Friday, April 26, 2024

-->

जगाउन सकिन्छ काठमाडौँ उपत्यकाको 'हरित फोक्सो'

वायु गुणस्तरका हिसाबले अहिले काठमाडौँ उपत्यका मानव बसोबासका लागि उपयुक्त छैन।

जगाउन सकिन्छ काठमाडौँ उपत्यकाको हरित फोक्सो

गत पुस ११ मा काठमाडौँको वायुमण्डल चिसो एवं धूमिल (धुलाम्य र बढी चिसो) भएको अनुभव गरियो। वायु गुणस्तर सूचकांक (एक्यूआइ) १४९ अर्थात् रातो संकेतमा रहेको देखियो। मंसिर २७ मा १७० र पुष ८ मा १७३ रहेको देखियो। यी तथ्यांकले काठमाडौँको वायु प्रदूषण स्तर निकै खराब (रातो संकेत) रहेको देखिन्छ। 

मानव तथा अन्य प्राणीका लागि पनि वायुको गुणस्तर ०–१० भित्रै रहनुपर्छ, यो सूचकांक ५० भन्दा माथि नाघ्नुहुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार कुनै क्षेत्रको वायु गुणस्तर ५० भन्दा माथि हुनु त्यो क्षेत्र मानव बसोबासका लागि अनुपयुक्त हुनु हो। वायु गुणस्तरका हिसाबले अहिले काठमाडौँ उपत्यका मानव बसोबासका लागि उपयुक्त छैन। 

'खन्चुवा अध्याय'
विज्ञहरूका अनुसार उपत्यकाभित्र वायु प्रदूषणको डरलाग्दो रूप करिब तीन दशकयता शुरू भएको हो। बाहिरी जिल्लाबाट अत्यधिक बसाइसराइ हुँदै जाँदा काठमाडौँ खाल्डोमा तीव्र रूपमा जनसंख्या बढ्यो। जनसंख्या वृद्धि र सवारी साधनको चाप बढ्दै जाँदा यहाँको वातावरण र प्रकृति संरक्षणमुखी रैथाने नेवा: सभ्यताको विन्यास भई अति उपभोगवादी रवैया हाबी भयो। काठमाडौँ उपत्यकाका वनजंगल, रूखबिरुवा, नदीनाला, ताल तलैया, भूमिगत जल, अर्ग्यानिक र उर्वर जमिन, हावापानीलगायत स्रोत-संसाधनमाथि शोषण बढ्यो। वातावरणीय विन्याससहितको खन्चुवा अध्याय आरम्भ भयो। 

सँगै, अव्यवस्थित शहरीकरण, इँट्टाभट्टाहरूको धुलो र धुवाँ, पेट्रोल र डिजेलजन्य सवारी साधनबाट निक्लने कालो धुवाँले मानिस र अन्य जीवनको स्वास्थ्यमा असर पार्न थाल्यो। अहिले काठमाडौँ उपत्यकाको हावामा अति धेरै कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर, नाइट्रस अक्साइड, सिसाजस्ता घातक तत्त्व भेटिएको छ। 

संसारका उच्च प्रदूषित शहरमध्ये बढी जसो 'सार्क' मुलुकभित्रै पर्छन्। ताजा तथ्या‌ंकअनुसार, वायु गुणस्तर तथा प्रदूषण मापनका आधारमा पाकिस्तानको लाहोर विश्वकै पहिलो प्रदूषित शहरमा पर्छ भने बंगलादेशको ढाका दोस्रो नम्बरमा, भारतको दिल्ली सात नम्बर तथा मुम्बई नौ नम्बरमा तथा काठमाडौँ १६ नम्बरमा पर्छ। सार्क मुलुकभित्र मात्रै बर्सेनि २० लाख मानिस क्यान्सर र प्रदूषणजन्य रोगले गम्भीर रूपमा प्रभावित भइरहेका छन्। उच्च प्रदूषित काठमाडौँ शहरलाई रूपान्तरण गरी हरियो, सफा र बस्न योग्य बनाउन खासगरी राजनीतिक नेतृत्व र त्यसमा पनि काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरूसँग ठूलो अपेक्षा छ। यदि, आफ्नो र भावी पिँढीको स्वास्थ्यको ख्याल गर्ने हो भने सबैको प्रयासबाट हरियालीयुक्त (हरियो फोक्सोयुक्त) सफा काठमाडौँ पुनर्स्थापना सम्भव छ। 

ऐतिहासिक वातावरणीय पृष्ठभूमि
'लेसर हिमालय'को उत्पत्ति भएपछि तालको पानी निकास हुँदा उपत्यकामा अति मलिलो र उर्वर भूमि बनेको हो। कृषि र पशुपालनको विकास हुँदै नयाँ सभ्यतातिर अघि बढ्ने क्रममा लिच्छविकालमा (करिब दुई हजार वर्षअघि) काठमाडौँ उपत्यकाका चाँगुनारायण, गुह्येश्वरी र स्वयम्भू वरपर बाक्लो बस्ती बसेको देखिन्छ। मल्लकालीन समयतिर भित्री क्षेत्रमा तीनवटा राज्य र राजधानी शहरहरू अर्थात् 'दरबार स्क्वायर'हरू विकसित भई त्यस वरपर केही बस्ती बसेको देखिन्छ। 

बस्तीको विकाससँगै धारा, पँधेरा, पानीका मूल, वनजंगल र सार्वजनिकस्थालको संरक्षण भएको देखिन्छ। विभिन्न ठाउँमा मन्दिर, पाटी, सत्तलसँगै ठूला पोखरीको निर्माण भएको देखिन्छ। काठमाडौँको भित्री क्षेत्र हुँदै विष्णुमती, रुद्रमती र बागमती नदी बग्छन्। भित्री भागमा पशुपति, गौचर, रानीबारी ,स्वयम्भू ,लैनचौर, गोकर्ण, भक्तपुर सल्लाघारी, ठिमी बालकुमारी, नीलबाराही, जाउलाखेल, पाटन, ज्वागल आदि क्षेत्रमा घना जंगलको संरक्षणसमेत भएको देखिन्छ। केही पहिलेसम्म उजाड भए पनि काठमाडौँको बाहिरी क्षेत्रमा शिवपुरी, चन्द्रागिरि र नागार्जुन आदिको वन पछि सामुदायिक वनका रूपमा जनताबाट संरक्षण हुँदा ती हराभरा भएर आए।

अहिले अस्तित्व संकटमा परेका उपत्यकाका सांस्कृतिक एवं वातावरणीय सम्पदा 'कोर' क्षेत्रबीचका खुल्ला स्थानतिर स्थापना भएका पाइन्छन्। जस्तै : चोक, नवी, बहाल, गल्ली, टुँडिखेल, मन्दिर, देवल, घाट, खेत, हिटी, नेती, बगैँचा, डबली, लक्षी, सत्तल, कुवा, पोखरी, धारो, पँधेरो, चरन, पर्ती, बुटेन, चौर आदि (स्रोत: राममान चित्रकार समेत, २०१४)। 

कुनैबेला काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो पोखरीका रूपमा करिब बाह्र सय रोपनीको लैनचौर पोखरी थियो तर अहिले सो मासिएर दुग्ध विकास भवन र स्काउट भवनलगायत अन्य संरचना बनाइएको छ। त्यसरी नै पाटनको गुइँठा पोखरी र लगनखेल पोखरी पनि मासिएर गए। मल्लकालीन समयमा बनाइएको टुँडिखेलजस्ता उल्लेखनीय खुल्ला क्षेत्र उपत्यकामा पर्याप्त नभए पनि अभिलेख हेर्दा काठमाडौँमा ३२ वटा, ललितपुरमा ७ वटा र भक्तपुरमा ७ वटा यस्ता खुला स्थानमध्ये धेरै अहिले मासिएका छन्। 

कुनैबेला एक रोपनीभन्दा ठूला तलैया र पोखरीको अभिलेख हेर्दा ललितपुरमा ९७ वटा, काठमाडौँमा ५८ वटा र भक्तपुरमा ५२ वटा रहेको पाइन्छ। करिब तीन हजारभन्दा बढीको संख्यामा रहेका स-साना सिमसार, धाप, बगर, नदी उकास, धारो, हिटी, पँधेरो, राजकुलो, कुवा आदिको अभिलेख नै छैन। अहिले तीमध्ये अधिकांश मासिए। पहिले उपत्यकाभित्र बग्ने र सदाबहार निर्मल पानी हुने ८ वटा नदी प्रणाली (मूलतः बागमती, विष्णुमती, रुद्रमती, बल्खु खोला, हनुमन्ते, मनोहरा, नल्लु  र गोदाबरीखोला) थिए। यसरी हेर्दा उपत्यकाको वायुमण्डल प्रशोधित र स्वच्छ तवरले राख्ने अभिप्रायले माथि उल्लेख गरिएका जैविक–भौतिक प्राकृतिक संरचना अर्थात् हरिया फोक्सोहरू (ग्रीन लङ्स) उति बेला नै स्थापना भएका रहेछन्। 

विडम्बना, काठमाडौँका प्राकृतिक फोक्सोहरू सिद्धिनेतर्फ उन्मुख छन्। उपत्यकाको ३० लाखभन्दा बढी जनसंख्याको स्वास्थ्य र दीर्घायुको ख्याल राख्ने हो भने यहाँका हरित फोक्सोलाई पुनर्जीवित पार्नु आवश्यक छ। 

भू-जैविक वातावरण
भू-भौतिक बनोटका रूपले कचौरा (कटौरा) आकारमा रहेको काठमाडौँ उपत्यकाको कूल क्षेत्रफल ६ सय ६० वर्ग किमी छ भने यहाँको माटो बलौटे-दलदले (लुकास्टेरियन) प्रकारको छ। हावापानीका हिसाबले 'लोअर-टेम्परेट' जोनमा रहेको र यसको सरदर उचाइ खाल्डोतर्फ १२ सय मिटर छ भने उच्च स्थान (शिवपुरीको टुप्पो)तर्फ २५ सय मिटर रहेको देखिन्छ। सघन रूपले जोडिएका घरहरू र अराजक भौतिक संरचनाबाट राजधानीको विकास हुन गएकाले तथा उल्लिखित पुराना र खुल्ला स्थानहरू मासिए। जसले उपत्यकाको भित्री क्षेत्रमा हरिया फोक्सोहरू अत्यन्त थोरै संख्यामा बचेको देखिन्छ। भएका सडक, बाटो र गल्ली पनि साँघुरा छन्। 

चक्रपथभित्र उपत्यकाको समस्यायुक्त सघन 'कोर सिटी एरिया' ५१ वर्ग किमीमा फैलिएको देखिन्छ। यहाँभित्र घरहरूसहितको बसोबास र सघन क्षेत्र ७२ प्रतिशत छ। चक्रपथ र अन्य बाटोघाटो तथा पूर्वाधारले १९ प्रतिशत क्षेत्र ओगटेको देखिन्छ। खुल्ला स्थान अर्थात् 'जीर्ण फोक्सो'हरू भने जम्मा सात प्रतिशत मात्रै रहेको देखिन्छ। यहीभित्र बचेका पाटी, चौर, पोखरी, नदी, हिति, मन्दिर र चैत्य इत्यादि क्षेत्र रहेका छन्। 

१५ लाख सवारी साधनको भार
सन् २०२१ सम्म काठमाडौँ उपत्यकाभित्र १५ लाख सवारी साधन (कार, मोटर, ट्रक, बाइक इत्यादि) दर्ता भएको देखिन्छ। हाल उपत्यकाभित्र इँट्टाभट्टा कम रहे पनि कमजोर फोहोर व्यवस्थापनबाट थप प्रदूषण भइरहेको देखिन्छ। उपत्यकाको मुख्य प्रदूषणका कारक यिनै सवारी साधन हुन्। केही वर्ष अगाडिको एक अध्ययनअनुसार यिनै सवारीहरूले वार्षिक औसत ७२ लाख टन कार्बन डाईअक्साइड र कार्बन मोनोअक्साइड फ्याँक्ने गरेका छन्। उपत्यकाको कटौरा आकारको भूस्वरूपभित्र उक्त कार्बन वायुमण्डलमा मडारिरहने र यहाँबाट नउम्कने भएका कारण यहाँ उच्च प्रदूषण हुने गरेको देखिन्छ। रूखबिरुवासहितका खुल्ला स्थान अत्यन्त न्यून भएकाले पनि वायु प्रदूषणको मार उपत्यकावासीले खेप्नुपरेको देखिन्छ। 

भित्री एरियामा पुराना रूखहरू रहेको पशुपतिको वन, भण्डार खाल वन, रानीबारी मात्र हुन्। त्यसो हुँदा वायु प्रदूषणबाट केही हदसम्म मुक्ति पाउन 'उपत्यका हरियाली पुनर्स्थापना महाअभियान' चलाइहाल्नुपर्ने देखिन्छ। कोर क्षेत्रको खुल्ला क्षेत्र पुनर्स्थापना गरी सकेसम्म ३३ प्रतिशत, त्यति नसक्दा २५ प्रतिशत हरियाली क्षेत्र बनाउनुपर्छ। स्मरणीय छ, शुद्ध र पर्याप्त अक्सिजनको अभावले क्यान्सरलगायत श्वासप्रश्वासजन्य रोग लाग्ने सम्भावना बढ्छ।  

स्वास्थ्य विज्ञानका अनुसार एक व्यक्ति बाँच्न वार्षिक सरदर ३ सय केजी अक्सिजन आवश्यक पर्छ। जसअनुसार उपत्यकाको ३० लाख जनसंख्याले सास फेर्न कम्तीमा पनि काठमाडौँमा प्रतिवर्ष ९ करोड टन शुद्ध हावा आवश्यक पर्छ। एउटा मध्यम रूखले प्रतिवर्ष लगभग एक टन अक्सिजन दिने हुनाले सो दरले पनि हामीलाई उपत्यकामा ९ करोड रूख-बिरुवाको थप आवश्यकता पर्छ। साथै, उपत्यकाभित्र सवारी साधनहरूले वार्षिक उत्सर्जन गर्ने औसत ७२ लाख टन कार्बन डाइअक्साइड ग्यास सोस्न पनि पाँच दोब्बर रूखहरू आवश्यक देखिन्छ। अध्ययनअनुसार एक रूखले प्रतिवर्ष करिब १५ केजी कार्बन अवशोषण गर्दछ। जसअनुसार सवारीजन्य धुवाँ र प्रदूषण रोक्न हाम्रा सडक छेउछाउ कम्तीमा पनि मध्यम आकारका करिब ५ करोड थप रूख पुनः आवश्यक पर्ने देखिन्छ। 

काठमाडौँ उपत्यकाकाको भित्री भागमा कति रूख छन् भन्ने ठ्याक्कै तथ्या‌ंक भेटिन्नँ। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) ले केही वर्ष पहिले गरेको हरियालीसम्बन्धी 'सेटेलाइट नक्सा अध्ययन रिपोर्ट' हेर्दा उपत्यकाभित्र निक्कै कम 'पातलो हरियो धर्सा'हरू देखिन्छ। यसको 'ग्रीनरी कभर' तथा 'बेसल एरिया' व्युत्पन्न गर्दा मोटामोटी दश लाख वटासम्म रूखहरू होलान् भनी अड्कल गर्न सकिन्छ। समग्रतामा हेर्दा, यस अवस्थामा काठमाडौँले कम्तीमा पनि हरेक वर्ष १ करोड बिरुवाको हाराहारीमा वृक्षारोपण गरी आगामी दश वर्षभित्र दश करोड मध्यम रूखहरूसहित पूरै उपत्यकाको पूर्ण हरितीकरण गर्न सक्नुपर्छ। 

त्यसो भयो भने अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको वायु गुणस्तर इन्डेक्स  (एक्यूआइ) ०–५० भित्र झर्न जाने र शहरभित्र खुला र हरित क्षेत्र पनि सातबाट करिब २५ प्रतिशतसम्म बढ्न गई मध्यम हरित शहरका रूपमा काठमाडौँलाई रूपान्तरण गर्न सकिन्छ। 

अन्यत्रका उदाहरण
नयाँ र विकसित हुँदै गरेका विदेशी शहरले पनि मापदण्डअनुसार नै 'हरियो फोक्सो'हरू निर्माण गरी वातावरणीय स्वच्छता कायम गर्दै अघि बढेका देखिन्छन्। विश्वकै एक नम्बरको हरित शहर बनाउने गरी क्यानडाको भ्यान्कुभर अगाडि बढेको छ। त्यहाँ पर्याप्त खुल्ला स्थान बनाइएका छन्। सिंगापुर विश्वको दोस्रो हरित शहर बनेको छ। छिमेकी मुलुक भारतको कर्नाटकस्थित मैसूर शहर पनि भारतको एक नम्बर हरियो शहरका रूपमा अघि बढेको छ। काठमाडौँजस्तै पुराना मेट्रो सिटी तथा घना र अव्यवस्थित शहरहरूले पनि 'हरित-फोक्सो पुनर्स्थापना' अभियान तीव्र रूपले चलाएको देखिन्छ। लन्डनले पुरानो 'कोर' क्षेत्र वरपर लगभग ५ हजार वर्ग किमीको 'ग्रीन बेल्ट' पुनर्जीवित गर्न सफल भएको छ भने कोरियाको सिओलले ७ सय वर्ग किमी र बेइजिङले २ सय ३० वर्ग किमी हरियाली थप गरेको देखिन्छ। 

पुरानै शहर भए पनि न्युयोर्क महानगरले शहरको मध्य भागमा हरियो जंगल कायम राख्न सफल छ। त्यहाँको भू–वातावरणीय अवस्थितिअनुसार शहरलाई पाँच खण्डमा छुट्याएर वातावरणीय स्वच्छता राखेको पाइन्छ: १) खोलानाला क्षेत्र : यसमा बनोस् रिभरजस्तै भित्री एरियामा रहेका अन्य रिभर सिस्टम गरी २ सय ५० माइल सफा नदी प्रणाली तयार पारिएका छन्। २) अपल्यान्ड फरेस्ट क्षेत्र: इनउड हिल पार्कजस्ता करिब १० हजार एकडको प्राकृतिक वन बनाइएको छ। ३) चरन र घाँसे क्षेत्र : शहर वरपरका दलदले, पानी जम्ने सिमसार क्षेत्रहरू व्यवस्थापन गरी शुद्ध पानी संकलनसमेत गरिएको छ। ४) सामुद्रिक बगर र दून बलौटे क्षेत्र: नुनिला पानी स्वच्छ बनाउने एमोफोलियाजस्ता घाँस रोपेर शहरलाई हरियो बनाइएको छ। ५) स्ट्रिट ट्रि प्लान्टेसन: न्युयोर्क शहरका सबै बाटो, सडक, गल्ली, चोक, खुल्ला स्थानमा फूलजन्य र लाखौँ रूखहरू रोपेर हरियाली बनाइएको छ। 

यसरी सिंगापुर, मैसूर वा न्युयोर्क शहरकै अवधारणाअनुसार सिकेर काठमाडौँले पनि शहर व्यवस्थापन उपक्षेत्र विभाजन गरी तीन वटै महानगर/नगरहरूले संयुक्त अभियान चलाउने हो भने आगामी दश वर्षमा काठमाडौँ खाल्डोका हरियो फोक्सोहरू ठाउँ ठाउँमा पुनर्जीवित गराउन सकिने देखिन्छ।

कसरी पुनर्स्थापना गर्ने हरियो फोक्सो?
अन्यत्र भएका 'हरित प्रयास'हरूलाई अध्ययन गर्दै एउटा दशबर्से गुरुयोजनासमेत बनाइ 'आर्टिकल हरितीकरण'तर्फ अघि बढ्नका लागि निम्नानुसारका अवधारणा अपनाउन सकिन्छ:  

क) हरिया गमला अवधारणा: सघन बस्तीका बीचमा थोरै रहेका चोक, नवी, बहाल, गल्ली, टुँडिखेल, मन्दिर, देवल, घाट, खेत, हिटी, नेती, बगैँचा, डबली, लक्षी, सत्तल, कुवा, पोखरी, धारो, पँधेराजस्ता ठाउँमा होचो उचाइ भएका तथा गमलामा फैलन सक्ने झाडीदार (भी सेप वा चिडी सेपका) रूखबिरुवा राख्ने। यस्ता ठाउँमा बढीमा १ फिट ब्यास र दुई मिटर उचाइसम्मका एक वर्षीय वनस्पति लगाउने। नियमित पानी, सिँचाइ, गोडमेल, सरसफाइ नियमित राख्न स्थानीय रूपमा 'हरियो युवा क्लब' बनाएर स्थानीय सरकारले त्यसैसँग साझेदारी गर्ने। हरेक वर्ष गमलासहित रूखहरू फेर्ने। बढी अक्सिजन दिने एलोभेरा, जिरानियम, डेफोडिल, लिली, ल्यान्टेना, बम्बुसाजस्ता साना फूलझर तथा झाडीदार वनस्पतिहरूसहितका गमला स्थापना गर्ने। सार्वजनिक खुला क्षेत्र विस्तार गर्ने र हरियो पार्क बनाउने।

ख) ग्रिनस्ट्रिट, सिटी गार्डेन र ग्रीन बेल्ट अवधारणा: नारायणहिटी दरबार, सिंहदरबार तथा अन्य ठूला होटेल, भित्री सडक, पोखरी वरपर, गल्ली एवं चक्रपथ वरपर र अन्य चौडा सडकमा मध्यम उचाइका सदाबहार रूख रोप्ने। रूखहरूको ब्यास २ फिट र उचाइ २० फिटभन्दा बढी नहुने गरी हरियाली कायम गर्ने। सडक पेटीमा मानिसको आवागमनमा कठिन नहुने खालका कपूर, समी, काइँयो, भीमसेनपाती, पैयुँ, धूपी, बनयान, अशोक, जामुनो, कोइरालो, टाँकी, अम्बा आदिजस्ता बिरुवा रोपण गर्ने। मठमन्दिर र गुम्बा वरपर धार्मिक वनस्पतिलाई बढवा दिने।

ग) उपत्यकाका आठ वटै नदी प्रणालीको पुनर्स्थापना र हरित कभर: यस अन्तर्गत माथि उल्लेखित ८ वटै नदी प्रणाली सीमाकंन गर्ने, आवश्यक परे सरकारले निजी जग्गा किनेर सबै नदी पुर्नजीवित र निर्मलीकरण गर्ने। ढल निकास गरेर फिल्टर गरिएको पानी मात्र नदीमा मिसाउने। नदी दायाँबायाँ हरितीकरण गर्ने, नदीको छेउसमेत ग्याबिन तार खडा गरी आर्टिकल ग्रीनरी अवधारणाअनुरूप झाडीदार लहरा, फूल, भेटिभर, मनी प्लान्ट, अन्य घाँस र बाँसजस्ता प्रजाति रोप्ने गर्ने। नदी बेल्टमा यति गर्न सकेमा कमसेकम पनि सय किमी थप हरित बेल्ट बन्नेछ। 

घ) 'आर्टिकल वाल ग्रिनिङ र रुफटप ग्रीनिङ र इन्टेरियर ग्रिनिङ' : हाल उपत्यकामा करिब  ६ देखि ८ लाख घरहरू भित्री क्षेत्र (कोर एरिया) मा रहेको देखिन्छ। यदि प्रत्येक घरले चार कुना रुफटप (छत) मा मध्यम खाले ४ वटा मात्रै 'हरियाली-रूख' लगाउँदा पनि छतमा २५–३० लाख रूखहरू थप हुने देखिन्छ। व्यावसायिक घर, सरकारी भवन, स्कुल कलेज, हस्पिटललगायत सबैमा यसलाई अनिवार्य गर्ने। होरिजन्टल ग्रीनिङ सम्भव नहुने स्थानमा आर्टिकल ग्रीनिङ अपनाउने, रूखबिरुवा प्रजाति छनोटमा विशेषज्ञको सुझाव लिने। सकभर स्थानीय रूख, पोल, लहरा र बढी हागाँपात हुने रूख बिरुवालाई जोड दिने। घरलाई हरितीकरण गर्नेहरूलाई कर छुटलगायत अन्य प्रोत्साहन दिलाउने।

ङ) 'पेरिफेरल फरेस्ट कभर' कायम राख्ने: भित्री एरियाका पशुपति वन, स्वयम्भू, गोकर्ण, रानीबारी, बालकुमारी वनलाई थप पुनरुत्थान गर्ने। उपत्यका वरपरको शिवपुरी, फुलचोकी, चन्द्रागिरिलगायत प्राकृतिक वनजंगल पूर्ण रूपले संरक्षण गर्ने र आगलागी हुन नदिने। 

च) झुल्ने/घुम्ती बगैँचा र हाइटेक नर्सरी निर्माण गर्ने: दरबार स्क्वायरजस्ता कतिपय स्थानमा यस्ता बगैँचाहरू बनाउन सकिन्छ, साँघुरा स्थानमा पनि यस्ता झुल्ने बगैँचा तयार गर्ने र लामा लामा बसका छतमा पनि 'घुम्ती बगैँचा' बनाउन सम्भव छ। व्यापक रूपमा नर्सरीहरू स्थापना गर्नका लागि स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रमहरू ल्याउने।

छ) पुराना, थोत्रा गाडी तथा सवारीहरू हटाउने र विद्युतीय सवारी साधनहरूमा व्यापक कर छुट दिने। 

ज) वातावरणीय स्वच्छताका अन्य सबै उपायहरू अवलम्बन गर्ने: फोहोर व्यवस्थापन, जनचेतना विस्तार, स्कुल तहमा वातावरणीय शिक्षा प्रभावकारी बनाउने, पुर्न प्रयोग (रिसाइकल/रियुज) जस्ता अन्य सबै उपाय अपनाउने।

उल्लेखित अभियानहरू विराटनगर, पोखरा, भरतपुर, वीरगन्ज, नेपालगन्ज, जनकपुरजस्ता उच्च आबादी भएका नगर र महानगरहरू पनि तत्कालै शुरू गर्नुपर्ने देखिन्छ।


(घिमिरे वन तथा भूसंरक्षण विभागमा कार्यरत छन्।) [email protected] 


सम्बन्धित सामग्री