Friday, May 10, 2024

-->

सत्यको इतिहास र उद्‌विकास

उत्तरआधुनिक संसारमा कुनै विश्वव्यापी सत्य छैन, छ त केवल आ-आफ्नो भाष्य र कथा। यी चुनौतीहरूको बाबजुद पनि वस्तुनिष्ठताको वकालत गर्नेहरूका लागि केही आशा भने अझै बाँकी छ।

सत्यको इतिहास र उद्‌विकास

जगत्‌काका अनेकौँ जटिलताको यथार्थ बुझ्ने प्रयास प्राचीन कालदेखि नै दर्शनले गर्दै आएको हो। दार्शनिकहरूले यस गहन विषयको अध्ययन गर्न विभिन्न विधिहरू प्रयोग गरे/गरेका छन्। उत्तर-आधुनिकवादको उदयसँगै वास्तविकतालाई बुझ्ने परम्परागत ढाँचामा  गम्भीर  फेरबदल  आएका  छन्। यो युग वास्तविकताका जटिलताहरूलाई सम्बोधन गर्न निरपेक्ष सत्यको तुलनामा सापेक्षिक सत्यतर्फ अग्रसर भएको छ। यो दार्शनिक मोडमा हामी कसरी आइपुग्यौँ भनेर यस लेखमा पश्चिमी अवधारणाबारे अन्वेषण गरिनेछ।

युरोपेली प्रबुद्ध युग (युरोपियन इनलाइटनमेन्ट पिरियड) मा वास्तविकता बुझ्नेबारे महत्त्वपूर्ण प्रयासहरू भए। दूरदर्शी 'पोलिम्याथ'हरूले ज्ञान र ज्ञानको वंशावलीको (एपिस्टेमोलोजी र जिनिओलोजी) लेन्समार्फत वास्तविकतालाई अध्ययन गर्ने आधार तयार पारे। ज्ञान कसरी उत्पन्न हुन्छ भन्ने यस अन्वेषणको केन्द्रबिन्दु थियो। फलस्वरूप, दुई प्रमुख विचारधाराहरूको उदय भयो: अनुभववाद र तर्कवाद।

फ्रान्सिस बेकन, थोमस होब्स, जोन लक, जर्ज बर्कले, डेभिड ह्यूम र बर्ट्रान्ड रसेलजस्ता दिग्गजसहित अनुभववादी पक्षहरूले मानव अनुभव ज्ञानको प्रमुख स्रोत हो भन्नेमा जोड दिए। १७औँ-१८औँ शताब्दीमा विकाश  भएको यो बिचारले मानव इन्द्रियहरूले 'अपोस्टेरिओरी' अनुभवहरू प्रदान गर्छ भन्नेमा जोड दिन्छ। यी अनुभवजन्य तथ्यहरूले ज्ञानको आधार निर्माण गर्छ भन्ने विचार अनुभववादीहरूले राखे। यसबाहेक, यो दर्शनले वैज्ञानिक खोजहरूमा अनुभवजन्य अवलोकनको आवश्यकतालाई जोड दिँदा वैज्ञानिक प्रकृतिवाद (साइन्टिफिक नेचुरलिजम्) को जग खडा भएको थियो।

बहसको अर्को पक्षमा पाइथागोरस, प्लेटो, युक्लिड, रेने डेकार्ट, बारुक स्पिनोजा, गोटफ्राइड लाइबनिज र नोम चोम्स्कीजस्ता तर्कवादीहरूले तर्क र कारणबाट ज्ञान प्राप्त गरिन्छ भन्ने विचार राखे। यसले प्रत्यक्ष रूपमा इन्द्रीय प्रक्रियाहरू समावेश नगरी  ज्ञान केबल विचार प्रक्रियाद्वारा प्राप्त गर्न सकिन्छ भन्ने तर्क गर्छ। तिनीहरूले गणितीय र तार्किक ज्ञानलाई तर्कवादको प्रमुख उदाहरणका रूपमा अगाडी सारे। तर्कवादीहरूको अनुसार तर्कद्वारा सृजित ज्ञान अनन्त हुन्छ, यस्तो ज्ञान पूर्ण: हुन्छ।

ज्ञान सिर्जना गर्न मानव इन्द्रियहरूमा निर्भर रहनुपर्छ, अनुभववादको प्रमुख कमजोरी भनेकै यही हो। मानव अनुभव र अनुभूति व्यक्तिपरक/आत्मपरक हुन्छ, त्यस कारण त्यसमा त्रुटि हुने सम्भावना बढी हुनसक्छ। यसको विपरीत तर्कको माध्यमद्वारा सृजित ज्ञान शाश्वत हुने भएकोले त्यस्तो ज्ञान पूर्ण रूपमा भरपर्दो रहेको तर्कवादीहरूको दाबी छ। उदाहरणका लागि, सातमा दुई जोड्दा सधैँ नौ हुन्छ। सोही कारण फ्रान्सेली दार्शनिक रेने डेकार्टले भनेका थिए, 'म सोच्छु, सोही कारण म छु।' डेकार्टका अनुसार ज्ञानको आधार चिन्तन हो।

तर्कवादीहरूले तर्कलाई प्राथमिक ज्ञानको आधार माने, तर तर्क कसरी प्राप्त गर्न सकिन्छ भनेर पत्ता लगाउनु अर्को चुनौती थियो। जन्मवाद (इनेटिजम्) को सिद्धान्तअनुसार निश्चित विचारहरू हामीभित्र जन्मजात छन्/हुन्छन्। उदाहरणका रूपमा, नोम चोम्स्कीले सन् १९५७ मा आफ्नो कृति 'सिनाक्टिक स्ट्रक्चर्स'मा मानव जातिमा भाषाको लागि अन्तर्निहित क्षमता हुनसक्छ भन्ने नवीन प्रस्ताव राखे। 

त्यस्तै, प्लेटोको 'क्लासिक' कृति 'मिनो' आफैँमा एक विचार-परीक्षण (थट एक्सपेरिमेन्ट) थियो। संवादको माध्यमद्वारा अशिक्षित तर बुद्धिमान दास मिनोजस्ता व्यक्तिले पनि जन्मजात आधारभूत ज्यामितीय अवधारणाहरू बुझ्न सक्छ भनेर सोक्रेटसले उक्त पुस्तकमा चित्रण गरिदिए। यसबाहेक, स्नायु विज्ञानका अध्ययनहरूले जन्मवादको  सिद्धान्तलाई केही हदसम्म पुष्टि गर्छ। 

उदाहरणको लागि सिधा रेखा र सीमा (बाउन्ड्री)जस्ता आधारभूत ज्यामितीय  अवधारणाहरूप्रति जन्मदेखि नै हाम्रो दिमागले  प्रतिक्रिया दिन्छन्। यद्यपि, यस्ता अवधारणाहरूको उपस्थितिका बारेमा हाम्रो दिमागले जागरूकता (अवेरनेस) को ग्यारेन्टी गर्दैन। र, तर्क (लजिक एन्ड रिजन) को माध्यमद्वारा हामी ती अवधारणासम्म पुग्न सक्छौँ। यसरी, तर्कवादको सिद्धान्तअनुसार जन्मजात विचारहरूले ज्ञान सिर्जनाको आधारभूत ढाँचा  तयार पार्छ।

अनुभववाद र तर्कवादका भिन्न भिन्न विचारहरूलाई मिलाउने प्रयासमा प्रसिद्ध जर्मन दार्शनिक इमानुएल कान्टले 'ट्रान्सेन्डेन्टल' आदर्शवादको अवधारणा प्रस्तुत गरे। कान्टले वस्तुनिष्ठ वैधताको (अब्जेक्टिभ भ्यालिडिटी) प्रयोग गर्दै तर्क र प्रायोगिक अनुभव दुवै ज्ञान सिर्जना गर्नको निमित्त अपरिहार्य छन् भन्ने आशय व्यक्त गरे। कान्टका अनुसार वास्तविक अनुभवहरूमा तर्क प्रयोग गरेर ज्ञान प्राप्त गर्न सकिन्छ।

वास्तविकताको बुझाइमा हाम्रो मानव मस्तिष्क र दिमागको संलग्नताबाट हुन्छ भन्ने कुरा अनुभववाद र तर्कवादमा दुबैमा मिल्ने कुरा हुन्। दिमागले  सबै संवेदी उत्तेजनाहरूलाई प्रशोधन र एकीकृत गर्छ भने मस्तिष्कले तर्क गर्न भूमिका खेल्छ। यसरी मान्छेले वास्तविकताको समग्र अनुभव प्रदान प्राप्त गर्न सक्छ। डेकार्टको मस्तिष्क-शरीर (माइन्ड बडी प्रब्लम) प्रश्नले मस्तिष्क र शरीरबीचको अन्तरक्रियाको अन्वेषण गर्दै सोच्न सक्नु मान्छे मात्रको  गुण हो भन्ने अभिप्राय व्यक्त गर्छ।

त्यसो हो भने मस्तिष्कलाई कसरी बुझ्ने? उल्लेख गर्न लायक के छ भने तपाईँले कुनै पनि निर्णय गर्दा तपाईँको दिमागभित्रको ड्राइभिङ सिटमा बसेर अर्को तपाईँले तपाईँलाई नै आदेश दिइरहेको छैन, किनभने अर्को तपाईँको अस्तित्व दिमागभित्र छैन। हाम्रा निर्णय र व्यवहारहरू मुख्य रूपमा दिमागका गतिविधिद्वारा सञ्चालित हुन्छन्। आजको आधुनिक स्नायु विज्ञानले मानव मस्तिष्कको क्षेत्रमा नयाँ नयाँ तथ्यहरू उजागर गरिरहेको छ। स्ट्यानफोर्ड विश्वविद्यालयका प्रोफेसर रोबर्ट सापोल्स्कीले 'सेलुलर अटोमेटा'झैँ मानव मस्तिष्कले पनि स्वतन्त्र र स्वचालित रूपले काम गर्छ भन्ने विचार व्यक्त गर्छन्। 

कमिलाको समूहले जसरी खाना भएको ठाउँबाट आफ्नो गुँडसम्मको सबैभन्दा बढी प्रभावकारी बाटो अत्यन्तै सरल नियम प्रयोग गरेर पत्ता लगाउँछ, ठिक त्यसरी नै जटिल बौद्धिक प्रणालीहरू पनि सरल नियमहरूबाट सञ्चालित हुन सक्छ भन्ने नवीन धारणा सापोल्स्की प्रस्तुत गर्छन्। उनी थप तर्क गर्छन् कि मानव संज्ञानात्मक प्रणालीहरूलाई पनि समान दृष्टिकोणबाट बुझ्न सकिन्छ।

यही सेरोफेरोमा युनिभर्सिटी अफ क्यालिफोर्नियाका बेन्जामिन लिबेटले सन् १९८३ मा स्वतन्त्र इच्छा (फ्री विल) को अस्तित्वबारे एक खोज-अनुसन्धान गरे। उक्त अनुसन्धानको निचोड के रह्यो भने हामीले गर्ने निर्णयहरू हाम्रो चेतन मानसिक अवस्थाद्वारा सञ्चालित हुँदैन। यसको विपरीत हामीले गर्ने निर्णयहरू अवचेतन दिमागी  गतिविधिद्वारा नियन्त्रित हुन्छ। 

यो खोजले दार्शनिक र धार्मिक जगत्‌मा 'सुनामी' नै सिर्जना गर्‍यो, किनकि यसले स्वतन्त्र इच्छाको अस्तित्वलाई अस्वीकार गर्छ। 'बर्लिन सेन्टर फर एडभान्स्ड न्यूरोइमेजिङ'का 'हेन्स समूह'ले सन् २००८ मा 'नेचर न्युरोसाइन्स'मा शोधपत्र प्रकाशित गर्दै लिबेटको नतिजालाई नै पुष्टि नै गर्‍यो। केही वर्षअघि व्यवहारविद् निक चाटरले आफ्नो पुस्तक 'द माइन्ड इज फ्ल्याट'मा मानिस आफ्नै सृष्टिको काल्पनिक चरित्र हुन् भनी संक्षेपमा लेखेका छन्।

यदि हाम्रो निर्णय र कार्य हाम्रो आफ्नै सचेत छनोटबाट भएको हुँदैन भने, हामी केबल हाम्रो आफ्नै कल्पनाको काल्पनिक चरित्र मात्र हौँ भने सबैभन्दा ठूलो चुनौती वास्तविकताको विशेषता के हो भन्ने नै हो। प्राचीन पश्चिमी विद्वानहरूले वास्तविकतालाई दुई विपरीत दृष्टिकोणबाट परिभाषित गरे। हेराक्लिटसले वास्तविकताको आधारभूत प्रकृति प्रवाह (फ्लक्स) र अस्थिरता (इम्पर्मनेन्स) हो भनी तर्क गरे भने पारमेनिडिस र उनका अनुयायी जेनोले एकल, एकीकृत र अपरिवर्तनीय वास्तविकताको पक्षमा तर्क गरे।

प्लेटोले हेराक्लिटस र पारमेनिडिसका परस्पर विरोधी बिचारहरूलाई मिलाउने प्रयास गरे। हेराक्लिटसले भनेजस्तै प्लेटोका अनुसार भौतिक वास्तविकता सधैं प्रवाहमा हुन्छ। तर पारमेनिडिसले भनेजस्तै प्लेटोले अर्को 'साँचो वास्तविकता'को पनि वकालत गरे, जुन सधैं स्थिर रहन्छ। प्लेटोको 'थिअरी अफ फर्म्स'ले भौतिक वास्तविकता एक भ्रम हो भनी देखाउँछ (आलगरी अफ केभ्-प्लेटो)। उनका अनुसार अमूर्त रूपहरूको वास्तविक संसार पनि छ। यी रूपहरू सिद्ध (पर्फेक्ट), शाश्वत (इटर्नल) र अपरिवर्तनीय हुन्छन्। यी रूपहरूले  कालान्तरमा दार्शनिक निरपेक्षता (फिलसफिकल अबस्लुटिजम्)को ऐतिहासिक आधार स्तम्भ बनाउन पुग्छन्।

प्लेटोले 'प्लेटोनिक सोलिड'बाट साँचो वास्तविकताको निर्माण हुन्छ भनी व्याख्या गरे। यी प्लेटोनिक सोलिडहरू नियमित पोलिहेड्रल हुन्। आफ्नो संवाद 'फिलेबस'मा प्लेटोले प्लेटोनिक सोलिडहरू सौन्दर्य, सत्य,र समरूपता (सिमेट्री) जस्ता रूपहरूले सजिएका हुन्छन् भन्ने भनाइ राखे। यी नियमित पोलिहेड्रलसँग प्रत्येक भर्टेक्समा मिल्ने अनुहारहरूको समान संख्या र कुनै पनि दुई अनुहारहरूबीच एक समान डाइहेड्रल कोणहरू हुन्छन्। यसो हुँदा जम्मा पाँच प्लेटोनिक सोलिडहरू हुन आउँछन्: टेट्राहेड्रन (आगोको प्रतिनिधित्व गर्ने), घन (पृथ्वीको प्रतिनिधित्व गर्ने), अक्टहेड्रन (हावाको प्रतिनिधित्व गर्ने), डोडेकाहेड्रन (ब्रह्माण्डको प्रतिनिधित्व गर्ने), र आइकोसेहेड्रन (पानीलाई प्रतिनिधित्व गर्ने)। यी ज्यामितीय रूपहरू प्राचीन ग्रीकहरूका निम्ति यति पवित्र थिए कि प्लेटोले आफ्नो एकेडेमीमा 'ज्यामितिसम्बन्धी ज्ञान नभएकालाई यहाँ प्रवेश गर्न मनाही' भन्ने आशयको सूचना झुन्डाएका थिए भन्ने गरिन्छ।

पश्चिमी दर्शनमा सत्यलाई पहिलो पटक 'एग्जिओमटाइज' गर्ने काम युक्लिडले गरे। युक्लिडको कृति 'द फस्ट सिक्स इलिमेन्ट'ले सत्यलाई  पोस्टुलेटको रूपमा परिभाषित गरेको छ। युक्लिडको बुझाइमा पोस्टुलेट भन्नाले आत्म-स्पष्ट सत्य (सेल्फ इभिडेन्ट ट्रुथ) भन्ने बुझाउँछ। उनको बुझाइमा यी पोस्टुलेटहरू आफैँमा स्वयं सिद्ध एवं विश्वव्यापी सत्य हुन्। उनका केही प्रख्यात पोस्टुलेटहरू यस प्रकार छन्:

बिन्दुको शून्य आयाम हुन्छ।

रेखाको एक आयाम हुन्छ र त्यसलाई चौडाइबिनाको लम्बाइ भन्ने बुझिन्छ।

रेखामा अनन्त बिन्दुहरू हुन्छन्।

त्रिभुजको आन्तरिक कोणहरूको योगफल एक सय असी डिग्री हुन्छ।

दुई समानान्तर रेखाहरू एक अर्कासँग कहिल्यै मिल्दैनन्, आदि।

युक्लिडले सैद्धान्तिकरण र विकास गरेका यी भाष्यहरू दुई हजार वर्षभन्दा बढी समयसम्मको लागि पूर्ण सत्यको रूपमा स्वीकार गरियो। १९औँ शताब्दीको मध्यमा आउँदा युक्लिडको समानान्तर पोस्टुलेटमा दरार देखा पर्‍यो। विचार प्रयोगको रूपमा कल्पना गर्नुहोस्, जसमा पृथ्वी एउटा भकुन्डो हो। यसबीचमा एउटा भूमध्य रेखा कोर्नुहोस्। यो भूमध्य रेखामा कुनै दुई वटा बिन्दुहरू लिनुहोस्। अब यी दुई बिन्दुहरूबाट दुई वटा समानान्तर रेखाहरू यसरी कोर्नुहोस् कि ती दुवै रेखाहरू भूमध्य रेखासँग लम्ब हुन्छन्। यसरी कोर्दा यी समानान्तर रेखाहरूले एक अर्कालाई काट्नेछन्। फलस्वरूप गैर-युक्लिडियन ज्यामितिको विकाश गर्नुपर्ने जरुरी देखियो। रेमानियन ज्यामिति यसैको प्रतिफल हो।

१८औँ र १९औँ शताब्दीको युरोपमा आधारभूत गणितले अभूतपूर्व उन्नति गर्दै गर्दा यसमा दरार, असंगति र विरोधाभास देखा पर्न थाले। त्यस्ता विसंगतिहरूलाई हटाउने लक्ष्यका साथ गणितज्ञ डेभिड हिल्बर्टले सबै आधारभूत गणितलाई 'फर्मलिजम'को माध्यमद्वारा 'एग्जिओमटाइज' गर्न आह्वान गरे। अर्कोतिर गटलब फ्रेग, अल्फ्रेड ह्वाइटहेड र बर्ट्रान्ड रसेलहरूले आधारभूत गणितका सबै शाखाहरूलाई औपचारिक तर्कमा ढाल्ने प्रयास गरे।

यस्तो संकटको घडीमा पश्चिमी दर्शनमा प्लेटोपछि सबैभन्दा सम्मानित मानिने गणितज्ञ कर्ट गोडेल समाधान लिएर आइपुगे। अपूर्ण प्रमेय (इन्कम्फ्लिटनेस थियरम) को माध्यमद्वारा उनले प्रमाणित गर्न नसकिने तर साँचो गणितीय कथनहरूको अस्तित्व रहेको तथ्य प्रदर्शन गर्दै अंकगणितका आधारभूत सिद्धान्तहरूमा अन्तर्निहित अपूर्णता रहेको बताए। गणितद्वारा प्रमाणित भएका सबै कुरा पूर्ण सत्य मात्र नभई सबै सत्यहरू पनि प्रमाणित गर्न सकिन्छ भन्ने स्थापित भइसकेको भाष्यलाई गोडेलले चकनाचुर पारिदिए।

२१औँ शताब्दीको सन्ध्यामा विद्वानहरूले गोडेलको कार्यलाई पुनः अवलोकन गर्न थालेका छन्। रेबेका गोल्डस्टेन 'इन्कम्प्लिटनेस: द प्रुफ एन्ड प्याराडक्स अफ कर्ट गोडेल' कृतिमार्फत गोडेलको कामलाई गलत बुझिएको र गलत व्याख्या गरिएको छ भन्ने धारणा राख्छन्। उनको विचारलाई आधार मान्ने हो भने आधारभूत गणितलाई प्रमाणित गर्न नसकिएता पनि अझै पनि पूर्ण सत्यको प्लेटोनिक अवधारणालाई गोडेलको कामले थप बलियो बनाएको छ।

उत्तर आधुनिकवादको उदयमा गोडेलको कामले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनले युरोपेली प्रबुद्धता युगले विकाश गरेको आधुनिकतावादलाई सधैँको निम्ति हत्या गरिदिए। त्यही आधुनिकतावादको चिहानमाथि महाद्वीपीय दार्शनिक आन्दोलनहरू; घटना-विज्ञान, संरचनावाद र अस्तित्ववादहरूले उत्तर-आधुनिकवादको जग बसाले। फलतः पूर्ण-सत्यको सट्टा सापेक्ष सत्य र  वस्तुनिष्ठताको सट्टा 'शंकावाद'को पुनः उदय हुन पुग्यो।

उत्तरआधुनिक संसारमा कुनै विश्वव्यापी सत्य छैन, छ त केवल आ-आफ्नो भाष्य र कथा। यी चुनौतीहरूको बाबजुद पनि वस्तुनिष्ठताको वकालत गर्नेहरूका लागि केही आशा भने अझै बाँकी छ। आधारभूत गणितीय सत्यहरू प्रमाणित गर्न नसकिएता पनि वास्तविकता बुझ्नको निम्ति गणितीय/सांख्यिकीय प्रविधिहरू विकाश गरिएको छ। उदाहरणको निम्ति 'प्रिन्सिपल कम्पोनेन्ट अनालाइलिस'लाई लिन सकिन्छ। यी प्रविधिहरूले न्युरोसाइन्स, क्यान्सर जीवविज्ञान, मौसम पूर्वानुमान, मेसिन लर्निङ र कृत्रिम बुद्धिमत्ताजस्ता क्षेत्रहरूको विकासमा अहम् भूमिका खेलिरहेको छ।

सारांशमा दर्शनको इतिहासमा यथार्थ बुझ्ने कार्य सधैँ भइरहेको छ। अनुभववाद र तर्कवादबीचको बहसदेखि उत्तर आधुनिकवादसम्म आइपुग्दा वास्तविकताको अन्वेषण अझै जटिल र विचारोत्तेजक भएर आएको छ। निरपेक्ष सत्यको प्रकृति र ज्ञानको जगमाथि नै प्रश्न उठेको बेला मानव जातिले वास्तविकताको जटिल जालमा कसरी  पहिल्याउन सक्ला भन्ने ठूलो चुनौती देखिन्छ।

(स्नायु विज्ञानमा पीएचडी गरेका सूर्यप्रकाश हाल जर्मनीमा रहेर प्राणीको यौन र व्यवहारबारे पोस्ट डक्टरेट अध्ययन गर्दैछन्।)


सम्बन्धित सामग्री