Monday, May 06, 2024

-->

बाँदर समस्या: रुख काट्ने होइन, झन् धेरै रोप्नुपर्छ

किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।

बाँदर समस्या रुख काट्ने होइन झन् धेरै रोप्नुपर्छ

मेरो नाम लोकबहादुर मगर हो, ५१ वर्षको भएँ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ हात्तीबाङस्थित सामुदायिक विद्यालय, राष्ट्रिय माविको प्रधानाध्यापक हुँ। यो विद्यालय चितवनकै सबैभन्दा दुर्गम पहाडी क्षेत्रमा पर्छ, भरतपुरबाट हात्तीबाङ ५० किलोमिटरजतिको दूरीमा छ। यस विद्यालयमा पढाउन थालेको तीन वर्ष भयो, शिक्षण पेसामै संलग्न रहेको पच्चीस वर्षजति भयो। मेरो स्थायी घर कालिका नगरपालिका वडा नम्बर ८ बेलटार चितवन हो।  

शिक्षण पेसासँगै मेरो सोख प्रकृति संरक्षण हो। मेरो गाउँ बेलटारमा कवुलियती वन छ। सरकारी नै भए पनि स्तर सुधारेर स्थानीयले निश्चित लाभ उपभोग गर्न सक्ने वनलाई कबुलियती वन भनिन्छ। सो वनमा अन्य जीवजन्तुसँगै बाँदर पनि छन्। पहिले त बाँदरले स्थानीय कृषकलाई उति समस्या दिएका थिएनन्, तर पछिल्लो समय जंगलमा खाद्यान्न सकिएर होला, तिनीहरू बस्तीनजिक आइरहेका छन्। पहिले पनि चैत–वैशाखको समयमा जंगलमा खानेकुरा नभएपछि बाँदरहरू मानव बस्तीमा कहिलेकाहीँ छिर्थे, तर अहिले त अन्य याममा पनि खानेकुराको खोजीमा मान्छेका घरभित्रै पस्न थालेका छन्। 

पहिले सबै गाउँठाउँमा खेती हुन्थ्यो, अहिले पातलियो। मान्छेहरू वैदेशिक रोजगार र शहर पसेपछि गाउँमा रहेका बुढापाकाले कति नै खेती गर्लान् र? त्यसो भएपछि स्वाभाविक रूपमा जंगलका बाँदरको खाने स्रोत झनै कम भयो र मानव बस्तीमा ती छिर्न थाले।   

खासगरी फलफूलका बिरुवाहरू निजी र सार्वजनिक जंगलमा रोप्ने काममै लागेकाले कतिपय फलफूल र कन्दमूल भने बाँदरले नखाने रहेछन् भन्ने बुझ्न पाएँ। बाँदरले रूख कटहर खाँदैनन्। बाँदरको शरीरमा भुवादार भुत्ला हुने भएकाले कटहरको फल, बोट र पातको चोप तिनको रौँमा टाँसिन्छ, जसकारण उनीहरू यसको सरसंगतमा पर्न चाहँदैनन्। 

मोलासेस, टिमुर, मेन्था केमोमाइल, निबुवा, काठे, कागतीलगायत 'सिट्रस' प्रजातिका फल बाँदरले खाँदैनन्। घरतरूल पनि जमिनुमुनि खेती गरिने कारण तिनले खान सक्दैनन्। खाल्डा खनेर रोपेर स्याउलाले छोपेपछि बाँदरले खन्न सक्दैन। पिँडालु, बेसार र अदुवा पनि बाँदरले रुचाउँदैनन्। हामीले यस प्रकारका खेती गर्ने हो भने हाम्रा खेती सुरक्षित रहन्छन्। 

मैले आफ्नो कबुलियती वन र निजी बारीमा अनेक प्रकारका फलफूल रोपेको छु। आउँदो सिजनमा मैले रोपेका सयभन्दा बढी रूखमा आँप फल्नेछन्। बाँदरले पाकेको आँप खाए पनि काँचो आँप भने खाँदैन। त्यसो हुँदा असारको पहिलो हप्तासम्म बाँदरले आँपमा नोक्सान गर्दैनन्। यतिखेर मैले रोपेका चिउरीका बोटहरू फुलेका छन्। लप्सी, भुइँकटहरसँगै थुप्रै प्रजातिका घाँस मैले वनमा रोपेको छु। अरूको कबुलियती तथा निजी जंगल झाडी रहँदा मेरो घरछेउको जंगल भने अहिले पूरै फुलेको छ। चरा र माहुरी प्रशस्त छन् वनमा। 

घाँसचाहिँ पशुपालनका लागि रोपिएको हो। धेरै संख्यामा फलका बोटहरू जंगलमा हुर्काउन सक्दा त बाँदरलगायत अन्य जीवले खान पाउँछन् र ती जंगलतिरै अलमलिन्छन्। सर्वसाधारणको बाली खाने चिन्ता पनि कम हुन्छ।

मैले रोपेका बिरुवा म मरेर गए पनि हुर्किरहनेछन्। थप बिरुवाहरू फैलिँदै पनि जालान्। म मरे पनि प्रकृतिका लागि मैले गरेको योगदान पृथ्वीमा लामो समय बाँच्नेछ। यसले मलाई सन्तोष मिल्छ। हाम्रा पुर्खाले पनि अनेक रुखबिरुवा रोप्ने अभ्यास गर्थे, तर अहिले हामीले त्यसलाई भुलेका छौँ। 

अर्को कुरा, मैले रोपेका सबै बिरुवाका बाली या मैले गरेको कामको सबै प्रतिफल मैले नै खानुपर्छ भन्ने छैन। मैले रोपेको फलफूल मेरा नातिनातिना पुस्ताले मात्र नभई दुनियाँले नै खान पाउलान्। बाँदर, चरा र अन्य जीवले अहिले खान पाएका छन्। सिंगो प्राणी जगत् लाभान्वित हुन्छ भन्ने ठानेर म वनमा फलफूलका बिरुवा रोपिरहेको छु। 

अहिले पनि म स्कुल बिदा हुने बित्तिकै घर पुगेपछि वन जग्गामा खाल्डा खन्दै बिरुवा रोप्ने काम गर्छु। यस पटक मैले रूखकटहरका बिरुवा धेरै रोपेँ। रुखकटहरको तरकारी र अचार पनि बन्छ। बजारमा राम्रो भाउसमेत आउँछ। यस्ता लाभदायक बिरुवाहरू हामीले जंगलमा रोप्न सक्यौँ भने नेपालका कबुलियती र सामुदायिक वनमा प्रशस्त फलफूल फल्न सक्छन् र धेरै वन्यजन्तु उतै रमाउनेछन्। बस्तीमै आए पनि अघाएका जीवले बिरलै अरूको हानि गर्छन्।  

मैले फलफूलका बिरुवा रोप्ने कर्मलाई साथी/समुदायमा पनि लैजाँदै छु। जुनसुकै वनमा फलफूलका बिरुवा रोप्ने योजना छ। अहिले मैले स्कुलकै कक्षा आठमा पढ्ने विद्यार्थीलाई यसमा प्रेरित गरेको छु। उनीहरूलाई तिनको घर आँगनबाट निस्केको जैविक फोहरलाई जम्मा पारेर कम्तीमा एक मिटरको खाल्डा खनाउने र त्यसमा तरुल या अन्य कुनै उपयुक्त बिरुवा लगाउने योजना कार्यान्वयन भइरहेको छ। 

यसले विद्यार्थीलाई थप क्रियाशील बनाउने छ। हाम्रा विद्यार्थी र बालबच्चा खेतबारीमा पहिलेभन्दा कम जान थालेको सन्दर्भमा यस्तो कृषि कर्म आवश्यक छ। यस्ता कार्यक्रम अघि बढाउन सक्दा विद्यार्थीमाझ वातावरण, कृषि र श्रमप्रति अभिरुचि जगाउन मद्दत पुग्छ। कक्षा ८ को स्वास्थ्य तथा वातावरण विषयमा प्रयोगात्मक विषयको २५ नम्बर दिइन्छ। मैले बिरुवा वा बाली रोप्ने कामलाई त्यही प्रयोगात्मक परीक्षासँग जोडेको छु। कमसेकम एक जना व्यक्तिलाई जीवनमा तीन–चारवटा बिरुवा रोप्न र हुर्काउन सिकाउने मेरो सोच हो। 

कतिपय अध्ययनले आफूले खाएको फलफूलका बीउ बाँदरले अन्यत्र प्रसार गर्दा रहेछन् भन्ने देखाएका छन्। एउटा पाखामा कुनै फल खाएको बाँदर अन्यत्र पुगेर दिसा गर्दा सो पाखामा बीउ उम्रने हुँदो रहेछ। नेपाल सरकारले खेर गएका जमिनमा, सामुदायिक वनमा प्रत्येक नागरिकले एक–एक वटा बिरुवा हुर्काउने रणनीति लियो भने नेपालका जंगलभरि फलफूलहरू हुनेछन्। बाँदरहरूले खाएर ती फलफूल सकिने छैन।

यिनै कुरा बुझेर मैले झन्डै दुई दशकदेखि जंगलमा बिरुवा रोप्ने काम गरिरहेको छु। अहिले कटहर फल्न लागेको छ। तर मलाई साथ दिने कुनै संस्था या सरकार चाहिँ मैले भेटेको छैन। कसैले गरोस् या नगरोस्, म आफ्नो विद्यार्थी र समुदायलाई लिएर प्रकृतिको पक्षमा केही काम गरिरहेको छु। 

खेर गएको जमिन र श्रममार्फत दिगो आम्दानीका लागि मेरो प्रयत्न हो। इच्छाकामना गाउँपालिका वडा नम्बर २ तल्लो काउले  (मेरो गाउँ) मा हाम्रो समुदायले आ–आफ्ना बारीमा ६ हजार सुन्तलाका बिरुवा रोपेका छौँ। यो साल एक करोड रुपैयाँको सुन्तला बिक्री भइसक्यो। अहिले पनि केही बिक्री हुँदैछ। त्यस काममा मैले आफ्नो समुदायलाई प्रोत्साहित गरेको हुँ। अहिले हाम्रो समुदायसँग चालीस लाख नगद बचत छ। समुदायले सहकारी पनि चलाएको  छ।   

किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। भारतमा पनि यो समस्या व्यापक छ। तर बाँदर मारेर या रूख ढालेर बाँदरको समस्या सुल्झिँदैन। त्यसबाट त झनै प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले भविष्यमा झेल्नुपर्ने हुनसक्छ। जंगलमा भएका सडेगलेका काठ काट्नुपर्छ, तर पहिले नै भएको हरियाली मास्ने कुरा गलत हो। यसबाट पानीका मूल सुक्नेलगायत समस्या आउनेछन्। अतः रूख काटेर होइन, रूख रोप्ने हो भने त्यसबाट देश त सुन्दर बन्छ नै, पर्यटनमार्फत देशको गरिबी पनि हटाउन सम्भव हुनेछ। 

कतिपय चराहरूले किरा खाएर अन्नबालीलाई सहयोग गरिरहेका हुन्छन्। चराले पनि केही अन्नबाली खालान्, तर त्यसको तुलनामा किरा खाइदिएर तिनले लगाउने गुन बढी हुन्छ। बाँदरकै पनि त्यस्ता प्राकृतिक योगदान छन् मानव समुदायप्रति। कतिपय गिद्ध, काग र हुँडारहरूले प्रकृतिमा अनावश्यक भएका र मृत जीवहरू खाएर प्रकृतिलाई सफा गरिरहेका हुन्छन्। त्यसो हुँदा दुर्गन्ध र महामारी फैलन पाउँदैन। प्रकृतिको 'चेक एन्ड ब्यालेन्स'को विज्ञान हामीले बुझ्न सक्दा बाँदर समस्याको पनि प्रकृतिमैत्री समाधान भेटिनेछ। 

हामीले 'फ्रुट डोनेसन' भन्ने कार्यक्रम चलाएका छौँ। मैले सो काम निजी फर्ममार्फत गराउने गरेको छु। ‘काउले हिल एग्रो प्राइभेट लिमिटेड’मार्फत हामी जोकसैको नाममा सार्वजनिक जंगलमा बिरुवा रोपिदिन्छौँ। बिरुवा हुर्काउने खर्च चाहिँ सम्बन्धित व्यक्तिले हाम्रो संस्थालाई दिनुपर्छ। त्यो बिरुवालाई हामी कबुलियती या सामुदायिक वनमा हुर्काइदिन्छौँ। भोलि बिरुवा हुर्केर त्यसमा फल लागेपछि रोप्नेवाला स्वयं आएर फल टिपेर खान पाउन् भन्ने हाम्रो लक्ष्य हो। 

हामीले बुझ्नुपर्छ, वन विनाशले थप बाँदर तथा वन्यजन्तु गाउँ बस्तीमा पस्नेछन्। पाँच वर्षअघि उदयपुरमा डढेलोका कारण वन उदांगो बनेपछि बाँदर, भालु, बँदेल र हात्तीलगायत जनावर गाउँ पसेको खबर समाचारमा आए। काठ तस्करले मात्र नभई जंगलमा घाँस पलाउने भन्दै किसानले नै धेरैजसो जंगलमा डढेलो लगाउँदा वन्यजन्तुको भोजन पनि डढेर सकिन्छ। 

कतिपय फलफूल र कन्दमूल बाँदरले नखाने खालका छन् भनेर अघि नै भनियो। तत्कालका लागि, बाँदरको समस्याबाट बच्न बाँदरले मन नपराउने खालको खेतीतर्फ किसानलाई आकर्षित गर्न सकिन्छ। देशैभरका जंगलमा फलफूलका बिरुवा रोप्न सकियो भने कालान्तरमा अन्य प्राणीको पनि कल्याण भयो, मान्छेको पनि कल्याण। यसबाट पर्यटक पनि बढ्न गई देशको समृद्धिमा योगदान पुग्नेछ। 

यो धर्ती र प्रकृति सबैको साझा हो। बाँदर, बाघ, स्याल, हिउँचितुवा, चराचुरुंगीलगायत सबै जीवको हो यो पृथ्वी। मान्छेले मात्रै पृथ्वी र जंगलका सबै स्रोत प्रयोग गर्ने हो भने  मान्छेको अस्तित्व धर्तीमा धेरै रहने छैन। यो पृथ्वी मान्छेको मात्रै हो भन्दै हामी अघि बढ्यौँ भने मानवको विनाश निश्चित छ।


शिक्षक/संरक्षणकर्मी मगरसँगको कुराकानीमा आधारित


सम्बन्धित सामग्री