Saturday, May 11, 2024

-->

हाम्रा वनस्पतिहरूको अपूरो अध्ययनलाई कसरी पूरा गर्ने?

पछिल्ला केही दशकयता पर्याप्त प्रशिक्षण र अध्ययनले गर्दा नेपाली वनस्पति विज्ञहरू पनि विदेशी विज्ञसरह वनस्पतिहरूको सही पहिचान, संकलन र तिनकाबारे पूर्ण वैज्ञानिक विवरण लेख्न सक्ने भएका छन्।

हाम्रा वनस्पतिहरूको अपूरो अध्ययनलाई कसरी पूरा गर्ने

वनस्पति साधारणत: दुई किसिमका हुन्छन्– फूल नफुल्ने (क्रिप्टगाम्स) र फूल फुल्ने (एन्जिओस्पर्म)। फूल नफुल्ने वर्गमा लेउ (अल्गी), ढुसी र च्याउ (फंगी) , काई (ब्रायोफाइट्स), झ्याउ (लिचन) र उन्यू र उन्यू प्रजाति (फर्न एन्ड फर्न अलाइज् स्पिसेस)का वनस्पति पर्छन् भने फूल फुल्ने वर्गमा कोणधारी (जिम्नोस्पर्म) र सपुष्पक वा फूल र बिउ हुने (एन्जिओस्पर्म) वनस्पति पर्छन्। 

नेपाल यी सबै प्रकारका वनस्पतिमा सम्पन्न छ। पृथ्वीको कुल क्षेत्रफलको ०.१ प्रतिशत मात्रै ओगटेको नेपाल जैविक विविधताको आधारमा विश्वको ४९ औँ स्थानमा पर्छ। संसारमा पाइने वनस्पतिमध्ये ३.२ प्रतिशत वनस्पति नेपालमा पाइन्छन्। फूल फुल्ने वनस्पति प्रजातिको कुरा गर्दा हाम्रो देश विश्वव्यापी रूपमा २७ औँ र एशियामा १० औँ स्थानमा छ। यहाँ एक हजार एक प्रकारका लेउ, दुई हजार १२ प्रकारका ढुसी अनि च्याउ, एक हजार २१७ प्रकारका काइ, ५५० प्रकारका उन्यू र उन्यू प्रजातिका वनस्पति, २६ प्रकारका कोणधारी र पाँच हजार ६६ प्रजातिका सपुष्पक वनस्पति पाइन्छन्।

‘एक विशेष क्षेत्र, स्थान या भौगोलिक स्थलका वनस्पति’ वा ‘कुनै देश, ठाउँ विशेष’को वनस्पतिको विवरणलाई ‘फ्लोरा’ भनिन्छ। फ्लोराको अध्ययन विशेषतः वनस्पतिशास्त्रीले गर्छन्। नेपालको फ्लोराको अध्ययनको इतिहास लामो छ। सर्वप्रथम नेपाली वनस्पतिको वैज्ञानिक अध्ययन स्कटल्यान्डका चिकित्सक फ्रान्सिस बुखानन्–हामिल्टनले गरेका थिए। उनी सन् १८०२ मा रक्सौलबाट मकवानपुर हुँदै काठमाडौँ आएर सन् १८०३ मा फर्केका थिए। 

इस्ट इन्डिया कम्पनीका रेजिडेन्ट कोर्ट अफिसर डाक्टर फ्रान्सिस बुखानन्–हामिल्टनले नेपाल भ्रमणताका काठमाडौँमा बसेर उपत्यका वरपरका धेरै वनस्पति संकलन गरे। त्यसपछि १८२०–१८२१ मा अर्का रेजिडेन्ट कोर्ट अफिसर नाथानीयल वालिखले नौ महिनासम्म काठमाडौँमै बसेर पुनः उपत्यका वरपरका र उत्तरमा पर्ने तीर्थस्थल गोसाइँकुण्डसम्मका वनस्पति संकलन गरे। बुखानन्–हामिल्टन र वालिखले संकलन गरेका वनस्पतिहरूका नमूना हेरेर डेविड डनले सन् १८२५ मा करिब ७०० फूल फुल्ने वनस्पतिबारे ल्याटिन भाषामा लेखिएको पहिलो नेपाली फ्लोरा ‘प्रोडुमस फ्लोरी नेपालेन्सिस्’ प्रकाशन गरे। नेपालमा पाइने वनस्पतिबारे पूर्ण वैज्ञानिक विधिबाट लेखिएको यो नै प्रथम किताब हो। 

सन् १९५१ मा राणा शासनको पतनपछि विदेशीलाई नेपाल खुला गरियो। त्यसपछि धेरै विदेशीले नेपालको विभिन्न भू–भागमा भ्रमण गरे र विभिन्न वनस्पति संकलन गरे। विशेषतः बेलायती, जापानी, फ्रान्सेली, अमेरिकी, स्विस, जर्मन, भारतीय, डेनिस, स्विडिस र चिनियाँले नेपालमा पाइने वनस्पति संकलन गरेका छन् र संकलन गर्ने क्रम जारी छ। यसरी लामो समयसम्म वानस्पतिक अध्ययन गरेका बेलायति र सन् १९५१ देखि घनिभूत रूपमा अध्ययन शुरू गरेका जापानीले होडबाजी गर्दै कैयौँ नेपाली वनस्पतिबारे लेखहरू र स्थानीय फ्लोराहरू प्रकाशन गरे। 

फ्लोराको यथेष्ट विवरण संकलन भएकाले अन्ततः सन् १९८७ मा उनीहरूले अनौपचारिक रूपमा ‘फ्लोरा अफ नेपाल’प्रकाशन गर्नुपर्छ भनी छलफल अगाडि बढाए। तर सन् १९९३ मा मात्र आएर यो औपचारिक विषय बन्न पुग्यो। जापानमा सम्पन्न १५औँ बोटानिकल कांग्रेसमा डा. हिडाइकी ओहबाले ‘फ्लोरा अफ नेपाल’बारे छलफल अघि बढाए। त्यो छलफलले जापान र बेलायतले नेपालसँग मिलेर ‘फ्लोरा अफ नेपाल’लेख्नु पर्छ र त्यसका लागि बृहत् ‘अन्तर्राष्ट्रिय सहकारी परियोजना’ अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यो। सो निष्कर्ष अत्यन्त सकारात्मक भए पनि उक्त प्रस्तावले तत्कालै मूर्तरूप लिन सकेन।

अन्तर्राष्ट्रिय जगत‍्मा नेपालका वनस्पतिहरूको कुरा चलिरहँदा नेपालमा भने वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभागले सन् १९९७ मा आफ्नै साधनस्रोतमा ‘फ्लोरा अफ नेपाल’सम्बन्धी बृहत् योजना अघि सार्‍यो। राष्ट्रिय योजना आयोगबाट ‘फ्लोरा अफ नेपाल’ योजना स्वीकृत पनि गरायो। त्यो योजनाले सन् १९९७ देखि २००५ सम्म १० भागमा नेपालमा पाइने सम्पूर्ण वनस्पतिको विवरण प्रकाशन गर्ने लक्ष्य उल्लेख गर्‍यो। त्यो योजनाको दिशानिर्देशमा वनस्पतिहरूको वैज्ञानिक विवरण कसरी लेख्ने र खर्च हुने बजेटको समेत अनुमानित तथ्यांक तयार गर्‍यो। ‘फ्लोरा अफ नेपाल’का लागि आवश्यक पर्ने बेग्लै कार्यालय पनि वनस्पति विभागले स्थापना गर्‍यो  र केही वनस्पतिको तथ्यांक राख्ने काम पनि  शुरू गर्‍यो।

देशबाहिर भने १९९९ अगस्ट ५ मा सेन्ट लुई, अमेरिकामा आयोजना गरिएको १६ औँ अन्तर्राष्ट्रिय बोटानिकल कांग्रेसमा ‘फ्लोरा अफ नेपाल’ तेस्रो कार्यशाला नामक एउटा छुट्टै सत्र सञ्चालन गरियो। त्यो छलफलपश्चात् बेलायती र जापानीहरूले अघि सारेको ‘फ्लोरा अफ नेपाल’ परियोजनाले नयाँ रूप लियो। नेपाल फ्लोरा ‘अन्तर्राष्ट्रिय सहकारी परियोजना’ अनुरूप प्रकाशन गर्नुपर्छ भन्दै नेपाल, बेलायत र जापानबीच एक समझदारी–पत्रमा हस्ताक्षरसमेत भयो।

यसका लागि बेलायतबाट द न्याचरल हिस्ट्री म्युजियम र रोयल बोटानिक गार्डन एडिनबर्ग, जापानबाट टोकियो विश्वविद्यालय र नेपालबाट वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभाग नभएर तत्कालीन उपकुलपतिको अगुवाइमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सहभागी हुने भन्ने कुरा उल्लेख गरियो।

अन्तर्राष्ट्रिय परियोजनाको परिकल्पनाअनुसार ‘फ्लोरा अफ नेपाल’ लेख्न आवश्यक पर्ने सम्पादक भने सन् २००२ मेमा रोयल बोटानिक गार्डेन एडिनबर्गमा भएको पहिलो सम्पादकीय बैठकले तोकेको थियो। उक्त बैठकमा नेपाल, जापान, बेलायत र केही अमेरिकाका सदस्यहरूले भाग लिएका थिए। यो बैठकमा रोयल बोटानिक गार्डेन एडिनबर्गले आफू ‘फ्लोरा अफ नेपाल’को संगठनात्मक मुख्यालयको रूपमा रहन सहमत जनायो। 

बैठकमा रोयल बोटानिक गार्डेन एडिनबर्गको तर्फबाट र जापानको तर्फबाट एक–एक जना सम्पादक मनोनयन गरियो। पछि नेपालबाट वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागका प्रतिनिधिको रूपमा एक जना र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागको प्रतिनिधिको रूपमा एक जना, बेलायत र जापानबाट पुनः थप एक–एक जना सम्पादकहरू थपियो। पहिलो बैठकपछि दोस्रो (२००६ मा) र तेस्रो (२०१० मा) बैठक काठमाडौँमा, चौथो (२०१२ मा) टोकियो र पाँचौँ (२०१३) पुनः काठमाडौँमा भएको थियो। २०१५ मार्चमा काठमाडौँमा भएको छैटौँ अन्तर्राष्ट्रिय सम्पादकीय मण्डलको बैठकले जापान, बेलायत र नेपालमा फ्लोरा अफ नेपालको क्रमशः ४, ७ र १० औँ भागमा काम भइरहेको यी भागहरूको प्रकाशनका लागि तीव्रता दिनुपर्ने निष्कर्ष निकाल्यो। यद्यपि उक्त कार्यले आजसम्म पनि पूर्णता पाएको छैन र यी भागहरू पनि प्रकाशन भएका छैनन्।

सन् १९९९ मा समझदारी–पत्रमा नेपालका तर्फबाट नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका तत्कालीन उपकुलपतिले वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभागलाई अघि नसारेर आफ्नो संस्थालाई मूल सहभागीका रूपमा अघि सारेर यसपछि नेपालीको तर्फबाट एकाएक ‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान’ र ‘फ्लोरा अफ नेपाल’परियोजनामा प्रमुख साझेदारका रूपमा झुल्किए।  सन् १९९७ वनस्पति विभागले अघि सारेको योजनालाई वास्तै नगरी किन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका तत्कालीन उपकुलपतिले १६औँ अन्तर्राष्ट्रिय बोटानिकल कांग्रेसमा आफ्नो संस्थालाई प्रमुख पार्टनर बनाए? वनस्पति विभागलाई किन त्यस योजनाको प्रमुख हुनबाट रोके? 

न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग ‘फ्लोरा’ लेख्न आवश्यक पर्ने जनशक्ति थियो न त ‘फ्लोरा’ लेख्न प्रयोग हुने वनस्पतिका नमूनाहरू नै थिए। यद्यपि यो स्थिति हालसम्म पनि कायम छ। कतै प्रमुख पार्टनरका रूपमा रहँदा ‘फ्लोरा’का प्रत्येक भागमा लेखकका वा सम्पादकका रूपमा आफ्नो नाम लेखिने र एक बृहत् अन्तर्राष्ट्रिय परियोजनाबाट आर्जन हुने आकर्षक आर्थिक लाभका कारण त तत्कालीन उपकुलपतिले आफ्नो अग्रसरता देखाएका होइनन्? 

आफूहरूसँग ‘फ्लोरा’ लेख्न आवश्यक पर्ने जनशक्ति र वनस्पतिका नमूना भएका वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभाग र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागले आ–आफ्नो संस्थालाई अघि सार्न नसक्नु पनि सोचनीय छ। के साँच्चै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका तत्कालीन उपकुलपतिको व्यक्तित्व सामु वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभाग र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागका प्रमुखहरू निरीह थिए त? के उनीहरू नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका तत्कालीन उपकुलपतिको पछि लागेर नाम र दाम दुवै कमाउन चाहन्थे? के उनीहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आफ्नो साझेदारी दाबी गर्न पूर्णतः असक्षम थिए त?  यस्ता विषयमा व्यापक रूपमा छलफल गर्न तथा अग्रगामी निष्कर्ष निकाल्न जरुरी छ।

योजनामा मात्र सीमित रहेको ‘फ्लोरा अफ नेपाल’परियोजनामा फेरि सन् २००१ नोभेम्बरमा एकाएक अर्को परिवर्तन आयो। नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठानले ‘फ्लोरा अफ नेपाल’ अन्तरराष्ट्रिय परियोजनाको सहयोगीका रूपमा आफ्नो संलग्नतामा वन तथा भू–संरक्षण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच अर्को समझदारी–पत्रमा हस्ताक्षर गरायो। मन्त्रालयको वनस्पति विभागले सन् १९९७ मा आफूले तयार गरेको र राष्ट्रिय योजना आयोगबाट स्वीकृत गराइसकेको ‘फ्लोरा अफ नेपाल’योजनालाई लत्त्याउँदै पछि गठन भएको अर्को गर्भमा मात्र सीमित रहेको अन्तर्राष्ट्रिय परियोजना ‘फ्लोरा अफ नेपाल’मा सहभागिता देखाउनुले अवश्य पनि ‘फ्लोरा अफ नेपाल’ लेख्ने काम एक कदम पछाडि सार्नु नै थियो। 

त्यसपछि वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागले ‘फ्लोरा’को निम्ति स्थापना गरेको कार्यालयमा सदा तालाबन्दी हुँदै निष्क्रिय नै बन्यो। तर वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागको महानिर्देशक फेरिएसँगै बेला–बेलामा माथि उल्लेखित तत्कालीन पदेन नेपाली सम्पादकहरू भने ‘फ्लोरा अफ नेपाल’ को नाममा आंशिक रूपमा जागिरेका रूपमा भर्ना हुने गरेका छन्। तर आजसम्म ती आंशिक जागिरले कुनै पनि महत्त्वपूर्ण परिणाम भने निकाल्न सकेको देखिँदैन।

सन् २००१ को सम्झौतामा नेपाली हस्ताक्षरकारी कार्यकारी निकायहरूको कार्य विभाजन गरेको देखिए तापनि ती निकायहरूले सम्झौताको बेलादेखि नै अपनत्व नलिएको देखिन्छ। समझदारी–पत्रमा हस्ताक्षर गरेलगत्तै वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागका वनस्पतिविज्ञ महानिर्देशकलाई मन्त्रालयमा सरुवा गरियो र वनकर्मीलाई वनस्पति विभागको नयाँ महानिर्देशकका रूपमा नियुक्ति गरियो। त्यसपछि ती महानिर्देशकले ‘फ्लोरा अफ नेपाल’को मूल मर्मअनुसार काम गर्नै सकेनन् र यो स्थिति आजसम्म पनि कायम छ। बीचमा एक दुई जना वनस्पतिविज्ञ महानिर्देशक भए तापनि खासै उनीले ‘फ्लोरा अफ नेपाल’का लागि महत्त्वपूर्ण भूमिका खेल्न सकेनन्।

सन् १९९९ मा अन्तर्राष्ट्रिय बोटानिकल कांग्रेसमा अघि बढेको ‘फ्लोरा अफ नेपाल’ परियोजनामा बेलायती र जापानीहरू पनि सशक्त रूपमा अगाडि बढ्न सकेनन्। हाल बेलायतस्थित द न्याचुरल हिस्ट्री म्युजियम, जापानी र नेपालीहरू पूर्णतः निष्क्रिय जस्तै छन्। एक मात्र साझेदार रोयल बोटानिक गार्डेन इडिन्बर्घले मात्र सन् २००१–२००३ बाट अत्यन्त शिथिल रूपमा काम अघि बढाएको देखिन्छ। त्यसैले ‘फ्लोरा अफ नेपाल’ परियोजनाले अनेकौं ‘ट्विस्ट एन्ड टर्न’ हुँदै अहिलेसम्म जम्मा दुई किताबहरू ‘फ्लोरा अफ नेपाल, भोल्युम ३’ (सन् २०११ मा) र ‘कम्प्यानियन भोल्युम’ (सन् २०१७ मा) प्रकाशन गर्न सफल भएको छ। ‘फ्लोरा अफ नेपाल, भोल्युम ३’ मा विभिन्न वनस्पतिहरूको विवरण छ भने ‘कम्प्यानियन भोल्युम’ मा नेपाल हिमालयको प्राकृतिक इतिहास, पर्यावरण र वातावरणसम्बन्धी विषयहरू समेटिएका छन्।

यस्तै कहिलेकाहीँ फ्लोरा अफ नेपाल परियोजनाको अस्तित्व देखाउन रोयल बोटानिक गार्डेन इडिन्बर्घ र नेपालस्थित वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभाग मिलेर यदाकदा ‘फ्लोरा अफ नेपाल’का लागि भन्दै गोष्ठी र सम्मलेन गरेको सामाजिक सञ्जालहरूमा समाचार र फोटो राख्ने गरेका छन्। अनि वनस्पति विभागका केही उच्च पदस्थ पदाधिकारीहरूलाई रोयल बोटानिक गार्डेन इडिन्बर्घले बेलायत भ्रमण गराउँछ।

साझेदारी संस्थाहरूको शिथिलताले गर्दा नेपाली सम्पादकहरूमा पनि निराशा पैदा भएको देखिन्छ। फलस्वरूप त्यतिबेला वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागको र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागको प्रतिनिधिको रूपमा मनोनयनमा परेका दुवै नेपाली सम्पादकहरूले कुनै पनि आपसी समन्वयविना आ–आफ्नै समूह बनाएर छुट्टाछुट्टै नेपाली सपुष्पक वनस्पतिहरूको सूचीको विवरण आफ्नो–आफ्नो जिन्दगीभरिको काम भन्दै किताबको रूपमा प्रकाशन गरेका छन्। यद्यपि ती सूचीहरूमा समावेश गरिएका धेरै वनस्पतिहरूका नाम भने क्रमशः सन् १९७८, १९७९ र १९८२  मा प्रकाशन भएका ‘एन इनुम्रेसन अफ द फ्लावरिंग प्लान्ट्स अफ नेपाल’का तीन भागहरू र सन् २००१ मा प्रकाशन भएको ‘एनोटेटेड चेकलिस्ट अफ द फ्लावरिंग प्लान्ट्स अफ नेपाल’ मा यथेष्ट रूपमा समावेश छन्। 

यस्तो हुनुमा कतै नेपाली सम्पादकहरूबीच नै मनमुटाब त भएको होइन? सन् १९९९ मा समझदारी–पत्रमा ‘फ्लोरा अफ नेपाल’ परियोजनामा प्रमुख साझेदारका रूपमा देखिएको नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्न नसकेको प्रष्ट हुन्छ। एकातिर फ्लोरा अफ नेपालको सम्पादकको ‘ट्याग’ झुन्ड्याउने र अर्कोतिर ‘फ्लोरा अफ नेपाल’को लागि भनेर संकलन गरेको आधारभूत तथ्यांक प्रयोग गरेर आफूखुशी किताब प्रकाशन गर्ने यी दुई सम्पादकलाई हामीले के भन्ने? कतै उनीहरूले प्रतिनिधित्व गर्ने विभागहरूले ‘तिमीहरू यहाँ काम गर्दा हाम्रा प्रतिनिधि सम्पादकहरू थियौँ, अब सेवानिवृत्त भएपछि स्वतः फ्लोरा अफ नेपालको परियोजनाबाट पनि सेवानिवृत्त भयौँ’ भनिएको त होइन?

अहिलेसम्मको परिस्थितिले के देखाउँछ भने नेपालको फ्लोराको प्रगति न्यून छ र यो परियोजना लगभग निष्क्रिय जस्तै छ। नेपालमा विभिन्न वनस्पतिको वासस्थानको विनाश र जलवायु परिवर्तनका कारण जैविक विविधतामा आएको डरलाग्दो गिरावटलाई सम्बोधन गर्न र आवश्यक तथ्यांकहरूको अद्यावधिक गर्न जरुरी छ। त्यसैले नेपाल सरकारले अब जसरी भए पनि ‘फ्लोरा अफ नेपाल’ प्रकाशन गर्न आक्रामक पाइला चाल्न जरुरी छ। सरकारले सन् २००१ मा गरेको समझदारी–पत्र किन पूरा भएन भनेर व्यापक छलफल गर्दै एक अर्को निर्णय गर्न जरुरी छ। समयमा काम सम्पन्न नगर्ने असक्षम साझेदारी संस्थाहरू र पुराना सम्पादन मण्डलमा रहेका व्यक्तिहरूले निरन्तर हर्ताकर्ता हुन उपयुक्त नदेखिएकाले उनीहरूलाई निश्चित समयावधि तोकेर 'कि काम गर नत्र बाटो छोड' भन्न सक्नुपर्छ। अब नेपालले आफैँ र आफ्नै स्रोतसाधनमा ‘नेपाल फ्लोरा’लेख्न द्रुत गतिमा एक स्वायत्त संयन्त्र बनाउनु पर्छ। यो अत्यन्त  आवश्यक छ। 

स्वायत्त संयन्त्र बनाउन किन पनि जरुरी छ भने यो पूर्णतः सरकारी नियन्त्रण भयो भने विभिन्न नियम कानुनले अवरोध पुग्न सक्छ। यद्यपि यसको समन्वय भने वन तथा भू–संरक्षण मन्त्रालयको वनस्पति विभागले गर्नु उपयुक्त हुन्छ। किनकि, यस विभागअन्तर्गत रहेको ‘राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला’ गोदावरीमा पहिचान भएका करिब ४४ सय प्रजातिका जम्माजम्मी १ लाख ६० हजारप्रति वनस्पतिका नमूना संगृहीत छन्। ‘फ्लोरा’ लेख्दा पहिचान हुन बाँकी नमूनाबाट सयौँ प्रजाति थपिन सक्छन्। उल्लेखित संख्यामा रहेका नमूनाहरू हेर्दा नेपाल आफैँ ‘फ्लोरा अफ नेपाल’ लेख्न सक्छ भन्ने बुझिन्छ। यसका साथ साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागलाई पनि महत्त्वपूर्ण भूमिका दिएर समन्वयकारी साझेदार बनाउन जरुरी छ। किनकि यस विभागअन्तर्गत रहेको ‘त्रिभुवन विश्वविद्यालय हर्वारियम’कीर्तिपुरमा करिब २२ हजारप्रति वनस्पतिका नमूना संगृहीत छन्  र  यो विभागले निरन्तर रूपमा दक्ष जनशक्ति पनि वर्षौँदेखि उत्पादन गर्दै आएको छ।

‘फ्लोरा अफ नेपाल’लेख्न चीनको ‘फ्लोरा अफ चाइना’का लागि उपयोग भएको ढाँचा अवलम्बन गर्न उपयुक्त देखिन्छ। विदेशीहरूसँग मिलेर लेखिए पनि ‘फ्लोरा अफ चाइना’मा चिनियाँ लेखक वा सम्पादकहरूको नामअगाडि र विदेशी विज्ञहरूको नामपछाडि रहने संरचनामा काम सम्पन्न भएको देखिन्छ। नेपालमा पनि यही मोडल प्रयोग गरी काम सम्पन्न गर्नेतिर अघि बढे राम्रो हुन्छ। पछिल्ला केही दशकयता पर्याप्त प्रशिक्षण र अध्ययनले गर्दा नेपाली वनस्पति विज्ञहरूले पनि विदेशी विज्ञहरू जति नै सक्षम भई वनस्पतिहरूको सही पहिचान, संकलन र तिनका बारेमा आवश्यक पर्ने पूर्ण वैज्ञानिक विवरण लेख्न सक्ने भएका छन्। यो नवजनशक्तिलाई सरकारले उपयोग गर्न सके भविष्यमा हामीले फेरि पनि ‘किन हाम्रा वनस्पतिहरूको अपूरो अध्ययन?’ भनेर प्रश्न गरिरहनु पर्ने स्थिति आउँदैनथ्यो कि?


रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिर्सच इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा कार्यरत छन्।


सम्बन्धित सामग्री