Tuesday, May 07, 2024

-->

विषादी: औषधि होइन, विषै हो

मानिसलाई विष लाग्ने खतरा कति समय र मात्रा विषादीको सिधा सम्पर्कमा रहन्छ, भन्ने कुरामा पनि भर पर्छ। जो विषादीको निरन्तर सम्पर्कमा रहन्छन्, तिनमा विषादीको जोखिम ज्यादा हुन्छ।

विषादी औषधि होइन विषै हो

रोग, किरा तथा अन्य हानिकारक जीवबाट बोटबिरुवा तथा बालीनाली बचाउन प्रयोग गरिने रासायनिक पदार्थलाई कीटनाशक विषादी भनिन्छ। बढ्दो जनसंख्याका लागि उति नै धेरै खाद्य आवश्यक पर्ने हुनाले त्यसको परिपूर्तिका क्रममा विश्वमै विषादीको प्रयोग तीव्र दरले बढिरहेको छ। विश्वमा एक हजारभन्दा बढी कीटनाशक विषादीको प्रयोग गर्ने गरिन्छ। हालसम्म नेपालमा कुनै पनि विषादीका खास तत्त्व नेपालमा बनेको पाइँदैन, सबै आयातित नै छन्। 

विकसित मुलुकमा प्रतिबन्ध लगाइएका कतिपय विषादी विकासोन्मुख देशमा अझै प्रयोग गर्ने गरिन्छ। नेपालमा ९०० भन्दा धेरै विषादीको प्रयोग गरिन्छ। २४ वटा विषादीमा भने यहाँ प्रतिबन्ध छ। जनचेतना अभाव, नियमन निकाय प्रभावकारी नहुँदा र दक्षिणतर्फ खुला सिमानाका कारण सहजै नेपालमा प्रतिबन्धित कृषिजन्य विषादी आइरहेका छन्। 

नेपालले प्रतिवर्ष ६०० टनभन्दा पनि धेरै कीटनाशक औषधी आयात गर्ने गरेको पाइएको छ। प्रत्येक वर्ष विषादीको प्रयोग १०-२०% ले बढिरहेको छ। बाली संरक्षण निर्देशनालयका अनुसार नेपालमा हाल कीटनाशक औषधिको प्रयोग औसतमा ३९६ ग्राम एआई प्रतिहेक्टर छ भने तरकारीमा प्रयोग गरिने मात्रा योभन्दा धेरै छ : १६ सय ग्राम एआई प्रति हेक्टर। आयातित विषादीको ९० प्रतिसतभन्दा बढी विषादी तरकारी बालीमा प्रयोग गर्ने गरिन्छ।

विश्व स्वास्थ संगठनका अनुसार विषादी बिक्रेता र किसानहरूमा विषादी प्रयोग र भण्डारणको ज्ञान नहुँदा खासगरी विकासोन्मुख देशमा विषादीले समस्या निम्त्याएको देखिन्छ। किसानले छिटो र न्युन लागतमा बाली-फलफूलका रोगकिरा व्यवस्थापन गर्न चाहन्छन्, त्यसकारण पनि  नेपालजस्तो देशमा विषादीको प्रयोग सर्वव्यापी बनेको छ। 

विषादीले शत्रु जीवको ज्यान त लिन्छ नै, सँगै मानिस, जनावर, चरा, माछा, मौरी, माटोका सूक्ष्म जीवाणुहरू, जंगली जनावर, लाभदायी किराहरूमा पनि त्यसले क्षति पुर्‍याउँछ। विषादीले वातावरणसमेत दूषित बनाउने हुँदा यिनीहरूको लगातार र जथाभाबी प्रयोग कदापि स्वीकार गर्न सकिँदैन। मात्राका हिसाबले भन्ने हो भने नेपाल धेरै विषादी प्रयोग हुने  देश होइन, तर  विषादी प्रयोग गर्ने हाम्रो तरिकाचाहिँ बेवास्तापूर्ण छ। हामी विषादी प्रयोग गर्दा होसियारी पनि अपनाउँदैनौ। पन्जा र मास्कसमेत नलगाई विषादी छ्याप्ने अभ्यास सर्वत्र छ। 

मानिसलाई विष लाग्ने खतरा विषादीको विषालुपनसँग मात्रै सम्बन्धित नभई कति समय र मात्रा विषादीको सिधा सम्पर्कमा हामी रहन्छौँ भन्ने कुरामा पनि भर पर्छ। साथै विष लाग्ने खतरा विषादीको किसिम वा विषादीको सबिन्यास र विषादीको रासायनिक प्रकृतिमा पनि निर्भर रहन्छ। विषादी उद्योग, एग्रोभेट पसलमा काम गर्ने व्यक्ति र किसान, जो विषादीको निरन्तर सम्पर्कमा रहन्छन्, तिनमा विषादीको जोखिम ज्यादा देखिन्छ।

कुनै विषादीको विषालुपना केही समयपछि घट्दै जान्छ भने कुनै विषादीको विषालुपन माटो, पानी र बालीमा लामो समयसम्म रहने हुन्छ। डीडीटी, बीएचसी, लिन्डेनजस्ता पुराना र न्यून गुणस्तरीय विषादी माटो तथा पानीमा कैयौँ वर्षसम्म रहन्छन्। 

अर्को कुरा, बाली तथा तरकारीमा विषादी छरेपछि कति दिनसम्म विषादीको अधिकतम अवशेष मात्रा बाँकी रहन्छ, त्यही अवधिलाई बाली टिप्न पर्खन पर्ने अवधि भनिन्छ। विषादीको प्रयोग गरिसकेपछि बाली टिप्न पर्खनु पर्ने अवधिको किसानले विशेष ख्याल राख्नुपर्छ। विषादीको अधिकतम प्रयोगले वातावरण र मानव जीवनमा निकै ठूलो असर पारेको छ।

वैज्ञानिकहरू भन्छन्, 'नेपालजस्ता जथाभाबी विषादीको प्रयोग गरिने देशमा ज्यादै धेरै मानिसको शरीरमा विषादीको अवशेष पाइन्छ र विषादीको धेरैजसो असर बच्चा र गर्भवती महिलामा देखिने गरेको छ। कीटनाशक विषादीले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रोगहरू निम्त्याउँछ। तत्काल देखिने लक्षणमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, झाडा पखाला लाग्ने, बान्ता हुने,  खोकी लाग्ने ,छाती दुख्ने, धमिलो दृश्य देखिने, छाला रातो हुने, चिलाउने, आँखा रातो हुने, दुख्ने र आँसु बग्ने  आदि पर्छन्। दीर्घकालीन समस्याको पहिचान एक हप्तादेखि एक वर्षसम्म मात्र होइन, धेरै समयसम्म नहुन पनि सक्छ। 

दीर्घकालीन असरमा क्यान्सर, ट्युमर, श्वासप्रश्वाससम्बन्धी रोग, स्नायु तथा नसाजन्य रोग, जन्मजात अपाङ्गता, पक्षाघात, बच्चाको मस्तिष्क क्षय गराउने पार्किन्सन्स र अल्जाइमरजस्ता रोग, दम, वंशाणुगत परिवर्तन, कलेजो खराबी, प्रजनन क्षमतामा कमी वा बाँझोपन/यौन दुर्बलता र मानसिक असन्तुलनसमेत हुन सक्छ।

विषादीको जथाभाबी प्रयोगले वातावरणमा समेत नकारात्मक असर पर्छ।  किराहरूको विष पचाउने क्षमतामा वृद्धि, किराहरूको पुनरुत्थान, महत्त्वहीन शत्रु जीवको महत्त्वपूर्ण शत्रु जीवमा रूपान्तरण, लाभदायक जीवहरूमा प्रतिकूल प्रभाव, हावा,पानी, माटो र बालीमा विषको अवशेष फेला पर्नु, मित्र जीवको नाश, पारिस्थितिक प्रणाली खलबलिने, जैविक विविधतामा ह्रास, ओजोन तहको क्षयीकरणजस्ता असर विषादीको प्रयोगले वातावरणमा निम्त्याएको जटिल असर हो।

एकातिर किराहरूले बालीनाली सखाप पार्दै गएको र अर्कोतिर किरा मार्न प्रयोग भइरहेको विषादीले वातावरणमा पर्न गएको असरका कारण मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर पारिरहेको छ। नेपालमा दिगो कृषि विकासका लागि वातावरण र समय अनुकूल प्रविधिको उपयोग, रासायनिक मल र विषादीको समुचित प्रयोग तथा प्रोत्साहनलाई निरन्तरता दिन अपरिहार्य हुन्छ।

विषादीको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। प्रतिबन्ध लगाइएको विषादीको प्रयोग नगर्ने, जीवनाशक विषादी व्यवस्थापन ऐन-२०७६ र नियमावली २०५० (पहिलो संशोधन २०६४ मा) अनुसार मात्रै विषादीको आयात, उत्पादन, खरिद बिक्री र प्रयोग गर्ने, सम्भव भएसम्म 'रोग किरा'को व्यवस्थापन एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) र अन्य वैकल्पिक विधिको प्रयोगबाट गर्ने, विषादीको प्रयोग गर्नै पर्ने भए कम विषालु र प्रभावकारी विषादीको प्रयोग गर्ने र प्रयोग गर्दा सुरक्षित पहिरनको अनिवार्य प्रयोग गर्ने, विषादीको पर्चा (लेबल) पढेर मात्रै विषादीको प्रयोग गर्ने, विषादीको प्रयोग गरिसकेपछि बाली टिप्न पर्खनु पर्ने अवधि हेरेर मात्रै बालीको बेचबिखन गर्ने, इथियन र क्विनालफोसजस्ता विषादी चियामा प्रयोग नगर्ने, सिफारिस गरिएको विषादी, सिफारिस मात्रामा अति आवश्यक पारेको बेलामा मात्रै सावधानी पूर्वक प्रयोग गर्ने। 

विषादीको प्रयोग गर्दा विश्व स्वास्थ्य संगठनको श्रेणी विभाजन, विषालुपन र विषादीको लेबलमा सावधानीका लागि रहन रातो, पहेँलो, नीलो हरियो रङ हुन्छन्,  तिनको पनि जानकारी लिनु अति आवश्यक हुन्छ।

विषादीको बढ्दो प्रयोगसँगै सरकारले केही कृषि उत्पादनमा विषादीको अधिकतम अवशेष सीमा तोकेको छ। खाद्य ऐन र खाद्य नियमावलीमा खाद्य पदार्थमा अधिकतम अवशेष सीमा तोकेको भए तापनि त्यो केही अन्नबाली, दलहन र तेलहन बालीमा मात्रै सीमित छ। पर्याप्त अनुगमन र नियमनको अभावको कारण नीति नियमहरू पनि प्रभावकारी बन्न सकेका छैनन्। विषादी  जोखिम  कम गर्न नियमित रूपमा विषादीको अवशेष जाँच गरी प्रत्येक प्रदेशमा रहेका क्वारन्टाइन चेक पोइन्टद्वारा विषादीको अवैधानिक खरिदबिक्रीमा रोक लगाई, तरकारीमा तथा फलफुल संकलन र बिक्री कक्षहरूमा विषादी  परीक्षणका लागि सुविधासम्पन्न प्रयोगशालाको व्यवस्था मिलाउन जरुरी छ। 

यद्यपि, देशका धेरैजसो भागमा र्‍यापिड बायोयासे अफ पेस्टिसाइड रेसिड्यु (आरबीपीआर) द्वारा विषादीको जाँच गरिन्छ, तर यस प्रविधिमार्फत ओर्गनोफोस्फेट, कारबामेट र केही ढुसिनासक विषादीको मात्रै जाँच गर्न सकिन्छ। यस्तो अवस्थामा, जैविक विषादीको प्रयोग गर्दा केही हदसम्म विषादीबाट हुने हानिबाट जोगिन सकिन्छ। तर जैविक विषादीको प्रयोगमा किसानहरूलाई जागरूक बनाउन सकिएको छैन। त्यसो हुँदा बजारमा सहजै उपलब्ध विषादी उहाँहरूको रोजाइमा पर्ने गरेको छ। 

अर्को कुरा बजारमा सहजै विषादी पाइँदा आत्महत्यामा समेत यसको प्रयोग हुने गरेको छ। आत्महत्याका प्रमुख सात अभ्यासमध्ये विषादीको प्रयोग दोस्रो स्थानमा छ। यस्तो अवस्थामा विषादीको प्रयोग गर्दा पनि जथाभाबी गर्नुभएन, जो पायोलाई विषादी दिनुभएन। सबै किसिमका विषादी विष नै हुन्, ती औषधि होइनन् भन्ने तथ्य कहिल्यै बिर्सिनु भएन।


 भट्ट कृषिमा स्नातक अध्ययनरत छिन्।


सम्बन्धित सामग्री