काठमाडौँ– नीरजराज शाक्य (२५) र बेन्जु खान (२५) काठमाडौँको इन्द्रचोकस्थित पोते पसलमा काम गर्छन्। उनीहरू सहकर्मी मात्र होइनन्, सम्बन्धमा मामा–भान्जा पर्छन्। बौद्ध धर्म मान्ने नीरज मामा हुन् र मुस्लिम समुदायका बेन्जु भान्जा।
इन्द्रचोकबाट नजिकै वटुका उनीहरू बाल्यकालदेखि सँगै हुर्किए, बढे र काम पनि सँगै गर्छन्। आफूहरू बाल्यकालदेखि सँगै हुर्किएको बेन्जु बताउँछन्। एकअर्काको चाडपर्वमा घर जाने र बस्ने त परम्परा नै जस्तो छ। मुसलमान समुदायका बेन्जुलाई योमरी एकदमै मनपर्छ। नीरजलाई पनि बेन्जुको घरमा पाक्ने बिर्यानीको स्वाद बसेको छ। बाहिर रेस्टुरेन्टमा खाइने भन्दा फरक र स्वादिलो बिर्यानी बेन्जुको घरमा पाक्ने नीरज बताउँछन्।
‘इद मुबारक’ भन्दै एकअर्कालाई खुशी आदानप्रदान गर्दा मारिने अँगालोमा नीरज आत्मीयता पाउँछन्। “त्यस दिन साथीभाइ मात्र नभई आफूभन्दा ठूलाबडा काका, हजुरबाबाट पनि उस्तै आत्मीयता पाउँदाको खुशी बेग्लै हुन्छ,” उनी भन्छन्।
आफूहरूलाई भिन्न समुदायको भएको अनुभूति नै नहुने र पारस्परिक रूपमा चाड मनाउने नीरज बताउँछन्। उनले काम गर्ने पसल मुसलमानकै हो। त्यहाँ लहरै भएका पोते पसलहरू सबै मुसलमानले नै चलाएका छन्। पोते पसलमा काम गर्ने फरक धार्मिक समुदायका भने उनी मात्र हुन्। आफूले सबैको माया, साथ र अपनत्व पाइरहेको उनको भनाइ छ।
यता, बेन्जुलाई पनि नेवार समुदायले मनाउने इन्द्रजात्रा विशेष लाग्छ। उनीसमेत कुमारी क्लबमा जात्राको लागि स्वयंसेवकको रूपमा खटिन्छन्। “क्लबबाट जात्रामा खटिन पाउँदा आफू नेवार समुदायकै भएको महसुस हुन्छ, फरक समुदायको भन्ने नै लाग्दैन,” उनले भने, “भोजभतेरको रौनक अर्को रमाइलो पाटो हो।”
इन्द्रचोक, असनलगायत काठमाडौँको कोर क्षेत्रमा बस्दै आएका नेवार तथा मुसलमान समुदाय एकअर्का चाडपर्वमा हातेमालो गर्छन्। नेवाः मुस्लिम समाजका अध्यक्ष नासिर उद्दिन (४३) कुनै समय कुमारी क्लबको सदस्य थिए। उनी इन्द्रजात्रामा खुब रमाउँथे। अहिले बेन्जु खानजस्ता युवाले त्यसैगरी जिम्मेवारी लिँदा आफूलाई खुशी लाग्ने उनी बताउँछन्। काठमाडौँका नेवार समुदायले भव्य रूपमा मनाउने पाहचरे जात्रामा यहाँका मुस्लिम समुदाय पनि सहभागी भएर खट पनि बोक्ने नासिरको भनाइ छ।
बेन्जुकी श्रीमती नेवार नै हुन्। काठमाडौँको यो बस्तीमा नेवार मुसलमानमा बिहाबारी पनि चल्ने नासिर बताउँछन्। यहाँका दुई भिन्न धार्मिक समुदाय नेवार र मुसलमानको सम्बन्ध अहिले मात्र नभएर ५–६ पुस्तादेखि नै जोडिँदै आएको छ।
नासिरका अनुसार काठमाडौँका रैथाने मुसलमान वटु, बागबजार, ठमेल, क्षेत्रपाटीका हुन्। अहिले भने, कोही स्वयम्भू र कोही मैतिदेवीलगायत क्षेत्रमा छरिएका छन्। धार्मिक मान्यता फरक रहँदारहँदै पनि सांस्कृतिक घुलन यी दुई समुदायको विशेषता हो। काठमाडौँमा जस्तै भक्तपुर, पाटनमा पनि यस प्रकारको बसाइँ र घुलमिल पाइने नेवाः मुस्लिम समाजका अध्यक्ष नासिर बताउँछन्।
दशैँमा उनी टीका लगाउँदैनन्। तर आर्शीवाद थाप्ने र भोजमा सहभागी हुने गर्छन्। “हलाल गरेको बाहेक मासु नखाने कारण भोजमा सोहीअनुसार व्यवस्था हुन्छ, एकअर्काप्रतिको सम्मान भनेको नै त्यही हो,” नासिर भन्छन्, “हामी पनि इद, रमदानमा नेवार साथीभाइलाई बोलाएर भोजभतेर गर्छौं, रमाइलो हुन्छ।”
मुसलमान समुदायले सम्झने त्यो सहयोग
२०६० भदौ १६ गते इराकमा १२ नेपालीको हत्या भएपछि काठमाडौँमा अराजकता फैलियो। यहाँका मुसलमान समुदायमाथि आक्रमण भयो। त्यतिबेला आफूहरूको घर र पसल बचाउन नेवार समुदाय नै अग्रसर भएको नासिर सम्झन्छन्।
त्यसबेला उनको बसाइ स्वयम्भूमा थियो। नेवार समुदायको घना बस्तीमा उनको एक्लो परिवार थियो। “यता कोही मुसलमान बस्छन् भन्दै मानिसहरू खोज्दै आउँथे,” नासिरले भने, “कोही पनि बस्दैनन् भन्दै छिमेकीले फर्काइदिन्थे।”
त्यति मात्र नभई, आफ्नो पसल तोडफोड हुँदा पसलका सामान जोगाइदिएको, साथीभाइको गाडी जलाउँदा घरघरबाट पानी र ओछ्यान ल्याएर आगो निभाएका घटनाको पनि उनी प्रत्यक्षदर्शी हुन्। “त्यही बेला यहाँका स्थानीय नेवार अथवा मुसलमान कोही पनि त्यस्तो अराजकतामा होमिएका थिएनन्। बाहिरी तत्त्वबाट नियोजित प्रयास थियो, जुन असफल भयो,” उनी भन्छन्।
जमलस्थित जामे मस्जिदका अध्यक्ष अब्दुल समिम पनि नेवार र मुसलमान समुदायमा मिल्ती र सहयोगको भावना भएको बताउँछन्। “उक्त घटना यहाँको धार्मिक सहिष्णुता खलल पार्नलाई थियो। तर त्यस समय यहाँका साथीभाइले दर्साउनु भएको आफ्नोपन विशेष थियो,” अध्यक्ष समिम भन्छन्, “मेरो घरमा आक्रमण हुने बेला यहाँकै नेवार दाजुभाइले आएर घरअगाडि पर्खाल बनेर बस्नुभएको थियो।”
ऐतिहासिक, भाषिक तथा व्यापारिक सम्बन्ध
काठमाडौँमा करिब ५०० वर्षअघि मुसलमान भित्रिएको जानकारहरू बताउँछन्। राजा रत्न मल्ल र प्रताप मल्लको पालामा गरी दुईपटक मुसलमानको सामूहिक प्रवेश भएको अध्यक्ष समिमको भनाइ छ। यद्यपि, यो लिखित अभिलेखप्रति अध्यक्ष अब्दुल थोरै असन्तुष्टि छ।
“इतिहासकारहरूले ठ्याक्कै यही मिति, यसरी, यहाँबाट आए भनेर तोकिदिनुभयो। जबकि, हाम्रा पुर्खा यहाँ आउँदाको लिखित अभिलेख हामीसँग नै छैन। काश्मीरी तकिया लेखिए अनुरूप रत्न मल्लको समयमा आएको तथ्यलाई नै हाल हामीले पनि आत्मसाथ गरेका छौँ।”
पछि गोरखाबाट राजा पृथ्वीनारायण शाहसँगै गरगहना तथा हातहतियार बनाउनको लागि मुसलमानहरूलाई सँगै ल्याइएको पनि उनले आफ्नो पुर्खाबाट सुनेका छन्। आफूहरूले काठमाडौँमा स्वतन्त्रतापूर्वक चाड मनाउन पाएको र त्यसमा नेवार समुदायको सहयोग हुने उनको भनाइ। उनका अनुसार गोरखाका कतिपय मुसलमानले भने दशैँमा टीकासमेत लगाउँछन्।
अर्थशास्त्री मोहम्मद आय्यूब काठमाडौँमा काश्मीरी, तिब्बती र हिन्दुस्तानी गरी तीन प्रकारका मुसलमान रहेको बताउँछन्। नेपालमा मारवाडीहरू व्यवसायको लागि आएजस्तै उनीहरूभन्दा अघि नै हिन्दुस्तानी मुसलमान पनि व्यवसायका लागि आएको उनको भनाइ छ।
तिब्बती मुसलमान पृथ्वीनारायण शाहसँगै काठमाडौँ आएका थिए। पृथ्वीनारायणका रानीको लागि रत्न, गहना आदि बनाउन गोरखाबाट ती मुसलमान ल्याइएको मानिन्छ। “१४औँ–१६औँ शताब्दीबीचमा व्यापारको लागि मुसलमानहरू काठमाडौँ आएका थिए। यसमा काश्मीरी र भारतीय मुसलमान थिए,” अर्थशास्त्री आय्यूब भन्छन्, “व्यापारका लागि काश्मीर हुँदै तिब्बतको रुट यता आउँथे। उनीहरूको आउजाउ हुँदा यही बसोबास हुन थाल्यो।”
पृथ्वीनारायण शाहअघि काठमाडौँमा नेवार समुदायकै मल्ल राजा हुँदा मुसलमानहरू काठमाडौँ आएको भनाइमा आय्यूब पनि सहमत छन्। त्यस समय पर्सियन भाषा विश्वव्यापी हुँदा काठमाडौँ आएका मुसलमानको भाषाको प्रभाव प्रशासनिक तथा निजामतीमा पनि पर्यो। निजामती आफैँमा पर्सियन भाषाको परिष्कृत बोली हो। मुलुक, ऐन, इजलास, अदालत, जमानाजस्ता शब्द नेपालीमा आएको उनी बताउँछन्।
तर समिम भने त्यसबेला पर्सियनभन्दा पनि फारसी भाषाको प्रयोग व्याप्त रहेको बताउँछन्। अहिले यहाँका मुसलमान नेपालीका साथै नेपाल भाषा पनि बोल्छन्।
एकअर्काको आस्थाप्रति सम्मान
लमजुङबाट वर्षौँअघि काठमाडौँ आएका खालिद मोइन इन्द्रचोकमा पोते उन्ने काम गर्छन्। लमजुङ हुँदादेखि नै उनी दशैँतिहार मनाउँथे, तर टीका लगाउने र मासु खाने गर्दैनन्। साथीभाइले पनि पहिल्यै बुझेर व्यवस्था गरिदिने उनी बताउँछन्।
अहिले खालिद भाडामा बसेको घर नेवारकै हो। “कामका कारण भारत, पाकिस्तान, बंगलादेश गइरहनु पर्छ। म त्यहाँ पनि खानेकुरामा सजग हुन्छु,” खालिद भन्छन्, “खानु नखानु मेरो व्यक्तिगत स्वतन्त्रता हो, तर अन्तरमनबाटै बिफ खाऊँ भन्ने लाग्दैन। साथीभाइको भावनामा ठेस नपुर्याऊँ भन्ने मनमा लागिरहन्छ।”
अब्दुल समिम यसपटक भाइटीकाको लागि आफ्नो साथीको घरमा जान तयार छन्। खानपिनमा पहिल्यै मासु छुट्याएर व्यवस्था गरिदिएको हुन्छ। आफ्नो आस्थालाई सम्मान गरेको देख्दा खुशी लाग्ने उनको भनाइ छ।
शिक्षक मोइन उद्दिन दुवै समुदायले एकअर्काको अस्तित्व स्वीकार गरेको मात्र नभई सम्मान पनि गरेको बताउँछन्। यो मात्र नभई, नेपाली समाजमा हेलोविन, थ्याङक्स गिभिङजस्तो पश्चिमा संस्कृतिले पनि बिस्तारै स्थान पाउँदै गएको उनको भनाइ छ। धार्मिक कट्टरता नहुँदा र मिश्रित समुदायमा बसेको कारण आफूले खास भिन्नता महसुस नगरेको उनी बताउँछन्।
नासिर, अब्दुल, बेन्जु, निरज, खालिद, मोइन मिश्रित समाजमा बस्दा खुशी लागेको बताउँछन्। नीरजराज पनि एकअर्कालाई सम्मान गर्नु र सँगै चाडपर्व मनाउनु मिश्रित समाजको विशेषता भएको ठान्छन्।