गत बिहीबार नुवाकोटको जिलिङ गाउँबाट दशैँको टीका थापेर देवीघाट बजार मोटरसाइकलमा फर्किँदै गर्दा तादी पुलनजिकै सवारीसाधनहरू रोकेर बाटो मोड्न सहयोग गरिरहेका दुई प्रहरी भेटिए। कुनै सुरक्षा प्रयोजनका लागि प्रहरीले सवारी अवरोध गरेका होलान् भन्ने लाग्यो। देवीघाट बजार पुगेर सामाजिक सञ्जाल स्क्रोल गर्नेबित्तिकै थाहा भयो, बुधसिङघाटनिर बस र मोटरसाइकल ठोक्किँदा माेटरसाइकलको पछिल्लो सिटमा सवार आमाको मृत्यु भएको रहेछ भने चालक छोराचाहिँ घाइते भएछन्।
असंवेदनशील 'एटेन्सक सिकर'ले शेयर र कमेन्टको आसमा सामाजिक सञ्जालमा सडकमा लडिरहेका आमाछोराका तस्वीर र भिडियोसमेत पोस्ट गर्न भ्याइसकेका थिए। भिडियोमा देखिन्छ, चालक छोराले हेलमेट लगाएका थिए, आमाले लगाउने कुरै भएन। हाम्रो त्यस्तो अभ्यास बिरलै छ। सडकमा गुड्ने सबैजसो बाइकवालाहरूको अभ्यास त्यही हो। कालोपत्र सडकमा खुला टाउको बज्रिएर उनको मृत्यु भएको अनुमान गर्न सकिन्छ।
पछिल्लो अपडेटअनुसार घाइते छोरा काठमाडौँको ग्रान्डी अस्पतालको आइसीयू कक्षमा उपचाररत छन्। देवीघाटलगत्तै ढिकुरे हुँदै काठमाडौँतर्फ लाग्दा फेरि अर्को सवारी दुर्घटना देखियो, साइरनजडित सरकारी पिकअपले बाटो छोडेर सडक किनारामा ढल्केर बसेको।
यो टिप्पणी लेख्न बसेकै दिन (शनिबार) बिहान घरबाट कार्यालयतर्फ बाइकमै अघि बढ्दा काठमाडौँ तारकेश्वरको शेसमतिनजिकै बाइकबाट चिप्लेर सडकमा बेहोस भई लढेका युवाको उद्धारमा जुट्ने संयोग पर्यो। बाइक चिप्लिई सडकमा टाउको बज्रिएर बेहोस भई उनी ढलेको अनुमान गर्न सकिन्थ्यो। धन्न, उनले दुर्घटना हुँदाका बखत हेलमेट लगाएका थिए। एक छिनमा उनको होस् खुल्यो। बाहिरबाट हेर्दा कुनै गम्भीर समस्या नरहेको देखियो। पछिल्लो सिटमा सवार अर्का युवाले भने हेलमेट लगाएका थिएनन्। संयोगवश, टाउको सडकमा नबज्रेका कारण उनी सुरक्षित हुन पुगे।
चाडबाडमा यात्राको चाप बढ्ने, सवारीसाधनसमेत एकैचोटि देशभर आउजाउ गर्ने भएका कारण दुर्घटना र त्यसबाट प्रभावितको संख्या अरू बेलाभन्दा बढी हुन्छ। सवारी सुरक्षाको हिसाबले दुईपांग्रे (मोटरसाइकल र स्कुटर)लाई सबैभन्दा असुरक्षित मानिन्छ, प्रहरीका तथ्यांकले त्यसैतर्फ संकेत गर्छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा र २०७७/७८ मा मात्र २७ हजार ९५६ मोटरसाइकल दुर्घटनामा परे। काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा काम गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही र तीव्र गतिलाई औँल्याएको छ।
सवारीसाधनमध्ये साइकल छाडेर सस्तो, सहज र लोकप्रिय साधन बनेका छन् मोटरसाइकल र स्कुटर। यात्राका लागि यी तुलनात्मक रूपमा सहज त छन् नै साघुरा बाटामा समेत गुडाउन सकिन्छ। त्यसमाथि डिजिटल विज्ञापन, 'धाक-रवाफको संस्कृति'का कारण खासगरी युवाहरू दुईपांग्रे सवारीप्रति बढी आकर्षित छन्। हिँडेर भ्याइने पाँचसात मिनेटको दूरीमा समेत 'मोटरसाइकल बटारिहाल्ने' संस्कृति बढ्दो छ। त्यससँगै महँगा, सस्ता तथा अनेक सुविधासहित अनेकौँ ब्रान्डका मोटरसाइकल नेपालमा भित्रिएका छन्। तर जति नै 'सुविधा' थपिए पनि मोटरसाइकलमा सुरक्षा खतरा सबैभन्दा बढी छ। राज्य र नागरिकको अकर्मण्यता र अज्ञानले अझ असुरक्षित बनेको छ दुईपांग्रे सवारी।
बस, जिप र कारमा दुर्घटनाको जोखिमबाट बच्न एयरब्याग र सिटबेल्ट हुन्छ। साधनको 'बडी' स्वयंले पनि केही हदसम्म सुरक्षा कवचको भूमिका खेल्छ। त्यसो हुँदाहुँदै पनि सडक, पूर्वाधार, निम्छरो सार्वजनिक यातायात, नागरिकको आर्थिक अवस्था र भू–बनोटका कारणसमेत सबैभन्दा कम सुरक्षित साधनकै संख्या अन्यको तुलनामा सबैभन्दा बढी छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा १८ लाख बढी घरपरिवारले मोटरसाइकल तथा स्कुटर प्रयोग गर्ने बताउँछ। अर्को कुरा, देशव्यापी रूपमा गरिएको 'डेमोग्राफिक हेल्थ सर्भे २०२२'ले सडक दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल चलाउँदा हुने देखाउँछ।
पहिले नै असुरक्षित दुईपांग्रेकै संख्या अन्य साधनभन्दा बढी भएपछि यसबाट हुने मृत्यु र घाइतेको संख्या पनि बढ्ने नै भयो। यो तथ्यबारे सबै तहका सरकार, ट्राफिक प्रहरी र यातायात व्यवस्थासँग जोडिएका सबै निकाय बेखबर पक्कै छैनन्, तैपनि दुईपांग्रे सवारीसाधनबाट हुने दुर्घटनाको क्षति रोक्न पर्याप्त पहल भएको छैन। सवारी तथा यातायात व्यवस्था ऐन (२०४९) को दफा १३०(२)ले मोटरसाइकल चालक र पछाडि सवार दुवैले सुरक्षाका लागि सुरक्षा टोप (हेलमेट) अनिवार्य प्रयोग गर्ने व्यवस्था गरेको छ, तर आजका दिनमा त्यसको कार्यान्वयन छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६५ सालमा दुईपांग्रे सवारीसाधन पछाडि बस्ने व्यक्तिले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो, तर 'हेलमेट व्यापारीको स्वार्थमा सो नियम ल्याइएको तथा दुवै जनाले हेलमेट लगाउने विषय अव्यावहारिक भएको' भन्दै आलोचना भएपछि सो विषय कार्यान्वयनमा गएन। पुनः २०७६ जेठ ५ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गर्यो। पहिलेझैँ यसको विरोध भयो र नियमको कार्यान्वयन रोकियो। खासगरी सामाजिक सञ्जालका पोस्टहरूबाट तर्सेर सरकारले अस्तित्वमा रहेको कानूनकै कार्यान्वयनबाट पछि हट्यो।
स्मरणीय छ, अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)को अध्ययनअनुसार हेलमेट मोटरसाइकल दुर्घटनाबाट मस्तिष्कमा चोटपटक लाग्नबाट रोक्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी छ।
त्यसैगरी, 'नासा फाउन्डेसन नेपाल'ले अस्पतालका बिरामीमा गरेको अध्ययनअनुसार सडक दुर्घटनाका घाइतेमध्ये टाउकोमा चोटपटक लाग्ने चालकको संख्या १३ प्रतिशत छ। पछाडि सवार यात्रुमा यो संख्या ३७ प्रतिशत छ। सबैजसो चालकले हेलमेट प्रयोग गर्ने गरेको हुनाले चालकको तुलनामा पछाडि बस्ने (पिलियन राइडर)को टाउकोमा चोटपटक लाग्ने सम्भावना तीन गुणा बढी हुने देखाउँछ। अध्ययनले ३ प्रतिशत पिलियन राइडरले मात्रै हेलमेटको प्रयोग गर्ने गरेको देखिन्छ।
सडक सुरक्षामा काम गरिरहेकी भगवती सेढाईंका अनुसार राजाको प्रत्यक्ष शासनकालमा उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा सवारी तथा यातायात व्यवस्था ऐन (२०४९) ऐनको 'दुवै जनाले हेलमेट लगाउनुपर्ने' प्रावधानलाई कडाइका साथ लागू गराउन जोड दिए। नसारोग विशेषज्ञसमेत रहेका उनले सम्भवतः सडक दुर्घटनामा परेका घाइतेको उपचार/शल्यक्रिया गरेका कारण गाम्भीर्य बुझेर नियम कार्यान्वयनको प्रक्रिया अघि बढाएको हुनुपर्छ। उतिखेरको सरकारले दुवै जनाले हेलमेट लगाउनुपर्ने नियम लागू गरायो। केही वर्षपछि 'सुरक्षाको विषय' भन्दै ‘डबल’ हेलमेटको प्रावधान हटाइयो।
२०४९ सालमा बनेको ऐन आफैँमा पूर्ण छैन, किनकि मोटरसाइकलमा दुई जना मात्र नभएर चार जनासम्म चढाइने अभ्यास छ। चाडपर्वमा बच्चाहरूसहित पाँच जनासमेत चढेको देखिन्छ। त्यसमा नियमन आवश्यक छ। अहिलेसम्म ट्राफिक प्रहरीले बाइकमा चढ्ने प्रौढलाई मात्र गन्ती गर्ने गरेको छ, जबकि यस्ता गतिवान् साधनमा बच्चाहरू सबैभन्दा बढी खतरामा हुन्छन्। यीलगायत अन्य विषयलाई लिएर सो ऐनमा थप परिमार्जनका लागि तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सरोकारवालाहरूको सक्रियतामा थप प्रावधानसहित ऐनको मस्यौदा संसद्मा पठाइयो, तर त्यसमा संसदीय छलफल भएन।
यसबाट के थाहा हुन्छ, सरकार लोकहितभन्दा लोकरिझ्याइँकै बाटोबाट चलेको देखिन्छ। सामाजिक सञ्जालका टिप्पणी तथा आलोचनाबाट ऊ तर्सेको बुझिन्छ, जबकि राज्यको कर्तव्य नागरिकको सुरक्षा हो। ट्राफिक प्रहरी तथा अन्य स्वतन्त्र संस्थाका अध्ययनले समेत दुईपांग्रेमा दुवै जनालाई हेलमेट अनिवार्य गर्दा सवारी दुर्घटनाको जोखिम धेरै कम हुने देखाएका छन्। दुईपांग्रेमा चढाइने बालबच्चाको सुरक्षा झनै संवेदनशील विषय हो। तिनको सिंगो जीवन र भविष्य धरापमा पार्ने हक न तिनैलाई जन्मदिने बाआमालाई छ न उनीहरू जन्मेको राज्यलाई।
स्मरणीय छ, बाइकमा राम्रोसँग राइडरलाई समाएर बस्न नसक्ने तथा टेक्ने ठाउँमा खुट्टा नपुग्ने केटाकेटीलाई बाइकमा चढ्न कतिपय देशमा अनुमति हुँदैन। कम उमेरका हुन् या पाको, दुई व्यक्तिभन्दा बढीलाई मोटरसाइकल चढ्न अनुमति नभएका धेरै देश छन्। हेलमेट त बाइक सवार दुवै जनाका लागि पूर्वशर्त भइहाल्यो। हाम्रोमा भने पहाडी कच्चीरोडदेखि हाइवेमा समेत निर्विघ्न चारपाँच जना बच्चालाई मोटरसाइकलमा राखेर तीव्र गतिमा हुइँक्याइराखेको भेटिन्छ। ट्राफिक प्रहरीले समेत त्यस्ता जोखिमपूर्ण यात्रामा बिरलै बाधा खडा गर्छन्, जबकि बच्चालाई दुईपांग्रेमा यात्रा गराउनै पर्दा पनि सुरक्षाका अनेक गेयर र हेलमेट अनिवार्य गराउन सकिन्छ। दुईचार लाख रुपैयाँ बाइकमा खर्च गर्न सक्नेले आफ्ना अमूल्य बालबच्चाको सुरक्षामा खर्च गर्न नसक्ने कुरै हुँदैन।
अर्को कुरा, हेलमेट लगाउनेले पनि प्रहरीको आँखा छल्नका लागि मात्रै हेलमेट लगाएको देखिन्छ, जबकि सुरक्षाका लागि बाइकमा बस्ने दुवै जनाका लागि हेलमेट अनिवार्य हुनु त छँदैछ, सँगै हेलमेट पनि सही ‘कन्डिसन’मा समेत हुन आवश्यक छ।
सबैभन्दा लापरबाही चाडपर्व, उत्सव, र्याली र झाँकीहरूमा देखिन्छ। चालक तथा यात्रुले त्यसलाई 'छुट र सहुलियत'का रूपमा बुझ्छन्। तर ज्यानै हत्केलामा राखेर पर्व-हर्ष मनाउने र मनाउन दिने कुरा आफैँमा गलत हो। जीवन आफैँमा महापर्व हो, योभन्दा ठूलो चाड कुनै छैन। अतः जीवनको सुरक्षा सबैभन्दा बढी प्राथमिक हो।जतिसुकै ठूला पर्व, आपत् र विपत्मा समेत नियम नतोडीकन, सुरक्षामा सम्झौता नगरीकन अहिले बाँचेकाहरूको जीवन जोगाउने दायित्व राज्य, परिवार र समाजको हो। तर आफैँले जारी गरेको कानून नकारेर राज्यले मोटरसाइकल यात्रुहरूमाथि गरिरहेको सुरक्षा खेलाँची देख्दा यस्तो लाग्छ नागरिकका टाउका केबल फर्सी हुन्। चालकहरूले बिना 'सेफ्टी गेयर'/हेलमेट कलिला बच्चाहरू मोटरसाइकलमा झुन्ड्याएर हिँडिरहेको देख्दा लाग्छ, हामी साँच्चै विवेकहीन र दयाहीन छौँ। यो निर्दयता हामीले तत्कालै रोक्नुपर्छ।