Monday, April 29, 2024

-->

राष्ट्रसेवकहरूका लागि ‘एन्टिडोट’

सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थालेछन्।

राष्ट्रसेवकहरूका लागि ‘एन्टिडोट’

‘यो ‘महावीर पुन’ कक्षा ९ र १० लाई पढाउनु, म्याम। लाइफमा संघर्ष कसरी गर्ने भनेर सिकाउँछ र भिजन बनाउन निकै उपयोगी छ। यो किताब विद्यार्थीहरूकै लागि हो। किताब पढाएर पुनलाई निमन्त्रणा गरेर विज्ञानसम्बन्धी छलफल पनि गर्ने।’

आधा पुस्तक पढिसकेपछि काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलकी प्रधानाध्यापक सुनिता पौडेललाई लेखेको सन्देश हो यो। यति सन्देश लेख्न ‘महावीर पुन (सम्झना, सपना र अविरल यात्रा)’ले बाध्य पार्‍यो। उनले विभिन्न ठाउँ पुगेर बढ्दाताका बेहोरेका कष्ट अहिलेका विद्यार्थीलाई राम्रो पाठ भइहाल्छ। उनको जाँगर र कामप्रतिको निरन्तरता त झन् यो ‘ट्याब्लेट जेनेरेसन’ले सिक्नु पर्ने महत्त्वपूर्ण कुरा हो।

सामाजिक सञ्जालमा कहिले कोही–कोहीसँग गालीले मुख छोडिरहेका हुन्छन्। कहिले अनौठा त कहिले निराशाजनक अभिव्यक्ति दिइरहेका हुन्छन्। धेरैजसो ‘हाफ प्यान्ट’ लगाएर हिँडेको देखिन्छ। हिजोआज सडकमा नाच्दै आफ्नै विज्ञापन गर्दै पुस्तक बेचिरहेका छन्, यसकारण नै हो उनीबारे थप बुझ्ने खुल्दुली जागेको। 

‘विनोद चौधरी’, ‘न्याय’, ‘प्रयोगशाला’, ‘जासुसीको जालो’, ‘ओपन सेक्रेट’, ‘चक्रव्यूहमा चन्द्रसूर्य’जस्ता ‘प्रेसर’ बढाउने शीर्षकले कहिल्यै आकर्षित गरेन। यी पुस्तक संकलनमा छन्, तर पढेको छैन। महावीर पुनले आकर्षित गर्नुको मुख्य कारण मैले किताबमा खर्च गरेको रकम उनले दानका रूपमा स्वीकार गर्ने छन् र वीरगन्ज कृषि औजार कारखानालाई बिउँताउन लगानी गर्ने भन्ने हो। मैले उनको पुण्य अभियानमा ७५० रुपैयाँ लगानी गर्न पाएको छु। किताब नपढी नहुने अर्को कारणचाहिँ उनको सादगीपनप्रतिको आकर्षण थियो। 

बाल्यकाल र पढ्नलाई गरेको संघर्षबाट महावीरको जीवन कथन शुरू हुन्छ। बाल्यकालमा बाजेसँगै उनी भेडा चराउने गर्थे र भेडीगोठ जान्थे। मलेसियाका लाहुरे उनका पिताले पढाइको महत्त्व बुझेर नै गाउँमा औपचारिक शिक्षाका लागि विद्यालय नभएका कारण ठाउँ–ठाउँमा पुर्‍याएर पढाए।

चितवन, खैरेनी र पोखरा पुगेर पढाइलाई निरन्तरता दिँदाका अप्ठ्यारा पनि सजिलै पार हुँदै गए। काठमाडौँमा बसेर क्याम्पस पढ्नलाई पनि उनलाई खासै अप्ठ्यारो परेन। जस्तोसुकै परिस्थितमा समेत अघि बढ्न सक्ने क्षमताका कारण यो सम्भव भएको हो। निमावि गाउँमै पढे पनि त्यो बेला किताब हुन्थेन। महावीरले पहिलो पटक पढेको किताब भनेको रामजी उपाध्यायले लेखेको नेपाल दिग्दर्शन इतिहास रहेछ। पढाइमा प्रथम हुने, शिक्षकहरूका काम गरिदिने सहयोगी बानीव्यवहारका महावीर सानैदेखि शिक्षकहरूका नजरमा प्रिय विद्यार्थी रहेछन्।

१४ वर्षको उमेरमा पहिलो पटक चप्पल लगाउन पाउँदा सुल्टो चप्पल लगाउन नजानेर धागो बाँधेर सुल्टो–उल्टो चिन्नुपरेछ। सानैदेखि अनेक किसिमका उटपट्याङ गरिरहने उनको बानी रहेछ। रुखबिरुवा, घाँसपातमा निरन्तर पिसाब गर्दा पहेँलो हुँदै ती रुखबिरुवा, घाँसपात मर्दा रहेछन् भनेर सानैमा पत्ता लगाए छन्, महावीरले।

भरतपुरमा आएर एसएलसी दिए। एसएलसीमा उनी दोस्रो श्रेणीमा उत्तीर्ण भए। एसएसली पास भएपछि कलेज पढ्न काठमाडौँ आए। अमृत साइन्स क्याम्पस भर्ना भए। आईएस्सीमा फिजिक्स, केमेस्ट्री र गणित विषय लिएर पढे। आईएस्सी सकिएपछि महावीर चितवनमै पढाउन थाले। खैरेनी हाइस्कुलमा पढाउँदा गरेका अनेकानेक प्रयोगले उनको जाँगरिलो स्वभाव बुझाउँछ। खैरेनी हाइस्कुलमा पढाउँदा २०३२ सालमै अपोलो–१७ विज्ञान प्रविधि र अनुसन्धान म्युजियम खोल्ने सपना देखेछन्। जति बेला भर्खरै अपोलो–१७ ले चन्द्रमामा मान्छे पुर्‍याएको खबर उनले रेडियोमा सुनेका थिए। 

सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि स्कुल पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थाले। आफ्ना विगतका घटना सम्झिँदै उनी पटक–पटक भाइबहिनीहरूलाई जीवनमा ठूलो सपना देख्न अनुरोध गरिरहन्छन्।

आफन्तसँग काठमाडौँ बस्न थाले। टेलिफोन, इन्टरनेट, कम्प्युटर केही पनि नभएको समयमा छात्रवृत्ति देऊ भनेर अमेरिकाका कलेजहरूलाई पत्र लेख्थे। न्युरोडको पसलमा तीन रुपैयाँ तिरेर पत्र टाइप गराइ गोश्वारा हुलाकबाट पठाउँथे। कलेजहरूले पत्रको जवाफसहित भर्ना फारम पठाउँथे। तर उनलाई चाहिएको थियो, छात्रवृत्ति। उनले अन्तरिक्षयात्री निल आमस्ट्रङलाई समेत छात्रवृत्तिका लागि पत्र लेखेछन्। उनलाई पत्रको जवाफ पनि आएछ। तर उनले खोजेको छात्रवृत्ति लामो समयसम्म कुनै कलेजले दिएनन्। तैपनि उनी एकोहोरो लागिरहे।

‘अराउन्ड द वर्ल्ड इन एट्टी डेज’ नामको उपन्यास पढेछन्, त्यो बेला। त्यो उपन्यासको मूलपात्रले ८० दिनमा संसारलाई फन्को मार्न गरेको संघर्षको कथाले उनी प्रभावित भएछन्। आफूलाई त्यही उपन्यासको मूलपात्रझैँ मानेर अझ एकोहोरो भएर आफ्नो सपना पूरा गर्न लागेछन्।

कुनै पनि हालतमा अमेरिका पढ्न जाने अठोट गरेका महावीर अमेरिकन पुस्तकालयमा बसेर कलेजहरूमा चिठी पठाउने काम गर्न थाले। अमेरिका नपुगी नछोड्ने ढिपी गरिरहे। उनका पिताको मृत्यु भएको दुई महिनापछि नेब्रास्का कर्नी स्टेट कलेजबाट पत्र आयो। पत्रमा छात्रवृत्तिका लागि कोशिश गरिरहेका छौँ र अर्को पत्र चाँडै पठाउँछौँ भन्ने जवाफ आए छ। यसरी हरेस नखाई निरन्तरता दिएर अमेरिका जाने बाटो आफ्नै एकल प्रयत्नमा खोली छाडे। छात्रवृत्ति पाएर मात्रै भएन। त्यहाँ पुग्ने टिकट खर्च र अरू सामान्य खर्चका लागि ऋण खोज्न गरेको संघर्ष पनि उत्तिकै रोचक छ। डलर साट्दाको कठिनाइ, विमान छुटेको प्रसंग अनेकानेक घटना छन्, जुन महावीर सोझो हुनुका कारण सहजै समस्या समाधान भएजस्तो लाग्छ। 

अमेरिकामा पुगेपछि भाषाको समस्या आयो। पढाएको बुझेनन्। टाइपराइटर वा कम्प्युटरमा टाइप गर्न नजान्ने। विद्यार्थीले टाइप जानेकै हुनुपर्थ्यो। आउने हरेक समस्यासँग जुध्दै महावीर अघि बढिरहे। सँगै बस्ने साथीभाइसँग उनीहरूको घरमा पुगेका बेला खेतीपातीमा ध्यान दिए। सँगसँगै काम गरे। कुन प्रविधिबाट, कुन तरिकाबाट काम गर्छन् त्यो अनुभव गरे। अमेरिकामा पनि सबैका प्रिय पात्र रहे। सँगै बस्ने साथीहरूले फाल्न लागेका कपडा आफूलाई काम लाग्छ भनेर फाल्न दिएनन्। तिनै कपडा लगाउन थाले। आफूले अहिलेसम्म कपडा किन्नु नपरेको कुरा महावीरले खुलाएका छन्।

पढाइ सकेर उनी नेपाल फर्किए। नेपाल फर्किँदा आफ्नै देशमा के–के न गर्छु भनेर उनी फर्किएका थिएनन्। न्यास्रो मेट्न फर्किएका थिए। आफू जन्मिएको गाउँ घुम्दै जाँदा सुन्दरताले आकर्षित गरेर शायद महावीर यतै भुले। गाउँ–गाउँ घुमे। बच्चामा घुम्दा र अमेरिकाबाट फर्केपछि घुम्दा बन्ने दृष्टिकोण फरक थियो। उनले गाउँमा गर्नुपर्ने कामका लागि नयाँ बाटो देख्न थाले। गाउँबाट उनले काम शुरू गरे। उनले पहिलो गर्नुपर्ने काम शिक्षा क्षेत्रमा देखे छन्।

सरकारले विद्यालय सञ्चालन गर्न अनुमति दिने, तर सञ्चालन खर्च नदिने गर्थ्यो त्यो बेला। गाउँमै हाइस्कुल चलाउने सपना देखे। त्यो सपना पूरा गर्न गरेका कोशिशका प्रसंग पनि रोचक छन्। यिनै कोशिशहरू नै युवालाई ऊर्जा दिने सामग्रीहरू हुन्।

विद्यालय सञ्चालन अनुमति पाए। शिक्षकहरू पनि ल्याए। अनेक आविष्कारका योजनाहरू ल्याउँथे। ती चलाउन खर्च चाहिनै नै भयो। त्यही खर्च जुटाउनलाई गाउँमा अनेक अनेक उद्यम गर्न थाले। दोस्रो काम गर्नु पर्ने क्षेत्र पर्यटन देखेछन्। महावीर गाउँमा शिक्षा र पर्यटनसँग नजिक रहेर काम गर्न थाले। आफूले निकालेका योजनाले दुवै क्षेत्रलाई कसरी फाइदा पुर्‍याउँछ त्यतातिर ध्यान दिन्थे। 

उनले विदेशी साथीभाइहरूसँगको सम्बन्ध टुटाएनन्। तर इमेल पठाउन उनी पोखरा आउनु पर्थ्यो। त्यसपछि आफ्नै गाउँमा कम्प्युटर र वायरलेस इन्टरनेटको सपना देख्न थाले। जुन बेला शहरमा पनि वायरलेस इन्टरनेट आइसकेको थिएन। विदेशी साथीभाइसँग कम्प्युटरका पार्टपुर्जा मगाएर, काठको बाकसमा काम चलाउन कम्प्युटर बनाए। आफैँ पढेको कलेजले समेत असम्भव भनेको वायरलेस इन्टरनेट प्रविधिलाई गाउँमा पुर्‍याइछाडे। इन्टरनेट गाउँमा पुर्‍याउन गरेको संघर्ष नै खासमा हरेक युवाका लागि जागरूक हुने ‘एन्टिडोट’ हो । आफ्नो सपना पूरा गर्न मूर्खतापूर्वक लागिरहनु पर्ने सुझाव दिन्छन्, महावीर।

महावीर पुन छिचोल्दा लाग्छ, पहिला महावीर व्यक्ति विकासमा लागे। अमेरिकासम्म पुगेर आफ्नो क्षमता बढाए। फर्केर आएपछि उनलाई गाउँको विकास गर्ने रहर जाग्यो। गाउँमा आफूले सके जति काम गरे। त्यतिले चित्त बुझेन, अहिले उनी देशकै लागि केही गर्ने उद्देश्यसाथ मरिमेटेका छन्।

अनुसन्धानमा लगानी नगरी देशको विकास नहुने निष्कर्षसहित राष्ट्रिय आविष्कार केन्द्र खोले। आविष्कारमा लगानी गरेका देशहरूको उदाहरण पनि दिएका छन्। विकसित देशका अनुसन्धान केन्द्रहरू घुमे। देशका लागि अनुसन्धान केन्द्र आवश्यक छ, अनुसन्धानमा लगानी नगरी देशको विकास नहुने निष्कर्षसहित सरकारलाई घचघच्याउन थाले र अहिलेसम्म घचघच्याइरहेका छन्। 

मुलुक नै कायापलट हुने एउटा युवाको अवधारणामा सरकारले देखाएको व्यवहार नै अहिलेको युवाको विदेश पलायन बुझ्न पर्याप्त हुन्छ। सरकारमा हरेक पटक कति अक्षम नेताहरू आउँछन्, के गरे देशको सही तरिकाले विकास हुन्छ भन्ने ज्ञान लोकतन्त्रपछि आएका कुनै नेतामा देखिन्न। यो कुरा महावीरले भनेका छैनन्। तर महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई खुट्टा टेकाएर बामे सर्न गराएको कोशिशबाट पाठकलाई बुझ्ने छुट छ। नेपालमा यति धेरै उद्योगहरू बन्द भए, बन्द हुन तरखरमा रहनु, उद्योगीहरूले आत्महत्या गर्नु, पलायन हुनुमा एक मात्र दोषी सरकारमा पटक–पटक आउने अक्षम नेतृत्व हो भन्ने महावीर पुन पढिसक्दा स्पष्ट हुन्छ।

सरकारबाट हत्तु हैरान भएपछि राष्ट्रिय आविष्कार केन्द्र चलाउन जनताबाट दान लिने निर्णयमा पुग्छन्। र अहिले जे छ राष्ट्रिय आविष्कार केन्द्र त्यही दानको परिणाम हो। राष्ट्रिय आविष्कार केन्द्रलाई सक्षम नेतृत्वसमक्ष हस्तान्तरण गर्ने तयारी पनि गरिरहेका छन्। यसका लागि केही आस नगर्ने, सपना देख्ने, मूर्ख भएर आफ्नो सपना पूरा गर्न निरन्तर लागिरहने व्यक्ति उनलाई आवश्यक छ।

कसैसँग केही आशा नराखी निरन्तर आफ्नो सपना पूरा गर्न लागिरहन प्रेरित गर्ने पुस्तक हो महावीर पुन। महावीरले स्वयं एउटा उपन्यासबाट प्रभावित भएर अमेरिका पुगेरै छोड्ने अठोट पूरा गरेका हुन्। नेता, उद्यमी, अर्थशास्त्री, वैज्ञानिक, इन्जिनियरलाई महावीर पुन पढेर ज्ञान आर्जन गर्न कसैले रोक्दैन। यी सबैका लागि उपयोगी खुराक हो यो पुस्तक। देशलाई उँभो गतिमा हिँडाउन के गर्नुपर्छ एउटा दृष्टिकोण दिन पुस्तक सफल छ। उनले पटक पटक भनेका छन्, “मैले साधारण बन्न कट्टु लगाएको हैन। मेरो बानी नै यस्तै हो।”

मानिसलाई साधारण जीवनस्तर बाँच्न सघाउँछ यो पुस्तकले। ‘पटक–पटक मैले जागिर खाएको कतै अल्झिएको भए जे गर्ने सोच आयो र गरेँ, त्यति गर्न सक्दिनथेँ’ भनेका छन्। यसको मतलब हो सिर्जनशील स्वतन्त्र भएर जीवन व्यतीत गर्दा आफ्नो सपना पूरा गर्न सहज हुन्छ। कुनै छलकपटबिना सेवा भावले शुरू गरिने हरेक काम सफल हुन्छन् एक दिन। पुस्तकबाट यो कुरा पनि अनायासै बुझिन्छ। आफ्ना सपना पूरा हुँदै गर्दा आसै नगरे पनि पदक र सम्मानले पछ्याउँछन्। 

गरिबी, निराशा, अभाव, धोका, भ्रष्टाचार, कमिसन, घुसखोरी, बेरोजगारी के–के छन् ती सबै विषादका लागि ‘एन्टिडोट’ हो, महावीर पुन। कुनै डाक्टरको सल्लाहबिनै बिहान ओछ्यानबाट उठिसकेपछि, दिउँसो खाना खाइसकेपछि र राति सुत्नुअघि हरेक युवाले लिनुपर्ने ‘डोज’ हो महावीर पुन। साहित्यिक ‘भ्यालु’ खोज्ने विद्वान‍्हरूले यो पुस्तक नसमाए पनि हुन्छ।


सम्बन्धित सामग्री