Sunday, April 28, 2024

-->

‘जलवायु परिवर्तनको प्रभावले बसाइँसराइ बढायो’

'कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ।'

‘जलवायु परिवर्तनको प्रभावले बसाइँसराइ बढायो’

सुक्खा खडेरी, अस्वभाविक वर्षा तथा बाढी प्रकोपका घटनामा विश्वव्यापी रूपमै वृद्धि हुँदा त्यही कारण मानिसहरू बसाइँ सर्न बाध्य छन्। यस्ता घटना नेपालमा पनि भइरहेकै छ। ‘राष्ट्रिय जनगणना २०७८’का अनुसार पछिल्लो १० वर्षमा ५० लाख मानिसले आन्तरिक बसाइँसराइ गरेका छन्। मंसिर १३ गतेदेखि दुबईमा चलिरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा बसाइँसराइ, आप्रवासनका विषयमा पनि विभिन्न फोरममा छलफल भए। ती छलफलमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानीः

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा बसाइँसराइको विषयलाई किन गम्भीर रूपले लिइएको छ?
कोपमा बसाइँसराइको मुद्दा पहिलादेखि नै उठ्दै आएको हो। यसपालि आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) को ११४औँ सम्मेलनको विषय ‘इम्प्याक्ट अन क्लाइमेट चेन्ज एन्ड ह्युमन मोबिलिटी’ (जलवायु परिवर्तन र मानिसको बसाइँसराई) थियो। आईओएमको काउन्सिल बैठकमा तीन दिन यो विषयमा छलफल भयो। यो विषयलाई सम्वेदनशील मानिएरै अहिले चलिरहेको जलवायु सम्मेलनमा मुख्य अजेन्डा भएको हो।

कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ। हरेक देशमा मानिसहरूको ‘मोबिलिटी’ बढिरहेको छ। विकसित देशका मानिस पनि अर्को देशमा गइरहेका छन्। जस्तो, अमेरिकी युवाहरू छोटो समयका लागि काम गर्न अष्ट्रेलिया गइरहेका छन्। नयाँ प्रविधि सिक्नका लागि यस्तो भएको देखिन्छ। हाम्रो जस्तो देशमा रोजगारीका सिलसिलामा मुलुकबाट बाहिर मात्र नभई मुलुकभित्र गाउँबाट बजार, बजारबाट केन्द्रीय राजधानी जाने सिलसिला चलिरहेको छ। कोपको छलफलका क्रममा नेपालको ‘माइग्रेसन’का विषय पनि बताउँदैछौँ।

काम गर्नकै लागि गत आर्थिक वर्षमा सात लाख ९३ हजार मानिसले देश छोडे। पढ्नका लागि भारतबाहेकका मुलुकमा झण्डै एक लाख मानिसहरू गएका छन्। यो श्रमबाट अनुमति प्राप्त संख्या हो। यसबाहेक पनि नेपालीहरू ‘भिजिट’ र अन्य प्रकारको भिसामा बाहिर गएर काम गरिरहेका छन्। यो सिलसिला फैलिरहेको छ। हामी ११० वटा मुलुकमा संस्थागत रूपमा कामदार पठाइरहेका छौँ। व्यक्तिगत रूपमा गएर १७८ मुलुकमा नेपालीहरूले काम गर्छन्। 

देशबाहिर गएर त्यहाँ काम गर्ने, सिक्ने र त्यसपछि फर्कने सिलसिला नै छ। यो सिलसिला भइरहँदा त केही फरक पर्दैन, तर जाँदा सुरक्षित भएर कसरी जाने? जुन काम गर्न जाने हो, त्यो सीप कसरी हासिल गर्ने? भाषा, संस्कृति कसरी सिकेर जाने? मानिस किन ठाउँ छोड्दै छ? यो विषयमा कोपमा छलफल हुन्छ।

देशबाहिर हुने बसाइँसराइलाई नेपाल सरकारले कसरी लिइरहेको छ?
माइग्रेसन विश्वव्यापी रूपमै भइरहेको छ र भइरहन्छ। विश्वका शक्तिशाली मुलुकका मानिसहरू पनि एक देशबाट अर्कोमा गइरहेका छन्। उदाहरणका लागि हाम्रो देशबाट नागरिकहरू टर्की गइरहेका छन्। टर्कीसहरू अर्को देशमा गइरहेका छन्। यूरोपमा पनि एक देशबाट मानिसहरू अर्को देशमा गइरहेका छन्। हाम्रो श्रम बजारमा जति मानिसहरू आउँछन्, हाम्रो अर्थतन्त्र र अहिलेको पुँजीबजारले ती मानिसलाई धान्न सक्दैन। व्यवस्थापनको चुनौती हुन्छ।

जलवायु परिवर्तनका कारण बसाइँसराइ भयो र रोजगारी खोज्दै मानिसहरू बिदेसिन थाले भन्न मिल्छ? 
केही घटनालाई लिएर पुष्टि गर्नेभन्दा पनि अध्ययन हुन जरुरी छ। यद्यपि, जलवायु परिवर्तनका कारण पहाडबाट तराई र तराईबाट पहाडमा आन्तरिक बसाइँसराइ चाहिँ भइरहेको छ। जलवायु परिवर्तनले उब्जनी नहुँदा गाउँ छोड्ने प्रवृत्ति देखिएको छ। जहाँ मानिसको संख्या धेरै हुन्छ, त्यहाँ निर्वाह गर्न कठिन हुन्छ। केही गाउँमा सुक्खापनका कारण बसाइँसराइ बढेको छ। कृषि गणनाले दुई लाख हेक्टर खेतीयोग्य भूमि घटेको देखाएको छ। यसमा बसाइँसराइ नै प्रमुख कारण हो। राष्ट्रिय जनगणना २०७८ ले पछिल्लो १० वर्षमा ५० लाख मानिसहरूले आन्तरिक बसाइँसराइ गरेको देखाएको छ। 

बढ्दो बसाइँसराइ समस्या हो कि होइन?
समस्या त पर्छ नि। हिमाल र पहाडबाट मानिसहरू तराईमा आएपछि खेतीयोग्य जमिन टुक्राटुक्रा भएको छ। आप्रवासनको अवस्थाबारेमा जानकारी छ, यसलाई राष्ट्रिय नीतिबाट सम्बोधनका लागि ‘राष्ट्रिय आप्रवासन नीति’को मस्यौदा गरिरहेका छौँ। श्रम आप्रवासनको प्रतिवेदन तयार भइसकेको छ। श्रम आप्रवासनको एउटा सिलसिला छ। जलवायु परिवर्तनसँग सम्बन्धित आप्रवासनको अर्को सिलसिला छ। क्षति र प्रकोपजस्ता घटनाले मानिसलाई अन्ततः आप्रवासनमा लैजान्छ। मनिसलाई छनोट दिनुपर्‍यो।

अवैध आप्रवासनको समस्या चाहिँ कस्तो छ?
श्रमको माग आएर श्रम स्वीकृति लिएर जानु स्वभाविक प्रक्रिया हो। तर त्यसमा पनि केही घटनाहरू यस्ता छन्, जहाँ आएका मागहरू पनि नक्कली भएको पाइएको छ। आर्थिक मन्दीका कारण बहुराष्ट्रिय कम्पनीको व्यापार खुम्चिइरहेको छ। त्यसले गर्दा केही समस्या देखिएका छन्। हामीले वैध तरिकासँग श्रम स्वीकृति लिएर विदेश गएर अप्ठेरोमा परेकाहरूको उद्दार पनि गर्छौं। तर ‘भिजिट भिसा’मा गएकाहरूको हकमा हामीले केही गर्न सक्दैनौँ। अदालत जान पनि सक्दैनौँ। दुर्घटना भयो भने क्षतिपूर्ति पनि दिलाउन सक्दैनौँ। श्रमको प्रक्रियाबाट गइयो भने नेपालमा बिमा हुन्छ। कल्याणकारी कोष हुन्छ।

समस्या कहाँ भयो त?
हामीलाई एउटा समस्या भाषाको छ। नेपालका कतिपय समुदायमा नेपाली भाषा नजान्नेहरू पनि हुनुहुन्छ। पढाइलेखाइ नभएका कारण नेपाली भाषा कम बोल्नुहुन्छ। बहिर गएर त्यो देशको भाषा वा अंग्रेजी बोल्नुपर्ने हुन्छ। हामीले प्रारम्भिक अंग्रेजीको परीक्षा लिएर बाहिर पठाउनुपर्ने देखिन्छ। त्यसो भयो भने सञ्चार गर्न सजिलो हुन्छ।

भिजिट भिसा नेपालको लागि कति ठूलो समस्या हो?
यो ठूलो समस्या भएको छ। कहिलेकाहीँ श्रम स्वीकृति लिएर गएका देशमा त समस्या हुन्छ। भर्खरै क्रोएसियाबाट भिसा नै रद्द गर्दियो। श्रम सम्झौता नगरी गएका मानिसहरूलाई त कानूनले पनि ‘टुरिस्ट’ मात्र मान्छ। अनौपचारिक क्षेत्रमा काम गर्नुपर्छ। काम गर्ने मान्छे भिजिट भिसामा जानु हुँदै हुँदैन। तर यो चेतना हामीले तलसम्म पुर्‍याउन सकेनौँ।


सम्बन्धित सामग्री