Thursday, May 02, 2024

-->

यस वर्षको बिस्केटजात्रा चैत २७ देखि

जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ।

यस वर्षको बिस्केटजात्रा चैत २७ देखि 
फाइल तस्वीर : रासस

भक्तपुर– यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि शुरू हुने भएको छ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर शुरू हुने जात्रा चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइ वैशाख १ गते साँझ लिंगो ढालेर मनाइन्छ। जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण भइरहेको गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जानकारी दिइन्।

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा रथ निर्माणका लागि विभिन्न आकारका काठ तयार गर्ने, पांग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको वलीको भनाइ छ।

उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पांग्रा निर्माण गरिएको र अरू पाङ्ग्रा मर्मत गरिएको छ। चैत २३ गतेसम्ममा प्यागोडा शैलीको तीन तले रथ निर्माण गरिसक्ने तयारी छ। “रथ तान्न ठेकेदारलाई ९० हात लामो डोरी ल्याउन निर्देशन दिएका छौँ।

५५ हात लामो, नांलोजस्तो फराकिलो फेद भएको लिंगो जात्राका लागि चाहिन्छ,” भनिन्, “भैरवको रथ चैत २७ गते दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ।” बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायतमा २५ लाख रुपैयाँ बजेट छ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्यांगा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा शुरू हुने परम्परा छ। लिच्छवीकालदेखि शुरू भएको जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिंगोजात्रा हो।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ।

तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्‍याई रथ फर्काउने प्रचलन छ। पहिले बिस्केट जात्रा लिंगो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो। पछि मल्लकालमा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउन थालिएको हो।

अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन छ जना भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।

जात्राको अन्तिम वैशाख ५ गते पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने गर्छन्।

त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई पूजा गरेर भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न हुन्छ। 


सम्बन्धित सामग्री