Sunday, May 12, 2024

-->

देउवापुत्र जयवीरलाई बतास ग्रुपले किन नामसारी गरिदियो कास्कीको जग्गा?

फेवाताल सिरानतर्फको पाँच रोपनी जग्गा व्यावसायिक घराना बतास समूहले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई नामसारी गरिदिएको फेला परेको छ।

देउवापुत्र जयवीरलाई बतास ग्रुपले किन नामसारी गरिदियो कास्कीको जग्गा

पोखरा– सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुरामा जन्मेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारको पछिल्लो (स्थायी) थातथलो काठमाडौँको बुढानिलकण्ठ बनेको छ। देउवा निवासकै नामबाट अहिले बुढानिलकण्ठको त्यो क्षेत्रसमेत चिनिन्छ। त्यहाँको चोकको नाम नै ‘देउवा चोक’ रहन गएको छ। 

बुढानिलकण्ठलाई स्थायी थातथलो बनाएका देउवा पछिल्लो समय गृहजिल्ला डडेलधुरा भने आक्कलझुक्कल मात्र जाने गर्छन्। अहिलेसम्म डडेल्धुराबाट नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका देउवाको चुनावी कार्यक्रमबाहेक अरू बेला डडेलधुरामै पनि खास आवतजावत छैन। 

जस्तो, २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि उनको जन्मथलो, गन्यापधुरा गाउँपालिकाकै बासिन्दाले देउवाको जिल्लामा आवतजावत असाध्यै पातलिएको गुनासो गरेका थिए। चुनावी रिपोर्टिङका लागि गन्यापधुरा पुगेका उकालो संवाददातासँग उनीहरूले भनेका थिए, “शेरबहादुर देउवा आक्कलझुक्कल हेलिकप्टरमा मात्र जिल्ला आउनु हुन्छ, भत्केको सडक र यहाँको समस्या हेर्नुहुन्न।”

गृहजिल्लामै पातलिएको देउवा परिवारको काठमाडौँ बाहिर अरू कुनै जिल्लामा अस्थायी बसोबासको योजना बनिरहेको होला त?

मालपोत कार्यालय कास्कीको एउटा अभिलेखले झट्ट हेर्दा त्यस्तै संकेत गर्छ। पर्यटकीय आकर्षणको केन्द्र मानिने पोखरा नजिकै, कास्कीको ढिकुरपोखरीमा देउवापुत्र जयवीर सिंह देउवाका नाममा जग्गा पास भएको मालपोत कार्यालयको कागजातले देखाउँछन्। 

उकालोलाई प्राप्त कागजातअनुसार दुई कित्ता कायम रहेको ५ रोपनी ३ पैसा १ दाम जग्गा जयवीरको नाममा नामसारी भएको छ। साबिक ढिकुरपोखरी गाविस वडा नम्बर ९, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा रहेको कित्ता नम्बर १९१८ को २ रोपनी ३ पैसा १ दाम र कित्ता नम्बर १९१९ को ३ रोपनी जग्गा जयवीरको नाममा पास भएको देखिन्छ।

मालपोत कार्यालयका कागजात खोतल्दा त्यो जग्गा उनले २ लाख २५ हजार र ३ लाख रुपैयाँ गरी जम्मा ५ लाख २५ हजार रूपैयाँमा खरिद गरेको उल्लेख गरिएको छ। कागजातअनुसार २०७७ पुस २ गते यो जग्गा मालपोत कार्यालय कास्कीबाट जयवीरका नाममा पास भएको छ। 

बतास समूहबाट जयवीरलाई नामसारी
जयवीरको नाममा पास (नामसारी) भएको जग्गा बतास ट्रयाक्टर्स प्रालिबाट उनको नाममा आएको मालपोतका कागजातबाट देखिन्छ।

बतास ट्रयाक्टर्स प्रालि पछिल्लो समय चर्चामा रहँदै आएको व्यापारिक घराना, बतास समूहकै व्यापारिक उपसमूह हो। बतास समूह पोखराका व्यापारी आनन्दराज बतासले चलाएको व्यापारिक घराना हो।

यो त्यही समूह हो जो पछिल्लो समय लिज भाडाका नाममा सार्वजनिक सम्पत्तिमा शृंखलाबद्ध रूपमा जोडिँदै आएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र रहेको नेपाल ट्रष्टको जग्गा लिजमा लिएर क्याफ्टेरिया सञ्चालन गर्न खोज्दा बतास समूह पहिलो पटक विवादमा तानिएको थियो। सार्वजनिक सम्पत्तिमा आँखा लगाउँदै आएको यो समूहले पशुपति धर्मशाला पनि सस्तोमा लिजमा लिएर होटल, अटोमोबाइल लगायतका व्यापार सञ्चालन गर्दै आएको छ। 

पछिल्लो समय प्रभावशाली व्यापारिक घरानाको पंक्तिमा देखिन थालेको बतास समूहको नाम पोखरामा प्रदेशस्तरीय संग्रहालय र मणिपाल अस्पतालको स्वामित्वमा पनि जोडिएको थियो। रोचक चाहिँ काठमाडौँमा नारायणहिटी दरबार संग्रहालयभित्र नेपाल ट्रष्टको जग्गा लिजमा लिएर क्याफ्टेरिया लगायतका संरचना बनाउने सम्झौता गरेको एक महिनापछि बतास समूहले कास्कीको जग्गा जयवीरलाई नामसारी गरिदिएको देखिन्छ। 

मालपोत कार्यालय कास्कीको कागजातमा बतास ट्रयाक्टर्स प्रालिले जयवीरबाट ‘५ लाख २५ हजार रुपैयाँ लिएर मालपोत कार्यालय कास्कीमा बसी राजीखुशीले सहिछाप समेत गरी राजीनामा दिएको’ उल्लेख छ। ती कागजातमा ‘घरायसी र पारिवारिक कारणले जयवीरलाई जग्गा बेच्नु परेको’ समेत उल्लेख छ। 

कस्तो घरायसी र पारिवारिक कारणले यो जग्गा बतास समूहले जयवीरलाई बेच्नुपर्‍यो त? हामीले बतास समूहका अध्यक्ष आनन्दराज बतासलाई सोध्यौँ। उनले शेरबहादुर देउवापुत्रलाई जग्गा बिक्री गरेको लुकाएनन्।

“हो, मैले नै उहाँहरूलाई यो जग्गा किन्न लगाएको हो,” उनले भने, “त्यहाँ कृषि गर्न सकिन्छ भनेर मैले नै उहाँहरूलाई यो जग्गा किन्न लगाएको थिएँ।” उनले जग्गा खरिद बिक्रीबारे थप कुरा भने खुलाउन चाहेनन्। 

बतास समूहबाट देउवापुत्रको स्वामित्वमा आएको यो जग्गा कास्कीको नौडाँडादेखि तल, फेवातालको सिरानभन्दा माथि पर्छ। यो जग्गा पञ्चासे–भदौरेको बीच भागतिर छ। उचाइमा रहेको, फेवाताल देखिने यो ठाउँको नजिकै घना जंगल छ। सिर्सिर बतास चलिरहने यो जग्गा नजिकै बतास समूहले करिब दुई सय रोपनी जग्गामा बतास एग्रो फार्म सञ्चालन गरिरहेको छ। 

शहरको कोलाहलबाट केही टाढा तर शहरका सुविधा नजिकै हुने यो ठाउँमा देउवा परिवारले ‘फार्म हाउस’ बनाउने योजना बनाएको हुन सक्ने पोखराका एक कांग्रेस नेताले बताए। “नामसारी गर्नलाई त किनेको उल्लेख गर्नु परिहाल्यो, तर यो जग्गा किनेको भन्दा पनि बतासले लौ न लिइदिनुस् भनेर स्वामित्व हस्तान्तरण गरिदिएको हुनुपर्छ,” उनले भने।

देउवा–बतास सम्बन्ध
मालपोत कार्यालयमा सरकारी दररेट अनुसारको मूल्य उल्लेख गरिने भएकाले बतास समूहले जयवीरलाई नामसारी गरिदिएको जग्गा भएको ठाउँमा चलनचल्तीको मूल्य कति छ भनेर खोज्दा फरक–फरक आँकडा देखापरे। बागलुङ–पोखरा सडक खण्डअन्तर्गत नौडाँडा आसपासमा घडेरीकै चलनचल्तीको मूल्य अहिले ६०–७० लाख रुपैयाँ पर्छ। यो हिसाबले रोपनीको मूल्य नै करोडमा हुन आउँछ। नौडाँडाबाट यो जग्गा करिब पाँच किलोमिटर दूरीमा रहेकाले त्यहाँ भने चलनचल्तीको मूल्य अलि कम पर्ने स्थानीयहरू बताउँछन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा र व्यवसायी आनन्दराज बतासको सम्बन्धलाई नजिकबाट बुझेकाहरू भने यसमा जग्गाको मूल्यको खास अर्थ नहुने बताउँछन्। देउवा र बतासको सम्बन्ध अहिले होइन, २०५७ सालदेखिको हो। त्यसबेला देउवा राजनीतिमा यो हैसियतमा पुगेका थिएनन्, बतास पनि व्यापारमा जमेका थिएनन्।

२०५७ माघमा नेपाली कांग्रेसको दशौँ महाधिवेशन पोखरामा आयोजना गरिएको थियो। देउवाले गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए। महाधिवेशन अवधिभर देउवा त्यसबेला बतासले सञ्चालन गरेको होटल आनन्दमा बसेका थिए। “उहाँहरूबीच त्यहीबेलादेखि नै मित्रवत् सम्बन्ध छ, आजसम्म,” कास्कीका एक पुराना कांग्रेस नेता भन्छन्। 

५० को दशकतिर आनन्दराज बतास पोखरामा होटल व्यवसाय गर्थे। त्यहीँबाट उठेर उनले बतास समूहलाई आजको प्रभावशाली घराना बनाएका हुन्। 

दशौँ महाधिवेशनको त्यो कालखण्डपछि देउवा जब–जब पोखरा जान्थे, उनलाई लिन बतास विमानस्थल पुगिहाल्थे। त्यसपछि उनीहरूको सम्बन्ध पारिवारिक तहमा विस्तार भएको ती नेता बताउँछन्। 

नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया निर्माण र पशुपति धर्मशाला लिजको विवाद आउँदा बतास समूहको वेबसाइटमा शेरबहादुर देउवापत्नी डा. आरजु राणाको नाम र तस्वीर ‘संरक्षक’का रुपमा राखिएको थियो। तर यो प्रकरणलगत्तै वेबसाइटबाट त्यसलाई हटाइएको थियो।


सम्बन्धित सामग्री