Sunday, April 28, 2024

-->

गुरुङ पहिरनले पर्यटक लोभ्याउन हरिमायाले निकालेको जुक्ति, बन्दैछ घान्द्रुकको चिनारी

३० वर्षअघि नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको सिको गर्दै अहिले पूरै घान्द्रुकका होमस्टेले यसैलाई यहाँको चिनारी बनाएका छन्।

गुरुङ पहिरनले पर्यटक लोभ्याउन हरिमायाले निकालेको जुक्ति बन्दैछ घान्द्रुकको चिनारी 
होमस्टेमा गुरुङ पोशाक लगाएर रमाइरहेका पाहुना। तस्वीरहरू: श्याम राना मगर/उकालो

पोखरा– भित्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी दिवंगत पत्नी सीता दाहालको फोटो झुन्डिएको छ। फोटोमा मोटो जुँगा, कालो चस्मा लगाएका दाहाल गुरुङ पहिरनमा सजिएका छन्। उनको आडैमा पत्नी दाहाल पनि गुरुङ पहिरनमै छिन्। “सिक्लेसमा शान्ति सम्झौता गरेर आउनुभएको थियो। त्यो बेलामा गुरुङ ड्रेस लगाएर खिचेको फोटो हो,” फोटोबारे ‘आशिष आमा होमस्टे’की सञ्चालक हरिमाया गुरुङले सुनाइन्। 

१० वर्षे सशस्त्र युद्ध बिसाएर भर्खरै सार्वजनिक भएका बेला माओवादी लडाकुको लर्कोसहित घान्द्रुक आएका दाहाललाई हेर्न/सुन्न पूरै घान्द्रुकबासी जम्मा भएका थिए। नयाँपुलबाट पैदलै आउजाउ गर्दा सास्ती भएकाले त्यसबेला गाउँसम्मै बाटो ल्याउने पहल गरिदिन घान्द्रुकवासीले उनीसँग आग्रह गरेका थिए। अहिले नयाँपुलदेखि घान्द्रुकसम्म ११ किलोमिटर मोटरबाटो जोडिएको छ। घान्द्रुकदेखि पोखरासम्मै बस चल्छ। शान्ति सम्झौतापछि प्रधानमन्त्री भएका बेला दाहाल दोस्रोपटक पनि घान्द्रुक पुगेका थिए। 

सडक सञ्जालले जोडिएपछि घान्द्रुकको कायाकल्प भएको छ। पर्यटकको सुविधाका लागि स्तरीय होटल, रिसोर्ट खुलेका छन्। आन्तरिक र बाह्य दुवै किसिमका पर्यटक दिनहुँ आउजाउ गर्छन्। अन्नपूर्ण बेस क्याम्प, घोरेपानी, पुनहिल पुगेर फर्केकाहरूले एक दिनको गन्तव्य घान्द्रुक सारेर यात्रा लम्ब्याउँछन्। पोखराबाट एकै दिनमा पुगिने भएपछि घान्द्रुक सबैको रोजाइमा पर्न थालेको छ।


हरिमायालाई दार्जिलिङ जाँदा फुरेको त्यो जुक्ति
घान्द्रुक पुगेपछि गुरुङ पहिरनमा ठाँटिएर खिचेका फोटो अहिले सामाजिक सञ्जालतिर पोस्ट गर्ने र टिकटक या ‘रिल’ बनाउने प्रचलन बाक्लिएको देखिन्छ। शिरबन्दी, मुगा, घलेक लगाएका महिला र भोटो, कछाडमाथि बख्खु ओढेर कम्मरमा खुकुरी भिरेका पुरुषको फोटो घान्द्रुक पुग्नेहरूका लागि पछिसम्मका लागि सम्झनाको चिनो बनेको छ। पर्यटकलाई मोहित पार्ने यस्तो जुक्ति फुराउने पर्यटनकर्मी उनै हरिमाया हुन्। 

 

त्यो बेला घान्द्रुक अहिलेको जस्तो गुल्जार थिएन। लाहुरेको गाउँ भनेर चिनिने घान्द्रुकले पर्यटकीय गाउँको रूपमा परिचय बदलेकै थिएन। द्वन्दकालपछि विस्तार हुँदै आएको घान्द्रुकको पर्यटनले झन्डै एक दशकअघि सडक सञ्जाल जोडिएपछि त भ्याईनभ्याई पाहुनाको स्वागत गरिरहेको छ। 

२०४९ सालमा अन्नपूर्ण क्षेत्रको संरक्षण गर्ने उद्देश्यसहित शुरू भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्थानीय स्तरमा गठन गरेको संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई घान्द्रुकको पर्यटन विकासमा अग्रसर गराउन भारतको दार्जिलिङ भ्रमणमा लगेको थियो। भ्रमण टोलीमा हरिमायासहित समितिका सदस्यहरू थिए। 

आफ्नो 'होमस्टे'मा हरिमाया गुरुङ।


“दार्जिलिङ जान पाउँदा हामी एकदमै खुशी थियौँ। घुम्न जाँदा जहाँ गए पनि रमाइलो,” हरिमाया सम्झन्छिन्, “त्यहाँको कल्चर र चिया बगानहरू हेर्‍यौँ। बाहिरबाट आउने पाहुनालाई कसरी स्वागत सत्कार गर्ने, के चिजले लोभ्याउने भन्ने पनि देख्यौँ।”

घुम्न गएकामध्ये सबैले गाउँ फर्केर केही नयाँ काम गर्ने योजना बनाए। हरिमायाले पनि घुम्न आउने पाहुनालाई गुरुङ पहिरनमा चिटिक्कसँग सजिने सुविधा दिएर त्यसबाट आम्दानी गर्ने सोच बनाइन्। दार्जिलिङबाट फर्किनासाथ उनले गुरुङ जातिका परम्परागत पहिरनहरू संकलन गर्न थालिन््। उनीसँगै गएकी अर्की महिलाले घान्द्रुकको ‘अर्गानिक’ परिकार पस्कने खाजा घर खोलिन् जहाँ ढिँडो, गुन्द्रुक, मकै र स्थानीय खाजा पाइने भयो।

घान्द्रुक घुम्न आउनेहरूले उनीहरूको उद्यमशीलतालाई रूचाउन थाले। त्यसपछि, पाँच घर मिलेर होमस्टेको शुरूआत गर्ने योजना बनाए। “ड्रेस पनि छँदै थियो। शुरूमा मैले मात्रै ड्रेस राखेको थिएँ। म्युजियमतिर पनि कतै थिएन। अहिले त जताततै सबभन्दा आकर्षण गर्ने त गुरुङ ड्रेस नै भयो,” हरिमाया भन्छिन् । 

घुम्न आउनेहरू रमाउनकै लागि आएका हुन्छन् भन्ने हरिमायाले शुरूदेखि नै राम्ररी बुझेकी थिइन्। त्यसकारण घान्द्रुक आउने पर्यटकलाई रमाउने उपायको अभाव हुन नदिन आफू पहिल्यैदेखि लागिपरेको उनी बताउँछिन्। “पाहुनालाई रमाइलोसँगै यहाँको संस्कृति पनि प्रचार हुने भयो। यहाँ आउने कसै–कसैले मगर र तामाङका ड्रेस पनि राख्नुस् न भन्छन्, तर अहिलेसम्म गुरुङ पोशाकको मात्र व्यवस्था छ,” उनी भन्छिन्। हरिमायाले २५ रुपैयाँबाट थालेको पोशाक घरमा अहिले प्रतिव्यक्ति २०० रुपैयाँ लिएर उनी गुरुङ पोशाक पहिराउँछिन्।

हरिमायाले घान्द्रुकमा चलाइरहेको 'आशिष आमा होमस्टे'।


घरबुना खाडी विस्थापित हुँदै 
दार्जिलिङबाट फर्केर हरिमायाले थालेको पोशाक घर शुरूमा घान्द्रुकमै एक्लो थियो।  त्यहाँ उनले भेँडाको ऊनबाट बनाएको बख्खु, भिरु लगायतका सबै परम्परागत पहिरन संकलन गरेर राखिन्। बख्खु उनकै सासूआमाले पनि बनाउँथिन्। घरबुना खाडीबाट बनेको बख्खु १५ सयदेखि २५ सय रुपैयाँसम्ममा किन्न पनि पाइन्थ्यो। 

अहिले पनि पुरानो बख्खु, घुम अरू घरमा छैनन्। “अहिले त जामा पनि पहिराउने चलन आइसकेको छ, त्यो त खास गुरुङहरूको होइन। पोहोरसम्म पनि चलनमा थिएन। मैले नयाँ पोशाक नराखौँ, पहिलेकै कल्चरल चिज मात्र राखौँ भनेको थिएँ। तर गाउँछिमेकी सबै जमानाअनुसार चल्नु पर्छ भन्ने थाले,” उनी भन्छिन्, “अनि मैले पनि बाध्य भएर नयाँ ड्रेस थपेको छु।”

दार्जिलिङबाट फर्केर आफूले गर्न लागेको कामबारे सुनाएपछि पोशाक जम्मा गर्न गाउँछिमेकबाट स्वेच्छिक सहयोग पनि पाएको हरिमायाले बताइन्। “पहिलेका आमाहरू बेस्सरी सहयोग गर्थे। मैले यस्तो सोँच बनाएको छु भन्नासाथ यहाँका आमाहरूमध्ये कतिले चोलो दिए, कसैले टिकी, कोहीले मुगा (माटोको गहना)। उमेरले पाको भइसकेका आमाहरूले खुशी भएर दिनुभयो,” उनी थप्छिन्, “अहिले त भिरु पनि नक्कली आएको छ। पहिले त्यस्तो थिएन। मैले पाँच–छ सय रुपैयाँमा सबै गहनाहरू किनेँ।”

आफूसँग भएका पुराना सामग्री पाहुनाहरूको इच्छाअनुसार सबै बिक्री गरिसकेको हरिमायाले बताइन्। मुगा र भिरु पनि नौ हजार रुपैयाँमा किन्न मागेपछि घुम्न आएका पर्यटकलाई बिक्री गरिदिएको उनले सुनाइन्। शुरूमा नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको पदचाप पछ्याउँदै अहिले पूरै घान्द्रुकका होमस्टेमा गुरुङ पोशाकलाई मुख्य प्राथमिकताका साथ राखिएको छ। ३० वर्षअघि उनले निकालेको जुक्ति अहिले यसरी घान्द्रुकको चिनारी नै बनेको छ। 

घान्द्रुक गाउँ।


७० रुपैयाँमा खाना र बास दिने गरी थालिएको 'होमस्टे'
घान्द्रुकमा पर्यटकको चहलपहल बढ्दै गएपछि हरिमायासहितका पाँच परिवार मिलेर शुरू गरेको होमस्टेमा खाना र बास दुवैको मूल्य ७० रुपैयाँ मात्र थियो। त्यसबेला होमस्टे थालेका सबै घरहरूले एउटा समिति बनाएर एकै मेनुमा पाहुनाको व्यावसायिक सत्कार थालेका थिए। अहिले भने घान्द्रुकका घरघरै होमस्टे फैलिएको छ। “हामीले होमस्टे थाल्दा नयाँपुलसम्म मात्रै गाडी आउँथ्यो। त्यहाँबाट ट्रेकिङ शुरू हुन्थ्यो। एक्यापमा आएका पाहुनालाई होटलमा बस्ने कि होमस्टेमा भनेर सोधिन्थ्यो। होमस्टेमा बस्नेहरूलाई हामी लिन जान्थ्यौँ,” हरिमायाले सुनाइन्। 

धेरै मानिस आएका बेला पाँचै घरलाई पुग्ने पाहुना हुन्थे। त्यो बेला बढीमा ६ जना सम्मलाई राख्न सकिने घर थियो। एउटै बेडमा दुई जना सुत्दा बढीमा १० जनासम्म अटाउँथे। त्यो भन्दा ठूलो समूह आए अर्को घरमा बाँडिन्थे। “पहिला पहिला अहिलेको जति धेरै मान्छे हुँदैनथे। उनीहरूलाई लिन जाने, स्वागत गर्ने, पुर्‍याउन जाने सबै गरिन्थ्यो,” उनी सम्झन्छिन्, “घरघरमा भैँसी पालेर दूध, मोही खान दिइन्थ्यो। अहिले त आफूले पनि गर्न सकिँदैन, त्यस्तो छैन। परिस्थितिले बदल्दै ल्यायो।”

होमस्टेको शुरूआतीताका सिमेन्टले ढलान गरेका घर पूरै घान्द्रुकभर एक–दुई मात्र थिए। सबै पुराना शैलीका घरहरू हुन्थे। जब सडक घान्द्रुकसम्म जोडियो तब ढलानवाला घर धमाधम बन्न थाले। पुराना घर पनि भत्काउँदै त्यही ठाउँमा सिमेन्टका घरले भरिँदै गए। “बाटो सँगसँगै विकास र विनाश दुवै आउँदो रहेछ,” हरिमायाले आधुनिकताको नाममा गाउँको मौलिकता हराएकोमा दुखेसो पोखिन्। 

हरिमायाले संकलन गरेका गुरुङ संस्कृतिमा प्रचलित परम्परागत मालाहरू।


अहिले त हरिमायाका धेरैजसो साथीसंगीले होमस्टे छोडिसके। कोही हङकङ पुगेका छन्। कोही बुढ्यौलीले छोपेर छोराबुहारीसँगै पोखरातिर सरे। हरिमायालाई भने छोराबुहारीले होमस्टे चलाउन सघाइरहेका छन्। “सबैका छोराहरूले चलाइदिएनन्। कोहीको भत्काएर ठूलो होटल बनाइदिएका छन्,” उनी भन्छिन्।

आधुनिकतातिर ढल्किँदै गरेको घान्द्रुकलाई जोगाइराख्न ‘एक्याप’ले तल ढलान गरे पनि माथि छानोमा गाउँको मौलिकता दिनुपर्ने नियम लगाएको थियो। घरको छानो ढुंगाले नै छाउनुपर्ने नियम पनि थियो। “द्वन्द्वकाल र लकडाउनपछि ती नियम के–के भए भए। समिति पनि कता गयो,” हरिमाया भन्छिन्, “पैसा भएपछि मान्छेलाई ऊभन्दा म के कम भन्ने हुँदो रहेछ। व्यवसाय गर्न लागेपछि मान्छे लोभी पनि बन्दो रहेछ। सबै पाहुना मैकहाँ राख्न पाए हुन्थ्यो झैँ हुँदो रहेछ। सबैले १००–२०० जना अट्ने ठूलो होटल बनाउन थाले। पुराना होमस्टे हराउने भए।”


सम्बन्धित सामग्री