नाच नाचिने अध्ययनमा उल्लेख छ। यस्ता जनावरले खेतमा लगाएका अन्नबाली खाइदिने, बिगार्ने कारण समूहमा नाचेर भगाइन्थ्यो। नाचको क्रममा कुनै पनि पुरुषले आफूलाई मन

पर्ने महिलासँग नाचमाफर्त भाव व्यक्त गर्छन्। त्यसैले यो प्रेम जनाउने नाच पनि हो।

पुस्तातन्तरण हुुँदै जाने क्रममा सेटापा नाच फरक स्थान र उत्सवमा पनि नाच्न थालियो। यद्यपि सेसुनी, गांगकेसी लगायत ग्रामीण भेगमा परम्परागत शैली कायम छ।

विभिन्न मञ्चमा प्रस्तुत हुने सेटापा समकालीन कोरियोग्राफीमा आधारित भएको राम्मोनी बताउँछन्। नाचको पुरातन शैलीसँगै सांस्कृतिक विविधतालाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। समसामयिक परिवर्तनलाई आत्मसाथ गर्दै नाचको शैलीमा विविधता ल्याउने प्रयास भएको उनले बताए। यो नाचको आधारभूत सिकाइका लागि एक वर्ष लाग्ने उनी बताउँछन्। राम्मोनी भन्छन्, “सेटापाको परम्परागत शैली निकै सुन्दर र उर्जामयी हुन्छ, जो कोही पनि आएर हामीसँग नाचमा सहभागी हुनसक्छन्।”

सेटापा नाच देखाउनका लागि नेपालमा पाँच जनाको समूह आएको छ। तर यो नाचमा २५ देखि ३५ जनासम्म हुन्छन्। ३५ जनाले समूहमा नाच्दा खुट्टा, हातको तालले नै उत्सवको माहोल सिर्जना गर्ने उनीहरूको अनुभव छ। यद्यपि सीमित संख्‍यामा देशबाहिर आउँदा समूहमा गरेको नाचको रेकर्ड गरी सोहीअनुसार मञ्चन गरिने राम्मोनीले बताए। यसका लागि सीडी, डीभीडी हुँदै विभिन्न प्राविधिको प्रयोग गरिन्छ।

राम्मोनी भन्छन्, “नयाँ पुस्तालाई नाचको मौलिकपन बचाइरहन परम्परागत शैलीको पनि अभ्यास भइरहेको छ। यो नाच हाम्रो प्यासन हो। हाम्रो रगतमा छ। हाम्रो पुर्खा, हाम्रो जरासँग हामीलाई सदैव जोडेर राख्छ।”

पूर्वग्रह मेटाउने प्रयास
उनको समूह सेटापा नाच लिएर बेलायत, ब्राजिल, बेल्जिम, चीन, स्पेन, अमेरिकालगायत धेरै देश गइसकेको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएका छन्। यद्यपि कहिलेकाहीँ उनीहरूले आफ्नो पहिरन र भूगोलका विषयमा पूर्वाग्रही विचारको पनि सामाना गर्नुपर्छ। कालो वर्ण, अर्धनग्न शरीरलाई असभ्यतासँग जोडेर हेर्न जमात पनि छन्। 

यस्ता विचारले कुनै पनि प्रभाव, चिन्ता अथवा लाज नलाग्ने राम्मोनी बताउँछन्। “कतिले हामीलाई बाबुन्स (मानिसजस्तै देखिने जंगली जनावर)सँग तुलना गर्छन्। कतिले हाम्रो बसाइ रूख तथा घाँसे मैदानमा बञ्जर सरह हुन्छ कि भनेर पनि सोध्छन्,” राम्मोनी भन्छन्, “यो कुराले खासै फरक पर्दैन। कतिलाई साँच्चै थाहा हुँदैन त कतिको पूर्वाग्रह पनि हुनसक्छ।”

आफ्नौ मौलिकतामा लाज नभई गर्व लाग्ने उनले बताए। आफूहरूले लगाउने पहिरन हिमयुगदेखिको भएको कारण युनेस्कोले ‘इनट्यान्जिबल हेरिटेज’मा समेत सूचीकृत गरेको उनले बताए।

मौलिक नाचमार्फत आफ्नो देशको कलाकृतिलाई प्रवर्द्धन गर्नु नै मुख्य ध्येय भएको उनले बताए। “हाम्रो जोड विदेशीलाई हाम्रो नाचमार्फत अफ्रिकासम्म डोर्‍याउनु हो। यसले पर्यटनमा टेवा मिल्छ।” 

उनीहरू शरीरमा लगाएको मौलिक र परम्परागत देखिने गहना तथा अन्य कलाकृतिको बजारीकरण पनि खोजिरहेका छन्।

आदिवासी नाचका परम्परागत गहना
सेटापामा प्रयोग हुने पहिरन तथा अलंकार अफ्रिकाकै अर्को आदिवासी ‘डिबुसम्यान’ले बनाउँछन्। प्रकृतिसँग नजिक रहेको यस आदिवासी समुदायले प्राकृतिक तथा परम्परागत सामाग्रीबाट ती गहना बनाउने गरेको राम्मोनी बताउँछन्।

“डिबुसम्यानले अझै पनि जीविनयापनको लागि जनावर मार्ने र खाने गर्छन्। प्रकृतिसँग नजिक भएको कारण जंगली फलफूल तथा शिकार गरेर खाएका जनावरको छाला, विभिन्न अंगको पहिरन बनाउँछन्। सोही पहिरन उनीहरूबाट हामीले किन्ने गछौँ,” उनले भने, “हामीले घाँटी पहिरिएको माला अष्ट्रिचको अण्डाको हो। अष्ट्रिचका पखेटा हामी साजसज्जामा प्रयोग गर्छौँ।”

विशेषतः पुरुषले जनावारका हड्डीबाट बनेका गहना लगाउँछन् जसलाई डुन्का भनिन्छ। खुट्टामा लगाउनेलाई माटिहोए र कम्मरको मेटेसिटो भनिन्छ। कम्मर, छाती, खुट्टामा लगाइने छोटा कपडा जरायो, खरायोलगायत जनावरको छालाबाट बनेका हुन्छन्। त्यस्तै, नाचमा केही सदस्यले छालाको ब्याग पनि बोकेका छन्।

पुरुष र महिला दुवैले पहिरन लगाउँदा आफ्नो भित्री वस्त्र कालो लगाउनु पर्छ, त्यसले गर्दा नाचका दर्शक आक्रामक नहुने उनीहरूको भनाइ छ। नाचमा सिठीको प्रयोग हुन्छ र पुरुषले बजाउँछन्। हात र खुट्टाको लय तथा सिटी एकअर्कासँग तालमेल हुनुपर्ने राम्मोनी बताउँछन्। खुट्टाको गहनाबाट निस्किने आवाजले लय र संगीत पैदा गर्छ।


सम्बन्धित सामग्री