Monday, April 29, 2024

-->

प्रेम, युद्ध र वैराग

यो जिन्दगी पनि त कसैले लेखेको फिल्म हो, नाटक हो। कसैले निर्देशन गरिरहेको छ। र, अन्तिममा भन्नेछ, “इट्स टाइम टु गो।” तर ‘क्लाइम्याक्स’ कहिले आउँछ, थाहा छैन।

प्रेम युद्ध र वैराग

प्रेम
पाहुना घर’ लजको काउन्टरमाथि टुक्रुक्क बसेको ‘सांग्रिला’ ब्ल्याक–एन्ड–ह्वाइट टीभीमा ‘कुछ कुछ होता हे’को गीत हेरेपछि काम गर्ने बसन्तेका २०६ वटै हड्डीमा करेन्ट बग्यो।

“च्चा–माटुक्नी,” सामान्यभन्दा डेढ गुणा ठूला आँखा मतिर फ्याँकेर भन्यो, “गैजाम् बड्डा।”

ऊ सरासर सुत्ने कोठा गयो। सिरानीमुनि हात हाल्यो र एक मुठी पैसा निकाल्यो। खरर गन्यो।

“१३ रुप्पे छ, दुइटा स्पेसल आउँछ अनि ३ रुप्पेको बदम,” छेउमा अक्सिमिटर भएको भए म उसको पल्स जाँच्थें। अक्सिमिटर पक्कै पड्किन्थ्यो।

म केही बोल्न खोज्दै थिएँ, १० वर्षको चिल्लर बसन्तेले मेरो मुखमा चोर औंलो राखेर फिल्मी अन्दाजमा भन्यो, “आमापोइ, यसले आगो लगाउँच।”

उसले ‘गैजाम् बड्डा’ भनेको दिन आइतबार थियो। शनिबार आउन अझै ६ वटा सकसपूर्ण दिन बिताउनु थियो। ती ६ दिन ६ प्रकाश वर्षजत्तिकै लामा भए।

त्यो हप्ता हाम्रो होटलभरि ‘कुछकुछ होता है’को अनप्ल्ग्ड कभर बज्यो। त्यसमा कहिले बसन्ते, कहिले दाइ, कहिले मेरो भोकल सुनियो। होटलमुनिका ३ वटा सैलुनमा राहुल कटका पोस्टर टाँसिए।

मेरो जीवनमा त्यसरी छिरेको 'कुछ कुछ होता हे’ले मलाई सबकुछ बनायो।
०००

विक्रम सम्वत् २०५५ साल। असोज या कात्तिक महिना थियो। हल्का चिसो बढेको थियो। गोजी दशैँको पैसाले भरिएको थियो। घरमा फिनी रोटी सकिन–सकिन लागेको थियो। राति लुगा ओढ्नु पर्ने भइसकेको थियो।

हाम्रो लज थियो— ‘पाहुना घर’। बुवाले फेन्सी पसलबाट प्रगति गरेर त्यही पसलमाथिको लज किन्नुभएको थियो। बुवा माथि चढ्नुभएको थियो। म कक्षा ५, ६ या ७ मध्ये एउटामा पढ्थें। कक्षा भनियो भने यहाँ वास्तविक जीवनका सम्बन्धहरू बिग्रिन सक्छन्। त्यसैले अनुमान गर्ने ठाउँ राखियो।

मलाई हरेक परीक्षामा लगभग तीन वटा विषय लाग्थे। सबैभन्दा नजान्ने गणितमा थिएँ। १०० मा ५–६ आउँथ्यो। एकपटक १३ नम्बर आउँदा म हप्ताभरि खुशी भएको थिएँ। गणित जति गरे पनि दिमागमा घुस्नै सकेन। अंकहरू मेरा शत्रु थिए। दिमागको ढक्कन अंकहरूका लागि सधैँ बन्द थियो। सरका लाठी खाँदाखाँदा छाला चाम्रिसकेका थिए। गोविन्द सरले खोलाको ढुंगामा लुगा पछारेझैँ भकुर्थे। देवराज सरले साप्रा चिमोट्थे। रश्मि म्याडमले माया गर्थिन्, तर फेल भएको देख्दा उनी पनि चिन्तित हुन्थिन्। घरमा पनि चिन्ता गर्थे। सरहरू घर आएका बेला भन्थे, “कान्छो टाठो छ, तर गणितले उसलाई जिन्दगीमा अघि बढ्न नदिने भयो।”

पहिलोपटक मनमा कुतकुती लगाउने उनी भने, कक्षामा एकदम अब्बल थिइन्। प्रथम आउँथिन्। कति सुन्दर, कति सरल, कति कोमल, कति सफा, कति गोरी र कति धनी! उनी त्यो सबथोक थिइन्, जो म थिइनँ। म काले–काले, डल्ले–डल्ले, जाँचमा फेल हुने, सरको पिटाइ खाने र निम्नमध्यम वर्गीय।

कक्षाका प्रायःले उनलाई मन पराउँथे। त्यसमा म पनि थिएँ। भीडको एउटा हिस्सा हुनुको दकसले सम्भवतः पहिलोपटक त्यही बेला मन चिथोरेको हो। अजिताको मन जित्ने प्रतियोगिताका हिस्सेदारहरू गनिसाध्य थिएनन्। लाग्थ्यो— उनलाई पाउन सारा कक्षासँग लड्नु पर्नेछ। सारा भिलन हुन् र म हिरो। गुन्डाहरूले उनलाई घेर्दै छन् र मैले उनलाई बचाउनु छ। उनकै कारणले स्कुल जाऊँ–जाऊँ लाग्थ्यो। बिरामी भएर घरमा सुत्नु पर्दा स्कुलको यादले पिरोल्थ्यो।

टिपिकल फिल्मी कथा। गरिब केटा र धनी केटी। एउटा काले केटो र एउटी गोरी केटी। जाँचमा प्रथम आउने केटी र जाँचमा फेल हुने केटा। उनी दिन थिइन् भने म रात। म जे थिइनँ, उनी त्यो थिइन्। विपरीतहरू आकर्षित हुनु शायद यसैलाई भन्छन्।

हामी खासै कहिल्यै बोलेनौं, आक्कलझुक्कल मात्र। मलाई नजिक जानै डर लाग्थ्यो। म काँतर थिएँ। एक काँतर प्रेमी।

तर आगो दनदनी बलिरहेको थियो। रापले भित्रैदेखि पोलिरहेको थियो। यो आगोमा ड्रमका ड्रम घिउ थप्ने काम गर्‍यो— ‘कुछ कुछ होता हे’ ले। घिउ थप्ने मात्र होइन, दाउरा झोस्ने काम पनि गर्‍यो।

गीत हेरेदेखि नै लजमा काम गर्ने बसन्तेले ‘कुछ कुछ होता हे’ व्यग्रसँग कुरिरहेको थियो।

फिल्म लाग्यो। शनिबारको दिन बसन्ते र म नीमा हलमा फिल्म हेर्न जाने भयौँ। उसले हतारहतार लजका भाँडा माझ्यो र हामी कुद्यौं हलतिर। बसन्तेले भीडमाथि चढेर टिकट त ल्यायो, तर पूरै खचाखच हलमा सिट पाइएन। उभिएर हेर्नु पर्‍यो। फिल्म यति राम्रो लाग्न थाल्यो कि, उभिएको पनि पत्तो पाइएन। मध्यान्तर पुग्ने बेला जब रेलवाला सिन आयो, मेरा आँसु बर्बरी झर्न थाले। हिँक्कहिँक्क भयो। मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। त्यतिबेला ‘कन्ट्रोल उदय’ मिम आइसकेको थिएन। हलमा सबै रोइरहेका थिए। म पनि धुरुधुरु रोइदिएँ। फिल्म हेरेर रोएको शायद त्यो पहिलो घटना थियो। अन्तिममा शाहरूख र अञ्जली एक हुँदा ताली पिटियो। बसन्ते र मैले अँगालो मार्‍यौँ। हलबाहिर निस्किँदा हामी असिनपसिन भइसकेका थियौँ।

‘कुछ कुछ होता हे’ हेरेपछि मेरा बर्बादीका दिन शुरू भए। किनभने त्यो प्रेमको अंकुरण एकाएक बढेर मलाई झ्याप्पै समात्यो। वनमाराले जंगल छोपेजस्तो। भन्न पनि लाज लाग्छ, तर मैले आफूलाई राहुल देख्न थालें र उनलाई अञ्जली।

सामान्य कपाल राख्ने उनले पछि अञ्जलीको जस्तो ‘थाई कट’ बनाइन्। मभित्र आगो झन् सल्कियो। नत्र त म इमानदार तरिकाले भित्रभित्रै प्रेममा रमाइरहेको थिएँ। मेरो के दोष!

मलाई लाग्यो— उनले म राहुलमा परिवर्तन भएको थाहा पाइन् र आफू अञ्जली बनिन्। म केही दिन त्यही कल्पनामा रमाएँ। कक्षामा उनलाई लुकीलुकी हेर्थें र मनको तिर्सना मेट्थें। उनी पनि मलाई बेलाबेला हेर्थिन् (शायद)। मायालु नजरले हेर्थिन्। त्यत्ति हेरेकै भरमा म सोच्थें– उनी मलाई मन पराउँछिन्। ‘क्या करुँ हाय, कुछ कुछ होता हे’ गीत एक्कासि दिमागमा आउँथ्यो। म हायलकायल हुन्थें। जिन्दगी क्या राम्रो लाग्थ्यो। पेटमा पुतलीहरू उड्न थाल्थे। उनी दोपट्टा उडाउँदै आउँथिन्, अनि मेरो अँगालोमा बेरिन्थिन्।

‘कुछ कुछ होता है’को बक्स अफिसझैँ समय पनि बेपत्ता हुइँकियो। त्यो समय ठिहिर्‍याउने जाडोजस्तो थियो। स्कुलमा त्यही जाडोको लामो बिदाले आँगन टेक्यो। बिदाअघिको अन्तिम पिरियडसम्म आइपुग्दा म रित्तिसकेको थिएँ। छाती बज्र परेझैँ बाउँठिएको थियो। अब एक महिनासम्म उनलाई नदेखेर म कसरी बस्न सकुँला? उनले पनि मलाई कति मिस गर्छिन् होला? विचरा!

अन्तिम पिरियडमा हल्काफुल्का पानी परिरहेको थियो। कक्षा सकिएर सबै निस्किन थाले। म भने बेन्चमै बसिराखें। उनी अन्तिममा निस्किँदै थिइन्। मलाई लाग्यो— कोठाबाट बाहिर निस्किँदा मलाई एकपल्ट फर्किएर हेर्नेछिन् र मायालु नजरले भन्नेछिन्, “आई विल मिस यु लभ।”

तर, उनी पछाडि फर्किइनन्। शिट्!

त्यही पनि म लुरुलुरु उनको पछाडि हिँडिरहेँ। उनले एकपटक पनि फर्केर हेरिनन्।

मनमा ठूलो चोट पर्‍यो। घर गएर बसन्तेसँग वाकमेन मागेर कोठामा गएँ र बजाएँ–
तुझे याद ना मेरी आई, किसी से अब क्या कहेना!
दिल रोया के अख भर आई, किसी से अब क्या कहेना!

मेरा आँखा टिलपिल भए।

बिदा सकियो। कक्षाहरू शुरू भए। सरका लाठी बर्सिरहे। छालाहरू चाम्रा भइरहे। तर मैले उनको आँखामा हेरिनँ। आँखा जुधाइनँ। माया नै रहेनछ भने केको आँखा जुधाउनू? केको मन साट्नू? म आफैँ ठुस्स परेर बसिरहेँ। म उनीसँग रिसाएको थिएँ।

समस्या तब खडा भयो, जब कक्षामा एकाएक अमनहरू बढ्न थाले। विशाल (नाम परिवर्तन गरिएको, तर पहिलो अक्षर मिल्ने) मेरो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भएर निस्कियो। हुन त ऊ मेरो सबैभन्दा मिल्ने साथी थियो। तर अञ्जलीलाई मन पराउँदो रहेछ। पढाइमा मभन्दा राम्रो थियो। हेर्दा पनि राम्रै थियो बजिया। सुकुटे सुकुटे तर मजस्तो घिनै लाग्दो थिएन। मभन्दा अलि सम्पन्न थियो। उसलाई मेरो मनको कुतकुती थाहा हुँदाहुँदै पनि मैदानमा उत्रियो। धोकेबाज साथीले कटप्पा गर्‍यो। अहिले पनि कहिलेकाहीँ भेट हुँदा मुख कुच्च्याइदिऊँ जस्तो हुन्छ। (यो कथामा उसलाई अमन भनिनेछ)

अमनले अञ्जली उडाउने भयो भन्ने चिन्ताले मेरा भोक र निद्रा हर्नोकको डाँडापारिबाटै अलप भए। तर मलाई हौसला दिने अर्को साथी थियो— कविन्द्र रिमाल (नाम परिवर्तन गरिएको, तर पहिलो अक्षर मिल्ने र सुन्दा पनि उस्तै सुनिने)। उसले नै हौस्याएर मैले मान्न थालेको थिएँ कि अञ्जली पनि मप्रति भुतुक्कै छिन्।

कैन्द्रे भन्थ्यो—

“ऊ हेर्, अञ्जलीले तँलाई हेरी बे !”

“अञ्जलीले तेरो नाम लिएको मैले आफ्नै कानले सुनेको हो, विद्यानास।”

(मलाई बुझ्न धेरै वर्ष लाग्यो, तर कविन्द्रले पनि अञ्जलीलाई मन पराउँदो रहेछ।)

खैर! राहुल र अमनको लडाइँमा कक्षा विभाजित जस्तो देखियो। अमनले पनि आफ्नो आर्मीमा केही सुकेनाशहरूलाई भर्ती गरेको थियो। मन–मनको युद्ध चलिरह्यो।

अमन भन्थ्यो, “म आज उसको घरतिर गएको थिएँ। उसले बार्दलीबाट हेरेर हात हल्लाई।”

म पूरै पागल हुन्थेँ।

कैन्द्रे भन्थ्यो, “आज हाफमा अमन र अञ्जली हाँस्दै बोलिरहेका थिए।”

मेरो मनमा आगो बल्थ्यो।

अर्को साथी गणपति भन्थ्यो, “अञ्जलीले अमनसँग नोट मागी यार। तँ केही गर् न बे।”

(मलाई बुझ्न धेरै वर्ष लाग्यो, तर गणपतिले पनि अञ्जलीलाई मन पराउँदो रहेछ।) 

मैले सोचेँ— यत्तिकै त अञ्जलीको मन जित्न सकिन्न। अमनतिर भन्दा पनि अञ्जलीतिर फोकस हुनु पर्‍यो। नत्र बजारमा टिक्न सकिन्न। युद्ध होइन, प्रगति गरेर देखाउनु पर्‍यो।

के गरौं त? अचानक दिमागमा जुक्ति आयो। पढेर उसको मन जित्ने। ‘अ पोएटिक ब्याटल’। म फर्स्ट भएर देखाउँछु। कक्षा टपेर देखाउँछु। म फर्स्ट भएपछि अञ्जली मेरै हो। 

मेरो मिसन शुरू भयो। ‘कुछ कुछ होता हे’ कै गीत ‘रघुपति राघव राजाराम’ सुन्दै म जोस्सिएँ। कल्पना गर्थें— म शाहरूखझैँ लामो कोट लगाएर दौडिँदै गइरहेको छु, अञ्जली उता मन्दिरमा पूजा गर्दै मलाई कुर्दै छिन्। ‘रघुपति राघव राजा राम’ बज्दै छ।

दिनरात ‘रघुपति राघव’ गर्न थालेँ। घरमा छोरो धार्मिक भयो भनेर आमाका दाँत अरू बेलाभन्दा बढी देखिन थालेका थिए।

मलाई विश्वास थियो— अञ्जलीले मलाई कुर्नेछिन्। म पढुन्जेल मेरो पर्खाइमा अञ्जलीजस्तै बस्नेछिन्। अमनको केही गल्ने छैन।

बिस्तारै पढाइमा रुचि जाग्न थाल्यो। वर्षौंसम्म सरका थप्पड र लाठीहरूले खोल्न नसकेको दिमागको ढक्कन प्रेमको कुतकुतीले खोलिदियो। अंकहरू सुन्दर लाग्न थाले। मनका हिसाब बिग्रिए पनि गणितका हिसाब सुध्रिन थाले। १ मा १ जोड्दा २ हुनुको अर्थ बल्ल बुझ्दै थिएँ। युद्धबाट अहम् घटाउँदा प्रगति हुने रहेछ। प्रेमको भाषा त गणित पो रहेछ। गणितजस्तो राम्रो विषय संसारमै कुनै छैन।

अन्तिम परीक्षा आयो। जाँच दिएँ। त्यत्तिको राम्रो जाँच कहिल्यै भएको थिएन। खुशीको कुरा के थियो भने, अमनले परीक्षा बिगारेको थियो। साला, गयो त्यो। लाग्यो— अञ्जली अब मेरी हुन्। राहुल र अञ्जलीको मिलन हुनेछ। 

रिजल्ट कुर्ने व्यग्रता मैले पहिलोपटक महसुस गरें। ‘कुछ कुछ होता है’ पर्खिएभन्दा पनि लामा थिए ती दिन। रिजल्ट आएपछि अमनको मुखैमा मार्कसिट फाल्नेछु र अञ्जलीको अगाडि घुँडा टेकेर भन्नेछु, “आई लभ यु सिन्स द बर्थ अफ टाइम।”

पढाइमा डुबेको देखेर बा–आमा चकित थिए। प्रेममा डुब्नुभन्दा पढाइमा डुब्दा हरेक बा–आमा किन खुशी हुन्छन्?

एकदिन रश्मि म्याम घर आइन्। उनी भन्दै थिइन्, “केटोले त अचम्मै गर्‍यो यसपालि। गणितमा अझै राम्रो गरेको भए प्रथम नै आउने रहेछ। तर टप पाँचमा आएको छ। बधाई छ।”

खुशी त भएँ, तर प्रथम नहुनुको दकसले मन बटार्‍यो। म प्रथम नहुनुको अर्थ हो, अमनहरूको सल्बलाहट रोकिने छैन। तर, मूल अमनको अंक मेरोभन्दा कम आएकोले केही ढुक्क चाहिँ थिएँ।

अञ्जली नै प्रथम भइन्। मलाई खुशी नै लाग्यो। घरकै मान्छे त प्रथम भएको छ, किन रिसाउनू?

नयाँ कक्षा पनि शुरू हुने चहलपहल शुरू हुँदै थियो। म उनलाई ग्यापपछि देख्न आतुर थिएँ। म टप पाँचमा परेको थाहा पाएपछि उनी कति खुशी भइन् होला भनेर म हेर्न चाहन्थें।

कक्षा शुरू भयो तर पहिलो दिन उनी आइनन्। पहिलो दिन विद्यार्थी एकदम कम थिए। स्कुलमा हल्लाखल्ला चलिरहेको थियो। भाँडभैलो मच्चिरहेको जस्तो देखिन्थ्यो। के भइरहेको छ भनेर बुझ्न सकिरहेका थिएनौँ। त्यो दिन साह्रै न्यास्रो लाग्यो। साँझ घर गएपछि बुवाले भन्नुभयो, “तेरो स्कुलका धेरै सरहरूले एकैचोटि छोडेर नयाँ बोर्डिङ खोल्दै रैछन्। विद्यार्थीहरू पनि धेरै लान्छन् होला।”

यो त्यस्तो खबर थियो, जसले मेरो हंश उडाएर लैजान्थ्यो। म शीतांग भएर बुंग पछारिन सक्थेँ।

तर म त राहुल थिएँ। राहुलहरू सामना गर्छन्। मैले पनि गरेँ। नयाँ शताब्दी शुरू हुन एक वर्ष र बिन लादेनले अमेरिका हान्न अझै दुई वर्ष बाँकी थियो। कतै म टाइटानिकझैँ डुब्नेवाला त थिइनँ?

म रातभर निदाइनँ। स्कुलमा हिजोकै ‘क्याओस’ थियो। अञ्जली दोस्रो दिन पनि आइनन्। तेस्रो दिन पनि आइनन्। चौथो दिन पनि आइनन्। उनी कहिल्यै आइनन्। उनी इन्फिनिटीमा हराइन्। म शून्यमा हराएँ। समानान्तर रेखाजस्तै हाम्रो मिलन कहिल्यै हुन सकेन। अञ्जली र राहुलको मिलन हुन सकेन। बरु समानान्तर रेखाहरू कतै गएर भेट होलान्— डल्ले राहुल र सुन्दर अञ्जली हुने छैनन्।

रिलमा राहुल र अञ्जलीको मिलन भयो, तर रियलमा भएन। 

मेरो प्रेम कथा त त्यहीँ सकियो। तर प्रेम कहिल्यै सकिएन।

“कुछ कुछ होता हे अञ्जली, तुम नही सम्झोगी।”

प्रेम युद्ध रहेछ।
०००

युद्ध
हरिप्रसाद बञ्जाडे अर्थात् हाम्रा बा सिनेमाका पारखी हुनुहुन्थ्यो। हामी पनि बातिर गयौँ। बा नेपाली फिल्मका फ्यान, हामी नेपाली र हिन्दी फिल्म दुवैका। बा सामाजिक र सन्देश बोकेका फिल्म मन पराउने, हामीलाई अगाडि पर्दामा मान्छे चलेको देखे पुग्यो। परिवारका एड्मिन बाले हामीलाई सिनेमाको सागरमा धकेलिदिनुभो। पौडिन हामी आफैँले सिक्यौं। पौडिँदा पौडिँदै थुप्रै टापुहरूको यात्रा गर्‍यौँ।

घरभन्दा फिल्म हलहरूमा हाम्रो बास बढी हुन्थ्यो। हाम्रो लागि फिल्म हल मन्दिर थियो। दाइ चोर भएपछि भाइहरूलाई फाइदा हुने रहेछ। दाइ सानैदेखि चोर थियो। उसले पैसा चोर्थ्यो, हामी फिल्म हेर्थ्यौं। गोदाइ उसले खान्थ्यो, म सधैँ बच्थेँ। घरका कसैले पनि मैले त्यस्तो काम गर्न सक्छु भनेर कल्पना गर्दैनथे। म दिवारको शशी कपुर, दाइ अमिताभ बच्चन।

हामीलाई फाइट एकदमै मन पर्थ्यो। अजय देवगण, अक्षय कुमार, सुनील सेट्टीका कुनै पनि फिल्म छुटेनन्। ‘ए वक्त हमारा हे’, ‘ऐलान’, ‘बाजिगर’, ‘मोहरा’, ‘गोपी किसन’, ‘करन अर्जुन’हरू कम्तीमा पाँचपटक हेर्थ्यौं। नेपालमा राजेश हमाल र शिव श्रेष्ठ मन पर्थे। हिरो मरिहाल्यो भने महिनौँसम्म दुःख लाग्थ्यो। हाम्रा उमेरका अरू बच्चाहरू गुडिया, खैलौना किन्थे। हाम्रो रुचि बन्दुक, मेसिन गन, ग्रिनेड बम, चक्कु, खुकुरी जस्ता हतियारमा हुन्थ्यो। सानो बन्दुक र बारुद त कति पड्काइयो पड्काइयो। 

राप्ती हलमा हिन्दी फिल्म बढी लाग्थ्यो, गणेश हलमा नेपाली। नीमा हलको त्यस्तो कुनै भर हुन्नथ्यो। यता राजेश हमाल समाजमा हुने अन्यायका विरुद्ध लडिरहेका थिए। जमिन्दारहरूको खेदो खनिरहेका थिए। उनी एउटा फिल्ममा मर्थे तर अर्को फिल्ममा जिउँदो भएर आइहाल्थे। उनी ‘अन्याय’ सहन नसकी ‘पृथ्वी’मा ‘चट्याङ’ ल्याउँथे। सबैको ‘अधिकार’का लागि लड्थे। उनी हामीलाई ‘शंकर’ ‘देउता’ जस्तै लाग्थे। राजेश हमालजस्तो खत्रा हिरो कोही लागेन। र लाग्ने छैन।

उनी मर्दा दुःखी हुने मन नयाँ फिल्ममा देख्दा खुशी हुन्थ्यो। उता अक्षय कुमार र सुनील सेट्टीहरू बदला लिनमा व्यस्त थिए। नेपाल र भारत दुवैतिर हिरोहरू व्यस्त थिए। गुन्डाहरूको चिच्चेखलो थियो। जमिन्दारहरूको भागाभाग थियो। बम र बारुदको कुहिरीमण्डल थियो।

फिल्मको मूल्यांकन हामी फाइट सिन गनेर गर्थ्यौं। धेरै फाइट छ भने बबाल फिल्म, थोरै भए ठिकै। फाइट नहुने फिल्म हाम्रा लागि सुपर फ्लप थिए। अझ ‘लास्ट फाइट’ खुब चर्चित थियो। फिल्मभरि हिरोले जति गोदाइ खाए पनि हामी सोच्थ्यौँ– लास्ट फाइटमा सब ठीक हुन्छ।

बीचतिर मेरो मनमा प्रेमको अंकुरण भए पनि फिल्मले सानैदेखि मलाई द्वन्द्वतिर आकर्षित गरेको थियो। एकतर्फी प्रेममा केही वर्ष भड्किए पनि म ढिसुम ढिसुमको संसारमा फर्किहाल्थेँ।

गोलीको वर्षा, बम पड्किएका ज्वाला र गुन्डाहरू रगत छादेर मरेको दृश्य खुब टेस पर्थ्यो। अझ हिरोले चक्कु हान्दा उफ्रीउफ्री सिट्ठी बजाउँथ्यौँ। कहिलेकाहीँ हिरोले गुन्डालाई नमारेरै माफी दिएको दृश्य हुन्थ्यो। हामी रिसले चुरचुर हुन्थ्यौं। 

ग्याङमा कुरा हुन्थ्यो, “अमरिस पुरी बच्यो यसपालि। हिरोमा अलि दम भएन।”

अक्षय कुमार गुन्डाहरूलाई तह लगाउने, तर नमार्ने इमानदार पुलिस पल्टिन्थ्यो। सुनील शेट्टी रिसाहा, गुन्डाहरूलाई सखाप पार्ने हिरो पल्टिन्थ्यो। हामी सेट्टीका फ्यान थियौं। हामी चिल्लरहरू आफ्ना हिरोहरूबाट माफी, क्षमा, दया भएको देख्नै सक्दैनथ्यौं। 

हामीलाई ‘मौत’, ‘सफाया’, ‘खल्लास’ चाहिन्थ्यो। हामीलाई ‘मौत’, ‘सफाया’, ‘खल्लास’ चाहिन्थ्यो। हाम्रो ‘नेपाली बृहत् शव्दकोश’को पृष्ठ नम्बर ५९६ च्यातिएको थियो। ‘दया’ शव्दै कतै थिएन।

फाइटप्रतिको प्रभाव रियल जिन्दगीमा पनि थियो। कराँते पनि सिकियो। टाउकोमा रुमाल पनि बाँधियो। साथी–साथीबीच फाइट पनि गरियो। हिरोजस्तो उड्दा हात खुट्टा पनि मर्काइयो। केटीहरूलाई देखाउन पाखुरा पनि सुर्काइयो।

यस्तैमा आयो— ‘बोर्डर’।

फाइट र एक्सन मन पर्ने चिल्लरहरूलाई अब के चाहियो ! मस्तले हेरियो। एकपटक मात्र होइन, कयौं पटक हेरियो। पहिले आर्मीवाला एक्सन फिल्म खासै हेरेका थिएनौँ। बोर्डर हाम्रा लागि नौलो एक्सन फिल्म थियो। द्वन्द्व स्केल बढेको थियो। सधैँ हिरो र गुन्डाबीचको फाइट हेरिरहेका हामीलाई यसपटक देश–देशवीचको फाइट थियो। ‘बोर्डर’ भारतीय सेनाको तर्फबाट देखाइएकोले गर्दा होला— उनीहरूकै समर्थन गर्‍यौँ। सन्नी देवल चिच्याउँदा रगत उम्लियो। ज्याकी श्रफले फाइटर प्लेन ल्याउँदा सिट्ठी हालियो। सुनील सेट्टी र अक्षय खन्ना मर्दा मन खिन्न भयो। राखीको दुःख देख्दा आँसु बगाइयो। ‘सन्देशे आती हे’ गीत सुन्नका लागि दिनभर हजामको पसलमा बसिन्थ्यो। उता पाकिस्तानी सेनाहरू मर्दा साह्रै आनन्द आउँथ्यो। मेसिन गनले भुटुटुटुटु पार्दा मनमा शीतल हुन्थ्यो। पाकिस्तानीहरू रगताम्मे भएर पल्टेको देख्दा जुन आनन्द आएको थियो, त्यो बयान गर्न सक्दिनँ।

हामीलाई लाग्थ्यो— पाकिस्तानीहरू गुन्डा हुन्। खराब मान्छे हुन्। दानव हुन्। उनीहरू मर्नै पर्छ। भारतले युद्ध जित्नै पर्छ। ‘भारत माता की जय!’

हामीजस्ता एक्सन फिल्मका चिल्लर फ्यानहरूलाई ‘बोर्डर’ मक्कामदिना थियो। त्यो तहको एक्सन देख्दा हामी मुख फट्टाएर ‘आँ‘ऽऽऽ’ गर्‍यौँ। भारतमा बिस्तारै पाकिस्तानीविरोधी फिल्म आउन थाले। हामीले भारतको समर्थनमा ताली बजाइरह्यौँ।

यता राजेश हमालले समाज सुधारिरहेकै थिए। जिन्दगीमा एक्सनको कमी थिएन।

र यस्तैमा आयो २०५८ साल। त्यो वर्ष घरको पहिलो नाति जन्मिएको थियो। नाम तो सुना ही होगा- अनमोल केसी!

दाइ लेनिन अर्घाखाँची गएर भाञ्जो र सुत्केरी दिदीलाई लिएर आयो। उनीहरू आएपछि घर बल्ल घरजस्तो लाग्न थाल्यो। उनीहरूको स्याहारसुसारमै दिन जान्थ्यो।

मंसिर ८ गते राति हामी भर्खर निदाउन लागेका थियौँ। ११ बजेतिर एकाएक गोलीको आवाजले झसंग भयौँ। सबैका हातखुट्टा जमे। बुवा कराउँदै निस्किनुभो। हामी जर्‍याकजुरुक उठ्यौँ।

एकैछिनमा भटटटटटटट आवाज बढ्यो। हामीले सोच्यौँ- कसैले पटाका पड्कायो होला। कसैले रमाइलो गर्दै होला। भर्खर सकिएको तिहारका पटाका बाँकी होलान्। शिशु भाञ्जो झस्केर रुन थाल्यो। 

पटाकाजस्ता आवाज बढेर बन्दुकका गोली र बारुद भए। गोली, बम र मान्छेका चिच्याहटले कानमा कम्पन ल्याए। हामी डरले गुडुल्कियौँ। खाट उठाएर झ्यालमा तेर्स्यायौँ। बम पड्किँदा झ्याल थरररर गर्थे। घरबाहिरको बाटोमा मानिशहरू ग्वारग्वार हिँडिरहेका थिए।

कता के भइरहेको छ, कसैलाई पत्तो थिएन। बुवा एक्कासि छतबाट ओर्लिएर कराउनुभयो, “माओवादीले हान्यो ! माओवादीले हान्यो !!”

हामी युद्धभूमिको बीचमा थियौँ। झ्यालबाट बाहिर हेर्दा एउटा पुच्छ्रेताराजस्तो वस्तु उडेर खस्दै थियो। दाइ भन्दै थियो, “जिलेटिन हो।”

मैले त्यो पुच्छ्रेतारा खसेको हेरिरहेँ। एकछिनमा त्यो निभ्यो।

बन्दुकको आवाजले कानको जाली फुट्लाजस्तो भइसकेको थियो। हाम्रो घरको अघिबाटै बन्दुक फायर गरिरहेका थिए। त्यो आवाज सुन्दा यस्तो लाग्थ्यो— मानौँ उनीहरूले चारैतिरबाट हाम्रो घरमा आक्रमण गरिरहेका छन्।

कताबाट कुन गोली छिरेर आउने हो र हामीलाई छुने हो, थाहा थिएन। कुन बम कहाँबाट आएर खस्ने हो, पत्तेो थिएन। माओवादी आक्रमणका खबर समाचारहरूमा हेरिन्थ्यो। व्यक्तिगत रूपमा त्यसको खास असर थिएन। तर मंसिर ८ गते युद्ध पनि पर्सनल भयो। युद्ध गाउँ छोडेर शहर आएको थियो। काल शहर पसेको थियो। हामी स्वयं युद्ध भोग्दै थियौँ।

हामी रातभर खाटमुनि लुक्यौँ। रातभर गोली र बम पड्किरहे। दुःस्वप्नको वास्तविक अर्थ त्यही दिन थाहा पाएँ। जीवनको सबैभन्दा लामो रात शायद त्यही थियो। त्यो रात जानै मानेन। सूर्य आउनै मानेन। 

रातभर मान्छे ग्वारग्वार हिँडिरहेका थिए। आकाश बेलाबेला चम्किरहन्थ्यो। 

हजारौँ वर्षपछि बल्ल बिहान भयो। रात छिप्पिएर पूर्वमा लाली पोतिने बेला बन्दुक र बारुद बिस्तारै अलप भए। आकाश उज्यालो भयो। 

सबैभन्दा पहिले नजिकै मिलनचोकमा रहेको मालपोत अफिस गयौँ। दनदनी आगो बलिरहेको थियो। कागजपत्र बाटैभरि असरल्ल थिए। गोलीका छर्रा हुन् कि ढुंगाका छर्रा हुन्, पत्तो पाइनँ। मिलनचोक अस्तव्यस्त देखिन्थ्यो। त्यहाँ चोकमात्रै थियो, मिलन थिएन। बिछोडको उदास अनुहारझैँ एक्लो एक्लो थियो।

हामी हतारहतार नयाँबजारको जिल्ला प्रहरी कार्यालय गयौं। बाटैभरि मान्छेको भीड थियो। हेलिकोप्टर उड्दै थिए। प्रहरी कार्यालय पुग्दा मेरो सातो गयो। झसंग भएँ।

प्रहरी कार्यालय ध्वस्त भइसकेको थियो। धुवाँ पुत्ताइरहेको थियो। कोलाहल थियो। दाइ स्थानीय ‘नयाँ युगबोध दैनिक’को हर्ताकर्ता पत्रकार थियो। कार्ड देखाउँदै ऊ प्रहरी कार्यालय छिर्‍यो, म उसको हात समातेर पछि लागेँ।

भित्र पुग्दा देख्यौँ— प्रहरीका शव छरपस्ट थिए। त्यो देखेर घाँटी सुक्यो। चक्कर आउला जस्तो भयो। त्यसरी त्यति धेरै शव कहिल्यै देखेको थिइनँ— फिल्ममा बाहेक। ‘बोर्डर’मा राजस्थानको मरुभूमिमा पाकिस्तानी सेनाहरू पल्टेको जस्तै। थानामा शवहरूको मेला थियो।

अलि पर कुनामा एउटा शरीर लडिरहेको थियो। त्यो शरीरमाथि एक जना महिला पल्टेर रोइरहेकी थिइन्। 

अरे ! यो त फिल्मजस्तो पो छ त ! वास्तविक जीवनमा पनि यस्तो हुन्छ र?

अति फिल्म हेर्ने मान्छे श्रापित हुने रहेछ। उसले हरेक घटना फिल्मको कोणबाट हेर्छ। ऊ कहिल्यै फिल्म हलभन्दा बाहिर निस्कन सक्दैन। वास्तविक जीवनका मानिशहरू पनि उसका लागि फिल्मका पात्र हुन्।

र, म सानैदेखि श्रापित थिएँ। 

त्यो पलमा मैले रिल र रियलको भेद छुट्ट्याउन सकिरहेको थिइनँ। कतै फिल्म सुटिङ त भइरहेको छैन? कता–कता पछाडिबाट निर्देशक आएर ‘कट्’ भन्ने हुन् कि? कतै यो सबै स्टेज त होइन? कतै म यो फिल्मभित्र त छैन? कतै म नै हिरो त होइन? कतै म मरिसकेको त छैन? कतै म तिनै प्रहरीको आत्मा त होइन?

एकमनले सोच्यो- ती प्रहरी जुरुक्क उठ्नेछन् र अर्को फिल्ममा पुनः आउनेछन्। जसरी राजेश हमाल आउँथे। 

ती प्रहरीको छातीमा गोली लागेको थियो। मुटुको छेउछाउ। त्यो गोली लागेको ठाउँबाट रगत निस्केको थियो। फिल्ममा देखेको रगतभन्दा बिल्कुल फरक। रगत न त ताजा थियो न त पूरै सुकिसकेको। भर्खर रगत निस्किन बन्द भएको जस्तो। भर्खर भर्खर प्राणले शरीर छोडेजस्तो।

तर, प्रहरीको अनुहार शान्त थियो। न कुनै पीडा न कुनै डर। न कसैप्रति आक्रोश न कसैप्रति रिस या माया। मैले शायद पहिलोपटक महसुस गरेको त्यही दिन हो- मान्छे मर्दा जत्तिको शान्त कहिल्यै हुँदैन। 

ती महिला घोप्टो परिरहेकी थिइन्। बाँकी शव यत्तिकै पल्टिरहेका थिए। शायद आफ्नाहरूलाई कुरिरहेका थिए। परिवारहरू आउलान् भनेर कुरिरहेका जस्ता लाग्थे।

म छेउमा थचक्क बसेँ। पहिलोपटक युद्धभूमि आँखैअघि देखिरहेको थिएँ। त्यत्तिका धेरै शव देखिरहेको थिएँ। धेरै शव एकै ठाउँमा देख्दा आफू पनि शव जस्तो भइँदो रहेछ। सेनाको ब्यारेकमा ११ वटा शव ढलिरहेका छन् भन्ने सुनेर म झन् चिसिएँ।

अरू त थाहा छैन तर त्यो दिन मभित्रको अबोधपन धेरै मर्‍यो। पुरानो ‘म’को एउटा अंश त्यही प्रहरी थानामा पुरियो। शवको थुप्रोमा मेरो ‘इनोसेन्स’ पनि कतै पुरियो।

वर्षौंसम्म राति सुत्दा कानमा गोलीको आवाजले हिर्काइरह्यो। भुइँभरि असरल्ल पल्टिरहेका शवहरू आँखामा नाचिरहे। मृत शरीरमाथि घोप्टो परेर घण्टौँ बसेकी महिला देखिरहेँ।

फिल्ममा फाइट मन पर्न छोड्यो। एक्सन फिल्मबाट मन उठ्यो। ‘बोर्डर’मा गीतमात्र मन पर्न थाल्यो। पाकिस्तानीहरू मरेको सम्झिँदा मनमा खुशी लागेन। युद्धका फिल्म हेर्दा कसैको पक्ष लिन मन लागेन। मर्नेहरूप्रति करुणा र समभाव मात्र आउन थाल्यो।

अलि ठूलो हुँदै गएपछि विश्वयुद्धका फिल्म हेर्न थालें। तर, युद्ध हेरेर आनन्द कहिल्यै लिन सकिनँ।

युद्धप्रतिको प्रेम सधैँका लागि मर्‍यो।
०००

वैराग
(यो लेख्दा ‘इन्टु द वाइल्ड’का गीत बजिरहेका छन्। लेख पढ्दा असली मजा लिनु छ भने पृष्ठभूमिमा तिनै गीतहरू बजाउनुहोला)

बिस्तारै उमेर बढ्न थाल्यो। घर छोडेँ। बाल्यकाल छोडेँ। शहर बदलियो। साथीभाइ बदलिए। काठमाडौँ आएपछि नेपाली र हिन्दी फिल्मभन्दा हलिउड र विदेशी भाषाका फिल्म हेर्न थालेँ। ‘कास्ट अवे’, ‘सिन्डलर लिस्ट’, ‘बिग फिस’, ‘अ बोय इन द स्ट्रिप्ड पजामा’ जस्ता फिल्म हेर्दा चकित परेँ। उमेरसँगै फिल्म पनि बदलिँदै गए। फिल्मले परिपक्वता पनि थप्दै गयो। 

बिहानै उठेर त्रिचन्द्र कलेज दौडिने र दिउँसो कोठा फर्केर फिल्म हेर्ने रुटिन बन्यो। टोरेन्टबारे थाहा पाएपछि सारा संसारको खजाना मुठ्ठीमा थियो। खजाना लुट्नुसम्म लुटेँ। पाइरेट भएँ। हजारौं फिल्म जम्मा गरेँ। फिल्म माग्नेहरू कोठासम्मै आउँथे। 

म पनि सानोतिनो रबिन हुड थिएँ।

यही समय थियो– गम्भीर सिनेमाको संसार छिरेको। यही बेला थियो– ‘इन्टु द वाइल्ड’ फिल्मले जीवन प्रवेश गरेको। क्रिस्टोफरको मक्यान्डल्सको जीवनी पर्दामा हेर्दा विश्वासै लागेन। उनी विद्रोही मानिस थिए। परिवार, करिअर, सम्पत्ति र समाज सबै छोडेर जंगलमा बसेका थिए। 

‘सोसाइटी’, ‘होप यु आर नट लन्ली विदाउट मी’ भन्दै उनी बिलाए— अलास्काको जंगलमा।

हरेक आधुनिक मानिस सभ्यता छोडेर कतै एक्लै गएर बस्न मन गर्छ। ‘एभ्री ह्युमन इज अ पोटेन्सियल क्रिस्टोफर मक्यान्डल्स’। आधुनिक जीवनको सकस यति छ कि पलायन नै मुक्ति जस्तो देखिन्छ। म पनि यसबाट अछुतो रहिनँ। ‘इन्टु द वाइल्ड’ले मलाई सोचेभन्दा धेरै प्रभाव पार्‍यो। त्यहीमाथि इडी भेडर (पर्ल ज्याम)को संगीतले बढावा दिने काममात्र गर्‍यो।

यसबीच जीवनमा धेरै पटक मन बिग्रियो। मनलाई के छ र! बिग्रिहाल्छ। खासगरी सम्बन्ध र असफलताहरूले। ‘म यो समाजमा अट्न सक्दिनँ कि’ जस्तो लाग्न थालेको थियो।

‘म पनि हराउनु पर्छ। बिलाउनु पर्छ।’

क्रिस्टोफर दार्शनिक थोरयुबाट प्रभावित थिए। म क्रिस्टोफरबाट प्रभावित थिएँ। म पनि क्रिस्टोफरको बाटोमा थिएँ।

मन दूषित मानव सभ्यताबाट जतिसक्दो टाढा जान खोज्थ्यो। भाग्दै भाग्दै तारापुञ्जको छेउमा पुगूँ र र विश्राम गरूँ, जहाँ कोही हुने छैनन्। 

भौतिकताले यसरी गाँज्दै थियो कि मन बस्– छुट्कारा चाहन्थ्यो। सबै मानिस पिँजडा बोकेर जीवनमा आउँथे। बदलामा आफ्नो अस्तित्व दान दिनु पर्थ्यो। पखेँटा सधैँ गुम्सिएरै बसे। 

एउटा समय थियो, जब म निश्चित भइसकेको थिएँ— संसारमा प्रेमको अस्तित्व छैन। सबै नाटक त गर्छन्। सबै ढोङ त गर्छन्। ओहो, संसारमा प्रेमबाहेक सबै त रहेछ।

प्रेमका लागि धेरैका ढोका ढक्ढकाएँ। कति ढोका त खुल्दै खुलेनन्। केही खुलेका ढोका अँध्यारा भए। कुनै खुलेका ढोकामा भीडभाड मात्र भयो। कुनै कोठामा चिहानघाट रहेछन्।

प्रेम पाइएन। 

मनभित्र पनि अस्तित्व संकट बढिरहेको थियो। जीवनको अर्थ खोज्दाखोज्दै आँखा थाकिसकेका थिए। भगवान खोज्दाखोज्दा खुट्टा गलिसकेका थिए। न कतै उत्तर भेट्थेँ न मनमा प्रश्न कम हुन्थे। मन्दिर गयो— माग्ने र जल्नेहरू मात्र भेटिने। घाट गयो– खरानी मात्र भेट्टिने। भगवानले मूर्तिबाट बाहिर निस्किने हिम्मत कहिल्यै गरेनन्। मनभित्र खोज्न कोशिश गर्दा पनि केही अवशेष भेटिनँ।

किताबका अक्षरमा होस् कि संगीतको धुनमा। खोलाको सुस्केरामा होस् कि पहाडको उचाइमा। अहँ ! भगवान कतै भेटिएनन्।

भगवान छन् कि छैनन्— थाहा थिएन। अझै पनि छैन। तर, म चाहन्थें— भगवान होऊन्। अरे यार, कोही छैन भने त यो सब जीवन–जगत् फगत एउटा जैविक दुर्घटना मात्र हुनेवाला थियो। हामी सम्पूर्ण प्राणी जगत् एउटा संयोग मात्र हुनेवाला थियौँ। म त्यो स्वीकार्न सक्दिनथेँ। सक्दिनँ पनि। कोही न कोही अर्थात् केही न केही त हुनै पर्छ यो ब्रह्माण्डको चालक।

यी सबै भावनाको छटपटाहट एकैपटक भइरहेको थियो। एउटा युवक धकेलिँदै थियो— पर...पर। वैराग छायो। 

प्रकृतिको काखमा एक्लो हुँदा जति मन शान्त हुन्थ्यो, त्यो अन्त कतै भेटाउँदिनथें। बस प्रकृतिको काखमा बसेर प्रकृतिमै लिप्त र विलीन हुनेबाहेक अरू विकल्प थिएन।

तर म त काँतर थिएँ। क्रिसजस्तो झोला बोकेर निस्किने हिम्मत कहिल्यै आएन। हामीजस्ता मानिसलाई झोला बोकेर निस्किन सजिलो छैन। त्यो झोलाको भार हामीले उचाल्न सक्दैनौँ। धेरै पटक निस्किऊँ भनेर कोसिस गरेको हुँ, तर हिम्मत गर्न सकिनँ।

‘इन्टु द वाइल्ड’ हेर्दै चित्त बुझाउने मात्र गरें। मेरो सट्टा क्रिस हिँडे। मेरो सट्टा उनी भड्किए। अर्बौं मान्छेको भीडमा मलाई एउटा कथाको पात्रले मात्र शान्ति दियो। 

यो सबै चलिरहँदा एकपटक मनमा ठूलो चोट पर्‍यो। सहन सकिनेभन्दा माथि। सबै कुराको एउटा सीमा हुन्छ तर त्यतिबेला त्यो नाघियो। सयौं पटक आत्मसम्मान किचोलिँदा पनि डग्न नसकेका खुट्टा त्यतिबेला ताते। 

सोचेँ— सक्दिनँ यार म यो संसारसँग। आई सरेन्डर। फ... अफ एभ्रिवन।

मैले झोला बोकेँ। यो लिच्चड संसारमा बस्नु छैन भन्दै हिँडें। 

छानेँ— मनास्लु। शाब्दिक अर्थ– आत्मा। म आत्माको यात्रातर्फ लागेँ। क्षतविक्षत आत्मा बोकेर मर्मत गर्न लागेँ हिमालतिर।

मान्छे भन्छन्, ‘हिमालहरू चिसा हुन्छन्।’ कति अज्ञानी छन् मान्छे। हिमालजस्तो न्यानो ठाउँ संसारमा कहीँ छैन। चिसा त मान्छे हुन्। लाग्छ अन्तिम घर हिमाल हो। हिमाल प्रकृतिको काख हो। हिमाल सुख हो, हिमाल आनन्द हो। सबै चिज सागरमा गएर सेलाउँछन् तर त्यो सेलाउने ठाउँ मेरो लागि हिमाल हो।

सबैलाई ट्रेक जान्छु भनेर हिँडेँ। तर एउटा मनमा फर्किन्नँ कि भन्ने थियो। हिमालले कतै न कतै त ठाउँ देला। 

बोक्नै नसकिने गह्रुँगो झोला बोकेँ। मन हल्का पार्ने यात्रामा झोला गह्रुँगो बोक्नु पर्ने रहेछ। इयरफोनमा पर्ल ज्याम सुन्दै लागेँ उत्तरतिर।

‘सोसाइटी, होप यु आर नट लन्ली विदवाउट मी’ भन्दै आरुघाटबाट पैदल यात्रा शुरू गरेँ। वर्षाको मौसम भएकोले एकजना पर्यटक पनि थिएनन्। १०–१२ दिनसम्म म एक्लै हुनेवाला थिएँ।

प्रकृति र म एक्लो हुने समय आएको थियो। भयो पनि त्यस्तै। दुईबीच जुहारी चल्नेवाला थियो। 

म बिस्तारै उत्तरतिर लागें। उकालो हिँड्न गाह्रो हुने मानिसले झोलाचाहिँ हलुको बोक्नु पर्ने रहेछ। उकालोमा तेल निस्कियो। ओरालोमा आनन्द आयो। पहिलो दिन तातोपानी पुग्दै हालत खराब भइसकेको थियो। 

मनमा परेको दुःख बोक्दै म बिस्तारै–बिस्तारै हिँडें। बाटोमा खासै कसैसँग बोलिनँ। दिनभर हिँड्थें। मनमा के–के कुरा खेल्थे। आफूलाई गाली गर्थें। अरूलाई गाली गर्थें। आफूलाई सराप्थें। अरूलाई सराप्थें। मुख छाड्थें। हिँड्थें। 

कता–कताबाट ‘इन्टु द वाइल्ड’का क्रिस्टोफर अघि आउँथे र भन्थे, “इट्स नट नेसेसरी टु बी स्ट्रङ, बट टु फिल स्ट्रङ। हिँड् केटा हिँड्।”

मलाई थोरै ऊर्जा आउँथ्यो। सोच्थेँ— यो संसार मलाई डिजर्भ गर्दैन। मलाई कहिल्यै चिन्न सकेन। मलाई कहिल्यै अपनाउन सकेन। फ... यु सिभिलाइजेसन। आई होप, यु आर नट लन्ली विदाउट मी।

म जोसिएर झोला बोक्दै अघि बढ्थेँ। यो क्रम दिनरात चलिरहन्थ्यो।

उचाइ बढ्दै जाँदा बिस्तारै–बिस्तारै गति कम हुन थाल्यो। शरीरलाई गाह्रो हुन थाल्यो। अक्सिजन कम हुँदै थियो।

तेस्रो दिन नामरुङ र लोको बीचमा पुगिसकेपछि चाहिँ बल्ल मनास्लु यात्रा शुरू भयो। खाजा खाने समयमा आराम गरेर बसिरहेका बेला एकाएक मेरो ध्यान पत्रपत्र भएर बसेका चट्टानतिर गयो। खोलाको छेउमा विशाल चट्टानको पहाड हेर्दै थिएँ। ती चट्टान शान्त बसिरहेका थिए।

अचानक मेरो ध्यान तलतिरको चट्टानतर्फ गयो। हजारौँ, लाखौँ वर्षदेखि ती चट्टान च्यापिएर बसेको देखेँ। सोचेँ— कति सकस, कति पीडा भएको होला ती चट्टानलाई! उनीहरू च्यापिएको पीडा एकाएक मलाई हुन थाल्यो। दुखेर रुन मन लाग्यो। कतै म पनि त्यस्तै कुनै चट्टानको पत्र त होइन? जीवनमा पहिलोपटक वास्तविक रूपमा एक्लो अनुभव भएको त्यही पल थियो। यस्तो लाग्यो— यो सारा ब्रह्माण्डमा म एक्लो छु। मबाहेक मेरो कोही छैन। म एक्लो ज्युँदो छु, बाँकी सबै मरिसकेका छन्। त्यो एक्लोपनको अनुभव कसैलाई बुझाउन सकिँदैन। त्यो एक्लोपन बुझ्न त्यसैगरी एक्लो हुनुपर्छ।

जब त्यो अनुभव भयो, आँखाबाट आँसु झर्‍यो। बूढीगण्डकी नदीले मलाई एकतमासले हेरिरह्यो। यात्रीहरू त उसले हजारौँ देख्यो होला तर ढुंगा हेर्दै रुने मानिस पक्कै देखेन। संयोगले म चट्टानको डाक्टर हुँ।

मनास्लुले मलाई चुनौती दियो। चौथो दिन म जंगलको बीचमा थला परेँ। कम्मरको हड्डी यसरी दुख्यो कि लाग्यो— अब जीवनभर हलचल गर्न सक्दिनँ। म घण्टौँसम्म जंगलमा सुतेँ। न कोही मानिस आयो न कुनै पशु। म आकाशतिर हेर्दै सुतिरहें। ओहो! यही ठाउँमा पो मर्ने लेखेको रहेछ!

केही घण्टासम्म जंगलमा सुतेपछि अलि राहत भयो। आफूलाई घिसारीघिसारी होटेलतर्फ गएँ। होटेलमा हाइड्रो सर्भे गर्ने एउटा टोली रहेछ। उनीहरूले मुभ दिएपछि हल्का राहत भयो। 

म फेरि अघि बढेँ। केही दिनपछि मनास्लुले आफ्नो दर्शन दियो। म मन्त्रमुग्ध भएँ। आहा! यो पो हो जीवन! त्यहाँका गुम्बाहरूमा समय बिताएँ। लामाहरूसँग कुरा गरेँ। मनमा शीतल भरिँदै गयो। सभ्यता पछि छोड्दा आनन्द भेटिँदै थियो।

शायद सातौँ दिन थियो। मेरो यात्राको सबैभन्दा कठिन दिन। त्यो दिन सामागाउँबाट धरमशाला हुँदै लार्के पास पुगेर भिम्ताङ झर्नु थियो। यात्राको सबैभन्दा उच्च बिन्दु लार्के पास थियो। अघिल्लो रात साम्दोमा रातभर निद्रा लागेको थिएन। खाना पनि रुचेको थिएन।

बिहान ५ बजे उठेर धरमशालाका लागि हिडेँ। मौसम सफा थियो। बल्लबल्ल धरमशाला पुगेँ। त्यहाँ खाना पाइन्छ भनेर साम्दोमा केही नखाइ हिँडेको थिएँ। तर दुई घण्टा हिँडेर जब धरमशाला पुगेँ, निराशा मात्र हात पर्‍यो। त्यहाँ भएको एउटा होटेल शौचालय जस्तो थियो। यस्तो घिनलाग्दो कि भित्र छिर्नासाथ उल्टी आउला जस्तो। त्यो होटेल हेर्ने एउटा केटा रहेछ। सुतिरहेको थियो। भित्र छिर्नासाथ ह्वास्स गाँजाको गन्ध आयो। पूरै गाँजामा लट्ठ थियो। उसले झोक्किँदै ‘खाने कुरा केही छैन’ भन्यो। त्यो केटा मनै परेन। त्यहाँ बस्नै मन लागेन। नबसी निस्किएँ।

झोलामा चाउचाउ थियो। चलिहाल्ला नि भनेर म उकालो लागेँ। ३० मिनेट मात्र के हिँडेको थिएँ, पेट कटक्क काट्यो। हत्तपत्त झोला छेउमा राखेर शौच गर्न बसें। मेसिन–गन पट्किएझैँ फोहराहरू निस्किए। पखाला पो लाग्यो। निख्रिने बेलासम्म म थाकेर निथ्रुक्क भइसकेको थिएँ। त्यही बेला अचानक मौसम बिग्रियो। एकातिर पेट दुखिरहेको छ, अर्कोतिर मौसम बिग्रिएको छ, पेट खाली छ। चार हजार मिटरमाथिको उचाइमा हिँड्नु छ। एकातिर अक्सिजन कम, अर्कातिर एक्लो बाटो। कहाँ हो कहाँ पुग्नु छ। पूरै सन्नाटा छ। म एक्कासि आत्तिन थालेँ। डर लाग्न थाल्यो। 

जतिजति माथि लागेँ, खाने पानीको स्रोत कम–कम हुँदै थियो। म अब घिस्रिन थालेँ। झोला कतै मिल्काइदिऊँ जस्तो लाग्यो। 

“के खान आएँ म यो ठाउँ? थुक्क मेरो बुद्धि!” दिमागमा यस्तै चल्न थाल्यो।

ट्रेकिङ रुटका संकेतहरू पनि हराउन थाले। हिउँले पुरिएका रहेछन्। सबै कुरा पालैपालो बिग्रिरहेका थिए। जे–जे नराम्रो हुन सक्छ, त्यही–त्यही भइरहेको थियो। म झन् आत्तिन थाले।

सास पनि फेर्न गाह्रो भयो। मोबाइलमा ‘म्याप्स डट मी’ लगेको थिएँ। त्यही हेर्दै घस्रिएँ।

दिमागको कता हो कता कुनामा क्रिस्टोफर मक्यान्डल्स आउन थाले। उनीजस्तै म पनि ‘वाइल्ड’मा थिएँ। ‘इन्टु द वाइल्ड।’ उनी जंगलमा रमाएका थिए। खुशी थिए। म पनि रमाउँछु।

उनले दुःख पाएको सम्झिएँ। अलास्काको जंगलमा गरेको संघर्ष सम्झिएँ। उनले सक्ने, मैले नसक्ने हुनै सक्दैन। फेरि ऊर्जा बटुलेर घिस्रिएँ।

बोतलको पानी सकिएको थियो। घाँटी प्याकप्याक भइसकेको थियो। चाउचाउको पनि मसाला मात्र बाँकी थियो। झोलामा पसिना गन्हाउने लुगा मात्र थिए। बाटोछेउ हिलो मिसिएको हिउँ मुखमा हाल्दै हिँडेँ। हिलो मिसिएको होला, निल्नै सकिनँ।

लार्के पास पुग्नु एक घण्टाअघिको कुरा हो यो। यस्तो पास वरपर पानीको स्रोत खासै नहुने रहेछ।

कोही मानिस भेटिन्छन् कि भनेर धेरै कुरें पनि। कोही आएनन्। 

तिर्खाले उग्र रूप लियो। मेरा आँखा धमिला हुन थाले। भोक, थकान, अक्सिजन, पानी आदि सबैको अभावले म बाच्दिनँ कि जस्तो लाग्न थाल्यो। 

लाग्यो— आज मेरो अन्तिम दिन रहेछ!

मनको नेपथ्यमा सबैको सामूहिक आवाज आउँदै थियो— मरिस् हैन एक्लै? त्यही मर्न गाको हैन त्यहाँ?

रुन मन लाग्यो। मनमा सबैका अनुहार एक–एक गर्दै आए। शायद मर्नुअघि अघि यस्तै हुन्छ। जिन्दगीभरको प्यासी म अन्तिममा तिर्खैले मर्दै थिएँ। क्या अर्थपूर्ण!

तिर्खाको वास्तविक अर्थ मैले त्यही दिन सिकें। उच्चतम तिर्खामा मानिसले आँखा देख्दो रहेनछ। म आँखै हेर्न नसक्ने अवस्थामा पुगेको थिएँ। मेरो सबै ऊर्जा र आँट शून्यमा झरिसकेको थियो।

म गर्ल्यामगुर्लम ढलें। मनमनै भनें, “यो जीवनसँग, प्रकृतिसँग, ब्रह्माण्डसँग– आई सरेन्डर। म सक्दिनँ। मेरो समाधि यहीँ हुनेछ।”

क्रिस्टोफरको अन्त्यजस्तै मेरो पनि अन्त्य हुन लाग्यो। उनले अन्त्यमा भनेका थिए, “खुशी साटेपछि मात्र वास्तविक हुन्छ (ह्यापिनेस इज रियल ह्वेन सेयर्ड।)”

मलाई त्यस्तो भाव केही आएन। एकदम पीर लाग्यो। घर, परिवार, बुवा–आमा सम्झिएँ। 

आमा ‘फोन किन लागेन’ भनेर आत्तिँदै हुनहुन्छ होला। बुवा ‘कति फोन गर्छेस्, फोन लाग्ने ठाउँमा आएपछि गरिहाल्छ नि’ भन्दै हुनुहुन्छ होला।

आँखा रसायो। भुइँमा पल्टिएर आकाशतिर हेर्दै म रोएँ। 

आकाशलाई भनेँ, “यही रहेछ हैन मेरो लेखान्त ? मलाई किन यति दुःख दिइस् ? मैले के पाप गरें, जसका कारण मैले यो जीवन भोग्नु पर्‍यो? साला खुशीको आस दिइस्– खुशी दिइनस्। उत्सुकता दिइस्– उत्तर दिइनस्। प्यास दिइस्– पानी दिइनस्। मनमा काउकुती दिइस्– माया गर्ने आँखा दिइनस्। आँखा त दिइस् तर दृश्य दिइनस्। म यो अस्तित्वलाई ‘आक थु’ गर्छु। फ... यु गड।”

र, आँखा चिम्म गरेँ।

‘बिस्तारै छायो आँखामा अँध्यारो’

धेरै बेर बित्यो। म अँध्यारोमा हराउँदै हराउँदै अलप हुँदै थिएँ। जसरी महासागरमा खसेको एउटा ढुंगा गहिराइमा हराउँदै हराउँदै जान्छ।

यत्तिकैमा कानमा चरा उडेजस्तो आवाज आयो। घण्टौँसम्म कुनै सजीव चिज देखेको थिइनँ। म झसंग भएँ। आँखा खोलेर उठें। आँखा धमिलो–धमिलो थियो। एउटा चरा उड्दै–उड्दै मबाट टाढा जाँदै थियो। त्यस्तो उचाइमा पनि चरा हुन्छ भन्ने लागेको थिएन। चरा देखेर म चकित भएँ। 

चरा देख्नासाथ मभित्रबाट सुलुलु ऊर्जा बगेर शरीरभरि फैलियो। ‘सरेन्डर क्यान्सिल’ भन्दै उठेँ। ठ्याक्कै त्यतिबेला मौसम खुल्यो र एकछिनको लागि सूर्य पनि देखियो। यो सबै फिल्मी लागिरहेको थियो। 

म झन् जोस्सिएँ— ‘मर्ना क्यान्सिल !’

नक्सामा हेरेँ। लार्के पास नजिकै देखायो। जोस्सिँदै, तर घिस्रिँदै–घिस्रिँदै उकालो लागेँ।

‘आज बाँच्नु छ। कुनै अरू दिन मरूँला। म आत्मा खोज्न आएको हुँ, सेलाउन होइन।’

जसोतसो लार्के पास पुगेँ। त्यहाँ पुग्दा हिमपात भयो। तर, त्यसको केही चिन्ता लागेन। त्यसपछि त ओरालो मात्र थियो। एकैछिन ओरालो लागेपछि खोला भेटियो। प्राण फर्किहाल्यो।

मेरो हालत क्रिस्टोफर जस्तो नहुने भयो। म ‘इन्टु द वाइल्ड’बाट फर्केर आउने भएँ। उनले मर्ने बेला भनेका थिए, “ह्याप्पिनेस इज रियल ह्वेन सेयर्ड।”

तर म जिउँदै भन्छु, “ह्याप्पिनेस फिल्स रियल ह्वेन यु नो ह्वाट लोन्लिनेस इज।”
०००

‘संसारमा प्रेम छ है’ भन्ने सत्य फिल्मले सिकायो। फिल्मले प्रेमका लागि तयार गर्‍यो। तर, उक्साउनुसम्म उक्साएर चाहिने बेला फिल्म लुत्त भाग्यो। फिल्मले प्रेमकथा त दियो, प्रेम दिएन। मनको ठेगाना र त्यहाँ पुग्ने बाटो त देखायो, तर बाटोमा हराएर अल्मलिँदा उद्धार गर्न आएन। हो, तीन घण्टे फिल्मजस्तो जीवन हुँदैन। त्यसो हुन्थ्यो त कसैको मनमा बास पाउन भीडसँग लड्नु पर्थेन। 

वास्तविक संसारमा प्रेम चाम्रो छ, कठिन छ। प्रेम ‘प्रिभिलेज’ हो। मायावी जाल हो। तर, फिल्मभित्र प्रेमले कसैलाई पक्षपात गर्दैन। रिलभित्र प्रेम सर्वहारा हो। सिनेमाले त्यो दियो, जुन जीवनमा पाइएन। 

प्रेममा केही लछारपटार लाउन नसक्ने भएरै होला युद्धतिर मन बरालिएको। जहाँ प्रेम भएन, युद्धले आफ्नै लय समात्यो। हिंसा प्रिय लाग्न थाल्यो। भगवानहरूले पनि युद्धमा कसैको पक्ष लिएका छन्। फिल्मले वास्तविक जीवनको प्रेमका लागि तयार गरेझैं युद्धका लागि पनि तयार गर्‍यो। तर, युद्ध फिल्मभन्दा भयानक रहेछ। त्यो कुरा फिल्मले भन्न बिर्सियो।

यो मान्छेले प्रेम र युद्धबाट मोक्ष पाउँदैन भन्ने लागेपछि फिल्मले मेरो मनमा अन्तिम अस्त्र फ्याँक्यो— वैरागको। उसले भएभरका जीवन दर्शनलाई मेरो अघि ल्याएर उक्सायो। मनभित्रको उकुसमुकसलाई तनसम्म ल्यायो। त्यसका लागि मलाई हिमाल चढ्नेदेखि समुद्रको मुनि हराउन लगायो। विपश्यनादेखि पुलबाट हाम फाल्न लगायो। घण्टौं घाटमा टोलाउनेदेखि अनन्त ब्रह्माण्डमा चियाउन लगायो। 

थ्यांक यु फिल्महरू!

यिनै छटपटीले मलाई परम आनन्दतर्फको बाटोमा डोर्‍याउँदै छन्। बाटो कठिन छ तर यात्रा रोमाञ्चक छ। गन्तव्य टाढा छ तर मनमा त्यसको चिन्ता छैन। त्यो शून्यमा एकदिन अवश्य पुगिनेछ। शून्यमा शून्यसरि हराएर एकदिन आत्माको हिसाब निकाल्नु छ।

र, अन्तिममा कसैले भन्नेछ— “कट्!”

यो जिन्दगी पनि त कसैले लेखेको फिल्म हो, नाटक हो। कसैले निर्देशन गरिरहेको छ। र, अन्तिममा भन्नेछ, “इट्स टाइम टु गो।”

तर क्लाइम्याक्स कहिले आउँछ, थाहा छैन।


सम्बन्धित सामग्री