Friday, April 26, 2024

-->

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
फाइल तस्वीर

काठमाडौँ– शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मंगलबार विविध कार्यक्रम गरी मनाइँदै छ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म भव्य रूपमा यो पर्व मनाइन्छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए। उनका अनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन्। विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने यो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ।

शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो। पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसार मनाउँने गर्छन्। 


सम्बन्धित सामग्री