विद्यालय शिक्षा आरम्भ भएदेखि नै हामीले वर्षभरको पढाइलाई मूल्यांकन गर्ने माध्यम हो परीक्षा। नेपालमा सबैभन्दा प्रचलित परीक्षाको माध्यम लिखित हो, जहाँ वस्तुगत बहुवैकल्पिक प्रश्नहरूलाई चिह्न लगाएर वा उत्तर पुस्तिकामा विषयगत प्रश्नको उत्तर लेखेर परीक्षा दिइन्छ। साना कक्षामा खाली ठाउँ भर्ने, ठीक बेठिक छुट्याउने लगायतलाई वस्तुगत बहुवैकल्पिक प्रश्नकै माध्यमका रूपमा लिन सकिन्छ।
यस लेखमा दृष्टिविहीन विद्यार्थीको सिकाइका निम्ति अवलम्बन गरिने मूल्यांकन प्रणाली र त्यसमा पनि नेपालमा प्रचलित लिखित परीक्षामा उनीहरूले झेलेका समस्या र चुनौतीलाई उजागर गर्ने कोशिश गरिएको छ। लेखमा पंक्तिकारमध्ये रोजिनाले काठमाडौँ विश्वविद्यालयमा आफ्नो स्नातक तहमा यसै विषयमा रहेर गरेको शोध र दुवै पंक्तिकारलगायत समग्र दृष्टिविहीनले परीक्षा दिने क्रममा भोगेको भोगाइलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिएको छ।
ब्रेल प्रविधि र परीक्षा सहयोगी
२०२० सालको पूर्वार्धतिर सुदूरपश्चिमतिरका दृष्टिविहीन जंगबहादुर बोगटीले आफ्नो पढ्ने हुटहुटी पूरा गर्न भारत पुगेर त्यहाँबाट ब्रेल प्रविधि (आँखा नदेख्ने व्यक्तिहरूले छामेर पढ्ने प्रविधि) नेपाल भित्राए। त्यसपछि काठमाडौँको कीर्तिपुरस्थित ल्याबरेटोरी स्कुलमा आँखा नदेख्ने व्यक्तिलाई आवासीय सुविधासहित पढाउन थालियो। ल्याबरेटोरीपछि पोखरा, धरानलगायत स्थानमा दृष्टिविहीनका निम्ति पनि आवासीय सुविधासहितका विद्यालय खुल्न थाले।
धरानमा रहेको ज्ञानचक्षु माध्यमिक विद्यालयबाहेक नेपालमा रहेका सबैजसो विद्यालयमा एकीकृत शिक्षाको अवधारणाअनुरूप अध्यापन गराइन्छ, जहाँ जहाँ छात्रावासमा दृष्टिविहीन विद्यार्थीलाई मात्र राख्ने गरिए तापनि देख्ने र नदेख्ने विद्यार्थी एउटै मेचमा बसेर पढ्छन्। यसले गर्दा उनीहरूलाई साङ्ग व्यक्तिसँग घुलमिल हुनुका साथै ज्ञान आदानप्रदानमा पनि थप सहज हुन्छ।
आधारभूत तहसम्म सबै दृष्टिविहीन विद्यार्थीले परीक्षामा लेख्दा ब्रेलमै लेख्ने गर्छन्। केही विद्यालयमा प्रश्नपत्रसमेत ब्रेलमै उपलब्ध गराइन्छ भने केहीमा शिक्षक तथा खटाइएको सहयोगीले प्रश्न पढेर सुनाइदिन्छ। ब्रेलमा लेखिएको उक्त उत्तरलाई आँखा देख्ने व्यक्तिले पढ्न सक्ने गरी जान्ने व्यक्तिले अनुवाद गरिदिएपछि उनीहरूको कापी जाँचिन्छ।
केही विद्यालयमा कक्षा ८ को शुरूआतदेखि, केहीमा आधारभूत तह परीक्षा (बीएलई) देखि र केही विद्यालयमा भने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मात्र लेखन सहयोगी राखिदिने प्रचलन छ। लेखन सहयोगी ती व्यक्ति हुन्, जसले दृष्टिविहीन विद्यार्थीलाई परीक्षामा प्रश्न पढ्न र उनीहरूले भनेको उत्तर कापीमा उतार्न मद्दत गर्छन्। कक्षा ११ देखि भने स्रोत र क्षमता हेरीकन सक्ने विद्यालयले मात्र दृष्टिविहीन विद्यार्थीलाई छात्रावासको सुविधा प्रदान गरिरहेका छन्। अन्तिम परीक्षाचाहिँ लेखन सहयोगीबिना अन्य कुनै पनि प्रविधिद्वारा लेख्ने व्यवस्था छैन।
विद्यालय र विश्वविद्यालय अलावा कुनै पनि सरकारी सेवामा प्रवेश गर्नका निम्ति व्यवस्था गरिएका जुनसुकै प्रतिस्पर्धी परीक्षामा दृष्टिविहीन व्यक्तिले परीक्षा दिने प्रविधि भनेको लेखन सहयोगीको सहायताले नै हो। नेपालमा विद्यालय तहका परीक्षामा लेखन सहयोगी व्यवस्थापन गर्न स्वयं विद्यालयले सहजिकरण गर्ने भए तापनि कक्षा ११ माथि परीक्षा लेख्न दृष्टिविहीन विद्यार्थी स्वयं नै खटिनुपर्छ।
प्रतिस्पर्धी परीक्षाको हकमा भने लोकसेवा आयोगले अपवादका रूपमा सराहनीय काम गर्दै आइरहेको छ, जसले लेखन सहयोगी आवश्यक पर्ने परीक्षार्थीका निम्ति आफैँ लेखन सहयोगी व्यवस्था गरिदिन्छ। आजभोलि त झन् परीक्षार्थी आयोगको कार्यालय धाउनसमेत पर्दैन। इमेलमार्फत पठाएको निवेदन, प्रवेश पत्र र अपांगता परिचयपत्र या लेखन सहयोगी आवश्यक पर्ने आधार खुल्ने कागजातलाई आधार मान्दै आयोगले लेखन सहयोगीको व्यवस्था गर्छ।
सोधका अनुभव
पंक्तिकारले गरेको शोध मूलतः त्रिभुवन विश्वविद्यालय (त्रिवि) आधारित थियो। नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय र अधिकांश दृष्टिविहीन विद्यार्थीसमेत सोही विश्वविद्यालयमा पढ्ने हुँदा शोधका निम्ति त्रिवि रोजिएको थियो। शोधमा २५ जना दृष्टिविहीन उत्तरदाता सहभागी थिए, जो त्रिविमा स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत थिए या त्रिविमार्फत स्नातक या स्नातकोत्तर तह या दुवै तह अध्ययन गरेका थिए।
शोधमा पाँच जना लेखन सहयोगीलाई समेत उत्तरदाताका रूपमा सहभागी गराइएको थियो, जसले कम्तीमा एउटा सिंगो परीक्षामा दृष्टिविहीन विद्यार्थीलाई लेखन सहयोगी भई सहयोग गरेका थिए। अर्का पंक्तिकार सौगातले यस शोधमा मुख्य सूचनादाता (कि इन्फर्मन्ट इन्टरभ्यु)का रूपमा सूचना उपलब्ध गराएका थिए। सौगात सर्वोदय नामक संस्थासँग सम्बद्ध छन्, जुन संस्थाले विगत चार वर्षयता दृष्टिविहीन परिक्षार्थीलाई परीक्षामा लेखन सहयोगी व्यवस्थापन गर्दै आइरहेको छ।
शुरूआत पंक्तिकारमध्ये सौगातको अनुभवबाट गरौँ। कक्षा १२ को अन्तिम परीक्षाको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा थियो। कक्षा ११ का साथीलाई प्रश्नको उत्तर भन्दै गए र ती सहयोगीले उनका शब्दहरू कापीमा उतार्दै गए। परीक्षा राम्रै भइरहेको थियो। करिब ४० अंकको प्रश्नको उत्तर लेखिसकेका थिए। परीक्षा कोठामा उत्तर पुस्तिकामा हस्ताक्षर गर्न आएका केन्द्राध्यक्षले एकाएक लेखन सहयोगीको परिचयपत्र माग्छन्। जब लेखन सहयोगीले आफ्नो परिचयपत्र निकालेर उनलाई दिए, केन्द्राध्यक्षले लेखन सहयोगीलाई परीक्षा भवनबाहिर जान निर्देशन दिए। नियम विपरीत परीक्षा दिइरहेको आरोप लाग्यो।
आफूभन्दा एक तह तलको विद्यार्थी सहयोगी हुनुपर्नेमा एक कक्षा मात्र तल हुनुलाई गलत ठहर्याइयो। (तह भन्नु र कक्षा भन्नु यहाँ फरक हो। ब्याचलरको फर्स्ट सेमेस्टर र लास्ट सेमेस्टरलाई एउटै तह मानिन्छ, तर यी दुईको कक्षा भने फरक हो।) जबकि सहयोगी राख्नुअघि पंक्तिकारले अनुमति लिएकै थिए। सहयोगी खोज्नु नै पहिलो चुनौती हो भने बल्लबल्ल कोही तयार भई अनुमतिसमेत पनि पाइयो। तर परीक्षा दिँदादिँदै निकालियो। सोच्नुस् त कुन मानसिक स्थितिबाट परीक्षार्थी गुज्रनुपर्यो होला? करिब एक घण्टापछि विद्यालयले कक्षा १० पढ्दै गरेका अर्का छात्र पठायो र पंक्तिकारले परीक्षा सकाए।
अर्की पंक्तिकार रोजिनाको भोगाइ पनि सुखद छैन। कक्षा १२ को परीक्षामा एक दिन अगाडि मात्र केन्द्रबाट कक्षा ९ उत्तीर्ण गरेकालाई एक तह तल्लो भनेर परिभाषित गरियो, जुन सरासर गलत थियो। तैपनि उनी र उनका साथीहरू स्विकार्न विवश थिए। केन्द्रले एक घण्टा थप समय त उपलब्ध गरायो, तर १० कक्षा पढ्दै गरेकी लेखन सहयोगीको सुस्त लेखन गति र कम बुझाइका कारण उनलाई भनेका उत्तरहरू निकै लामा लागिरहेका थिए। यस कारण रोजिनाले आफ्नो क्षमताअनुसार परीक्षामा प्रस्तुत हुन पाइनन्।
शोधका क्रममा लेखन सहयोगी कसरी प्राप्त गर्नुहुन्छ भन्ने प्रश्नमा धेरै उत्तरदाताले साथी- समूहबाट भन्ने जवाफ दिए। केहीले लेखन सहयोगी खोज्न क्याम्पसको पनि सहयोग पाउने रहेछन् भने बाँकीले अपांगता भएका व्यक्तिहरूका निम्ति काम गर्ने संस्थाको समेत मदत लिएको बुझियो। कतिपय दृष्टिविहीन विद्यार्थीले लेखन सहयोगीकै अभावमा परीक्षा नै दिन नपाएको तितो अनुभवसमेत सुनाए।
शोधमा लेखन सहयोगी खोज्दा के-कस्ता चुनौती सामना गर्नुपर्छ भनी सोधिएको थियो। त्रिविको नियमअनुसार चिठी बनाउँदा दुई लेखन सहयोगीको नाम उल्लेख गर्ने व्यवस्था छैन। कारणवश, लेखन सहयोगी परीक्षामा आउन सकेन भने विद्यार्थीले फेरि अर्को चिठी बनाउनुपर्ने हुन्छ, जसको हन्डरको कथा पछाडि उल्लेख गरिने छ। कति पटक बन्द-हडतालको बेला लेखन सहयोगी समयमै परीक्षा हलमा नपुगिदिँदा पनि निकै समस्या भोग्नु परेको केही विद्यार्थीको अनुभव थियो।
हन्डर
अब त्रिविमा लेखन सहयोगी आवश्यक पर्ने परीक्षार्थीले लेखन सहयोगी राख्नका निम्ति पूरा गर्नुपर्ने प्रक्रियाबारे चर्चा गरौँ। परीक्षा तालिका प्रकाशन भएपश्चात् कुनै पनि दृष्टिविहीन परिक्षार्थीलाई सबैभन्दा बढी तनाव दिने विषय भनेकै लेखन सहयोगी व्यवस्थापन हो। परीक्षार्थीले चाहे जस्तोसुकै कठिनाइ भोग्नु परोस्, प्रक्रियामुखी त्रिविका झन्झटिला प्रक्रियाहरू पूरा नगरी लेखन सहयोगी आवश्यक पर्ने परीक्षार्थीले परीक्षामा लेखन सहयोगीसहित सामेल हुन पाउँदैन।
त्रिविको नियमानुसार पहिला लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीले आफ्नो निवेदन र लेखन सहयोगी आवश्यक पर्ने कारण खुल्ने कागजातसहित आफू अध्ययनरत क्याम्पसबाट सिफारिस लिएर सम्बन्धित डिनको कार्यालय पुग्नुपर्छ। तब मात्र डिन कार्यालयले आवश्यकता हेरेर लेखन सहयोगीसहित छुट्टै कोठामा परीक्षा दिने प्रबन्ध मिलाइदिन परीक्षा केन्द्रलाई चिठी लेखिदिन्छ। सुन्दा सामान्य लाग्छ, तर परीक्षा हुनुभन्दा एक दुई दिनअघि मात्र परीक्षा केन्द्रबारे सूचना प्रकाशन गर्छ त्रिविले अनि शुरू हुन्छ हन्डरको सिलसिला।
बढाइचढाइ वा दुःख देखाउने उद्देश्यले हामी यो भनिरहेका छैनौँ तर धेरै दृष्टिविहीन जोडी छन्, जो कोठामा एक्लै बस्छन् र प्रविधिमा त्यति अभ्यस्त पनि छैनन्। कोही छिमेकी या आँखा देख्ने साथीलाई सामाजिक सञ्जालको कुनै पेज या समूहमा राखिएको तस्वीर हेर्न लगाएर, आफ्नो ‘सिम्बोल नम्बर’सँग दाँजेर केन्द्र पत्ता लगाएपछि एक्लै सेतो छडीका भरमा क्याम्पस पुगेर अझ कहाँ पुग्छ र? त्यहाँ कतिलाई ‘हजुर म सक्तिनँ’ भनेर दुःख देखाउँदै सिफारिस बनाउन लगाएपछि उक्त सिफारिस बोकेर डिन कार्यालय खोज्न जानुपर्छ।
जब कोही व्यक्तिलाई उसको प्रस्ट देख्न सकिने अपांगताकै आधारमा लेखन सहयोगी आवश्यक पर्छ या पर्दैन भन्ने कुरा पुष्टि गर्न सकिन्छ भने किन यति दुःख दिइन्छ? भोलि या पर्सिको परीक्षा हुँदा एउटा साङ्ग विद्यार्थी वरपर किताब छिरलेर पढिरहेको हुन्छ, तर आफ्नो ज्ञानको मूल्यांकनका निम्ति कसैको भर परेर परीक्षा दिनुपर्ने परिस्थितिका विद्यार्थीलाई कम्तीमा मानवतावादी सोचले सरोकारवालाले हेरिदिए यो स्थिति आइपर्दैनजस्तो लाग्छ।
यही सन्दर्भमा कुरा गरौँ थप समयको। पंक्तिकारमध्ये सौगातले आफ्नो १० कक्षासम्मको पढाइ अमरसिंह मावि पोखराबाट पूरा गरेका हुन्। त्यहाँ धेरै पहिलादेखि नै प्रवेशिका परीक्षा (एसएलसी)मा दृष्टिविहीन परीक्षार्थीलाई जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आफ्नै विद्यालयमा परीक्षा केन्द्र तोकिन्थ्यो, जुन हाल राष्ट्रिय परीक्षा बोर्डले कार्यविधिमार्फत देशभरका दृष्टिविहीन विद्यार्थी पढ्ने विद्यालयमा लागू गरेको छ। बोर्डले कक्षा १० र १२ को परीक्षामा दृष्टिविहीन परीक्षार्थीलाई आवश्यकताअनुसार १ घण्टासम्म थप समय उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।
लोकसेवा आयोग र शिक्षकसेवा आयोगले समेत प्रत्येक एक घण्टा बराबर १० मिनेट समय थप गर्नुपर्ने नियम बनाएका छन्, जुन सराहनीय हो। तर त्रिविका हकमा त्यो लागू छैन रहेछ। त्रिविमा आफ्नो अपांगताका कारण लेख्न असहज भएका तर लेखन सहयोगी आवश्यक नपर्ने परीक्षार्थीलाई एक घण्टा थप समय उपलब्ध गराइने रहेछ, तर आफैँ परीक्षा लेख्न नसकेर लेखन सहयोगी राख्नुपर्ने परीक्षार्थीलाई चाहिँ थप समय आवश्यक पर्दैन अरे! आफ्नो अपांगतालाई ठूलो ठानेर अन्य अपांगता या परिस्थितिको अवमूल्यन गर्न खोजेको होइन, तर सर्वप्रथम लेखन सहयोगीले प्रश्नपत्र पढ्छ, उक्त प्रश्न बुझिएन भने दोहोर्याएर पढ्न लगाउनुपर्छ।
त्यसपश्चात् लेखन सहयोगीको लेखाइको गतिअनुसार उत्तर भन्नुपर्छ। कुनै शब्द सहयोगीले नबुझ्दा हिज्जे नै भन्नुपर्छ। कोहीले पहिलो पटक लेखन सहयोगीका रूपमा सहयोग गरिरहेका हुन्छन्, तिनमा आत्मबल कम हुन्छ। यी तमाम सवाल, अप्ठ्यारा र चुनौतीलाई त्रिवि जान्दैन, बुझ्दैन। त्रिविलाई केबल आफ्नो कार्यविधि या नियमावली र प्रक्रिया थाहा छ।
विधि र कानून
कानूनकै कुरा गर्ने हो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रकाशन गर्ने अपांगता स्रोत पुस्तिकामा अपांगता भएका व्यक्तिका लागि उपलब्ध सेवा, सुविधा, अवसर र कानूनी प्रावधानबारे जानकारी गराइन्छ। सोही स्रोत पुस्तिकामा शिक्षा नियमावलीको नियम १९२ लाई कार्यान्वयन गर्न बनाइएको विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०६० लाई उद्धृत गर्दै दृष्टिविहीनलाई परीक्षा दिँदा सहयोगी राखेर लेख्न पाउने व्यवस्था गरिएको उल्लेख गरेको छ।
त्यसैगरी, शिक्षा नियमावलीको परिच्छेद ८ अन्तर्गत नियम ४७ मा अशक्त विद्यार्थीका लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिने व्यवस्था गरिएको कुरा उद्धृत गर्दै स्रोत पुस्तिकामा अपांगताका कारण शारीरिक अंगमा आएको कार्य सीमितता वा आंगिक क्रियाशिलतामा आएको ढिलाइका कारण कुनै अपांगता भएको विद्यार्थीले सामान्यतः परीक्षाका लागि तोकिएको समयभित्र परीक्षा दिन भ्याउँदैन र केही थप समय आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता अपांगता भएका विद्यार्थीलाई बढीमा एक घण्टा ३० मिनेटसम्म समय थप गर्न सकिने व्यवस्था छ भनी उल्लेख छ।
तितामिठा अनुभव
एकै छिन लेखन सहयोगीसँगका तिता अनुभव केलाऊँ। पंक्तिकारमध्ये रोजिनाले स्नातक तहको छैटौँ सेमेस्टरको अन्तिम परीक्षाका निम्ति लेखन सहयोगी खोजिरहेकी थिइन्। धेरै कोशिश गर्दा पनि आफ्ना नातेदार, नजिकका आफन्त वा साथीसंगीहरूबाट उनले लेखन सहयोगी भेटाउन सकिनन्। अन्ततः उनले एउटा सार्वजनिक फेसबुक समूहमा लेखन सहयोगीका निम्ति अनुरोध राखिन् र संयोगवश एक महिला सहयोगी भेटिन् पनि।
सामाजिक सञ्जालमा कुरा गर्दा लेखन सहयोगी निकै बौद्धिक र सहयोगी लाग्थिन्, तर परीक्षा भवन पुगेर प्रश्न पढ्न शुरू गरेपछि थाहा भयो, उनलाई सामान्य अंग्रेजी पढ्न र लेख्न नै समस्या रहेछ। यसले पंक्तिकारको नतिजामा नै असर गर्यो। दुःखको कुरा, सामान्य यातायात खर्चको व्यवस्था गर्छु भनेकी थिइन् पंक्तिकारले, तर लेखन सहयोगीले त्यसैमा मोलमोलाइ गर्न थालिन् र प्रदान गरिएको रकममा समेत चित्त बुझाइनन्।
शोधका निम्ति अन्तर्वार्ता गर्ने क्रममा एक जना महिला विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “सकेसम्म म केटी लेखन सहयोगी नै खोज्थेँ, त्यस पटक भने केटा सहयोगी राख्नुपर्यो। उक्त दिनको परीक्षा सकाएपछि ऊ हतारमा परीक्षा भवनबाट बाहिरियो। साँझ उसलाई सम्पर्क गर्न खोज्दा त फोन लाग्दै लागेन। धेरै प्रयास गरेँ। थाहा छैन, के कारणले उसले त्यस्तो गर्यो। भोलिपल्ट पुनः त्रिवि गएर पुरानै प्रक्रिया दोहोर्याएर नयाँ लेखन सहयोगी लगेर परीक्षा सकाएँ।” अर्का कट्टर हिन्दू समर्थक दृष्टिविहीन परीक्षार्थीले लेखन सहयोगी धर्मनिरपेक्षतावादी भएका कारण उत्तर नै लेख्न नमानेको तितो अनुभव सुनाए। उनले लेखन सहयोगीलाई उनको दायित्व के हो भनेर सम्झाउन परेछ।
लेखन सहयोगीसँग दृष्टिविहीन परीक्षार्थीका नराम्रा अनुभव मात्र छैनन्। धेरै दृष्टिविहीन परीक्षार्थीले एक पटक सहयोग गरेकै कारण लेखन सहयोगीसँग आत्मीय सम्बन्ध रहेकोसमेत बताउने गर्छन्। कतिपय लेखन सहयोगीले दृष्टिविहीन व्यक्तिको ज्ञान र क्षमताकै कारण प्रभावित भएको र उनीहरूको अपांगताका कारण परेको समस्या सबैले बुझिदिनुपर्ने धारणा व्यक्त गरेका थिए। केही यस्ता लेखन सहयोगी पनि छन्, जो आफू शारीरिक रूपमा अस्वस्थ हुँदा अथवा आफ्नो अन्तिम परीक्षा शुरू हुन थोरै मात्र समय हुँदा या परीक्षाकै बीचसमेत लेखन सहयोगी बसेर सहयोग गरेका छन्।
एउटा दृष्टान्त
परीक्षा केन्द्रमा पनि समस्या भोग्नुपर्छ त भनी राखिएको प्रश्नमा एक जना विद्यार्थीले नमिठो अनुभव सुनाएका थिए। स्नातकोत्तरको परीक्षा। त्रिवि केन्द्रीय विभागमा थियो परीक्षा केन्द्र। उनलाई अन्य परीक्षार्थीसँगै एउटै कोठामा राखिएछ। उनले केन्द्राध्यक्षलाई समस्या बुझाएरै अनुरोध गरेछन्। केहीबेरको प्रयासपछि उनलाई त्यहाँबाट त निकालियो, तर शौचालय छेवैको बरन्डामा लगेर परीक्षा दिन लगाइएछ।
उनले थपे, “हामीलाई शौचालयको दुर्गन्ध र हल्लाले निकै अप्ठ्यारो भयो। मलाई निकै हीनताबोध पनि भयो। लेखन सहयोगीले सहकार्य गरेकाले त्यस दिनको परीक्षा जसोतसो दिएँ। अर्को दिन यसरी त म परीक्षा दिन्नँ भन्ने मनस्थिति बनाएर केन्द्र पुगेँ, प्रश्नपत्र लिएँ। अनि म आफ्नो लेखन सहयोगीको साथमा त्रिविको परीक्षा शाखामा पुगेँ। समस्या समाधान भयो। मैले छुट्टै कोठा प्राप्त गरेँ, तर यो सबै प्रक्रियाको क्रममा परीक्षाको आधा समय खेर गइसकेको थियो। मसँग अब आधा समय मात्र थियो। मैले लेख्न थालेँ, तर घण्टी बज्नासाथ मेरो कापी खोसियो। मैले सबै प्रश्नको उत्तर लेख्ने मौका नै पाइन। फलस्वरूप, मेरो अन्य विषयमा राम्रो अंक आए पनि सो विषयमा अनुत्तीर्ण भएँ। त्यस घटनालाई आधार मानेर त्रिविसँग सम्बन्धित हाम्रा मुद्दाहरूको उठान गर्ने सोचिरहेको थिएँ, तर शिक्षकले पढ्ने मान्छे यस्तो झिनामसिना कुरामा नअल्झिऊ, बरु परीक्षा देऊ तिमीले राम्रो अंक ल्याइहाल्छौ भन्नुभयो। अनि मैले पूरक परीक्षा दिएँ र राम्रो अंक ल्याएँ”। हाल उनी ‘अस्ट्रेलियन अवार्ड’ नामक छात्रवृत्ति प्राप्त गरी अस्ट्रेलियामा अध्ययनरत छन्।
प्रविधि र अधिकार
यस्ता कठिनाइका साथै थप समय उपलब्ध नगराउँदा, ठुला छापाका अक्षरमा र ब्रेलमा प्रश्नपत्र नपाउँदा निकै समस्या परेको कुरा अधिकांश दृष्टिविहीन परीक्षार्थीको गुनासो छ। यी तमाम घटना विवरण सुन्दा के लाग्छ तपाईंलाई? शिक्षा प्राप्त गर्नु सबैको अधिकार हो भने तनावरहित वातावरणमा आफ्नो क्षमताअनुसार परीक्षामा सहभागी हुन पाउनु पनि त अधिकार नै होइन र?
उच्च प्रविधिको यस युगमा समेत परीक्षामा ‘हाते अक्षर’ नै चाहिनु कतिसम्म जायज हो? विशेषगरी ती विद्यार्थीलाई, जसले हाते अक्षर लेख्न सक्दैनन्। यसैबीच एउटा उल्लेखनीय प्रयास शुरू भएको छ। काठमाडौँ विश्वविद्यालयले हाल दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटराइज्ड प्रविधिबाट परीक्षा दिन मिल्ने व्यवस्था गरेको छ। दुवै पंक्तिकारले नेसनल कलेज, धुमबाराहीबाट स्नातक तह अध्ययन गरेका हुन् र यो क्याम्पस काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो, जहाँ हाल एक जना दृष्टिविहीन छात्रा अध्ययनरत छिन्।
उक्त क्याम्पसका प्रधानाध्यापक माधवप्रसाद न्यौपानेले विश्वविद्यालयलाई निवेदन नै पठाएर दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटराइज्ड प्रविधिमार्फत परीक्षा दिन मिल्ने व्यवस्था गरिदिन अनुरोध गरेका रहेछन्। दुवै पंक्तिकारले स्नातक तह अध्ययन गर्दा आन्तरिक परीक्षा कम्प्युटरमार्फत लेखेको भए तापनि अन्तिम परीक्षामा भने लेखन सहयोगी राख्नुपरेको थियो। निरन्तरको प्रयास र अनुरोधमार्फत काठमाडौँ विश्वविद्यालयले प्रविधिमार्फत अपांगता भएका विद्यार्थीलाई सहजीकरण गरेको कुरा अवगत गराउँदै गर्दा त्रिविलगायत अन्य विश्वविद्यालय र अन्य निकायलाई पनि यसतर्फ अग्रसर भई समावेशी शिक्षा प्रवर्द्धन गर्न अनुरोध छ।
माथि नीतिगत झन्झट, व्यवहारिक पक्ष र सम्बन्धित निकायको बेवास्ताले गर्दा दृष्टिविहीन परीक्षार्थीले भोग्नुपरेका समस्या तथा चुनौती केलाउने प्रयास गरिएको छ। तर परीक्षार्थीले समेत ध्यान पुर्याउनुपर्ने पक्ष धेरै छन्। पंक्तिकारसँग ‘सर्वोदय संस्था’मा जोडिएर दृष्टिविहीन परीक्षार्थीका निम्ति लेखन सहयोगी व्यवस्थापन गर्न काम गरेको लामो अनुभव छ।
हामी पनि सुध्रौँ
यस क्रममा केही लेखन सहयोगीले दृष्टिविहीन परीक्षार्थीले परीक्षामा ‘चिट’ चोर्न लगाएको, किताब पढेर आउन भनेको र केही पुरुष दृष्टिविहीनले त परीक्षा सकिएपछि पनि महिला लेखन सहयोगीलाई फोन गर्ने र जिस्काउनेसम्म गरेको गुनासो गरेका थिए। केहीले त लेखन सहयोगी व्यवस्थापनका निम्ति सहयोग माग्दाका बखत नै परीक्षामा उत्तर सिकाइदिन सक्ने लेखन सहयोगी चाहियो भनिन्थ्यो। जबसम्म हामी नै यस्ता कमीकमजोरी स्विकारेर सभ्य, शिष्ट र लगनशील हुँदैनौँ, तबसम्म हामीले उठाएका सवाल र खबरदारी प्रश्नरहित हुँदैनन्।
उल्लिखित समस्या र चुनौती हेर्दा सामान्य लागे तापनि यिनले विद्यार्थीको पठनपाठन र नतिजामा ठूलो प्रभाव राख्छ। हामीले परिकल्पना गरेको समावेशी समाजका निम्ति पनि त समावेशी शिक्षाको महत्त्व उत्तिकै छ।
यसो गरौँ
सर्वप्रथम सरकारले लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीलाई परीक्षापिच्छे लेखन सहयोगी र थप समयका निम्ति सम्बन्धित निकाय धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ। यसका लागि विद्यार्थी भर्ना हुँदाकै बखत यस्ता आवश्यकतालाई दर्ता गर्ने र विद्यार्थीको प्रवेशपत्रमा नै लेखन सहयोगी आवश्यकता भएको विद्यार्थी भनी उल्लेख गर्न सकिन्छ।
कुनै शारीरिक अस्वस्थताका कारण आकस्मिक आवश्यकता पर्नेले भने आवश्यकता हुँदाका बखत आफू अध्ययनरत क्याम्पसबाट नै सिफारिस लिएर लेखन सहयोगी राख्न सक्ने व्यवस्था मिलाइनुपर्छ। त्यसैगरी, परीक्षाका दौरान कुनै आकस्मिक कारणले गर्दा पहिले तोकेको लेखन सहयोगी आउन असमर्थ हुनसक्ने यथार्थलाई ध्यानमा राखी कम्तीमा दुई लेखन सहयोगीको व्यवस्था पहिले नै गर्नुपर्छ। यसका निम्ति एउटा कार्यविधि नै तयार गरेर अघि बढ्नु उपयुक्त हुन्छ।
यस्तै, लोकसेवा आयोगले जस्तै अन्य प्रतिस्पर्धी परीक्षा सञ्चालन गर्ने निकाय र सम्बन्धित क्याम्पसले समेत लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीका निम्ति आफैँले योग्य लेखन सहयोगी व्यवस्थापन गर्न काम थाल्नुपर्छ। यसका निम्ति यही क्षेत्रमा काम गरिरहेका संघसंस्थासँग समन्वय गर्न सकिन्छ। त्यसैगरी सरकारले परीक्षाका प्रश्नपत्रलाई ब्रेल र ठूला छापाका अक्षरमा छाप्ने व्यवस्था गर्न सक्ने हो भने प्रश्नमा दिइएका पाठ्यांश र लामा प्रश्नहरूसमेत परीक्षार्थी आफैँ पढेर उत्तर बताउन सक्छन्।
सरकारले दृष्टिविहीन विद्यार्थीका लागि उनीहरूको आवश्यकता र चाहनाअनुरूप परीक्षा दिनका निम्ति उपलब्ध माध्यमहरू खुला गरिदिनुपर्छ। ब्रेल, कम्प्युटर टाइप या लेखन सहयोगी जुन सहज र सरल हुन्छ, परीक्षार्थीले सोही माध्यमबाट परीक्षा दिन पाउने हो भने यसबाट उनीहरूको सिकाइको वास्तविक मापनमा सहजता आउँछ।
त्यसैगरी आधारभूत तहदेखि नै पाठ्यक्रममा अपांगता भएका व्यक्तिप्रति समाज र नागरिकको दायित्व बोध गराउने किसिमका पाठहरू राख्ने र स्नातक तथा स्नातकोत्तर तहमा समाज र सामाजिक सेवासँग जोडिएका विषय पढ्ने विद्यार्थीलाई पनि अपांगता भएका व्यक्तिसँग घुलमिल हुने तथा सहयोग गर्ने अवसर सिर्जना गर्न सक्ने हो भने समाज अझ समावेशी हुनसक्छ।
अपांगता भएका व्यक्तिको हक हित प्रवर्धनका निम्ति खुलेका संघसंस्थाले पनि यी र यस्ता मुद्दालाई सशक्त ढंगले उठाई समाजमा अपांगता भएका व्यक्तिको आवश्यकता र क्षमता सुसूचित गराउनतर्फ अग्रसर हुनुपर्छ। हामी अपांगता भएका व्यक्ति पनि जस लिने दौडमा लागेको कुरा कहीँ न कहीँ साँचो हो। त्यसैले, वास्तविक मुद्दा उठान गरी एकले अर्काको अस्तित्व स्विकारेर जसले काम गरे पनि हाम्रा निम्ति हो भन्ने भावना जागृत गर्नु आजको आवश्यकता हो।
अनुरोध
दृष्टिविहीन तथा अन्य अपांगता भएका व्यक्तिमध्ये हातले लेख्न गाह्रो हुनेहरूको शैक्षिक विकास एवं वृत्तिपथमा लेखन सहयोगीको ठूलो हात हुन्छ। सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्। साथै यो कार्यलाई पूर्ण स्वयंसेवाका रूपमा बुझिदिनुहोस्। यसले तपाईंको शैक्षिक एवं व्यावसायिक वृत्तिविकासका निम्ति पनि कुनै न कुनै रूपमा सहयोग जरुर गर्ने छ। यदि यस कार्यलाई हामीले नाफाको विषय बनायौँ भने हामीले बिस्तारै मानवता र सेवाभावको महत्त्व बिर्सने छौँ भने समानुभूति पनि मरेर जाने छ।
अपांगतालाई कुनै पाप र धर्मसँग नजोडी एउटा अवस्थाका रूपमा मात्र बुझेर अपांगता भएका व्यक्तिको शैक्षिक उन्नयनका निम्ति हामी आफ्नो ठाउँबाट जे सक्छौँ, गर्ने हो भने प्रत्येक क्षेत्रले उनीहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्न सक्छ। आखिर हाम्रै प्रयासबाट हिजो स्लेट र स्टाइलस (ब्रेल लेख्ने प्रविधि) बाट आज दृष्टिविहीन व्यक्तिहरू ‘स्क्रिन रिडर’युक्त कम्प्युटर र मोबाइलको सहायताले पढ्न र लेख्न सफल भएका छन्। सामान्य कार्यविधि संशोधन गर्दा, एक थान कानून निर्माण गर्दा र सोच फराकिलो बनाउँदा सभ्य, शिष्ट, सक्षम र समावेशी समाज निर्माण हुनसक्छ भने के तपाईं सहयोग गर्न तयार हुनुहुन्न?