Thursday, March 28, 2024

-->

प्रधानमन्त्रीको गाउँको कथा
‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन्, पीडा बुझेनन्’

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले केही दिनअघि ‘हेलिकप्टर चढेर आउनेलाई मात्र जिताउन’ दिएको विवादास्पद भाषणको अन्तर्य बुझ्न देउवाको जन्मथलो रुबाखोला पुग्नुपर्छ।

‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन् पीडा बुझेनन्’

रुबाखोला, डडेलधुरा– “यो गाउँठाउँको विकास गर्ने हामीले हो। हामी आज जसरी हेलिकोप्टर चढेर आयौँ, आजभन्दा १०/१५ वर्ष अगाडि नै यहाँ हेलिकप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई तपाईंहरूले जिताउनुस्।”

गत शुक्रबार डडेलधुराको गन्यापधुरा गाउँपालिकाको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले दिएको यो अभिव्यक्ति निकै विवादित बन्यो। उनले डडेलधुराको मतदाताको मात्र होइन, प्रधानमन्त्री रहेका आफ्नै श्रीमान् र कांग्रेसको समेत प्रतिष्ठामा आँच पुर्‍याएको टिप्पणी भयो। बेलाबेला यस्ता उट्पट्याङपूर्ण विवादित भाषण गरिरहने डा. आरजुको यो भाषण चर्को विवादमा परे पनि यसमार्फत् उनले नचाहँदा नचाहँदै डडेलधुरा र त्योसँग जोडिएको प्रधानमन्त्री देउवाको एउटा गुत्थी भने खोलिदिइन्।

डा. आरजुले गरेको यो भाषणको डडेलधुरासँग के अर्थ छ त? अनि प्रधानमन्त्री देउवाको कुन चाहिँ गुत्थी यसले खोल्यो?

प्रधानमन्त्री देउवा त्यही गन्यापधुरा गाउँपालिकाका मतदाता हुन। उनको घर गन्यापधुरा गाउँपालिका–१, २००३ जेठ ३१ गते त्यहीँ उनको जन्म भएको हो। परिवारका कतिपय सदस्य अहिले पनि त्यहीँ बस्छन्। माओवादीले हिंसात्मक विद्रोहकालमा क्षति पुर्‍याएको देउवाको पुर्ख्यौली घर अहिले पनि भग्नावशेषका रूपमा त्यहीँ छ। 

जीर्ण अवस्थामा रहेको प्रधानमन्त्री देउवाको घर

रुबाखोलाका देउवा डडेलधुराबाट लगातार ६ पटक निर्वाचित भएर संसद्मा पुगे। पाँचपटक त प्रधानमन्त्री नै बनिसके। उनी पाँचौँपटक प्रधानमन्त्री रहेकै बेला डडेलधुराबाट सातौँ निर्वाचन जित्ने योजना बनाइरहेका बेला डडेलधुरा आइपुगेकी देउवापत्नी आरजुले ‘हेलिकोप्टर चढेर आउनेलाई मात्र विजयी गराउन’ भाषण गर्नुको कारण हो, गन्यापधुरा र त्यसमा पनि रुबाखोला क्षेत्रले सामना गरिरहेको दुर्गति।

सदरमुकाम अमरगढीबाट जम्मा १० किलोमिटर दूरीमा रहेको भातकाडाबाट देउवाको जन्मथलो रुबाखोलासम्म जाने सडकको अवस्था नाजुक मात्र होइन, दयनीय नै छ। भातकाडाबाट १० किलोमिटरकै दूरी छिचोलेपछि पुगिने देउवाको घर रुबाखोलासम्म जाने सडकको अवस्था यति बिजोग छ कि सवारी साधन आवतजावत गर्नै नसक्ने अवस्था छ। त्यही सडकको अवस्थासँग भलिभाँती जानकार मतदातालाई लक्ष्य गरेर डा. आरजुले ‘१०–१५ वर्ष पहिल्यैदेखि हेलिकप्टर चढेर आउन सक्नेलाई मात्रै मतदान गर्न’ आग्रह गरेकी थिइन्।   

हिउँदमा धुलाम्मे र वर्षात्‌मा हिलाम्मे यो सडकले एकपल्ट पनि स्तरोन्नति देख्न पाएको छैन। सबभन्दा रोचक त के भने प्रधानमन्त्री देउवा झण्डै तीन दशकयता जम्मा एकपल्ट मात्र यो बाटो हिँडेका छन्। २०४८ को आमनिर्वाचनमा पहिलो पटक विजयी भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका देउवा त्यहीबेला त्यो सडक भएर डडेलधुरा सदरमुकामबाट आफ्नो गाउँ पुगेका थिए। त्यसपछि २०६४ मा एकपटक पार्टीको एउटा कार्यक्रममा उनी गाडी चढेर गाउँ पुगेको डडेलधुराका कांग्रेस नेताहरूलाई सम्झना छ। त्यसयता उनी हरेकजसो निर्वाचनका आमसभामा सहभागी हुन र मतदान गर्न हेलिकोप्टर चढेरै रुबाखोला पुग्छन्। 

रुबाखोला सडक

आफैँ नहिँडे सास्ती देख्ने कसरी!
आफू नहिँडेकाले पनि हुनसक्छ, त्यो सडकको हालत कस्तो छ भन्नेबारे देउवा स्वयं अनभिज्ञ देखिन्छन्। सम्भवतः त्यहीकारण रुबाखोलाबासीले भोगिरहेको सास्तीमा देउवाले ध्यान दिएनन्। यहाँका बासिन्दा कांग्रेसका अरू नेताले पनि यसलाई वास्ता नगरेको बताउँछन्। “गृहमन्त्री भएका बेला आएको थाहा छ। त्यसपछि यो सडकको बाटो भएर रुबाखोला आएको जानकारी छैन। हेलिकप्टर चढेरै हो मतदान गर्न आउने पनि,” स्थानीय सगराम सार्कीले भने, “हामीले २०४८ सालदेखि उहाँलाई नै भोट दिँदै आएका छौँ। तर, यो सडक जस्ताको त्यस्तै छ।”

रुबाखोलाका बासिन्दाको एउटै गुनासो हो, सडक। २०७४ को स्थानीय तह निर्वाचनपछि बनेका नयाँ सडकहरू कालोपत्रे भइसक्दा पनि भातकाडादेखि रुबाखोला जोड्ने सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन। स्थानीय लोकबहादुर सार्की भन्छन्, “चुनावका बेला नेताहरू आएर हामीलाई मत दिनुस् हामी विकास गर्छाैं भन्दै जान्छन्, त्यसपछि फर्केर आउँदैनन्। प्रधानमन्त्रीको गाउँ भनेर के गर्नु, यो बाटोमा यात्रा गर्दा कति मानिस गाडीबाटै खसेर मर्छन्। सामान बोकेर ल्याउँदा पनि त्यस्तै हुन्छ।”

स्थानीय लक्ष्मण रावत प्रधानमन्त्री देउवाप्रति आक्रोशित नै देखिए। “उहाँ पाँच पटक होइन, पचास पटक प्रधानमन्त्री भएपनि यहाँका लागि केही हुने भएन। गर्ने भए अवस्था यस्तो हुन्नथ्यो”, उनले भने, “डडेलधुरामा विकास गरेको छु भनेर हुँदैन। विकास भए नभएको यहाँ आएर हेरे हुन्छ।” अर्का स्थानीय केशवराज भट्टले देउवालाई सधैँ जिताएर पठाएपनि उनले यहाँको विकासका लागि ध्यान नै नदिएको गुनासो गरे।

बिजुलीको ३० रुपैयाँ बिल तिर्न ३०० खर्च
रुबाखोलादेखि सदरमुकाम पुग्ने २० किलोमिटर बाटोमध्ये १० किलोमिटर कच्ची र बाँकी कालोपत्रे बाटो छ। सडक जीर्ण भएकाले यति दूरी छिचोलेको भाडा १५० रुपैयाँ तिर्नुपर्छ। “३० रुपैयाँ बिजुलीको बिल आउँछ, त्यो बिल तिर्न तीन सय खर्च गरेर सदरमुकाम जानुपर्छ। वर्षात्‌मा बाटो बिग्रियो भने त सदरमुकाममै बास बस्नुपर्छ”, रावतले भने, “अन्यत्रका बाटा पिच भइसके, तर, यो बाटो अहिलेसम्म पिच हुन सकेन।” 

स्थानीय प्रेमलाल भट्टले पनि आफूहरूको एउटै माग सडक भएको बताए।

प्रधानमन्त्री देउवाको गाउँ

देउवाकै घरमा काम गरेकाहरू लालपुर्जाविहीन
देउवा प्रधानमन्त्री हुँदा देशभरबाट हलिया मुक्तिको घोषणा भयो। सरकारले हलिया मुक्तिको घोषणा गरेपछि रुबाखोलामा वर्षौंदेखि हलिया बस्दै आएका दलित परिवार पनि खुशी भए। तर, डडेलधुरा जिल्लाबाट विवरण पठाउँदा अन्यत्र सबैको पठाइए पनि रुबाखोलाका हलियाहरूको छुट्यो। अहिले पनि यहाँका १८९ दलित परिवारसँग लालपुर्जा नभएको स्थानीय सगराम सार्की बताउँछन्। 

“पुर्खादेखि नै यहाँ बस्दै आएका हौँ। अहिले १० पुस्तामा बसोबास गरिरहेका छौँ। देउवा परिवारकै घरमा हाम्रा बाजे, बुवा, हामीले पनि काम गर्‍यौँ”, उनले भने, “देउवा पाँच पटकसम्म प्रधानमन्त्री भए तर, हामीले अहिलेसम्म लालपुर्जा पाएका छैनौँ।” उनले बस्ने घर भएपनि त्यसको लालपुर्जा नभएको बताए। 

गन्यापधुरा–१, रुबाखोलाका फलडाडी, मतकटे, खोली, डुमरा, भेटा लगायतका गाउँका १८९ परिवारसँग लालपुर्जा नभएको उनको भनाई छ। “हलिया मुक्ति भनेर घोषणा भएपछि जिल्लाबाट ५४ हजारको नामावली गयो। तर, यो वडामा हलिया छैनन् भनेर फाइल गायब पारिएछ”, उनले भने।

रुबाखोलामा प्रत्येक वर्ष आउने बाढीले दुःख दिन्छ। खोला नियन्त्रणका लागि पनि केही पहल भएको छैन। बिजुली त पुगेको छ, शिक्षा र स्वास्थ्यको अवस्था भने उस्तै छ। प्राथमिक स्वास्थ्य केन्द्र छ, त्यहाँ सामान्य सिटामोलबाहेक औषधी पाइँदैन, उपचार हुँदैन। बिरामी हुँदा सदरमुकामकै अस्पताल धाउनुपर्छ। यहाँका अधिकांश परिवारका सदस्य जीविकोपार्जनका लागि भारत जान्छन्। चुनाव आएपछि गाउँमा विकास भइहाल्ला कि भन्ने आश बोकेर मतदान गर्न रोजगारी फर्कन्छन्। तर, गाउँले अहिलेसम्म विकास देख्न पाएको छैन। 
 

चुनावी कार्यक्रमका सिलसिलामा डडेलधुरामा प्रधानमन्त्री देउवा

‘हाम्रो गाउँका प्रधानमन्त्री भनेर गर्व गर्‍यौँ, भोट दिइरह्यौँ’ 
“हामी अहिले पनि भारतमा मजदुरी गरेरै घरपरिवार पालिरहेका छौँ। यहाँ रोजगारीको कुनै अवसर छैन”, सगराम भन्छन्, “प्रधानमन्त्रीको गाउँका मानिस हौँ भनेर गर्व गर्नुबाहेक भोट दिएर हामीले केही पाएका छैनौँ।”

२०४८ सालदेखि भएका हरेक निर्वाचनमा देउवालाई भोट दिँदै आएका स्थानीय केशवराज भट्ट बाध्यताले भोट हाल्नुपरेको बताउँछन्। “काम नगरे पनि आफ्नो ठाउँको मानिसलाई नदिएर कसलाई भोट दिने। हाम्रा गाउँले प्रधानमन्त्री हुन्छन् भनेर शानका लागि भए पनि भोट दिँदै आएको छु”, उनले भने, “तर, म सन्तुष्ट छैन। भोट दिने हो, अरू केही पाउनु छैन। ऊ जत्तिको अर्को मानिस पनि त कोही छैन।”

प्रधानमन्त्री देउवाका नातेदार जयबहादुर देउवा भने शेरबहादुर देउवाबाहेक यहाँ अर्को नेता नै नभएको दाबी गर्छन्। “यो सडक भन्दा पछि बनेका सडक पिच भइसके। यसवर्ष यो सडक पनि पिच हुँदैछ”, उनले भने, “देशको प्रधानमन्त्रीले पहिले बाहिरकालाई हेर्ने हो। हामी त घरका भयौँ, जहिले हेरे पनि हुन्छ।”

गन्यापधुरा गाउँपालिका–१, रुबाखोलामा १८ सय मतदाता रहेका छन्। गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा यो वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका थिए। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्लको नेतृत्वमा स्थानीय तहमा नेपाली कांग्रेस (बीपी) ले प्रतिस्पर्धा गरेको थियो। करुवा चिह्न लिएका उम्मेदवारले वडा नम्बर १ मा जित निकालेका थिए। यहाँका बासिन्दा स्थानीय तह निर्वाचनको त्यो नतिजालाई यस्तै असन्तुष्टिसँग जोडेर हेर्छन् र मतदातामा जागरूकता आएको बताउँछन्।


सम्बन्धित सामग्री