Saturday, May 11, 2024

-->

देश 'गाँजा गणतन्त्र' नबनोस्

पर्याप्त तयारीबिना गाँजालाई पुन: वैधता दिँदा कतै देश होन्डुरस र ग्वाटेमालाको ‘बनाना रिपब्लिक’जस्तै ‘क्यानाविस रिपब्लिक’ वा ‘गाँजा गणतन्त्र’ बन्ने त होइन? यसबारे गहन विचारविमर्श गर्नु जरुरी छ।

देश गाँजा गणतन्त्र नबनोस्  

पुरातात्विक र ऐतिहासिक तथ्यअनुसार गाँजाको प्रयोग सबैभन्दा पहिला चीनमा ४००० ईसापूर्वमा नै गरिन्थ्यो भनिएको छ। हिन्दू धर्मग्रन्थ अथर्व वेदमा गाँजालाई ‘खुशीको स्रोत, आनन्द दिने, मुक्ति दिने, डर भगाउने र चिन्ताबाट मुक्त गर्ने’ वस्तुका रूपमा सम्बोधन गरिएको पाइन्छ। यसरी परापूर्वकालदेखि आजसम्म पनि हाम्रो समाजमा गाँजाको प्रयोग व्यापक रूपमा हुँदै आएको सत्य हो। यसलाई शक्तिवर्धक पदार्थका रूपमा प्रयोग गर्नुका साथै पेटको रोग, जिउमा भएका चोटपटक र घाउहरू निको पार्ने, दुखाइ कम गर्ने, निद्रालाई प्रोत्साहन गर्ने र चिन्ता-बेचैनी घटाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ। 

दम, घाँटीको रोग, अमन हुने, आउँ, झाडापखाला र हैँजामासमेत गाँजाको औषधीय प्रयोग हुन्छ। घरपालुवा जनावरहरूमा देखिने पेटसम्बन्धी रोगहरूमा पनि यसले लाभ दिन्छ। नेपाली भान्साहरूमा गाँजाको बीउलाई भुटेर पिसेपछि ट्वाक्कको चोपिलो अचार बनाउने चलन पुरानै हो। गाँजालाई चाडपर्वहरूमा मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ भन्ने कुरा शिवरात्री र फागुपूर्णिमा (होली)मा गरिने यसको उपयोगले पुष्टि गर्छ। यसका साथै गाँजाको बोटमा पाइने रेसाहरूबाट पनि विभिन्न लुगाहरू बनाइन्छन्। तसर्थ, नेपालमा सांस्कृतिक र सामाजिक महत्व बोक्ने वनस्पतिका रूपमा गाँजाको महत्व छ।    

संसारभरि विभिन्न देशहरूमा पाइने गाँजा एक प्रकारको औषधीय वनस्पति हो। समुद्री सतहदेखि उच्च हिमाली भेगहरूसम्मका विविध भूगोल र हावापानीले यसलाई स्वीकार्छ। यो वनस्पतिका उपजहरूलाई नेपालीमा ‘गाँजा, भाङ, भाँगो, चरेस, अत्तर’ जस्ता शब्दहरूले सम्बोधन गरिन्छ। यसको वैज्ञानिक वर्गीकरणमा भने विवाद रहेको देखिन्छ। 

कसैले प्रजाति अर्थात् स्पेसिजका आधारमा संसारमा गाँजा तीन (क्यानाविस स्याटिभा, क्यानाविस इन्डिका र क्यानाविस रुड्रारालिस) वर्गका छन् भन्दछन् त कसैले जम्मा एक प्रजाति (क्यानाविस स्याटीभा) र विभिन्न प्रकार (भेराइटी) (प्रकार स्याटिभा, प्रकार इन्डिका, प्रकार काफिरइस्टाकिका र प्रकार स्पोंटानिया) रहेको मान्छन्। अझ कसैले त प्रजाति, उपप्रजाति (सबस्पेसिज) र प्रकारलाई मिलाएर पनि नामकरण गर्ने गरेका छन्। ती नामहरू क्रमश: क्यानाविस स्याटिभा, उपप्रजाति स्याटिभा प्रकार स्याटिभा, क्यानाविस स्याटीभा, उपप्रजाति स्याटिभा, प्रकार स्पोंटानिया, क्यानाविस इन्डिका, उपप्रजाति इन्डिका, प्रकार इन्डिका, क्यानाविस इन्डिका, उपप्रजाति इन्डिका र प्रकार काफिरइस्टाकिका हुन्।

गाँजाका प्रजाति र प्रकारहरूको वर्गीकरण पात र विरुवाका उचाइ तथा यिनीहरूमा पाइने रासायनिक तत्वहरूको आधारमा गर्ने गरिन्छ। सन् १९७४ मा सल्ट्स र उनका दौँतरीहरूले गरेको एक अध्ययनअनुसार क्यानाविस स्याटिभाका लामो आकारका सात या नौ वटा पातहरू हुन्छन्, क्यानाविस इन्डिकाका फराकिला सात पातहरू हुन्छन् भने क्यानाविस रुड्रारालिसका साना पाँच वटा मात्र पात हुने गर्दछन् (हेर्नुहोस् चित्र)। फूल फुल्ने वनस्पतिहरूको अनुसूची भएको ‘एनोटेटेड चेकलिस्ट अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ किताबका अनुसार हाम्रो देशमा पाइने गाँजाका विविधताहरू क्यानाविस स्याटिभा, प्रकार इन्डिका, क्यानाविस स्याटिभा र प्रकार काफिरइस्टाकिका हुन्।

पातका आधारमा गाँजाका जातिहरू।

गाँजाको उत्पत्ति र फैलावट हेर्दा यो एशियामा विकसित भई व्यापार र बसाइँसराइसँगै बिस्तारै पश्चिमा मुलुकहरूतर्फ फैलँदै गयो। गाँजाको सर्वप्रथम प्रयोग मध्यएशिया वा पश्चिमी चीनमा भएको थियो भने यसको खेती सबैभन्दा पहिला इजिप्ट र पश्चिम एशियाबाट शुरू भएको थियो। पछि १००० र २००० ईसापूर्वको बीचमा यसलाई युरोपमा पुर्‍याइयो। सन् १५४५ तिर दक्षिण अमेरिका (चिली) र त्यसको ६० वर्षपछि (सन् १६०६) मा यो उत्तर अमेरिका (पोर्ट रोयल, क्यानाडा) पुग्यो। 

संसारभरि फैलिएको गाँजाका विभिन्न प्रजातिहरूमा अहिलेसम्म वैज्ञानिकहरूले ५४५ प्रकारका रासायनिक तत्वहरू पत्ता लगाएका छन् र यो संख्या थपिने क्रम जारी छ। सम्पूर्ण रसायनहरूमध्ये सबैभन्दा उपयोगी टेट्राहाइड्रोकानाबिनोल (टीएचसी) र क्यानाबिडियोल (सीबीडी) समूहका तत्वहरू हुन्। टीएचसी मनोत्तेजक रसायन हो भने सीबीडी मनोत्तेजकरहित रसायन हो। तर यो विशेषत: बालबालिकाहरूमा देखा पर्ने मिर्गी रोगको उपचारमा अत्यन्त प्रभावकारी भएको पाइएको छ। त्यसैले अमेरिकामा गाँजाको वैधतामा ‘न्यून टीएचसी र उच्च सीबीडी’ भन्ने नीति अपनाइएको छ। प्रायजसो ठाउँहरूमा टीएचसी ०.३ प्रतिशत हुनुपर्ने प्रावधान छ भने जर्जिया र कान्सास राज्यहरूमा ५ प्रतिशतसम्म टीएचसीलाई अनुमति दिइएको छ।

जोन एम. म्याकपार्टल्यान्डले सन् २०१८ मा गरेको एक अध्ययनअनुसार टीएचसीको आधारमा गाँजाका प्रजाति, उपप्रजाति र प्रकारहरूको वर्गीकरण गर्न सकिन्छ। उनका अनुसार क्यानाविस स्याटिभा, उपप्रजाति स्याटिभा र प्रकार स्याटिभामा टीएचसीको मात्रा न्यूनतम हुन्छ। यिनका विरुवालाई खेती गरिन्छ भने टीएचसीको मात्रा  उस्तै न्यून हुने क्यानाविस स्याटिभा, उपप्रजाति स्याटिभा र प्रकार स्पोंटानियामा  मुख्यतः जंगलमा उम्रन्छन्। यसैगरी खेती गरिनेमध्ये क्यानाविस इन्डिका, उपप्रजाति इन्डिका र प्रकार इन्डिकामा टीएचसीको मात्रा ज्यादा हुन्छ भने उस्तै विशेषता हुने क्यानाविस इन्डिका, उपप्रजाति इन्डिका र प्रकार काफिरइस्टाकिका जंगलमा उम्रन्छन्।

गाँजा प्रयोग र नियन्त्रणको विगत
पहिला गाँजा विश्वभरि नै खुलमखुला प्रयोग हुँदै आएको थियो। तर सन् १९६१ मा लागुऔषधसम्बन्धी संयुक्त राष्ट्र संघको एकल महासन्धिको धारा ४९ मा गाँजालाई ‘चिकित्सा र वैज्ञानिक उद्देश्यबाहेक अन्य कुनै पनि अवस्थामा २५ वर्षभित्र पूरै अन्त्य गर्ने गरी प्रयोगलाई जतिसक्दो चाँडो बन्द गरिनु पर्छ’ भनेर सम्बोधन गरिएपश्चात् क्रमश: यसलाई लागुऔषधका रूपमा नियन्त्रित नजरले हेर्न थालियो। नेपालमा भने सन् १९७३ अर्थात् २०३० साल अघिसम्म गाँजाको प्रयोग निर्वाध रूपमा गरिन्थ्यो। देशका धेरै ठाउँहरूमा यसको खेतीसमेत गरिन्थ्यो र अनुमति पाएका व्यापारीहरूले राजधानी काठमाडौँसम्म पुर्‍याएर बेच्ने पनि गर्दथे। 

विशेषत: काठमाडौँको झोँछेमा गुणस्तरीय गाँजा र चरेश पाइने भएका कारण नै त्यो समयमा हिप्पीहरूमाझ झोँछेले ‘फ्रिक स्ट्रिट’ को नामले ख्याति कमाएको थियो। नेपाली युवाहरूले विस्तारै हिप्पीहरूको जीवनशैली पछ्याउन थालेपछि यहाँ गाँजाको मनोरञ्जनात्मक प्रयोग तीव्र गतिमा बढ्दै गयो। फलस्वरूप नेपाल सरकारले २०३० साल साउनदेखि गाँजा खेती, यसको किनबेच र बिक्रीवितरण गर्ने सबै इजाजतपत्र खारेज गर्‍यो। त्यसपछि २०३३ भदौदेखि लागुऔषध नियन्त्रण ऐन (२०३३) ले नेपालमा गाँजालाई गैरकानूनी बनायो।

अन्तर्राष्ट्रिय जगतमा सन् १९९२ अर्थात् २०४९ सालसम्ममा प्रायजसो देशहरूमा गाँजा अवैधानिक भइसकेको थियो। तर अमेरिकामा बालरोग विशेषज्ञ र सार्वजनिक स्वास्थ्य प्रशासक डाक्टर जोयसेलिन एल्डर्सले भने सन् १९९३ मा गाँजा वैधानिक बनाउनुपर्छ भन्ने बहसको शुरूआत गरिन्। उनको तर्क थियो, "यदि गाँजाजस्तो (वानस्पतिक) लागुपदार्थलाई कानूनी मान्यता दिइयो भने यसले हाम्रो अपराध दरलाई उल्लेखनीय रूपमा कम गर्नेछ।" सँगसँगै गाँजाको बारेमा वैज्ञानिकहरूले पनि द्रूत गतिमा अध्ययन-अनुसन्धानहरू अघि बढाइरहेका थिए। 

गाँजाको उपादेयताका कारण अमेरिकाको क्यालिफोर्निया राज्यले सन् १९९६ मा ‘कुनै पनि मानिसले रोगका लागि डाक्टरको सिफारिसअनुरूप गाँजा प्राप्त र प्रयोग गर्न सक्ने’ भन्दै एक विशेष किसिमको अधिकारको प्रत्यायोजन गर्‍यो। यसैलाई आधार मान्दै अहिलेसम्म अमेरिकामा चिकित्सा प्रयोजनका लागि ३८ राज्य, चार क्षेत्र र कोलम्बिया जिल्लामा गाँजाको प्रयोग वैधानिक रूपमा खुला छ, तर संघीयस्तरमा भने यो प्रतिबन्धित नै छ। अन्य १० राज्यहरूमा टीएचसीको मात्रा सीमित गर्नुपर्ने कानूनहरू पनि प्रयोगमा छन्। अहिलेसम्म संसारका ४९ देशहरूमा उपचारका निम्ति गाँजालाई वैध गरिएको छ भने अन्य केही सीमित देशहरूमा  मनोरञ्जनका लागि मात्र प्रयोग गर्न पाइन्छ। ती देशहरू उरुग्वे, जर्जिया, दक्षिण अफ्रिका, क्यानडा, मेक्सिको, माल्टा, थाइल्यान्ड, लक्जेम्बर्ग र नेदरल्यान्ड हुन्। 

गाँजालाई पुन: वैध बनाउने मामला: सजिलो बहस, जटिल गृहकार्य 
गाँजालाई कुन रूपमा वैध गर्नुपर्छ भन्ने बहसबाट नेपाल पनि अछुतो रहन सकेन। केही सीमित व्यक्तिहरूले विभिन्न मिडियामा गाँजाको उपयोगबारे चर्चा गर्दै गर्दा एकाएक सांसद शेरबहादुर तामाङले २०७६ फागुन १९ मा ‘नेपालमा गाँजा खेती नियमन र व्यवस्थापन’ नामक एक गैरसरकारी विधेयक संसदमा दर्ता गर्दै देशमा गाँजा खेतीलाई कानूनी मान्यता दिनुपर्ने माग राखेका थिए। त्यो विधेयकको आशय हामीले यसो गर्दा गाँजा एक आकर्षक नगदेबाली बन्ने र प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुन सक्छ भन्ने थियो। 

हुन त परापूर्वकालदेखि आजसम्म पनि हामीले कुनै न कुनै रूपमा गाँजाको प्रयोग गर्दै आइरहेका छौँ। त्यसैले हामी गाँजाको लम्बेतान गुणगान गाउन पछि पर्दैनौँ। तर पनि गाँजालाई पुन: वैध बनाउन निकै नै गृहकार्य गर्नु जरुरी देखिन्छ। विभिन्न देशहरूमा निश्चित र कडा कानूनी प्रावधानको व्यवस्थासहित गाँजालाई वैध बनाइएको छ। नेपालमा कुनै तयारीबिना त्यसै गाँजालाई वैधानिकता दिइँदा कतै देश ‘बनाना रिपब्लिक’ भनेझैँ ‘क्यानाविस रिपब्लिक’ वा ‘गाँजा गणतन्त्र’ बन्ने त होइन? यसबारे गहन विचारविमर्श गर्नु जरुरी छ।

‘बनाना रिपब्लिक’ को इतिहास सन् १८७० मा अमेरिकामा भएको केराको व्यापारसँगै शुरू भएको थियो। उसबखत लोरेन्जो डाउ बेकर भन्ने व्यक्तिले जमैकाबाट केरा ल्याएर अमेरिकाको बोस्टनमा बेच्दा एक हजार प्रतिशत नाफा हुने गर्थ्यो। त्यति धेरै नाफा हुँदा व्यक्तिबाट शुरू भएको केरा व्यापार सन् १९३० सम्म आइपुग्दा युनाइटेड फ्रुट कम्पनीले अमेरिकामा केराको ८०-९० प्रतिशत बजार नियन्त्रण गर्न पुग्यो। क्रमश: १९औँ शताब्दीको उत्तरार्द्धमा आइपुग्दासम्म कम्तीमा तीन अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले  केराको खेती, उत्पादन र निर्यातमा प्रभुत्व जमाउन थाले र ती कम्पनीहरूले होन्डुरसको सडक, रेल र बन्दरगाह पूर्ण रूपले नियन्त्रण गर्न पुगे। 

बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो प्रभुत्व जमाउँदै गर्दा अमेरिकी निजी सैन्य संगठनका ‘जनरल’ ली क्रिसमसले सन् १९१२ मा कुयामेल फ्रुट कम्पनी र अन्य अन्तर्राष्ट्रिय व्यापारीको हितको निम्ति होन्डुरसमा एक सैन्य सरकारको स्थापना गरे। जनरल ली क्रिसमसले उक्त सरकारलाई पुन: पदस्थ गरी पूर्ण सैन्य सरकारको स्थापना गरे। केरा व्यापारमा प्रभुत्व जमाएको कुयामेल फ्रुट कम्पनीको सहयोगमा गरिएको सैन्य 'कु'बारे अमेरिका मौन रह्यो। 

केरा व्यापारको पृष्ठभूमिमा भएको राजनीतिक परिवर्तनले त्यहाँ अस्थिरता उत्पन्न भयो। यसले गर्दा होन्डुरसको अर्थतन्त्र खस्कँदै गयो। देशको राजनीतिक र आर्थिक मियो केरा व्यापारी कम्पनीहरूको हातमा पुग्यो। यस्तै ग्वाटेमालामा पनि सन् १९५४ मा एक 'कु'मार्फत् सैन्य सरकारको उदय भयो। त्यसपश्चात् राजनीतिक र आर्थिक मियो सीमित केरा, कफी र उखु व्यापारीहरूको हातमा पुग्यो। यी दुई देशमा जस्तै कुनै देशको आफ्नो प्राकृतिक स्रोतको उपयोग निश्चित व्यापारिक कुलीन वर्ग वा बहुराष्ट्रिय कम्पनीहरूको हातमा गई उनीहरूले नै देशको राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापहरूमा नियन्त्रण गर्ने अवस्था आयो भने त्यस्तो देशलाई वर्णन गर्न सांकेतिक रूपमा ‘बनाना रिपब्लिक’ वा ‘केरा गणतन्त्र’ भन्ने गरिन्छ।  

हाम्रो देशमा धेरैजसो नियम-कानूनको कार्यान्वयन खुकुलो छ। देशको अर्थतन्त्र खुला नीतिको नाममा निश्चित व्यापारिक घरानाहरूको हातमा पुगेको छ। देशमा ठूला-ठूला भ्रष्टाचार र तस्करी काण्डहरू व्याप्त छन्। विभिन्न राजनितिक दलका स्वार्थले छानबिनहरू पनि निस्कर्षमा पुग्न सकेका छैनन्। अनेकौँ काण्डहरूमा संलग्न केही व्यक्तिहरूले कानूनी दायरामै नआई ‘पावर’को आडमा उन्मुक्ति पाइरहेका छन्। देशमा एकातिर कानून कार्यान्वयनमा प्रशस्त शंका छ भने अर्कोतिर हामीसँग आवश्यक गाँजाको पहिचान, उत्पादन, परीक्षण र व्यापारीकरणमा आवश्यक पर्ने स्रोत-साधन र दक्ष जनशक्तिको पनि उत्तिकै अभाव छ। 

यदि तत्कालै कानूनी रूपमा गाँजा वैध गरियो भने यसले हामीलाई फाइदाभन्दा बढी बेफाइदा पुग्न सक्छ। गाँजालाई अहिले नै फुकुवा गरियो भने हामीले धेरै समस्याहरू व्यहोर्नुपर्ने हुनसक्छ। जस्तो कि अहिलेको अवस्थामा हामीले गाँजामा पाइने रासायनिक तत्वहरूको मापन कसरी गर्ने? केही सरकारी र निजी परीक्षण प्रयोगशालाहरू भए पनि ती सबै निष्क्रिय जस्तै छन्। केही सक्रिय प्रयोगशालाहरूमा चरम आर्थिक अभाव र दक्ष जनशक्ति अभाव व्याप्त छ। 

यस्तो अवस्थामा हामीले कसरी उत्पादित गाँजामा टीएचसी र सीबीडीहरूको मात्रा नाप्ने? देशको उत्पादित गाँजा कुन देशको कुन क्षेत्र वा विधिबाट उत्पादन भएको भनेर कसरी छुट्याउने? अनि अन्तर्राष्ट्रिय जगतमा हाम्रा उत्पादनहरूको गुणस्तर के आधारमा सुनिश्चित गर्ने? त्यसैले यस्ता कुराहरूको बारेमा हामीले रचनात्मक र मिहिन ढंगले विभिन्न वैज्ञानिक तथ्यांक र स्वतन्त्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको विचारसहित बहस अगाडि बढाउन जरुरी छ। आफू पदमा हुँदा ‘तातै खाऊँ, जल्दै मरूँ’ नगरी 'हतारको काम लतरपतर' नगर्ने पो हो कि। 

हामी भविष्यमा हुने फाइदा-बेफाइदाबारे बहस गरौँ। जनशक्ति उत्पादन गरौँ। यथेष्ट रूपमा चाहिने उपकरणहरू किनौँ। गाँजासँग सम्बन्धित विभिन्न उत्पादनहरूको परीक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सके केही दर्जन, नसके पनि केही संख्यामा प्रयोगशालाहरू खोलौँ। यसरी यथेष्ट रूपमा गाँजाको बहस र पूर्ण गृहकार्य गर्दा आवश्यक पर्ने नियम र कानूनहरू राम्रोसँग तयार हुन्छन्। 

यी विविध कुराहरूमाथि छलफल र यथेष्ट गृहकार्य नै नगरी गाँजालाई कानूनी रूपमा वैधानिकता दिन अघि सर्नु हितकर हुँदैन। त्यस्तो भएमा हामीले जानी नजानी गाँजाको निर्यात होन्डुरस र ग्वाटेमालाको ‘बनाना रिपब्लिक’ जस्तै सीमित व्यापारिक कुलीन वर्ग वा बलिया बहुराष्ट्रिय कम्पनीहरूको हातमा दिई देशलाई ‘क्यानाविस रिपब्लिक’ वा ‘गाँजा गणतन्त्र’मा रूपान्तरण गर्न पुग्नेछौँ। कुनै दिन देशमा निर्वाध रूपले गाँजाको वैधानिक व्यापार होस्। सबैलाई लाभ होस्, तर अभिशाप नबनोस्।


रोकाया चेक रिपब्लिकस्थित इन्स्टिच्युट अफ बोटनी तथा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटको चेक एकेडेमी अफ साइन्सेजमा कार्यरत छन्।


सम्बन्धित सामग्री