Sunday, September 08, 2024

-->

विपद्‍पछि मानसिक स्वास्थ्य: गम्भीर विषय, कम चासो

कतिपय मान्छे राम्ररी खान लाउन दिए पीडितहरूले दुःख बिर्सिहाल्लान् भन्ठान्छन्, जबकि आफन्तको बिछोड र त्यसको चोट मान्छेले बिर्सेका हुँदैनन्।

विपद्‍पछि  मानसिक स्वास्थ्य गम्भीर विषय कम चासो

आम रूपमा भौतिक पीडालाई मात्रै धेरैजसोले महत्त्व दिने गर्छन्, तर मनका पीडाको असर झनै दीर्घकालिक र गहिरो हुन्छ। विपद्‍ले पारेको भौतिकसँगै मानसिक असर गम्भीर हुन्छ। शरीरमा परेको असरको प्रभाव मनमा पर्छ। मनमा परेको प्रभावले शरीर मात्र नभई बृहत् रूपमा असर पार्छ। कसैको असहज मानसिक अवस्थाले आसपासका धेरैलाई असर पार्छ। व्यक्ति मानसिक रूपमा अस्वस्थ हुनेबित्तिकै व्यक्तिको काममा, कामले आर्थिक अवस्थामा र साथीसंगी तथा आफन्तसँगको सम्बन्धमा असर पार्छ।

विपद्‍मा परेर घाइते या बिरामी हुँदा सबैभन्दा पहिले व्यक्तिको राम्रोसँग शारीरिक उपचार हुनपर्‍यो। कतिपय व्यक्तिको शरीरमा चोट नलागे पनि आफन्त, परिवार र साथी गुमेर त्यसले मानसिक आघात पारेको हुनसक्छ। त्यसबाट व्यक्तिलाई कति आघात परेको छ, उस/उनको जीवन कति डामाडोल भएको छ? प्रकोपबाट पीडामा परेको व्यक्तिले सहायता पाउने संयन्त्र छ कि छैन? त्यसमा सरोकारवाला निकायको चासो आवश्यक छ। 

जाजरकोट भूकम्पमा एकै परिवारका चारपाँच जनाको समेत ज्यान गएको छ। उत्तिकै संख्यामा एकै परिवारका सदस्य घाइते भएका छन्। यस्तो अवस्थामा ती परिवार र व्यक्तिमा विपद्ले पारेको मानसिक तनाव र शोकको सही समयमा व्यवस्थापन गर्नुपर्छ। त्यसो गर्न नसक्दा त्यसले व्यक्तिलाई जीवनभर असर पार्न सक्छ।  

यस्ता अवस्थामा तत्कालको प्राथमिकता त आकस्मिक प्रकोपबाट उत्पन्न परिस्थितिको व्यवस्थापन हो। चोटपटक लागेकालाई प्राथमिक स्वास्थ्य सेवा र गम्भीर चोटपटकमा सघन उपचार गर्ने हो। पीडित र घाइतेको उपचार, सुरक्षा, सफाइजस्ता विषयमा पनि नियमित ख्याल गर्नुपर्ने हुन्छ। वासस्थान, खानपिन, खानेपानी र शौचालयको उचित व्यवस्था हुनुपर्छ। पीडितका लागि सहायता संयन्त्र हुनुपर्छ। 

यसबीच, हामीले बिर्सन नहुने के हो भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक सेवाकर्मी या एनजीओकर्मीहरू प्रकोपस्थलमा पीडितको सहायता गर्न पुग्छन्। सहायता गर्न पुग्ने पनि आखिर मानिस नै हुन्, उनीहरू पनि विपत्तिका असहज र कारुणिक दृश्य देखेर मानसिक रूपमा पहिलेभन्दा कमजोर हुन सक्छन्। त्यसो हुँदा तिनलाई समेत कतिपय अवस्थामा सहयोग र परामर्श आवश्यक हुन्छ। त्यसतर्फ समेत ध्यान पुग्न आवश्यक छ।  

अर्को कुरा, सहायताकै नाममा पीडितहरूबाट लाभ लिने उद्देश्य बोकेका कतिपय मान्छे पनि पीडितमाझ पुगेका हुन सक्छन्। तीबाट वास्तविक पीडितहरू थप पीडित बन्न सक्छन्, झनै मानसिक यन्त्रणा भोग्न सक्छन्। कतै मैले समाचारमा पढेको थिएँ, 'बस दुर्घटनामा परेर छटपटाइरहेका घाइतेको समेत पैसा र घाँटीको सिक्रीसमेत लुटियो।' आम मान्छेले कल्पनै गर्न नसक्ने यस्ता चरित्रका मान्छे पनि समाजमा हुन्छन्। मानवीय विपत्तिलाई समेत अवसरका रूपमा प्रयोग गर्छन्। त्यसबाट पनि पीडित बच्नुपर्‍यो, समाज र सरकारले सुरक्षा दिनुपर्‍यो। विपत्तिबाट पीडितका आवश्यकतामध्ये कुन बढी प्राथमिक भन्ने कुरा सरोकारवालाहरूले ठम्याउनुपर्‍यो। 

मान्छेले आफ्नो मनमा भएको पिर हत्तपत्त देखाउन खोज्दैनन्। झनै दुःखको कुरा, मानसिक स्वास्थ्यप्रति हाम्रो समाज एकदमै कम संवेदनशील छ। 

हामी स्वास्थ्यकर्मी भन्ने गर्छौं, 'मनमा भएको पीडालाई सकिन्छ भने आफ्ना श्रीमान् वा श्रीमतीसँग साटासाट गर्नुहोस्, सकिन्न भने मिल्ने साथीसँग र त्यो पनि सकिन्न भने विश्वासिलो स्वास्थ्यकर्मीसँग कुरा कतै नखोल्ने सर्तमा आफ्ना कुरा राख्नुहोस्।' आफ्ना मनका कुरा व्यक्त गर्न 'साइकोलोजिस्ट' र परामर्शदाता भेट्टाउन सके झनै जाति हुन्छ। 

'मान्छेलाई चोटपटक लागेको छ, ज्यानै गएको छ, यस्तो बेला मानसिक कुरा के गर्नु?' समेत भन्छन् कतिपय मान्छे। जबकि मानसिक पीडा गम्भीर विषय हो। शरीरको दुःख त 'पेनकिलर' खाएपछि कम होला, तर त्योभन्दा धेरै असर मानसिक पीडाले दिन्छ। त्यस्तो पीडाको अवधि लामो हुन्छ। त्यसो हुँदा मानसिक समस्या अत्यन्तै गम्भीर हो, यसको समयमै उपचार गर्नुपर्छ भन्ने जानेर उपचार र परामर्शमा जाँदा कम समयमा समस्याको हल हुन्छ। तर 'स्ट्रेस' दिइराख्दा झनै बढ्न सक्छ। 

कतिले मानसिक समस्यालाई 'मन दुख्ने समस्या' पनि भन्छन् त कतिले 'आत्मा दुख्ने'। 'आत्मा दुख्ने' भन्नेचाहिँ हुँदैन। मन कति बढी दुखेको छ, मनको चोट कति गहिरो छ भन्नेमा स्वास्थ्यकर्मीहरूले ध्यान दिन्छन्। मन दुख्नेलाई दुखाइ कम गर्ने औषधि खाएर पनि हुँदैन। कारण या जरामा गएर मन दुखेको उपचार  गर्नुपर्ने हुन्छ। 

व्यक्तिको जीवनमा परिवार सबैभन्दा ठूलो हो। धेरै विषयको आधार परिवार हो। त्यसो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य अवस्थालाई आफन्तको मृत्यु, बिछोड, प्रेम बिछोड, कोही व्यक्तिप्रतिको सामाजिक दृष्टिकोणलगायत धेरै कुराले असर पार्छ। 

कतिले सबैभन्दा प्रमुख पैसा भन्ने ठान्छन्, तर पैसाभन्दा परिवार ठूलो हो। परिवारसँग आफ्ना कुरा साट्न पाउँदा मान्छे धेरै हदसम्म खुशी हुन्छ। परिवारको आड र भरोसा नपाउँदा मान्छे दुखी हुन्छ। 

जाजरकोट भूकम्पमा केहीले सिंगो परिवार गुमाएका छन्। परिवार नै गुमाएका परिवारका सदस्यलाई कतिपय संस्थाले संरक्षण गर्ने बताएका छन्। संरक्षण केन्द्रहरूले भौतिक रूपमा व्यक्तिलाई संरक्षणमा लिने कुरा गरे पनि व्यक्तिको मानसिक स्वास्थ्यप्रति भने उनीहरू सचेत र संवेदनशील रहेको पाइँदैन। 

धेरैजसोले पीडितलाई राम्ररी खान लाउन दिए पीडितहरूले दुःख बिर्सिहाल्लान् भन्ठान्छन्, जबकि आफन्तहरूसँगको बिछोड र त्यसले बनाएको चोट मान्छेले बिर्सेका हुँदैनन्। पाँच-छ वर्षका बच्चाले त झनै त्यस्ता बिछोड बिर्सँदै बिर्सँदैनन्। मेरा प्रियजन कहाँ गए होलान्, के गर्दै होलान् भन्ने ठान्छन्। उनीहरूको मनमा शोक र बिछोडले गम्भीर आघात पर्छ। 

शोक र बिछोडसँग जुझ्न तुलनात्मक रूपमा बालबच्चालाई भन्दा प्रौढलाई सहज हुन्छ। बच्चा अलिकति जान्ने बुझ्ने छ भने उसलाई त झनै असहज हुन्छ। महिलालाई भन्दा पुरुषलाई अलि सहज हुन्छ। 

मानसिक समस्याबारे हाम्रो समाजमा प्राथमिक बुझाइसमेत गलत छ, जबकि 'मानसिक' भन्नेबित्तिकै दिमाग बिग्रेको रोगबारे मात्रै सोच्छन् आम मान्छे। तर मनमा दबिएका पीडा, दुःख, चिन्ता, अवसाद (डिप्रेसन) पनि मानसिक समस्या हो। विपद्पछि व्यक्तिमा त्यस्ता समस्या आउँछन्। तिनलाई हल्का बनाउने तरिका छन् र त्यो जान्दा कष्टपछिको जीवनसँग जुझ्न सहज हुन्छ। प्रकोप र विपत्तिपछि कतिपय सामाजिक संस्थाले मानसिक रूपमा असहज अवस्था झेलेका व्यक्तिलाई त्यस्तो मनोपरामर्श दिनेसमेत गरेका छन्। 

कतिपय ठाउँमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श हटलाइन र प्रोफेसनलहरूमार्फत उपलब्ध छन्, तर आम मान्छेलाई यसबारे कमै थाहा हुन्छ। धेरैलाई त यस्तो सेवा लिनु आवश्यक पर्छ भन्नेसमेत लाग्दैन। त्यसो हुँदा मानसिक स्वास्थ्य के हो भन्नेबारे सबै मान्छेले जान्ने प्रयास गर्नुपर्‍यो। विपद्‍बाट पीडित समुदाय, परिवार र व्यक्तिले त झनै पर्‍यो। 

मनोचिकित्सक (साइकियाट्रिस्ट)हरूले मनोपरामर्श सेवा दिएर कसरी जीवनसँग जुझ्ने भन्नेबारे व्यक्तिलाई मार्गदर्शन गर्छन्। त्यसमा पैसाको कुरा पनि आउला, सबैले शुल्क तिर्न सम्भव हुँदैन। यस्तो अवस्थामा कतिपय संस्थाले नि:शुल्क मनोपरामर्श सेवासमेत उपलब्ध गराउँछन्। अहिले मानसिक रूपमा पीडा झेलिरहेकाहरूमध्ये धेरै मर्कामा परेकाहरूलाई तत्कालै त्यस्तो सेवा आवश्यक छ। 


वरिष्ठ मनोचिकित्सक उपाध्याय मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार हुन्।


सम्बन्धित सामग्री