Thursday, May 09, 2024

-->

दुई दशकअघिका महावीर, अहिलेका महावीर

नागी गाउँमा मात्र होइन वरपरको गाउँतिर पनि धानखेती नहुने हुँदा भात खान चाडपर्व नै कुर्नुपर्थ्यो। माघे संक्रान्ति, साउने संक्रान्ति, दशैँतिहार र चैते दशैँमा मात्र हो भात खाने नत्र सधैँ ढिँडो।

दुई दशकअघिका महावीर अहिलेका महावीर

उतिखेर मुस्ताङ जाने मोटर बाटो बनिसकेको थिएन। म्याग्दीलाई विश्वसामु चिनाएका तीन प्रखर व्यक्तित्वहरूको गाउँ पुग्ने योजना बन्यो। बाँदुकका भीसी तुलबहादुर पुन, पर्यटकीय स्थल पुनहिलका खोजकर्ता मेजर टेकबहादुर पुनको खिवाङ गाउँ र दुर्गम ठाउँमा वायरलेसमार्फत इन्टरनेटको सफल जडान गरेका महावीर पुनको गाउँ नागी पुग्ने निधो गरी हामी चार जना साथी पोखराबाट हिँड्यौँ। यो त्यस्तै २०५८ सालतिरको कुरा हो। 

पहिलो दिन बेनी जाने ट्याक्सी समायौँ। बेनीबाट पैदल यात्रा शुरू भयो। बेनी, गलेश्वर, तिप्ल्याङ हुँदै हामी अघि बढ्यौँ। बेलायती सेनामा सन् १९४० अक्टोबर २८ मा भर्ती भएर दोस्रो विश्वयुद्ध १९४४ जुन २३ का दिन बर्माको मोगाउ भन्ने ठाउँमा शत्रुसँग बहादुरीपूर्वक लडेबापत सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका भीसी तुलबहादुर पुनको गाउँ बाँदुकमा पाइला टेक्दा झमक्कै रात परिसकेको थियो। त्यो रात त्यतै बास बस्नुपर्ने भयो। त्यतिबेलै भीसी पुनको स्थायी बसोबास भने पोखराको नदीपुरमा सरिसकेको थियो। हामी भने उनी जन्मेहुर्केकै गाउँ पुगेका थियौँ।

लाहुरेले परदेशबाट ल्याएको जीवनशैलीले दूरगाउँले समेत रूपरङ फेरेका थिए। तुलबहादुरले प्रयोग गर्ने गरेको रेडियो, घडी, पलङ र उनले लगाउने चस्मा हाम्रा लागि निकै महत्त्वका थिए, जुन गाउँकै घरमा राखिएको थियो। उनको घरमा रहेको रेडियो सुन्न गाउँभरका मान्छे जम्मा भएको देखिन्थ्यो। पुन पोखरामा बस्ने भएपछि उनले घरखेत हेरचाहका लागि अरू कोहीलाई खटाएका थिए। बेलायतले सम्मान गरेका पुनको जन्मथलो हेरेर हामीले अगाडि पाइला चाल्यौँ।

टेकबहादुर, पुनहिल र रोपवे
गाउँले एकपछि अर्को गर्दै मन लोभ्याइरहेको थियो, लुन्तुङको डाँडाबाट मनमोहक हिमशृङ्खला देखियो। यी मनोरम दृश्य हेरेर कुनै दिन संसारभरका पर्यटक मन्त्रमुग्ध हुनेछन्। यस्तै आकलन गरेर पर्यटकीय स्थलको रूपमा विश्वसामु परिचित बनाउने सपना कुनै दिन टेकबहादुरले देखेका होलान्। उनकै प्रयासमा त्यस प्रयासमा धेरै हिमालहरू देखिने त्यस डाँडाको नाम पुनहिल राखिएछ। पुनहिलको डाँडामा पर्यटक उतार्न सक्दा स्थानीयले राम्रो आम्दानी गर्न सक्ने सोचे होलान्।  

पहिले लुङतुङ भनिने सो डाँडामा अहिले प्रशस्त स्वदेशी/विदेशी पर्यटक पुग्छन्। उतिखेर टेकबहादुरले 'आउँदा दिनमा यो डाँडामा पाँच रुपैयाँमा चिया बिक्नेछ' भन्दा उनकै आफन्तले समेत पत्याएनन् रे, जबकि हामी पुगेकै साल पुनहिलमा चियाको ५० रुपैयाँ तिर्नुपर्थ्यो, अहिले त १२० पर्छ। स्मरणीय छ, पुनहिलको डाँडाको निश्चित दूरीसम्म भवन आदि संरचना बनाउन पाइन्न। डाँडा तलका व्यवसायीहरूले थर्मसमै लगेर चिया बेच्ने गर्छन्। पुनहिलबाट झन्डै दर्जन हिमालहरू देख्न सकिन्छ। 

संरक्षणको पर्खाइमा रहेको भत्किन लागेको 'घुमाउने घर'लाई स्व. मेजर टेकबहादुर पुनको स्मृतिको रूपमा संवर्द्धन गर्न आवश्यक रहेको हामीले स्थानीयलाई सुझाव दियौँ। जापानी नागरिक जिरो कावाकिताले विकास शुरू गरिदिएको, तर प्रयोगविहीन भइसकेको रोपवे प्रविधिको केही अवशेष त्यतिखेर पनि देखिन्थ्यो। त्योबेला कावाकिताले गाउँलेलाई दाउरा घाँस गर्दा हुने अप्ठ्यारो बुझेर रोपवे चलाइदिएका रहेछन्। गाडी नचलेका बेला भरिया लगाएर रोपवेका सामान बोकाएर रोपवे प्रविधि निर्माण गरेका रहेछन्। तर, गाउँमा त्यसको सदुपयोग हुन सकेन।

'के काम थ्यो?'
त्यहाँदेखि शिख, फलाटे, घोडेपानी हुँदै छैटौँ दिन बिहान पुनहिलको मनोरम दृश्य हृदयभरि कैद गर्दै हामी वनभित्रको बाटो तीनपोखरे हुँदै राम्चेका गर्बुजा थरी कुनै किसानको भैँसी गोठमा पुग्यौँ। गोठमा ढिँडो खाएर कालीदहको गोरेटो बाटोबाट राम्चे गाउँ हुँदै नागी पुग्दा घाम अस्ताइसकेको थियो। त्यसैले पाइला छिटिछिटो कालिका निमावि (हाल हिमाञ्चल मावि)तिर चाल्यौँ।

त्यो दिन स्कुलको कक्षा सकिइसकेको थियो। तर, कम्प्युटर कक्षा खुलै थियो। हामी सिधै कक्षाकोठातर्फ लाग्यौँ– एक जना होचो कदका व्यक्ति बाहिर निस्किए। उनी नै रहेछन्– महावीर पुन। हामीले आफ्नो परिचय खुलायौँ। नमस्कार गरेपछि उनले सोधे – 'अँ... के काम थ्यो?' 

हामीले आउनुको तात्पर्य बतायौँ। त्यसपछि दाइले हामीलाई कम्प्युटर कक्षतिर लिएर गए। केही विद्यार्थी कम्प्युटरमा व्यस्त रहेछन्। इन्टरनेट चलिरहेका कारण हामीले पनि इमेल चेक गर्ने मौका पायौँ। वायरलेस माध्यमबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सञ्चालन भइरहेको छ भनेर सुनेको थियौँ। त्यहाँ पुगेर आफैँले प्रमाण भेट्यौँ। आज देशका सबै ठाउँतिर कुनै न कुनै प्रविधिमार्फत इन्टरनेट पुगेको छ। तर उतिखेर गाउँ पहाडतिर इन्टरनेट दुर्लभ थियो। 

साँझ पर्दै थियो, चिसो बढ्दै थियो। धौलागिरि हिमालको चिसो सिरेटो नागी गाउँमा सोझै आइरहेको थियो। महावीर दाइले ज्याकेटको दुवै बाहुलाले हत्केलाको औलासमेत नदेखिने गरी छोपेका थिए। 

स्कुल परिसरभित्र बनेको परम्परागत घुमाउने घरमा हाम्रो बस्ने व्यवस्था भयो। घुमाउने घर पहिले माटोले बनेको हुन्थ्यो– यो दुईतले घुमाउने घरको माथिल्लो भागचाहिँ आधुनिक शैलीमा काठको फल्याकले निर्माण गरिएको थियो। प्रवेशद्वार माथिल्लो तलामा नै हुने गरी बनाइएको थियो। 

यो ठाउँ विदेशी भोलन्टर बस्न बनाइएको रहेछ। आधुनिक शौचालयसहितको बैठककक्ष, दुई वटा सुत्ने कोठा, भोजनकक्ष भएको घर सुन्दर थियो। घुमाउने घरतिर जाँदै गर्दा महावीर दाइले स्कुलनजिकैको सानो घर देखाएर भने– 'त्यहाँ साउना छ। जाने इच्छा भए १‍–१ वटा दाउरा लिएर गए हुन्छ।' हामी एक क्षण अलमल्ल भयौँ। साउना— त्यो पनि गाउँमा? 

झोला थन्क्यायौँ। फेर्ने कपडा ठिक्क पारेर १–१ वटा दाउरा समाएर हामी त्यतै लाग्यौँ। आगोले तताएर राखेको तातो ढुंगामाथि चिसो पानी खन्याएर निस्केको तातोपन — साउना। 'फिनिसिङ' भइनसकेको भए पनि जाडोमा गुनिलो काम गर्‍यो।

त्यो सानो साउना कक्षलाई दुई भागमा विभाजन गरिएको रहेछ। बाहिरपट्टि कपडा फेर्ने, आगो बाल्ने र बसेर नुहाउने, त्यसैको भित्रपट्टिको अर्को सानो कोठामा बसेर साउनाको ताप लिने मिल्थ्यो। कक्ष उति व्यवस्थित भने थिएन।

हामीसँगै त्यहाँ दुई जना गाउँले साउनाको तातोमा बसिरहेका थिए। हामी पनि उनीहरूसँग कुराकानीको मेसो थाल्यौँ। हिँडेर थाकेको गोडा, बाहिर उत्पात चिसो। साउनाको तातो कोठामा बसेर पसिना निकाल्दै तातो पानीले नुहाउनुको आनन्द नै बेग्लै!

भेडी गोठदेखि म्यागासेसेसम्म
परिवारका ६ सन्तानमध्ये महावीर जेठो सन्तानको रूपमा जन्मिए। भेडा गोठालेको नाति महावीरको बाल्यकाल बाजे मैते फगामीसँग भेडा–बाख्रा चराउँदै बित्यो। साथीभाइसँग खेल्दै, वनपाखामा डुल्दै बाल्यकाल गुजारे।

धेरै भेडा पालेकाले गाउँनजिकको वनको घाँसले मात्र पुग्दैन थियो। त्यसैले चरनका लागि लेक जानै पर्थ्यो। “तर, हाम्रो भेडा त्यति धेरै त थिएन। गाउँमा पाल्न मिल्नेजति बाख्रासँग मिसाएर पालेका थियौँ” – दिउँसो अर्नी (खाजा) खाँदै महावीर दाइ हामीसँग फाट्टफुट्ट कुरा पनि गरिरहेका थिए, “हामी नाति–बाजे भेडाबाख्रासँग नागी वरपर रहेका वनजंगल कहिले जरिङ्गेको पाखा, कहिले लाईकैराको पाखा त कहिले फट्किने ढुंगाको पाखातिर जान्थ्यौँ।”

वनतिर भेडाबाख्रा हेर्दै दाउरा, घाँस काटेर नाति–बाजे मिलेर अर्नी खाएको सम्झिँदा दाइभित्रको मानवीय संवेदना अनुहारभरि प्रस्ट झल्किएको थियो। दाइले सुनाए, “घर फर्कनेबेला मलाई बाजेले सानै भारी बोकाइदिनुहुन्थ्यो। बेलुकीपख नाति–बाजे भेडाबाख्रा धपाउँदै कहिले घाँस, कहिले दाउराको भारी लिएर घर फर्कन्थ्यौँ।” 

उनका अनुसार चाक्लो फल्याकको माथिल्लो भाग समात्न मिल्ने गरी ताछेर कालो अँगार पानीमा भिजाएर पिसेर फल्याकमा कालो लगाई घाममा सुकाएर लेख्ने पाटी बनाइन्थ्यो। अनि, खरीढुंगालाई घाँटीमा झुन्ड्याउन मिल्ने गरी धागोमा बाँधेपछि तयार हुन्थ्यो लेख्ने कालोपाटी। “त्यति बेला हाम्रो कलम खरी ढुंगा र कापीचाहिँ काठको कालोपाटी थियो," उनले भने।

ब्रिटिस गोर्खा लाहुरे सिक्स जीआर पल्टनको आर्मी नम्बर २११४३५४८ कृष्ण पुन फगामी, जो मलेसियाको जंगलमा युद्ध लडेर नेपाल फर्किए। आमा पूर्वी फगामीले महावीर र उनका भाइबहिनी सम्हालेर गाउँमै बसेकी थिइन्। बाले त्यसरी १२ वर्ष ब्रिटिस सेनाको जागिर नखाएका भए, सायद महावीर भेडाबाख्रासँग वनजंगल चहार्दै पो हुन्थे कि! 

खरीढुंगाका कखरा
उनी भन्दै थिए, “एक दिन बिहानको खाना खाएर खरीढुंगाको माला घाँटीमा झुन्ड्याइ, कालोपाटी दिएर बाबाले मलाई गैरी गाउँमाथि रहेको चौरतिर लैजानु भयो।” महावीरको पहिलो स्कुल अनुभव रमाइलो मानी सुन्दै थियौँ हामी, “मेरो स्कुले जीवनको पहिलो दिन थियो त्यो। भेडाबाख्रासँग जंगलमा रमाइरहेको केटोलाई अक्षर चिन्न स्कुल भर्ना गरिदिनु भयो। त्यहाँदेखि मेरो दिनचर्या परिवर्तन भो। भेडाबाख्रा चराउँदै बाजेसँग वनजंगल हिँडेको सातवर्षे केटो त्यसपछि कखरा पढ्न स्कुल जान थाल्यो।”

म्याग्दी जिल्ला साबिक राम्चे गाविस वडा नं. १ नागी गाउँ (हाल अन्नपूर्ण गाउँपालिका वडा नं. ८) बेनी बजारदेखि उत्तरपूर्व समुन्द्र सतहदेखि २२ सय ६० मिटर उचाइमा अवस्थित छ। बेनी बजारबाट २४ किमी टाढा रहेको यो गाउँ पुग्न पैदल यात्रा ७–८ घण्टा तय गर्नुपर्छ।

दक्षिणक्षेत्र बेनीबाट फलामे डाँडा हुँदै नागी, गलेश्वर घुमाउने ताल– बाँसखर्क– भनभरे गाउँ हुँदै नागी, गलेश्वर– महभीर– राम्चे हुँदै नागी हिँडेर पुग्न सकिने ३ वटा वैकल्पिक बाटो छन्। उत्तरतर्फबाट पर्यटकीयस्थल पुनहिलदेखि लालीगुराँसको जंगल–जंगल मोहरे डाँडा र राम्चे हुँदै नागी पुग्ने बाटो छ, जुन गाउँमा महावीरले आफ्नो बाल्यकाल छोडेका छन्।

अहिले त पर्वतको मिलनचोकदेखि शालिजा, फलामे डाँडा–नागी र अर्को बेनी– तिब्ल्याङ– औलो– काफलडाँडा– राम्चे हुँदै मोटर बाटोले जोडेको छ नागीलाई।

यो गाउँको नाम नागीबाट नाँगी र अहिले नाँगीबाट पनि अपभ्रंश भएर नाङ्गी भएको छ। यहाँको मुख्य पेशा अरू पहाडी भेगको झैँ कृषि नै हो। पहाडी क्षेत्र भएको हुँदा यहाँ मकै, गहुँ, कोदो, जौ, फापर खेती राम्रो हुन्छ।

सधैँ ढिँडो, कहिलेकाहीँ भात
नागी गाउँमा मात्र होइन वरपरको गाउँतिर पनि धानखेती नहुने हुँदा भात खान चाडपर्व नै कुर्नुपर्थ्यो। माघे संक्रान्ति, साउने संक्रान्ति, दशैँतिहार र चैते दशैँमा मात्र हो भात खाने नत्र सधैँ ढिँडो खाइरहेको हुँदा चाडपर्वमा मासुभात खान पाउँदा असाध्यै मीठो लाग्थ्यो। यो यस भेगका धेरैको भोगाइ हो। 

महावीर दाइका अनुसार नयाँ लुगा फेर्ने भनेको वर्षमा एकपटक बाबाले पेन्सन थापेर मात्रै हो। नयाँ लुगा लगाउने र गाउँमा हालेको पिङको पालो कुरेर खेल्दा दशैँ पर्व अरू चाडभन्दा अझ बढी रमाइलो लाग्थ्यो। त्यसैले नयाँ लुगा लगाउन पाउने र मासुभात खान पाउने भएको हुँदा महावीरलाई यस्तो चाड सधैँ आओस् जस्तो लाग्थ्यो।

म्याग्दी सदरमुकामदेखि नागी गाउँ पुग्न सातआठ घण्टा र पोखरादेखि तीनचार दिन हिँड्नुपर्छ। त्यसबेला गाउँमा विद्यालय थिएन। तर, लाहुरेहरू शिक्षाको महत्त्व बुझेर गाउँ फर्केका थिए। आफूले नपढेकै कारण विदेशमा खाएको सास्ती आफ्नो सन्तानले नपाउन् भन्ने भावना राख्थे। गाउँ फर्केका जागरूक लाहुरे आफूले देखेको संसारको कथा विशेषगरी केटाहरूलाई सुनाउन भेला पार्थे, जसलाई गाउँको पहिलो स्कुल भन्न सकिन्छ।

स्कुलमा पाठ्यपुस्तक थिएन। कहिले कथा सुन्ने, कहिले लेख्ने दिनचर्या भइरहन्थ्यो। जहाँ भूपू सैनिक शिक्षक गाउँदेखि बाटो लागेपछि उनीहरूले देखे–बुझेका अनुभव र अनुभूति सुनाउँथे। त्यही नै औपचारिक शिक्षा हुन्थ्यो। महावीरको औपचारिक शिक्षा पनि त्यही भयो।

झाँक्रीले चोर पत्ता लगाउन सकेनन्
दाइले सुनाए, "हिउँदको महिना मंसिरदेखि फागुनसम्म गाउँमुनि धवान–डोरा भन्ने ठाउँतिर गोठ लैजाँदा गाउँका सबै मानिसहरू गोठमा नै बस्थे। गाउँ खाली हुन्थ्यो। गोठ धवान–डोरातिर सार्दा पिठो पिसेर खान जाँतोसमेत लिएर जान्थे। यसरी गाउँ नै खाली भएको बेला गाउँमा चोरी हुन्थ्यो।" 

उनले थपे, "चोर पत्ता लगाउन धनमन (झाँक्री) लगाइन्थ्यो। धनमन लगाएर पनि कहिलेकाहीँ चोर पत्ता लगाउन सकिन्नथ्यो। धवान–डोरा गोठ लैजाँदा स्कुल भनेको खेतको पाटा, खुल्ला चउर, रुखमुनिको छाया, कोदोको नलको टौवाको छहारी र न्यानो पहारिलो स्थानको छनोट गरी जम्मा भएर पढ्थे।"

शिक्षकहरू गाउँ फर्केका भूपू सैनिकमध्ये महावीरका बा पनि थिए। उनीहरू कहिल्यै कुनै विद्यालय पढ्न गएका शिक्षक थिएनन्। पल्टनमै अलिअलि अक्षर चिनेका हुन्थे, केही गणित जानेका हुन्थे। तिनीहरूले गाउँलेले भन्दा बढी संसार देखेका थिए। अलिअलि अंग्रेजी, अलिअलि गणितको भाग गर्ने, गुणन गर्ने र जोड घटाउ गर्न सिकाउँथे पूर्वपल्टनेहरू। 

भूपू सैनिकहरूले भारतबाट ठूलो वर्णमाला नामक किताबबाट कखरा र बाह्रखरी पढाउँथे। “हाम्रो धेरैजसो समय उनीहरूले भोगेका र देखेको विभिन्न कथा सुनेर बित्थ्यो। हामीलाई थाहा नभएको डाँडा पल्लोपट्टिको नयाँ–नयाँ कुरा कथाको रूपमा उनीहरूबाटै हामीले थाहा पाउँथ्यौँ। समय बित्दै जाँदा हामी अर्को कक्षामा फड्को मार्थ्यौं,” महावीर दाइको औपचारिक शिक्षाको अनुभव यस्तो रह्यो।

सबै भूपू लाहुरेलाई नेपालीको कखरा भन्न र लेख्न आउँदैनथ्यो। जसले जानेको छ, उसैले नेपाली पढाउँथे। पढाएबापत उनीहरूले तलब भत्ता केही पाउँदैनथे। शिक्षकहरूमध्ये प्रमुख जमदार मनिलाल पाईजा थिए। उनले महावीर र उनका साथीहरूलाई गणित र अंग्रेजी विषय पढाउँथे।

केके भ्याउँछन्? 
विश्वसमक्ष सामाजिक अभियन्ता, सोसल एन्टरप्रेनर, वायरलेस हिरो, अशोका फेलो, गण्डकी रत्न, म्यागासेसे पुरस्कार विजेता महावीर पुन यत्तिकै काबिल बनेका होइनन्। पश्चिम पहाडको त्यो दूरगाउँको धुलो मैलोमा यसरी औपचारिक शिक्षा लिए। केही न केही नयाँ खोजमा सदा व्यक्तिगत लोभलालचबिना लागिरहे। अहिले पनि उसै गरी लागिरहेका छन् महावीर दाइ। 

महावीरलाई आविष्कार–संस्कृति बढाउने हुटहुटी कतिसम्म छ भने आफूलाई प्राप्त मेडलहरूसमेत बिक्री गरेर वीरगन्ज कृषि औजार कारखानाका लागि ट्रान्सफर्मर किन्ने बताउँछन्। सोधखोज, अनुसन्धानमा व्यस्त समयको बाबजुद आफ्नो जीवनी लेखेर त्यसको बिक्रीबाट प्राप्त रकम सबै राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कारखानामा दिने मनसायले उनको किताब छापिइसकेको छ, आइतबारबाट सो किताब बजारमा उपलब्ध हुनेछ। पुनकै पदचाप पच्छ्याउँदै सयौँ युवा आविष्कारमा समेत जुटेका छन्। 

महावीरसँग अनावश्यक गफ गर्ने फुर्सद र बानी दुवै छैन। २३ वर्षदेखिको सम्बन्धमा अत्यावश्यक कामबाहेक दाइसँग फुर्सदिलो कुराकानी हुँदैन। कहिलेकाहीँ लाग्छ, 'होइन, के के सोच्न भ्याउँछन् महावीर? के के गर्न भ्याउँछन् यी दाइ?' 


सम्बन्धित सामग्री