Tuesday, June 18, 2024

-->

अंगदाताको प्रतीक्षामा मिर्गौला र कलेजोका बिरामी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।

अंगदाताको प्रतीक्षामा मिर्गौला र कलेजोका बिरामी

काठमाडौँ– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी प्रत्यारोपणका लागि कुरेर बसेका छन्। दाताको पर्खाइमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि कुरेर बसिरहेका छन्।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग नपाएर एक हजार जना मिर्गौला र ५० जना कलेजो प्रत्यारोपणका लागि बिरामी कुरेर बसेको बताए। “मस्तिष्क मृत्यु भएपछि अंग नपाएर ती बिरामीले अहिले कुरिरहेका छन्,” उनले भने, “मस्तिष्क मृत्युपछि कसैले अंगदान गरे ती बिरामीको अंग प्रत्यारोपण गर्न सकिन्छ।” उनका अनुसार ती बिरामी १० वर्षदेखि अंगदाताको प्रतीक्षामा कुरिरहेका छन्।

मस्तिष्कले गर्ने सबै काम बन्द भए पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेको हुन्छ। मस्तिष्कले काम नगरेको अवस्थामा अन्य अंगले काम गरिरहेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ। सडक दुर्घटनामा परेर, रुखबाट लडेर या कुनै कारणले टाउकामा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ।

मस्तिष्क मृत्यु भएको मानिसले स्वयंले श्वास लिन सक्दैन र श्वासका लागि भेन्टिलेटरको आवश्यकता पर्दछ। भेन्टिलेटरको सहायताले श्वास लिए पनि नाडी, रक्तचाप एवं जीवनका लक्षण रहिरहेका हुन्छन्। मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानमा पूर्ण रूपमा मृत घोषित गरिन्छ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले प्रत्यारोपणका लागि कुरेर बसेका बिरामीलाई मस्तिष्क मृत्युबाट अंग पाएको खण्डमा मापदण्डका आधारमा प्रत्यारोपण गर्ने बताए। “हजार जना मिर्गौला र ५० जना कलेजो कसले पाउँछ भनेर हामीले मापदण्ड बनाएका छौँ,” उनले भने, “त्यही मापदण्डका आधारमा मिर्गौला र कलेजो प्रत्यारोपण गर्छौँ।”

बढी अंक ल्याउनेको पालो पहिले
उनका अनुसार मापदण्डअनुसार सबैभन्दा बढी अंक ल्याउनेको पहिले पालो आउने गर्दछ। मिर्गौला  सबैभन्दा बढी अंक लामो समयसम्म कुर्ने बिरामी, त्यसपछिको अंक म्याचिङ राम्रो भएको, तेस्रो अंक अंगदाता र ग्रहणकर्ताबीचको उमेरको फरक (नजिकको उमेर) भएकालाई र चौथो महिलालाई अंक दिइन्छ। महिलाले पुरुषको तुलनामा तीन गुणा बढी अंक पाउँछन्।

“सबै पुरुषले महिलाको अंग झिकेर प्रत्यारोपण गरेका हुन्छन्। धेरैजसो महिलाले अंग दिने देखिएको छ। त्यसैले मस्तिष्क मृत्युबाट आएको अंग महिलालाई तीन गुणा बढी दिने व्यवस्था मापदण्डमा रहेको छ,” उनले भने।

मस्तिष्क मृत्युबाट अंग केन्द्रमा उपलब्ध भएपछि सबैभन्दा बढी अंक ल्याउने बिरामीलाई बोलाएर अंग प्रत्यारोपण गरिन्छ। उनले केन्द्रमा अहिलेसम्म पाँच जना मस्तिष्क मृत्युबाट १० जना बिरामीको मात्र अंग प्रत्यारोपण भएको बताए। तीन जना कलेजो र सात जनाको मिर्गौला प्रत्यारोपण भएको छ।

यस्तै, केन्द्रमा अहिलेसम्म एक हजार २३८ जनाको मिर्गौला र २३ जनाको कलेजाको प्रत्यारोपण गरिएको छ। केन्द्रले मुलुकको दुई तिहाइ बढी अंग प्रत्यारोपण गर्ने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए। उनले मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत र कलेजो ९० प्रतिशतभन्दा बढी सफलता रहेको छ। मिर्गौला प्रत्यारोपण पूर्ण रूपमा निःशुल्क हुने गर्दछ भने कलेजो प्रत्यारोपण विश्वकै सस्तो दरमा १५ देखि २० लाखमा गरिने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए। केन्द्रमा पहिलोपटक २०६९ मिर्गौला र नेपालमा सबैभन्दा कलेजो प्रत्यारोपण केन्द्रमा सन् २०१६ मा भएको हो।

केन्द्रले कलेजो प्रत्यारोपण मुलुककै दक्ष चिकित्सकबाट गर्दै आइरहेको छ। “शुरू–शुरूमा विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरे पनि अहिले हामी आफै यहीँका चिकित्सकबाट गर्न थालेका छौँ,” उनले भने, “कलेजो प्रत्यारोपण जोखिमपूर्ण रहेकोले हामी विदेशी चिकित्सकलाई पनि तयारी अवस्थामा राखेका हुन्छौँ।”

मिर्गौला एक व्यक्तिबाट अर्को व्यक्तिमा झिकेर प्रत्यारोपण गर्ने हो भने कलेजोको केही भाग काटेर प्रत्यारोपण गर्ने हो। उनका अनुसार कलेजो तीन महिनामा ९० प्रतिशत पलाउने गर्दछ। उनले कलेजो काटेर प्रत्यारोपण गर्न कार्य जटिल रहेको बताए। नेपालमा २५ वर्ष पहिल्यै कलेजो प्रत्यारोपण गर्न सफल भएको उनी बताउँछन्। “हामी विश्वको तुलनामा २५ वर्षअगाडि नै कलेजो प्रत्यारोषण गर्न सफल भएका हौँ,” उनले भने, “सरकारको सहयोग र चिकित्सकको मिहिनेतले हामीले सोचेभन्दा अगाडि नै कलेजो प्रत्यारोपण गर्‍यौँ।”

मादकपदार्थ र भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ तथा कमलपित्तको कारणले कलेजो बिग्रने, कसैले जन्मजात कलेजो बिग्रेको हुन्छ, त्यस्ता मानिसको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

अंगदान जनचेतना आवश्यक
अंगदान भएको पवित्र दान हो अर्थात् महादान हो। कुनै जातजाति धर्ममा निषेध गरिएको छैन। तर मृत्युपछि खरानी भएर जाने अंगदानबारे जनचेतना जगाउन नसक्दा अंगदाता सोचेजस्तो भेटिएका छैनन्।

शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०७२ अंगदान गर्न सकिने व्यवस्था गरेको छ। ऐनले बिरामीलाई तीन तरिकाले लिन/दिन सक्ने व्यवस्था गरेको छ। पहिलो आफ्नो नजिकका ५२ नातेदार, दोस्रोमा  दुवै तर्फबाट लिन/दिन मिल्ने अवस्थामा र तेस्रो मस्तिष्क मृत्युबाट दानमा आएका मिर्गौलालाई अंगदान गर्न सकिने व्यवस्था गरिएको छ।

हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छ। “एउटा मिर्गौलाले हाम्रो शरीरलाई धान्ने गर्दछ। एउटा मिर्गौला भगवानले हामीलाई त्यतिकै थपदिएको हो,” कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, “एउटा मिर्गौलाले हामीलाई पुग्छ दुई वटा मिर्गौला राखिराख्नु भन्ने आवश्यकता छैन। आवश्यक परेको बेला आफ्नो नातेदारलाई आँखा चिम्लेर दिए हुन्छ। त्यसो भए आफ्नो नातेदार पनि बाँच्न सक्नेछन्।”

उनले जनचेतनाको कमीले अझै पनि मानिसहरूले अंगदान नगर्ने गरेको बताउँछन्। “मस्तिष्क मृत्युपछि मानिसको अंग त्यतिकै जलेर खरानी भएर जान्छ,” उनले भने, “खेर जाने अंग गाडेर वा जलेर खरानी हुने तर दान दिन किन नहुने? एक जनाबाट आठ जनाको ज्यान जोगाउन सकिन्छ।”

मिर्गौला दान लिनेहरू स्वस्थ हुने गरेको पाइएको उनको भनाइ छ। “मिर्गौला दान नदिनेभन्दा दिनेहरू झनै स्वस्थ्य भएका छन्। मिर्गौला  दाताहरूले प्रत्येक वर्ष स्वास्थ्य परीक्षण गराउने गर्दछन्,” उनले भने, “दान नदिनेहरू मलाई के भएको छ र म स्वस्थ्य छु भनेर बस्ने गरेका छन्। मिर्गौला दाताको समस्या छ भने समयमा थाहा भएर उपचार हुने भयो। अर्को स्वास्थ्य व्यक्ति मलाई केही भएको छैन भनेर स्वास्थ्य परीक्षण पनि नगराउने र भित्रभित्र केही न केही समस्या देखिने गरेको छ।”

उनले मृत्युपछि खराबी भएर जाने आठ वटा अंग सबैले दान गरेर अरुलाई बचाउनुपर्ने बताउँछन्। दुई वटा मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि अंगदान गर्न सकिन्छ।

केन्द्रमा अहिलेसम्म दुई हजार ३०० भन्दा बढी व्यक्तिले मृत्युपछि अंगदान गर्ने भनेर मन्जुरीनाममा गरेका छन्। तीमध्ये हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासमेत रहेका छन्।

केन्द्रले मुटु र फोक्सोको प्रत्यारोपण गर्नका लागि कानून बनाइसकेको छ। केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मुटु र फोक्सोको प्रत्यारोपण गर्नका लागि चिकित्सकलाई तालिम, भवन निर्माण जस्ता कार्य गर्न बाँकी रहेको बताउँछन्। केन्द्रलाई पाँच सय शैय्या बनाएर १५०/१५० शैय्या मुटु र कलेजोलाई, दुई सय शैय्या मिर्गौला लाई बनाउनुपर्दछ।

मुटु, फोक्सो, प्यानक्रियाज र सानो आन्द्राको प्रत्यारोषण मस्तिष्क मृत्यु भएका मानिसबाट निकालेर गरिन्छ। मस्तिष्क मृत्यु हुनेबित्तिकै ती अंग निकालेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ। मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याक्रियाज् १० देखि १२ घण्टाभित्र, मुटु र फोक्सो चारदेखि छ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ।

यस्तै, केन्द्रले सात वटा प्रदेशमा प्रत्यारोपण विस्तार गर्ने तयारीसमेत गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए। अहिले पोखरा र सुर्खेत प्रत्यारोपण शुरू गरिसकेको छ। हेटौँडा, धनगढी, विराटनगर, वीरगन्जमा प्रत्यारोपण गर्नका लागि सम्झौता भइसकेको र चाँडै नै प्रत्यारोपण गर्ने उनको भनाइ छ।


सम्बन्धित सामग्री