Monday, May 13, 2024

-->

अन्तर्वार्ता
'खेल संघको नेतृत्वमा जाने मान्छे नै लोभी भएपछि कसको के लाग्छ र?'

'अहिलेको क्रिकेटको अध्यक्ष (चतुरबहादुर चन्द)इन्टरनेस्नल फोरममा बसेर फेस टू फेस कुरा गर्नै सक्नुहुन्न। पहिला जयकुमार नाथ शाह, विनयराज पाण्डे कड्किएर बोल्नुहुन्थ्यो, भिडेर आउनुहुन्थ्यो।'

खेल संघको नेतृत्वमा जाने मान्छे नै लोभी भएपछि कसको के लाग्छ र
तस्वीर: किसन पाण्डे/उकालो

खेलकुदसम्बन्धी अनुसन्धानमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असार २६ गते सार्वजनिक हुँदैछ। यस पुस्तकका लेखक नवीन अर्यालले खेल पत्रकारितामा झण्डै अढाई दशक बिताए। करिब दुई वर्षदेखि पत्रकारिताबाट टाढा भएका उनले पत्रकारिता गर्दाका अनुभव र थप अनुसन्धानका आधारमा खेलकुदको इतिवृत्त केलाएका छन्। पुस्तकमा खेलकुदका विकृति, विसंगति र भ्रष्टाचारका घटना पनि उजागर गरिएको छ। पुस्तकको विषयवस्तुमा आधारित भएर नेपालको खेलकुदको अहिलेको अवस्थाबारे अर्यालसँग उकालोका लागि दीप सुवेदीले गरेको कुराकानी: 

करिब साढे दुई दशक खेलकुद पत्रकारितामा बिताउनु भयो। पछिल्लो दुई वर्ष पत्रकारिताबाट विश्राम लिएर लेख्नुभएको तपाईंको पुस्तकको मूल विषय के हो?
मैले पत्रकारिता गर्ने सिलसिलामा के बोध गरेँ भने, नेपालमा स्पोर्ट्स लिटरेचर रहेनछ। राणाकालदेखि खेलकुद हुँदै आए पनि दस्ताबेजीकरण गरेको भेटिनँ। त्यसैले यी सामग्री नयाँ पुस्ताहरूलाई चाहिन्छ भनेर यो प्रयास गरेको हुँ। यो सोध मेरो २३ वर्षको पत्रकारिता र दुई वर्षको खोजको मिक्स अप हो।

पुस्तक निकाल्छु भनेर करिब एक दशकदेखि नै सुनाइरहनु भएको थियो। किन यति धेरै समय लाग्यो?
नागरिक पत्रिकामा एक कोलमको स्तम्भ ‘त्यो दिन’ लेख्थेँ। त्यसमा राणाकालदेखि लिएर पुराना खेलाडीको प्रोफाइल गर्थें। त्यो एकदम पपुलर भयो। त्यसलाई कम्पाइल गरेर पुस्तक निकाल्ने सुझाव पनि धेरैले दिनुभएको थियो। पाठकले पढिसकेको विषय किन रिप्रिन्ट गरिरहनु भन्ने लाग्यो। यसलाई नयाँ किसिमले डिजाइन गर्नुपर्छ भन्ने दिमागमा त थियो, तर जागिर खाएर पुस्तक लेख्नु एकदमै गाह्रो काम हो। साथीभाइहरूलाई किताब लेख्छु भनिरहेको थिएँ, सबै हाँस्थे। कोरोना महामारीभन्दा केही समय अघिदेखि डकुमेन्टेसनको काम गरिरहेको थिएँ। महामारी आएपछि लाइब्रेरीदेखि मान्छे भेट्ने सबै काम बन्द भयो। मैले दुई वर्षको लागि एग्रिमेन्ट गरेको जागिर पनि कोरोना सकिएपछि छाडेँ। त्यसपछि किताब पूरा गर्न लागेँ।

मसँग दस्ताबेज हुँदा पनि धेरै कुरा मिसिङ थिए। केही विषय खोज्न दिल्लीसम्म पनि पुगेँ। पहिलो एशियन गेम्स खेल्न नेपाली खेलाडीहरू गए भन्ने त छ तर कोको गए, कसरी गए, त्यहाँको पफर्मेन्स के भयो लगायत विषय थिएन। सबै उता गएर ल्याउनुपर्‍यो। धेरै चिठ्ठीपत्र ल्याएँ। २००७ सालभन्दा अगाडि एशियन गेम्स गराउने भएर एजीएफ (पहिला एशियन गेम्स फेडेरेसन्स अहिले ओलम्पिक काउन्सिल अफ एशिया) गठन गर्ने काममा हामी पनि संलग्न थियौँ। त्यो सबै कुरा तपाईंहरूले पढ्न पाउनुहुन्छ। त्यसैले समय लाग्यो।

पुस्तक लेख्न समय लागेको बताउनुभयो। खेलकुदमा अनुसन्धान गर्न गाह्रो छ?
स्पोर्ट्स लिटरेचर संसारमै एकदमै कम लेखिने पुस्तकहरूमध्ये एक हो। तपाईंले अमेरिका गएर अमेरिकाको स्पोर्ट्स लिटरेचर खोज्नुभयो भने नपाउन सक्नुहुन्छ। तर, माइकल जोडन, मोहम्मद अली र माइक टाइसनको अटोबायोग्राफी पढ्न पाउनुहुन्छ।

खेलकुद बुझ्नेले मात्रै होइन, खेलकुद बाहिरका र इतिहास लेख्ने प्रोफेसरहरूले पनि कल गरिरहेका छन्। यसप्रति यति धेरै मान्छेले चासो राख्दा खुशी छु। मैले स्पोर्ट्सको विकास क्रम चरणबद्ध रूपमा कसरी अगाडि बढ्दै गयो भनेर दस्ताबेजीकरण गरेको हुँ। त्यतिखेर भएका घटनाक्रमहरू र दस्ताबेजले बोलिरहेको विषय देखाएको हुँ। सन् १९५१ मा एशियन गेम्स खेलेको कुरा पनि समेटेको छु। विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रिन्ट मिडियामा प्रकाशित समाचारहरू र उक्त गेममा सहभागी जीवित नेपाली खेलाडीहरूसँग कुरा गरेको छु। भारत गएर समेत सोधखोज गरेको छु।

खेलकुद क्षेत्रमा भ्रष्टाचार र बथितिको विषय उठिरहन्छ। यो पुस्तकमा नेपाली खेलकुदका भ्रष्टाचार र बेथितिको विषय कति आएको छ?
अर्थ जहाँ हुन्छ, त्यहाँ आँखा त लगाइहाल्छन्। सरकारले पछिल्लो समय खेलकुदमा लगानी बढाएको छ। तर, म्यानेजमेन्टमा बस्नेहरूको तर्क छ, यो पैसा कर्मचारीका लागि मात्रै खर्च भयो, खेलकुद विकासमा खर्च भएन। यहाँ पाएको सुविधा नै प्रयोग हुन सकेको छैन। भ्रष्टाचारको स्वरूप पनि परिवर्तन भएका छन्। त्यो त महालेखाको परीक्षणले नै देखाइरहेको छ। यसमा धेरै मैले बोल्नुपर्छ जस्तो लाग्दैन। 

एन्फामा एकछत्र राज गरेका गणेश थापाका अनियमितताबारे तपाईंले धेरै लेख्नुभयो। तर, अहिले खेलकुद क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे बिरलै पढ्न पाइन्छ। पत्रकारको क्षमता नभएको हो कि, लेख्न नचाहेका हुन्?
मुख्य कुरा आफूप्रति इमानदार हुनुपर्छ। खेलकुद क्षेत्रमा भएको बेतिथिहरूबारे लेख्नुभन्दा पनि पत्रकारले विदेश जानु नै ठूलो उपलब्धि मान्न थाले। संघ संस्थाहरूमा भएका भ्रष्टाचार र बेतिथिहरूबारे लेख्दिनु भयो भने त ती संघमा बस्ने पदाधिकारीहरूले तपाईंलाई पक्कै पनि राम्रो मान्दैनन्। त्यसैले कहिलेकाहीँ चुकेको जस्तो लाग्छ। अर्को कुरा, हामी जुन मिडिया हाउसमा काम गर्छौँ, ती हाउसले पत्रकारको वृद्धिविकासमा पनि ध्यान दिइरहेका छैनन्।

तपाईंले पत्रकारिता गर्दै गर्दा कुन खेललाई बढी प्राथमिकतामा राखिन्थ्यो? के तिनले छोटो समयमै फड्को मार्ला जस्तो देख्नु भएको थियो?
शरदचन्द्र शाहको पालामा नेपालको वातावरण र हामीलाई सुहाउँदो हिसाबले मार्सल आर्ट, भलिबल, महिला फुटबल र महिलासम्बन्धी खेललाई प्राथमिकतामा राख्नु भएको थियो। अहिले पनि नाक जोगाउने त्यही खेल नै हो।

खेलकुद क्षेत्रमा धेरै विकास भए पनि जुन प्रकारले अगाडि बढ्नुपर्थ्यो त्यसरी भएन। सन् १९८६ मा सोलमा भएको एशियन गेम्समा आठ वटा पदक जित्यौँ। त्यो बेला नेतृत्वले गरेको प्रयासका कारण खेलकुद माथि जाने संकेत देखिएको थियो। तर, त्यसले निरन्तरता पाएन। अन्य देशले खेल क्षेत्रमा छलाङ मारे। तर, हामी त्यतिमै खुशी भएर बस्यौँ।

हाम्रो राष्ट्रिय खेलकुद कुन हो भनेर पहिचान गर्न नै वर्षौं लगाएका छौँ। तर, हामीले कुन खेलबाट पदक जित्न सक्छौँ भनेर पहिचान गर्न चाहिँ समय नै लगाउँदैनौँ। यसमा मन्थन र चर्चा हुनुपर्ने हो। पहिला शरदचन्द्र शाहले अन्तर्राष्ट्रिय खेलहरू हेरेर आफ्नो अनुभवले जे अगाडि बढाउनुभएको थियो, त्यसलाई अहिले नेतृत्व पंतिले अगाडि बढाए दुई वर्षमै नेपाली खेलकुदले फड्को मार्ला जस्तो लाग्छ।

खेल संघहरूमा दलीय राजनीति हाबी भएको धेरै थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवसमेत आफ्ना दलका कार्यकर्तालाई, त्यो पनि पैसा लिएर बनाउने गरिन्छ भनिन्छ नि?
त्यो दुर्भाग्य हो। व्यवस्था परिवर्तन हुँदैगर्दा अरूलाई गाली गर्दै आयौँ। तर, हामी परिवर्तन हुन सकेनौँ। खेलकुदमा राजनीति हुनु हुँदैन थियो, यद्यपि खेलकुदमा राजनीतिक नेतृत्व चाहिन्छ। सन् १९८२ मा एशियन गेम्स भारतले दिल्लीमा आयोजना गर्दैगर्दा त्यसको इन्चार्ज राजीव गान्धी थिए। पछि उनी प्रधानमन्त्री भए। तर, नेपालमा खेलकुदलाई बोकेर जाने कोही प्रधानमन्त्री भएको तपाईंहरूले देख्नु भएको छ त?

अहिलेको क्रिकेटको अध्यक्ष (चतुरबहादुर चन्द) इन्टरनेस्नल फोरममा बसेर फेस टू फेस कुरा गर्नै सक्नुहुन्न। यसले क्रिकेटमा के प्रभाव पार्छ? पहिला जयकुमार नाथ शाह अध्यक्ष हुनुहुन्थ्यो, विनयराज पाण्डे महासचिव हुनुहुन्थ्यो। उहाँहरू कड्किएरै बोल्नुहुन्थ्यो, भिडेरै आउनुहुन्थ्यो। पछिल्लो समय अशोकनाथ प्याकुरेल महासचिव हुनुहुन्थ्यो। उहाँ त नेपाललाई प्रतिबन्ध लगाएको विषयमा आईसीसीसँग भिडेर नै प्रतिबन्ध फुकुवा गर्न लगाउनुभयो। त्यस्तो तागत हुनुपर्‍यो नि। दलीय भागबन्डा होस्, सबै थोक होस् तर कुन ठाउँमा कुन मान्छे फिट हुन्छ भन्ने बुझ्नुपर्छ।

हिजो पञ्चायतकालमा कुमार खड्गविक्रम र शरदचन्द्र शाहजस्ता अक्सफोर्ड रिटर्न भएर आएका मान्छेहरूलाई खेलकुदमा किन पठाइयो भनेर बुझ्नुपर्छ। उसन बेल्टले गर्दा उसको देश संसारभर पपुलर छ। एउटा खेलाडीले कति ठूलो महत्त्व राख्छ र अनुशासनहीन काम गर्‍यो भने कति ठूलो असर पार्छ भन्ने हेक्का राख्नुपर्छ। म चाहिँ के भन्छु भने राजनीति गर्नुस्, राजनीतिक भागबन्डा गर्नुस्। तर, राइट म्यान राइट प्लेसमा हुनुपर्छ।

नेतृत्वमा भिजन भएको, बजेटमा सरकारसँग बार्गेनिङ गर्न सक्ने, बुझाउन सक्ने र डोर्‍याउन सक्ने चाहिन्छ। पार्टीको मान्छे कोसँग छ भन्दा पनि रिजल्ट कस्तो दिन सक्छ भन्ने मान्छे चाहियो। हामीहरू पढ्दै जाँदा एकबाट दुई, दुईबाट चार र पाँच हुँदै पीएचडीसम्म गर्छौँ। तर, खेलकुद क्षेत्रमा रिजल्ट ल्याए पनि ठिकै छ, नल्याए पनि ठिकै छ। विदेशमा गएर खेलाडीलाई मुक्कामुक्की गरे पनि ठिकै छ। यसले गर्दा खेलकुदले गति नलिएको हो। 

त्यसो भए गणतान्त्रिकभन्दा पञ्चायती व्यवस्थाको खेलकुदको अवस्था राम्रो थियो भन्न खोज्नु भएको हो?
होइन, त्यसरी दाँज्न मिल्दैन। किनभने पहिला राष्ट्रिय खेलकुदको बजेट नै ४ लाखको हुन्थ्यो। त्यसले सबै कुरा चलाउन पर्थ्यो। शरदचन्द्र शाहहरू राखेपमा आएपछि चन्दा उठाउने, खेलकुद सामग्रीमा कर लगाउने भयो। त्यसरी नै वीरगन्जमा रंगशाला बनेको हो। कुनै पनि व्यवस्थाले खेलकुद बिग्रियो भन्न मिल्दैन। अहिले सरकारले यथेष्ट बजेट दिएको छ, नपुगेको बजेट माग्न पनि सकिन्छ। तर, त्यो उपयुक्त च्यानलबाट प्रयोग हुनुपर्छ। 

अहिले प्रशिक्षणको नयाँनयाँ शैली आएको छ। प्रविधिले गर्दा हिजो जति पैसा लाग्थ्यो त्यति खर्च गर्नुपर्ने अवस्था छैन। अहिले त भिडियो हेरेरै प्रशिक्षण गर्न र गराउन सक्ने अवस्था छ। अन्तर्राष्ट्रिय अनुभव समेटिसकेका कोचहरू जमिसक्नु भएको छ। तर, पछिल्लो समय खेलकुदलाई बेवास्ता गरिएको छ। पञ्चायतकालमा खेलकुदलाई बढी प्राथमिकता थियो। खेलकुदमा युवा जोडिए देश विकासमा सहयोग पुग्छ र दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने सोच थियो। अहिले व्यवस्थापन राम्रो नहुँदा फुटबल खेलाडीहरू अस्ट्रेलिया गइरहेका छन्। उनीहरूले राष्ट्रियस्तरमा फुटबल खेलेकै कारण त अस्ट्रेलिया पुगेका हुन् नि।

तपाईंले दुई फरक पुस्ताको खेलकुद देख्नुभयो। कस्ता उतारचढाव भए? कहाँ कमजोरी भयो?
खेलाडीहरूमा केही गर्छु भन्ने प्यासन छ। म एमएस धोनी र विराट कोहली बन्छु, सुनिल क्षेत्रीभन्दा उत्कृष्ट खेलाडी हुन्छु, हरि खड्का र मणि शाहभन्दा खतरा खेलाडी बन्छु भन्ने प्यासन छ। तर, त्यसलाई अगाडि बढाउने राखेप र यससँग सम्बन्धित संस्थाहरूको काम हो। तर, व्यवस्थापन नै कमजोर भयो। व्यवस्थापनमा जानेहरू दलीय भागबन्डामा गए र सुविधामा रमाए। आफू के उद्देश्यका लागि आएको भन्ने नै उहाँहरूले बिर्सनुभयो। मेरो कार्यकालमा यसलाई एक बिन्दुमाथि लैजान्छु भन्ने सोच मात्रै राख्ने हो भने दुई वर्षमै नेपाली खेलकुद परिवर्तन भएको देख्न सक्नुहुन्छ। तर, त्यो सोच भएको नेतृत्व नै देख्दिनँ।

संघ संस्था त धेरै भए। तर, त्यहाँ बस्ने मान्छे गम्भिर भएनन् भन्न खोज्नु भएको हो?
अभियस्ली। संघहरू नबनी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनै सकिँदैन। मेरो किताबमा ओलम्पिक मुभमेन्ट कसरी जन्मियो, राष्ट्रिय खेलकुद परिषद् कसरी गठन भयो र परिषद् नहुँदा सन् १९५१ मा हामी कसरी खेल्न गयौँ भनेर डिटेल रूपमा पढ्न पाउनुहुन्छ। त्यति मात्रै होइन, पछिल्लो समय खेल संघहरू किन लथालिंग भयो भनेर पनि पढ्न पाउनुहुन्छ। मैले त्यहाँ जाने मान्छे पछिल्लो समय सिरियस भएको भेटिनँ। मैले कतिपटक भन्छु, खै तपाईंहरूले केही नै गर्नुभएन त? 'ह्या खेलकुद परिषद्ले पैसा नै दिएन' भन्नुहुन्छ। दुई वटा राष्ट्रिय खेलकुद गराउनुपर्ने प्रावधान छ, तर केही गराएको देख्दिनँ। 'परिषद्ले पैसा दिएर गेम गराउने हो भने बाटोमा भिक माग्नेहरूलाई उठाएर ल्याइदिए भइहाल्यो त। तपाईं आउनुको उद्देश्य त्यही नभएको कुरा गर्न त हो' भन्छु। यसमा कतिलाई मिठो लाग्छ, कतिलाई नमिठो।

पछिल्लो समय संघमा गुटबन्दी गर्ने, खेलाडी नै संघको विरोध गर्दै हिँड्ने भइरहेका छौँ। खेलाडीले प्रशिक्षक हटाउने र संघले केही गरेन भनेर उफ्रिने गरेको पनि देखिन्छ। यसले पनि खेलकुद विकासमा बाधा गरेको त होइन?
नेतृत्वमा जाने मान्छे नै लोभी भएपछि कसको के लाग्छ र? एन्फामा गणेश थापाको डाउन फल भएपछि नेतृत्व धेरै अगाडि जानुपर्थ्यो, तर त्यसरी गएन। विदेशबाट आउने पैसालाई पचाउन कोरम पुर्‍याउनतिर लागे। त्यो कोरम नपुर्‍याइ केही गर्न मिल्दैन। त्यसैले कोरम पुर्‍याउन खेलकुदमा लगाउनुपर्ने पैसा तलब भत्तातिर लगाउन थाले। खेलाडीको तलबबारे गम्भिरता छैन। तर भकाभक फलानोलाई यति पैसा उति पैसा तोकेको र नियमित लिइरहेको समाचार आउँछ। खेलाडीको यति पैसा ड्यु थियो, यति दिइयो। लिगमा यति पैसा थियो, यति चुक्ता गर्‍यौँ भन्ने कतै पढ्न पाएको छैन। 

मुख्य कुरा अभिभावक सबैभन्दा अनुशासित हुनुपर्छ, त्यसपछि छोराछोरीमा अनुशासन सिकाउने हो। कोच, अध्यक्ष, खेलकुद परिषद् र ओलम्पिक कमिटीका अध्यक्षहरू अनुशासनमा बस्नुपर्छ। उनीहरू नै अनुशासनमा नबसे खेलाडीलाई अनुशासनमा बस भनेर कसरी भन्न सकिन्छ?

पहिला सामान खरिद, प्रतियोगिता आयोजना र पूर्वधार निर्माणमा बढी भ्रष्टाचार भएको देखिन्थ्यो। अहिले भष्टाचार हुने क्षेत्र यिनै हुन् कि फेरिएको छ?
प्रवृत्ति त्यही हो तर नयाँ नयाँ स्वरूपमा आइरहेको छ। खेलाडी नै नभएको मान्छेलाई खेलाडी बनाइरहेका हुन्छन्। जिल्ला छनोटमा कोटा छुट्टाएको हुन्छ, पैसाको कुरा हुन्छ। यो जिल्लाबाट यति खेलाडी भन्ने हुन्छ, खेलाडी हुँदैनन्। तर, सूचीमा खेलाडी भनेर नाम चढाएको हुन्छ। यसले भोलिको दिनमा दुर्घटना निम्त्याउँछ। एक उदाहरण दिऔँ, हेटौँडामा बक्सिङ प्रतियोगितामा खेल्दाखेल्दै खेलाडीको मृत्यु भएको थियो। त्यस्तै घटना दोहोरियो भने के हुन्छ?

नेपाली खेलकुद अहिले कहाँ छ? हामी कुन स्तरमा छौँ?
२०३८ सालमा बृहत् राष्ट्रिय खेलकुदअघि विराटनगर पोखरालगायत प्रमुख शहरमा खेल खेलाइन्थ्यो। त्यसपछि शहरबाट गाउँगाउँमा खेलकुद पस्यो। वैज्ञानिक र आधुनिक किसिमले गाउँगाउँबाट पिरामिड शैलीमा खेलाडीहरू आएर तयार हुन थाले। अहिले चाहिँ के भइरहेको छ भने पिरामिड शैली ठ्याकै उल्टो भइरहेको छ। परिषद्ले यति कोटामा खेलाडी लिएर आउनु भन्छ, गाउँमा त कतिले खेल्छन् खेल्छन् नि। त्यहाँबाट छान्दैछान्दै आउनुपर्ने हो। तर, माथिबाट नै यो यो खेलाडी लिएर आउनु भन्ने गरिन्छ। उल्टो गति उल्टो मति भइरहेको छ। त्यसैले यो चिजहरू रोकिन जरुरी छ। 

गाउँहरूमा फुटबल र अन्य खेलहरूमा प्रतिभावान खेलाडी छन्। तर, ट्यालेन्ट हन्ट गर्न सकिएको छैन। सबै काठमाडौँमा केन्द्रित छ। काठमाडौँमा खेल्ने चौरी र वातावरण नै छैन। पहिला खेल्ने ठाउँहरू प्रशस्त थिए, अहिले जमिन चार आना र आठ आनामा विभाजन भइसक्यो। खेल्ने मैदानदेखि वातावरण र आर्थिक कुराले काठमाडौँ महँगो छ। तर, जिल्लातिर त यो सहज छ। घरको खानपान राम्रो छ। मासु खान चार्ड पर्व कुर्नु पर्दैन। अहिलेका भाइबहिनीहरूले राम्रो न्यूट्रिसन खाइरहेको देखिन्छ। त्यसैले फेरि खेलाडी विकासलाई पिरामिड शैलीमा लैजानुपर्छ। अहिले प्रदेश संरचनामा जानुपर्ने खेलकुद राखेपले त्रिपुरेश्वरबाट चलाइरहेको छ।


भिडियो


सम्बन्धित सामग्री