Monday, May 06, 2024

-->

हाम्रो पानी: एक कहानी

२०४३ जेठमा थाइल्यान्डको राजधानी बैँककमा केही दिन कोठा भाडामा बसियो। घरधनीले सर्वप्रथम पानी प्रयोगबारे जानकारी दिइन्। एउटा धाराको पानी पिउन र खाना बनाउन र अर्को धाराको पानी नुहाइधुवाइका लागि चलाउने।

हाम्रो पानी एक कहानी

पानी पृथ्वीका लागि किन अति महत्त्वपूर्ण छ भनेर बिहान उठेदेखि आफैँलाई नियालेँ। उठ्नासाथ पिउन, नित्यकर्म र शौचका लागि, टहलेर घर फिर्दा फेरि पिउन, नुहाइधुवाइ गर्न पानी नै चाहिने रहेछ। खानाअघि हात धुन होस् या खाइसकेपछि हात धुन या सबै प्रकारका व्यञ्जन तयार गर्न र पकाउन पनि पानी नै चाहियो। भाँडाकुँडा, भान्छा सफा गर्न, लत्ताकपडा धुन पानी नै चाहिने भयो। झ्याल पुछ्नेदेखि वाहनको सरसफाइमा पनि पानी नभई भएन। 

एउटा वयस्क मानिसको शरीरमा झन्डै ६० प्रतिशत पानी हुन्छ। अध्ययनहरूले खानाबिना मान्छे केही हप्तासमेत बाँच्न सक्छ, तर पानीको अभावमा तीन दिनभन्दा बढी बाच्न कठिन हुने जनाउँछ। शरीरको तापक्रम सन्तुलनमा राख्न, खाना पचाउन, अक्सिजन प्रवाह गर्न वा मलमूत्र बाहिर निकाल्न पनि पानीले नै सघाउँछ। मानव शरीरलाई मात्र नभएर यस पृथ्वीमा रहेका अधिकांश प्राणी र बोटबिरुवालाई पानी अत्यावश्यक हुन्छ। कतिपय जीव त पानीमै जन्मिछन् र त्यहीँ मर्छन्।   

पृथ्वीको कुरा गर्दा यसको तापक्रमको सन्तुलन मिलाउनमा पानीको भूमिका हुने गर्छ। ठूला नदीदेखि समुद्र छिचोल्दै देशविदेशमा सस्तो र सुलभ सामान ढुवानी पानी(जहाज)मार्फत नै हुने गर्छ। निर्माण कार्य तथा कलकारखानामा पनि विशेषता हेरी धेरैथोरै पानी चाहिन्छ। जलविद्युत् पानीबाटै सिर्जित वैज्ञानिक वरदान हो भने आणविक भट्टीमार्फत बिजुली निकाल्न पनि पानीको आवश्यकता पर्छ। 

पानीको मूल्य
यति धेरै महत्त्वपूर्ण पानीको मूल्य हामीले बुझेका छौँ त? आज गज्जबले विकसित हुँदै गरेको यूएईको कुरा गरौँ, त्यहाँ समुद्रको पानीलाई 'डिसालिनेसन' प्रक्रियाबाट पिउनयोग्य बनाइने गरेको छ, तर विज्ञहरू, यस्तो प्रक्रियामा प्रयोग हुने केमिकलहरू अन्ततः महासागरमै पुगेर जलप्रदूषण गर्ने बताउँछन्। यो प्रक्रिया आफैँमा खर्चिलो त छँदैछ, त्यसले पर्यावरणमा पार्ने घाटा उत्तिकै छ। 

बाँच्नका लागि अनिवार्य चाहिने पानीका लागि यूएईले अर्बौं डलर खर्च गर्दा हामीकहाँ पिउनयोग्य पानी मूलमा सहजै उपलब्ध छ। त्यसरी हेर्दा पानीको मामलामा हामी स्वर्गमै छौँ। तर हामी पानीको स्वर्गमै रहेर पनि पानीको उचित उपयोग गर्न सकेका छैनौँ। 

नेपालमा ६ हजार जति नदी छन्, त्यसो हुँदा नदी नै बग्नेगरी नै छ हजार मूल छन्। धारा, पँधेरा र कुवाका साना मूलको बेग्लै कुरा। यो विशेषता हाम्रो लागि ठूलो सौभाग्य हो। प्रकृतिले यति धेरै पानी दिएर पनि हामी भारतबाट महँगो शुल्क तिरेर बिजुली किनिरहेका रहेका छौँ। गोरखापत्रले गरेको एक रिपोर्टिङअनुसार झन्डै एक वर्षमा ५० करोडभन्दा बढीको पानी (बोतलका पानी) नेपालले निर्यात गरेको रहेछ। पानीकै अभावमा सिँचाइको प्रबन्ध गर्न नसकेर हाम्रा खेतबारी बाँझै रहेका छन्। देशकै राजधानीमा समेत सहजै पानी पिउने व्यवस्था गर्न सकेका छैनौँ। लाजै मर्दो कुरा। 

नुवाकोटको डाँडोस्थित साततले दरबारनजिक तोपखानामा रहँदा, मेरी आमाले, सुख्खाका बखत अलि टाढाको कुवाबाट झिसमिसेमै ग्राग्रीमा पानी बोकेर ल्याउने गर्नुभएको देखेदेखि पानी फारो गर्नुपर्ने चिज रहेछ भनेर बुझ्न पाएँ। सिकाइ यस्तो रह्यो कि कुनै कारणवश भाँडाबाट पानी ह्वात्त पोखिए आत्तिन थाल्छु, धाराबाट त्यसै पानी बगिरहेको देख्दा कहालिन्छु। 

युनाइटेड मिसन टू नेपालमा कार्यरत हुँदा, एक पटक गोर्खास्थित आँप पिपलमा रहेको मिसन अस्पतालको कुनै कार्यक्रममा जाँदा बासथलो अलि थुम्कोमा थियो। पानी निकै तलबाट बोकेर लग्नुपर्ने रहेछ। आगन्तुकहरूले पानी सही ढंगले प्रयोग गरुन् भन्ने खालका सन्देशहरू बासथलोमा पढ्न पाइयो। धारामा हातखुट्टा धोएको पानीसमेत बचत गरेर बँगैचा र करेसाबारीमा प्रयोग गर्न सुझाइएका सन्देश हुन्थे ती। 

२०४३ जेठमा थाइल्यान्डको राजधानी बैँककमा केही दिन कोठा भाडामा बसियो। घरधनीले सर्वप्रथम पानी प्रयोगबारे जानकारी दिइन्। एउटा धाराको पानी पिउन र खाना बनाउन र अर्को धाराको पानी नुहाइधुवाइका लागि चलाउने। वर्षातको पानी छानामा रहेको डुँडबाट ठूलाठूला भाँडामा संकलन गरेर दैनिक जीवनमा प्रयोग गर्ने अभ्यास त्यहाँ देखिन्थ्यो। 

२०५२ माघमा भारतको कन्याकुमारीस्थित विपद् पूर्वतयारी कार्यशालामा रहँदा शायद काण्डीमण्डपमा थियौँ। त्यस ठाउँमा एउटा सानो पोखरी रहेछ, पिउनेबाहेक त्यही पोखरीको पानी पुरै गाउँबासीले बस्तुभाउका लागि पानीदेखि अन्य घरायसी गर्जो टार्दा रहेछन्। धेरै किलोमिटर टाढाबाट पौने इन्चको पाइपमा पिउने पानी आउँदो रहेछ। त्यसबाट मुस्किलले गुजारा चलिरहेको देखिन्थ्यो। तर त्यो पानीको मूल पनि सुक्दै गएकोले स्थानीय बासिन्दा चिन्तित थिए। हामीमध्ये कुनै बुज्रुकले "पानीको उस्तो समस्या भएको भए त जमिनमुनिबाट निकाले भैगो नि" भने। तर समुद्रको नजिक भएकोले जमिनमुनिको पानी नुनिलो हुने रहेछ, जसका कारण उनीहरू मर्कामा रहेछन्। 

कुनै खाडी मुलुकमा पानीबारेको अर्को दुःखको कथा पढेको थिएँ– कतैबाट धापिएर आएको व्यक्तिले ठूलो भाँडामा रहेको पानी अञ्जुलीले मुखमा छ्याप्छ र त्यहाँबाट झरेको पानी पुनः भाँडामै खस्छ। फेरि अर्को व्यक्तिले त्यो पानी प्रयोग गर्न पाउँछ। यसरी पानीको पुनः प्रयोग गरिने रहेछ। शायद, प्रविधिका कारण यो कथा फेरियो होला, तर माथि यूएईमा हुने गरेको पानी प्रशोधनका कुराले आज पनि खाडीमा पानी महँगो हुन जान्छ भन्ने त हामीले जानिहाल्यौँ। 

नेपालका कति गाउँमा पानीलाई 'बुहारीको पेवा' भनिन्थ्यो, शायद अहिले पनि भनिएला। पुरै बिहान बिताएर खासगरी घरका बुहारीहरूले टाढाबाट पानी घर ल्याउनुपर्ने कुरा हो यो, जो हाम्रो समाजको विभेदकारी संरचनासँग समेत जोडिएकै छ। यो अलग विषय भयो। 

जलवायु परिवर्तनका कारण विश्वभर पिउनयोग्य पानी घट्दै गएको बताइन्छ। पिउने पानी होस् या सिँचाइको, त्यसका कारण गाउँशहरमा झगडा हुन्थे, हुन्छन्। अहिले पनि कतिपय जानकारहरू पानीकै कारण भोलिका दिनमा ठूलाठूला युद्ध हुनसक्ने तर्क गर्छन्। सुन, पेट्रोलियमपछि अबको महँगो वस्तु पानी हुनेछ भन्ने आँकलन धेरैको छ। 

काठमाडौँकै कुरा गरौँ। २०१८/२०२० सालतिरका वर्षातताका देखिने गरेका मूलहरू अहिले कतै देखिँदैनन्। बीसको दशकसम्म सरकारी धाराहरू एकदमै कम थिए। मूलधारा अर्थात् जमिनमुनि (मूल)बाट सधैँ एकनासले पानी बगिरहने धाराहरू ठाउँठाउँमा थिए र त्यसैमा उपत्यकावासी निर्भर थियौँ। आजकाल कदाचित कतै मूलधारामा पानी बगिरहेको देख्दा आश्चर्य मान्नुपर्ने भएको छ। भोटाहिटी कहाँ गयो, कहाँ गयो सुनधारा? कति धापिला सिमसार थिए–अहिले खै? किन यस्तो भयो? कसले बताउने?

उकालो डट्कममा २०८० मार्ग २५ गते मुकेश पोखरेल बढ्दो सुक्खापनले खाद्य सुरक्षा, ऊर्जा उत्पादन र पिउने पानीमा ‘हिउँदे चुनौती’ शीर्षकमा लेख्छन्– 'विद्युत् प्राधिकरणका अनुसार अघिल्लो हिउँदमा भन्दा गत हिउँदमा ३० देखि ३५ प्रतिशतले विद्युत् उत्पादन घट्यो।’ यस्तै आशयका प्रश्न धेरै लेखक र अध्येताहरू गरिरहेका छन्। अबको सय वर्षपछि ब्रह्मपुत्र नदी कस्तो होला? आजको ५० वर्षअघि बागमती कस्तो थियो? 

एक अध्ययनअनुसार ५० प्रतिशत काठमाडौँका जनताले भूमिगत पानीको प्रयोग गरिरहेका छन्, धेरैजसो इनार सुक्दै गएका छन्। तीन दशकअघि काठमाडौँको जुनसुकै ठाउँमा ८ देखि १० मिटर गहिरो खन्दा पानी आउँथ्यो भने अहिले ४० देखि ५० मिटर खन्दा मुस्किलले पानी आउँछ भनेको देखियो। एल्जेभिएर नामक एक विज्ञान अनुसन्धानसम्वद्ध अनलाइनको अध्ययनले सन् २०१७–१९को दुई वर्षमा काठमाडौँको भूमिगत पानीको तह –०.११ देखि ११.५ मिटरसम्म घटेको पाइयो भनेको छ। 

एसोसियटेड प्रेस (एपीन्युजडटकम) मा २१ नोभेम्बर २०२३का दिन मार्था इर्भिन् र दार यासिनले पानीको संकटबारे 'बहुमूल्य पानी: धेरैजसो विश्व नागरिक तिर्खाउँदै गर्दा 'विलासी' पानी अभिजात वर्गमाझ फेसन बन्दै छ' शीर्षकको लामो लेख लेखेका छन्, त्यसमा संयुक्त राष्ट्रसंघले दशकअघि नै पानी विश्वका मानिसका लागि मानवीय अधिकार मानेको भए पनि लाखौँ मानिसले आजका दिन पनि शुद्ध पिउने पानी नपाएका कुरा छन्। त्यसै लेखमा भारतका ठूला होटलमा धनी व्यक्तिहरू ६ डलर तिरेर एक बोतल पानी किन्छन्, तर त्यहीँका ज्यामीको दैनिक ज्याला झन्डै सोही मूल्य बराबर रहेको तथ्यसमेत उल्लेख छ। 

५० को दशकतिर हुनुपर्छ, एक पटक केही भारतीय एवं बांग्लादेशी र नेपाल समेतको त्रयसंस्था साझेदारीअन्तर्गत नेपालका ग्रामीण भेगमा छोटो समयको अध्ययनका लागि आएका थिए। एक बांग्लादेशी युवतीले आफ्नो अध्ययनबारे संक्षिप्त बताइन् र भनिन्, "नजिकै खोल्सोबाट पानी बगिरहेको छ, तर त्यसको सदुपयोग भएको छैन। त्यसलाई सहजै कुलो बनाएर ल्याए त माथतिरको पानी तलतिर त आइहाल्छ नि। पानी बोकेर ल्याउने टन्टा त हटिहाल्छ नि। त्यसो हुँदा करेसाबारीमा चिस्यान पनि रहन्छ, हिउँदमा समेत तरकारी र फलफूल फलाउन सकिन्छ।"

उनको कुरा सुनिरहँदा लाग्यो–जुनसुकै कुरामा पनि दोस्रो आँखा या अवधारणा अत्यन्त जरुरी छ। हाम्रोमा त प्रयास पनि आवश्यक देखिन्छ। 

हाम्रा अधिकांश खोलामा हिमालका कञ्चन पानी बग्छन्। ती पानीलाई सहजै प्रशोधन गरेर विश्व बजारमा बेच्न सम्भव छ। खोलाकै पानी कुलो, र्‍याम पम्प वा साइफन आदिबाट खेत बारीमा उकालेर एक बाली उब्जाउने जमिनमा तीन बाली उब्जाउन सकिन्छ। सुख्खा जमिनलाई बिस्तारै ओसिलो र आवश्यकता भएमा सिमसारसम्म बनाउन सकिन्छ। धेरै जलविद्युत् उत्पादन गर्न सक्दा त्यसलाई विदेशमा बेच्ने कुरा त आज कार्यान्वयन भएको छ नै, स्वदेशमै विदेशी कम्पनीहरू आकर्षित गर्न सक्ने सम्भावना पनि छ। 

हाम्रा डाँडाकाँडा हराभरा बनाइ कार्बन उत्सर्जन कम गर्दा त्यसमार्फत विश्व जगत‍्बाट असुल गर्न सकिने कुरा पनि छ। सँगै, ठूला कृत्रिम तालतलैयाको निर्माण गरेर पर्यटक आकर्षण गर्न पनि सकिन्छ। यसो गर्दा देश धनी त हुने नै छ, कमाइका लागि विदेश धाउनै पर्ने बाध्यता पनि हट्नेछ। 

संसारमा उपलब्ध पानीमध्ये केबल ०.५ प्रतिशत पानी मात्र शुद्ध र पिउनयोग्य भएबाट पानी कति महँगो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ, तर हामीले 'सित्तैमा प्राप्त' पानीको कुनै मूल्य बुझेका छैनौँ, जब बुझ्नेछौँ, तब ढिलो भइसक्नेछ। अर्को कुरा, भोलिका दिनमा नेपालका पिउनयोग्य पानीका स्रोतलाई लिएर ठूला द्वन्द्व निम्तने सम्भावना छ। नेपालको पानीमा दक्षिणी छिमेकी चासोबारे डा. द्वारिकानाथ ढुंगेलको 'चक्रव्यूहमा नेपालको जलस्रोत' पढ्दा पनि स्पष्ट भइहाल्छ।

अन्य प्राकृतिक सम्पदासँगै नेपाल पानीमा धनी छ। उपयोग, सदुपयोग र उचित उपयोगको मात्र कुरा हो। बगेर जाने पानी रोक्न सकिँदैन पनि भनिन्छ, तर छेक्न र तर्काउन अवश्य सकिन्छ। बढी भएको बखत सञ्चित गरेर हाम्रो पिउनयोग्य पानी कम भएको बखत मजाले खर्च गर्न सकिन्छ। उच्च हिमालबाट बग्ने पानी हामीले उपयोग गरेपछि मात्रै भारत र बांग्लादेश हुँदै महासागरसम्म पुग्ने हो।

पानी प्राणी मात्रको जीवन हो भन्ने कुरा बुझेर यसको उचित दोहन, उपयोग र संरक्षण गरौँ। विश्वलाई नै स्वच्छ पानीको समस्याबाट उन्मुक्त गराउने दिशामा हामी अग्रसर बनौँ। विश्व जगत‍्का मानव र गैरमानवको हितका लागि नेपालको पानी थोरै भए पनि प्रयोग हुन सकोस्, किनकि यो विश्व हाम्रो साझा हो। वसुधैव कुटुम्बकम्। 


सम्बन्धित सामग्री