Monday, April 29, 2024

-->

विद्यालयमा रंगमञ्चः किन पढाउने, के पढाउने?

हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो।

विद्यालयमा रंगमञ्चः किन पढाउने के पढाउने

नाटक लेखक, निर्देशक, प्रशिक्षक, सडक नाटकका प्रणेता अशेष मल्लको यात्रा धनकुटाबाट शुरू भएको हो। सोध्नेलाई उनी त्यो यात्राको स्मरण सुनाइहाल्छन्।

धनकुटा कला र संस्कृतिमा समृद्ध मानिन्छ। सरस्वती पूजाको अवसरमा हरेक वर्ष हुने साँस्कृतिक कार्यक्रममा नाटक गर्नै पर्थ्यो। गोकुन्डेश्वर माविमा शिक्षकले तयार पारेको नाटकमा बालकलाकार भएर अभिनय गर्न मल्लले कहिल्यै छुटाएनन्।

२०४३ सालतिर सर्वनामले नाचघरमा ‘नानीहरूको नाटक मेला’ आयोजना गर्थ्यो। बद्री अधिकारी, सरुभक्तहरू नाटक ल्याउँथे। त्यो बेला निजी विद्यालयहरू कम थिए। मल्ल र उनका साथी पद्मकन्या, रत्नराज्य, शहिद शुक्र, पद्मोदय स्कुलमा गएर विद्यार्थीहरूसँग नाट्य कार्यशाला चलाएर नाटक तयार पार्थे।

हातेमालो सञ्चारले ‘हातेमालो बाल मेला’ आयोजना गर्थ्यो। नुपुर भट्टाचार्यको नेतृत्वमा विराटनगर र पाल्पामा भएको मेलामा नाटक मञ्चन हुन्थ्यो। नाटकका लागि दर्शक निर्माण गर्न होस् वा बालबालिकालाई नाटक सिकाउने क्रममा, निकै अघिदेखि रंगमञ्चीय गतीविधिमा विद्यालय जोडिँदै आएका छन्।

वीरेन्द्र हमालले ओसिस स्कुलमा नाटक ‘एकादेशमा’ तयार पारेका थिए। विद्यालयहरूमा नाटक निर्माणको काम फाट्टफुट्ट भइरहन्थ्यो। करिब २०६० सालतिर भ्याली भ्यू स्कुलमा नाटक निर्माणको प्रस्ताव लिएर पुगेँ। आइडियल स्कुलमा महेश श्रेष्ठले क्लबमा नाटक सिकाउने काम पाए। केही समयमा नै उनले मलाई पनि पठाए। लालमणि सिटौलाले दीपिका स्कुलमा नाटक तयार पारे। महेशले नारायण बोर्डिङ स्कुलमा अभिनय सिकाउन थाले। स्कुलले अभिाभावक दिवस लक्षित गरि यसरी नाटक निर्माणका लागि नाट्यकर्मीलाई बोलाउन थाले।

पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरीय नाटक महोत्सव आयोजना गर्थ्यो। किशोर अनुराग, कृष्ण शाह यात्रीले पनि विद्यालयमा नाटक निर्माण गरे। महेश, विकास र राजन खतिवडाले पाठशाला नेपालसँग मिलेर ‘काबुलीवाला’ नाटक निर्माण गरे। सरिता गिरी, पशुपति राई, अरुणा कार्कीले ग्यालेक्सी स्कुलमा नाटक पढाए। भोलाराज सापकोटा र विमल सुवेदीले युलियन्स स्कुलमा नाटक पढाए। मैले पाठशाला नेपालमा केही समय काम गरेँ। रामबाबु रेग्मीले पनि त्यहाँ नाटक निर्माण गरे। सुरेश चन्दले सेरिन भ्याली र क्याम्ब्रिज स्कुलमा काम गरे। हेमन्त गौतमले पनि धेरैवटा विद्यालयका नाटक क्लबमा संलग्न भए।

बिस्तारै शैक्षिक क्षेत्रमा रंगमञ्च फैलिन थाल्यो। नाटक निर्माण र मञ्चन हुन थालेपछि विद्यालय, विद्यार्थी र अभिभावकलाई समेत प्रभावकारी भयो। जुनसुकै भाषामा नाटक निर्माण भए पनि विद्यार्थीहरूमा भाषाको विकास हुन थाल्यो। बोल्ने कला र प्रस्तुति कलाले आत्मविश्वास बढ्यो। अभिभावक दिवसमा एउटा कार्यक्रम थप्नकै लागि भए पनि विद्यालयहरूले नाटकलाई प्राथमिकता दिए। 

आफ्नै अनुभूतिबाट विषय प्रवेश गर्दा अलि विश्वासिलो हुन्छ।

भ्याली भ्युमा म नाटकको लागि पुग्नु बेरोजगारीको कारण थियो। नाटक निर्माणको प्रस्तावलाई सुभाषचन्द्र भण्डारीले रुचाएपछि विद्यालयले नै मलाई केही विद्यार्थीको समूह दियो। उनीहरूसँग सडक नाटक तयार पारेँ। त्यो नाटक तयार पार्नुको उद्देश्य वरिपरिका केही ठाउँमा मञ्चन र विद्यालयको विज्ञापन गर्ने थियो। नाटक मञ्चनको प्रभाव राम्रो परेपछि विद्यालयले ‘नाटक क्लब’ निर्माण गर्याे। त्यसपछि ग्लोबल पब्लिक स्कुलमा नाटक क्लब निर्माणका लागि प्रस्ताव राखें र काम पनि शुरू भयो। गुरुकुलले स्कुल थिएटर फेस्टिभलको आयोजना गर्याे।

शैली थिएटरले पहिलो बाल नाटक महोत्सव आयोजना गर्दासमेत कमै रंगकर्मीहरूलाई विद्यालयप्रति चासो थियो। विद्यालयका शिक्षकहरूले नाटक बनाएर ल्याउँथे। शैलीको पाँचौँ महोत्सवसम्म मैलै दुईवटा विद्यालयबाट नाटक लिएर जान्थेँ। विद्यालयमा नाटक पढाउनु रोजगारीलाई पूर्ति गर्ने माध्यमको रूपमा मात्रै लिएको थिएँ। पढाउने कुरा निकै सिमित थिए।

एसोएस सानोठिमी, ब्राइट फ्युचर स्कुल, अमिनटी स्कुलमा, पनि नाटकको क्लब शुरू गरेँ। पाँच वटा स्कुलमा क्लब भएपछि कमाइको चिन्ता भएन। त्यसपछि युरो स्कुल पेप्सीकोलाले हप्तामा एकपटक युकेजीदेखि कक्षा तीनसम्म नियमित नाटकको लागि बोलायो। पढाउने सामग्रीको साह्रै अभाव भयो। 

यतिन्जेल राजु दाहाल पनि स्कुलमा सक्रिय हुन थाले। कृष्ण शाह यात्रीले लिटिल एन्लसमा नाटक पढाउन शुरू गरे। युलियन्स स्कुलमा भोलाराज सापकोटा गए। भारतमा हुने नाटक महोत्सवमा विद्यालयका नाटक लिएर जान मिल्ने भयो। युरो स्कुलका विद्यार्थीसँग पहिलो पटक ‘मधुमालतीको कथा’ नाटक लिएर गएँ उडिसा। त्यसपछि पठाशालाबाट ‘किताबभित्र किताबाहिर’ नाटक लिएर गएँ। 

विद्यालयमा पढाउने कुरा कम भएपछि ‘आशु रचना’ र नाटक निर्माणको काममा ज्यादा ध्यान लगाएँ। सुरेश चन्दले रिभेरा स्कुल, टंक टाइगरले पनि एपेक्स लाइफ लगायत विभिन्न स्कुलमा काम शुरू गरे। प्रज्ञा कुञ्ज र रोजबडमा पनि नाटकको कक्षा शुरू भयो। यतिन्जेल प्रकेश सिन्धुलीय र प्रभाकर न्यौपानेले पनि विद्यालयमा नाटक पढाउन शुरू गरे। 

स्कुलहरूले ‘आफ्टर स्कुल’ र शनिबार पनि कक्षा राखिदए। ‘सरले भ्याउने समयमा आउनुस्’ भन्न थाले। हेलमेट टिचरको दर्जा पाएँ। जुन रूपमा भए पनि विद्यालयमा मैले नाटक पढाउनेबारे कुराकानी हुन थाल्यो। प्रज्ञा कुञ्जमा युकेजीदेखि नै नाटकको कक्षा राखियो। रातो बङ्गलामा राजकुमार पुडासैनीले नाटक सिकाए केही समय। स्कुलहरूमा नाटक सिकाउने काममा निकै अगाडिदेखि हेमन्त गौतम सक्रिय थिए। हेमन्तले भीएस निकेतनलगायत विभिन्न स्कुलमा नाटक सिकाए। बालबच्चाको किन्स थिएटर नै थियो उनको। आशा मगरातीले युनाइटेड, बाबा बोर्डिङ, जेम्स, त्रियोग स्कुलमा नाटक विषयलाई फैलाउन मद्दत गरिन्। केही वर्ष रोजबड स्कुलमा काम गरेँ।

कमलमणि नेपाल चलचित्रहरूमा व्यस्त रहँदा पनि विद्यालयमा नाटक पढाउन छोडेनन्। लोकेन्द्र लेखक पनि एकताका विद्यालयहरूमा व्यस्त रहे। 

मातृभूमि स्कुलमा कक्षा १ देखि ९ सम्म नियमित नाटक पढाउन शुरू गरेँ। नियमित र क्लब गरेर छ वटा स्कुलसम्म पढाएँ। नाटक तयार पारेर थिएटरमा लैजान शुरू गरेँ। युरो स्कुलले ‘तुलसी’ नाटकलाई सर्वनाम थिएटरमा मञ्चन गर्याे। मन्डला बनेपछि मन्डलामा स्कुलको नाटक मञ्चन शुरू गरेँ। मन्डलाका कलाकारले ‘आफ्नै नाटक, आफ्नै दर्शक’ भनेर आलोचना गरे। 

कसैले ‘रिफर’ गरेर, कसैले आफैं थाहा पाएर स्कुलहरूले पनि खोज्न थाले। नाटक विधा अतिरिक्त क्रियाकलापबाट विद्यालयहरूमा शुरू भएको हो। अहिले धेरै विद्यालयहरूले पाठ्यक्रमको सहयोगी विषयको रूपमा समावेश गर्न थालेका छन्। शैक्षिक संस्थाहरूमा नाटक पठनपाठनसँगै नाटक निर्माणको कामले निकै आशावादी बनाएको छ। 

मोफसलमा के छ अवस्था?
सोनु जयन्तीले २०५४ सालदेखि विद्यालयमा नाटक निर्माणको काम शुरू गरे। कलालयले इटहरीमा यो क्रम अहिले फैलाएको छ। उनको समूहले धेरै निजी तथा सरकारी विद्यालयहरूमा नाटक पढाउने गर्छन्। पोखरामा पोखरा थिएटरले धेरै विद्यालयमा नाटक पढाउन थाल्यो। उनीहरूसँग अहिले धेरै विद्यालय छन्। धेरै रंगकर्मी नाटक पढाउँछन्।

कोभिडपछि घर फर्किएका रंगकर्मीद्धय जीवन बराल र सुमन कुइँकेललाई अहिले नाटक पढाएर भ्याइनभ्याइ छ। झापा, मोरङका धेरै विद्यालयमा उनीहरू नाटकको काममा व्यस्त छन्। कवु नेपालले निकै अघिदेखि विद्यालयहरूमा नाटक निर्माणको काम गरेकी हुन्। 

इलामका सुरेश पोर्तेल पनि विद्यालयमा नाटक पढाउन व्यस्त छन्। चुलाचुली रंगमञ्चका रंगकर्मीहरू पनि विद्यालयमा आकर्षित हुन थाले। उदयपुरका गोपाल कृति विद्यालयहरूमा नाटक निर्माण गरिरहेका रङ्गकर्मी हुन्। दमकमा कदम थिएटरका साथीहरू पनि विद्यालयहरूमा थिएटर पढाउन व्यस्त छन्।

कुन–कुन विद्यालयमा छन् थिएटर हल?
नाटककै लागि भनेर निर्माण भएका थिएटर नभए पनि डीएभी, लिटिल एन्जल्स्, जेम्स, स्वस्तीश्री, पाठशाला, अक्षरा, सेन्ट मेरिज, सेन्ट जेभियर्स, बुढानीलकन्ठ, रातो बंगला, मातृभूमि, राजश्री, स्कुलमा सानाठूला हल छन्। मातृभूमि स्कुलले पहिलो अन्तराष्ट्रिय बाल नाटक महोत्सव विद्यालयकै हलमा आयोजना गरेको हो।

अक्षरा स्कुलले दोस्रो अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दा हलको नाम नै ‘अभि थिएटर’ राखेका छौँ। त्रैविध शिक्षा सदनमा पनि हल छ। भएको स्पेसलाई सम्बन्धित विद्यालयमा नाटक पढाउने रंगकर्मीले कुन रूपमा प्रयोगमा ल्याउन सक्छन् त्यसमा भर पर्छ। 

प्रज्ञा कुन्ज स्कुलले खुला ठाउँमा रंगमञ्च निर्माण गरेर ‘थिएटर विक’ चलायो। हरेक वर्ष ‘थिएटर विक’ गरेर नाटक पढ्ने हरेक विद्यार्थीले अभिनय गर्छन्। वर्षमा एउटा अन्तराष्ट्रिय नाटक महोत्सवमा लिएर जान्छ।

कस्तो छ पढाउने विषयवस्तु?
हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो। कसैसँग पनि पढाउने पाठयक्रम छैन। अनुभवको आधारमा आफ्नो सहजतालाई ध्यानमा राखेर पढाउने सामाग्री निर्माण गरेका छौं। 

अरू केही देशका शैक्षिक क्षेत्रमा रंगमञ्चको प्रवेश निकै अघिदेखि भएको हो। अमेरिका, अष्ट्रेलिया, स्लोभाकिया, नेदरल्यान्ड, डेनमार्कलगायत देशमा पनि नाटक निर्माण र पठनपाठनको क्रम राम्रो छ। यी देशमा सरकारले नै नाट्य विधालाई पाठ्यक्रममा समावेश गरेका छन्। 

नेपालमा अहिले धेरै रंगकर्मीहरूको आकर्षण शैक्षिक क्षेत्र हो। विद्यालयमा अभिनय सिकेका बालकलाकारहरू थुप्रै प्रोजेक्टमा संलग्न छन्। 

अहिलेको दशकमा आइपुग्दा शैक्षिक क्षेत्रमा रंगमञ्चको संलग्नता नाटक बनाउनु मात्रै नभएर व्यवसायिक विषयको रूपमा समावेश भएको छ।


सम्बन्धित सामग्री