Tuesday, April 30, 2024

-->

लोकप्रिय बन्ने होडका खतरा

गगनजस्ता नेताहरूले केही समयको लोकप्रियताभन्दा आफ्नो काम र बोलीले समाजमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै विविधता, लोकतन्त्र र अधिकारको संरक्षणमा लाग्नुपर्ने देखिन्छ।

लोकप्रिय बन्ने होडका खतरा

सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित निकालेपछि लोकतान्त्रिक विश्वमा शून्यता छायो। अमेरिकाजस्तो लोकतन्त्रको पक्षधर मुलुकमा लोकतन्त्रकै खेदो खन्दै अप्रत्याशित नतिजा निकालेर ट्रम्पले अमेरिकी व्यवस्थामाथि मात्रै होइन, सम्पूर्ण लोकतन्त्र/प्रजातन्त्रमा विश्वास राख्ने व्यक्ति र संरचनामाथि व्यंग्य छेडे।

उसो त, ट्रम्पको जित राजनीतिशास्त्रीहरूले आकलन नगरेका होइनन्। संसारमा बढ्दै गएको लोकप्रियतावाद (पप्युलिजम्) र लोकतन्त्रमाथि बढ्दै गएको वितृष्णाले यस्तो खाले नतिजा निस्कनेवाला नै थियो। अमेरिकाभन्दा पहिले भारतमा नरेन्द्र मोदी र हंगरीमा भिक्टर ओर्वान लगायतका लोकप्रियतावादी (पप्युलिस्ट)ले जितेर सरकार चलाइरहेका थिए र अतिवादलाई मलजल गर्दै थिए।

बेल्जियन लेखक डेभिड भ्यान रेब्राउकको 'अगेन्स्ट इलेक्सन्स: अ केस फर डेमोक्रेसी' (सन् २०१३) किताबको मुख्य तात्पर्य थियो, नियमित चुनावले मात्र लोकतन्त्रको मापन गर्न सक्दैन र लोकतान्त्रिक पद्धतिबाट चुनिएका मानिसले लोकतन्त्रको बचाउ गर्छन् भन्ने छैन। त्यसैले निर्वाचनको नतिजा मात्र नभएर चुनाव अगाडिका पद्धति पनि लोकतान्त्रिक हुनुपर्दछ। रसियामा पुटिनले अपनाउने चुनावी पद्धति र बेलायत वा भारतमा जस्तो पद्धति एउटै हुन सक्दैन, किनभने रसियामा पुटिनले निरंकुशताको प्रयोग गर्न चुनाव गर्ने हुन्।

अमेरिकाजस्तो प्रौढ लोकतन्त्रमा त ट्रम्पको जस्तो निरंकुशता उदय सम्भव छ भने नेपालजस्तो नयाँ लोकतन्त्रमा वाधा नआउने होइनन्। यस लेखमा लोकतन्त्र र लोकप्रियतावादको सम्बन्धमा विश्लेषण गरिनेछ। हालैका केही घटनालाई लिएर गगन थापाको चर्चा अरू नेताभन्दा अलि बढी हुनेछ।

तीन उदाहरण
पहिलो, प्रधानमन्त्री बनेपछि बाबुराम भट्टराईले नेपालमा ‘असेम्बल’ गरिएको ‘मुस्ताङ गाडी’ सडकमा हुइँक्याए। अहिले मुस्ताङ गाडीको उत्पादन बन्द भइसक्यो। युवा उद्यमीले बनाएको बिजुली बाइक 'यात्री'को झन्डै त्यस्तै अवस्था आएको थियो। भट्टराईले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न आफ्नो प्रधानमन्त्रीकालमा के–कस्ता नीति ल्याए र ती नीतिहरूको असर कस्तो रह्यो? वा, मुस्ताङ चढेर उनले केबल वाहवाही मात्र बटुल्न खोजेका थिए?

दोस्रो, आफ्नो पार्टीले भ्रष्टाचार गर्दैन भनेर देखाउन/सुनाउन र जनताको भोट बटुल्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह’ हो भनी आफ्नो सामाजिक सञ्जाल सजाएका छन्। बेलाबखत भाषणमा उनले यस्तो किरिया खाए पनि। यस्तो दाबी गर्ने उनले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीमा समर्थन गर्दै विक्रम पाण्डेलाई मन्त्री बनाए। पाण्डेको भ्रष्टाचारसम्बन्धी आरोपका कथा जगजाहेरै छ। यसपछि लिङ्देनलाई के पिएसरह भयो वा भएन उनैलाई थाहा होला।

तेस्रो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतमा नवनिर्मित संसद् भवनमा 'अखण्ड भारत'को नक्सा राखेलगत्तै दक्षिण एशियाका अन्य थुप्रै देश, त्यहाँका सरकार र संसद्ले त्यसको विरोध मात्रै गरेनन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले 'ग्रेटर नेपाल'को नक्सा आफ्नो कार्यकक्षमा झुन्डाए।

बालेनलाई सो 'आइडिया' गगन थापाले दिएका थिए भन्दा हुन्छ। किनकि, त्यसअघि नै थापाले ‘नेपालले आफ्नो संसद्मा नेपालको सांस्कृतिक नक्सा राख्नुपर्ने’ तर्क राखेका थिए। अनलाइनखबरका अनुसार उनले ‘यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ’ भनेका थिए।

हुन त, गगन र बालेनको विचार र काम सांकेतिक मात्र होलान्, तर बढ्दो अनुदारवादी लोकतन्त्र र लोकप्रियतावादमा गगनको अभिव्यक्ति र बालेनको काम आपत्तिजनक छन्। 

लोकप्रियतावादको लोकप्रियता
माथिका तीन उदाहरणमा 'वामपन्थी' बाबुराम भट्टराई, 'दक्षिणपन्थी' राजेन्द्र लिङ्देनदेखि 'सोसल डेमोक्र्याट' गगन थापा र हालसम्म कुनै वाद नपक्रिएका बालेनसम्म सबैका उक्ति-जुक्तिहरूको एउटै ध्याउन्न लोकप्रियतावाद या लोकरिझ्याइँ (पप्युलिस्ट) हो। नेताहरूको काम जनमानसमा रहेको निराशा, रिस या चाहनालाई मलजल गरेर ती समस्या, भावना या आशाको समाधानका लागि आफूलाई मुक्तिदाताको रूपमा उभ्याउँदै लोकतान्त्रिकतवरले चुनाव जित्ने र कम–काम–बढी–गफको आधारमा आफ्नो पद, मर्यादा र लोकप्रियतालाई सुरक्षित गर्ने हो।

नेपालमा पनि थुप्रै पप्युलिस्ट हामी देख्छौँ। धेरैलाई तीतो लाग्ला तर केपी शर्मा ओलीको कार्यकालमा हामीले थुप्रै 'पप्युलिस्ट स्टन्ट'हरू देख्यौँ। चुच्चे नक्सा ती ‘स्टन्ट’मध्येको अब्बल थियो। त्यस्तै, रवि लामिछानेले पनि आफ्नो पप्युलिस्ट पक्षलाई 'सिधा कुरा जनतासँग' र आफ्नो गृहमन्त्रीकालमा प्रस्तुत गरिसकेका छन्। बालेनले कुरा त थुप्रै गरे, तर कार्यसम्पादनभन्दा पनि लोकप्रिय कसरी भइरहने भन्नेतर्फ उनी ध्यानकेन्द्रित गर्छन्। यससँगै माथि उल्लेख गरिएका नेताहरूका समर्थकहरू झनै क्रूर र निर्दयी बन्दै गइरहेका छन्। बालेनले विशेषतः सडक व्यापारीमाथि गरेको अत्याचारले उनमा लुकेर रहेको निरंकुश र गरिबद्वेसी मनोवृत्ति छर्लंग बनाएको छ।

अहिलेसम्म कम आलोचना गरिएका तर धेरै 'पप्युलिस्ट' सम्भावना बोकेका नेता गगन थापा हुन्। थुप्रै नेपालीहरूले आशाका नजरले हेरेका गगनको पप्युलिस्ट रूपले उनले भनेजस्तो 'सोसल डेमोक्रेसी'लाई प्रवर्द्धन नगरेर उल्टै निरंकुशता निम्त्याउन सक्छ। उनले सिधै निरंकुशतालाई प्रश्रय त नदेलान्, तर उनका समर्थकहरूमा रहेको कट्टरपनले बहुल समाज र लोकतान्त्रिक पद्धतिमा धावा बोल्न सक्छ। 

यहाँनिर अहं प्रश्न के छ भने, बालेन, गगन, र रविका समर्थकहरूले आलोचनालाई कुन रूपमा ग्रहण गर्छन्? बालेन र रविका समर्थकहरूको भन्दा गगनका समर्थकहरू आलोचनालाई रचनात्मक आलोचनाको रूपमा ग्रहण गर्लान्? वा, रचनात्मक आलोचनालाई उनीहरूले पार्टीगत ध्रुवीकरण वा कुनै ईर्ष्या भावले गरेको नियोजित षडयन्त्र ठान्छन्?

गगनजस्ता नेताहरूले केही समयको लोकप्रियताभन्दा आफ्नो काम र बोलीले समाजमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै विविधता, लोकतन्त्र, र अधिकारको संरक्षणमा लाग्नुपर्ने देखिन्छ। निश्चय पनि, बालेनको उदय र रविको पार्टीको सफलताले गगन थापाको लोकप्रियतामा कमी ल्याएको छ। तर यसको समाधान बालेन, रवि, हर्क र ओलीको सिको गर्दै पप्युलिजम‍‍्तर्फ दौडने होइन। गगन यसमा सतर्क हुनुपर्छ। हुन त अन्य पप्युलिस्ट नेताहरू पनि सतर्क हुनुपर्ने हो, तर सामाजिक लोकतन्त्रका पक्षधर गगनको भूमिका यसमा थप महत्त्वपूर्ण छ। बालेन र ओलीलगायतको शैली त बाहुबली शैलीको हो।

त्यस्तै, बालेन र रविको बढ्दो लोकप्रियताबीच गगनले आफूलाई कसरी भिन्न रूपमा अघि सार्छन्? उनले यसभन्दा अगाडि गर्ने गरेका भाषण र वाचाहरू अरू नेताले पनि 'कपी–पेस्ट' गर्न सक्ने हुँदा गगनले नेपाली समाज र राजनीतिलाई के त्यस्तो दिन सक्छन्, जसले उनलाई २०८४ सालको निर्वाचनद्वारा प्रधानमन्त्री बनाओस् ? निर्वाचनअघिका यी चार वर्ष उनले के–कस्तो राजनीतिक छलफल र विचारको प्रवर्द्धन गर्न सक्छन्, जसले जनतामा नयाँ तरंग पैदा गरोस्? स्वर्णिम वाग्ले र मनिष झा उनको टिमबाट छुट्टिएपछि उनले आर्थिक, भौतिक, र सामाजिक विकासका मोडलहरूलाई कसरी परिमार्जन र परिवर्तन गरेर जनताको मन जित्छन्? लोकप्रियतावादी नबनी गगनले समावेशी लोकतन्त्र, संघीयता, र धर्मनिरपेक्षतालाई कसरी सुदृढ बनाउँछन्?

गगनका सामु चुनौती धेरै छन् र अन्य पप्युलिस्ट नेताहरूको लाइन लागेका बेला तिनको शैलीलाई भत्काएर अगाडि बढ्नु छ। गगनका यति गनथन गरेर फेरी पप्युलिजम् तर्फै फर्कौँ।

थरी–थरी रङका पप्युलिस्ट नेता
विश्वका लोकप्रियतावादी नेताहरूमा मुख्यतया भारतका नरेन्द्र मोदी, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका पूर्व राष्ट्रपति बोलसनारो, टर्कीका एर्दोगान, फिलिपिन्सका दुतेर्ते, हंगेरीका ओर्बान् लगायत पर्छन्। उनीहरू उत्तेजित भाषण गरेर जनभावना आफूतिर तान्ने र यथास्थितिवाद, निरङ्कुशता, र कट्टरवादलाई प्रशय दिने काम गर्छन्। तिनको भाषणले हिंसा र अतिरञ्जना फैलाउने काम गर्छ। उनीहरूका समर्थकको आपराधिक मानसिकता बढाउँछ, दण्डहीनतालाई थप मलजल गर्छ।

डोनाल्ड ट्रम्पले उत्तेजित भाषण तथा सामाजिक सञ्जालका पोष्टमार्फत अमेरिकी संसद् भवन कब्जा गराउनेदेखि हिंसा फैलाउने र जातीय दङ्गा भड्काउनेजस्ता थुप्रै काम गरे। तर मोदी, ट्रम्प र ओर्बान् जस्ता अनुदारवादी नेता मात्र पप्युलिस्ट हुँदैनन्।

सन् २०१५-१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई विश्लेषण गर्दै जर्मन राजनीतिक दर्शनशास्त्री र इतिहासकार यान-वनह मलहले विपरीत ध्रुवका डोनाल्ड ट्रम्प र बर्नी स्यान्डर्स दुवै पप्युलिस्ट नेता भएको बताए। पप्युलिस्टहरू रिसाहा हुन्छन् र उनीहरूका भोटरहरू निराश र दिक्क हुन्छन्। आफ्ना भोटरका निराशा र दिक्दारीलाई ट्रम्पले आफ्नो श्वेत सर्वोच्चतावादी र विषाक्त पुरुषत्व विचारद्वारा मलजल गरे भने स्यान्डर्सले वर्गीय र जातीय विभेदमा त्यो निराशालाई पोख्न खोजे। 

वामपन्थी पप्युलिस्टहरू सामाजिक न्याय र समानतालाई केन्द्रमा राख्दै 'लोकप्रिय' भाषण गर्छन्। उनीहरू वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय, आदि हिसाबमा थिचोमिचोमा पारिएका मानिसको अन्याय, अधिकार, दुःख र गरिबीलाई आफ्नो भाषणको केन्द्रमा राख्दै संघर्षका गफ गर्छन्। नेपालजस्तो विकासोन्मुख देशमा वामपन्थी नेताले अत्यधिक समर्थन प्राप्त गर्छन्।

अर्कातर्फ, दक्षिणपन्थी नेताहरू देश, राष्ट्रिय स्वाधीनता, राष्ट्रवादलगायतका विषयमा मानिसहरूको रगत तताउने खालका चर्का नारा दिन्छन्। विदेशी शक्तिका विरुद्ध प्रखर उभिन जनतालाई आह्वान गर्छन्। हामीले एमसिसी संसद्बाट पारित गर्दाताक थुप्रै यस्ता विचार सुन्यौँ। भारत र चीनजस्ता ठूला देशको बीचमा रहेको नेपालजस्तो सामरिक हिसाबले अस्थिर देशमा दक्षिणपन्थी नेताहरूको पप्युलिजम्को भविष्य राम्रो छ। कूटनीति कमजोर भएको नेपालको 'बार्गेनिङ चिप' धेरै छैन। दुःखको कुरा, राष्ट्रवादले नागरिक तताउन त सकिन्छ, कूटनीतिमा भावनाले अर्को पक्षलाई प्रभाव पर्न सकिन्न।

त्यस्तै, 'मध्यम धार'का अथवा नेपालको असमानता र राष्ट्रवाद बुझेका नेताहरू माथि उल्लेखित वामपन्थ र दक्षिणपन्थी दुवैको व्याख्याहरू आफूमा केन्द्रित गराउन सक्छन्। पप्युलिस्ट भाषण गर्दा वर्गसंघर्षदेखि विदेशी शक्तिको हातका बारे एउटै वाक्यमा जनतालाई उक्साउन जान्दछन्।

चाखलाग्दो त, नेपालका वामपन्थी भनिने नेताहरूले नै राष्ट्रवादको चर्को नाराले दक्षिणपन्थी पप्युलिस्टहरूको भाष्य नै लुटिदिन्छन्। केपी शर्मा ओली वामपन्थी भनिने पार्टिका अध्यक्ष भए पनि लिङ्देनको दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टीको भन्दा चर्को राष्ट्रवादको नारा घन्काउँछन्। बालेनजस्ता नेताहरू भने दायाँ–बायाँ, तल–माथि, पूर्व–पश्चिम केही नभनी सत्ता र नेतालाई गाली गरेर वाहवाही बटुल्छन्। आफूले सोचेजस्तै सोच्ने नेता पाएकोमा मतदाता मक्ख पर्छन् र पप्युलिस्टलाई भोट हाल्छन्।

अब रौँ ठाडा हुने नेपाली नेताका भाषण सम्झनुहोस्। गगन थापाले टेबल ठोक्दै गरेको भाषणपछि उठेको जोस सम्झनुहोस्। बालेनले ट्विटर र फेसबुकमा अन्य नेता र लोकतान्त्रिक व्यवस्थालाई गाली गरेपछि कमेन्टमा बज्ने तालीहरूलाई याद गर्नुहोस्।

जर्मन इतिहासकार मलह फेरी सोध्छन्, “के सबै नेताहरू पप्युलिस्ट हुन्?” त्यसको उत्तरमा 'होइन'भन्दा 'हो' नै बढीजस्तो लाग्छ। तर के सबै उत्तिकै मात्रामा पप्युलिस्ट हुन् त? ओलीको भाषण र गगनको भाषणलाई एउटै डोकोमा हालेर हेर्न मिल्छ? गगन ओलीभन्दा किन फरक हुनुपर्छ? स्वर्णिम किन रविभन्दा फरक हुनुपर्छ?

बालेनले सडक व्यवसायी लगायतमाथि देखाएको निर्मम व्यवहारलाई उनका समर्थकहरूले तालीले मात्र स्वागत गर्दैनन्, उनीहरू सामाजिक सञ्जालमा काठमाडौँ बसाइ सरेर आएका वा काठमाडौँमा रोजगारी गर्ने थुप्रै मानिसमाथि जातिवादी र नश्लवादी गाली गलौजसमेत गर्ने गर्छन्। यस्तो लाग्छ कि काठमाडौँ फगत काठमाडौँका रैथानेहरूको हो र यहाँ बसाइ सरेर आएका मानिसको कुनै अर्थ–राजनीतिक योगदान छैन।

उता, रविले '१२ भाइ'माथि गरेको मनोवादपछि नेपाली सामाजिक सञ्जालमा नेपाली समाज कतिको संकुचित र क्षूद्र बन्दै गएको छ भन्ने थाहा हुन्छ। वाक् र प्रेस स्वतन्त्रतामाथि रविले त धावा बोले बोले, उनको भाषणलाई आधार बनाएर उनका समर्थकहरूले पत्रकार र भिन्न विचार राख्नेहरूलाई गालीगलौज गरे।

गगनको कुरा गर्दा उनको पप्युलिस्ट अभिव्यक्ति र भाषणहरूलाई उनका समर्थकहरूले आरोप–प्रत्यारोपको माध्यम त बनाइरहेका छैनन्? गगनले दिन खोजेको राजनीतिक नेतृत्वले कसैलाई बहिष्करणमा त पारेको छैन? गगनको लक्ष्य देशको नेतृत्व हो भने नीति, कूटनीति र डेलिभरीको सट्टा सस्तो लोकप्रियतातिर किन आकर्षित भएका छन्? नेताका थरी–थरी रङमा गगनले आफूलाई कहाँ उभ्याउँछन्? गगनको यस्तो रौँ ठड्याउने भाषणको फुटेज मिडियाले आफ्ना पाठक–दर्शक–श्रोता तान्न कसरी प्रयोग गर्छन्?

पप्युलिस्ट नेता र मिडिया
जनतासमक्ष आफ्नो राम्रो पक्ष मात्र प्रस्तुत गर्न पप्युलिस्ट नेताहरू मिडियाप्रति अति चनाखो हुन्छन् र मिडियाको विशेष प्रयोग र व्यवस्थापनमा लागेका हुन्छन्। यसमा सोसल मिडियाको सहयोग पनि विशेष हुन्छ।  

यसमा गजबको उदाहरण नरेन्द्र मोदीको मिडिया मोह हो। साइबर सेनादेखि मुख्य सञ्चारगृह मोदीलाई हिरो बनाउन र उनको स्वच्छ छविको निर्माणमा रातदिन लागि परेका हुन्छन्। हातमा गन्न सकिनेबाहेक मुख्यतया हिन्दूहरूको प्रभुत्व भएका मिडिया कम्पनीहरू मोदीको चर्को समर्थक भएर निस्किएका छन्। मोदीको पप्युलिस्ट स्टन्टबाहेक भारतको मिडिया जगत् आफैँमा पनि निष्पक्ष नभएको र भ्रामक तथा मिथ्या समाचार सम्प्रेषणमा लागेको प्रशस्तै उदाहरण छन्। यस्तो बेला पप्युलिस्ट मोदी र पीत पत्रकारिता गर्ने मिडियाबीच राम्रो साँठगाँठ भारतमा देख्न पाइन्छ।

नेपालमा मोदीको ठ्याक्कै सिको बालेन र 'रुटिन अफ नेपाल बन्द'ले गर्ने गरेका छन्। रुटिन अफ नेपाल बन्द खासमा धेरै फलोअर्स भएको फेसबुक पेज हो, जसले विभिन्न स्रोतबाट प्राप्त लेख, समाचार, तस्वीर र भिडियो सम्प्रेषण गर्छ। यसले बालेनको आलोचना वा टिप्पणी भएका समाचार वा समाचारजन्य सामग्री कहिल्यै सम्प्रेषण गर्दैन।

सबैतिर मिडिया र पप्युलिस्टको सम्बन्ध राम्रो नै हुन्छ भन्ने छैन। अमेरिकामा लिबरल मिडियाको पकड बलियो भएका कारण फक्स न्यूजजस्ता अनुदारवादी मिडिया मात्र ट्रम्प पक्षधर थिए। रवि लामिछानेले आफ्नो लामो मनोवादमा पनि '१२ भाइ' मिडियाकर्मीलाई जमेर गाली गरे। आफूले जति राम्रो काम गर्दा पनि मिडियाले खेदो खन्न नछोडेको रविको मन दुखाइ थियो। 

तर के नेपाली मिडियाले रविलाई मात्र नराम्रो भनेका हुन्? उनको राम्रो कामलाई नजरअन्दाज गरेका हुन्? वा रविले आफूले खोजेजस्तो मिडियाको साथ नपाएका हुन्? उसो त, केपी ओली पनि मिडियाप्रति निर्मम नै थिए/छन्।

मिडियालाई कसरी आफ्नो पकडमा राख्ने भनेर जान्ने राजनीतिज्ञ थुप्रै छन्। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको (फक्स न्यूजजस्ता बाहेक) अन्य मिडियालाई साथ लिएर उनीहरूको पनि उत्तिकै सहानुभूति बटुल्न सफल थिए। उनको विदेशीनीति– मुख्यतया लिबियाजस्ता देशमा अमेरिका युद्धबारे मिडियाले सायदै कहिल्यै आलोचना गर्‍यो।

गगन थापा पनि मिडिया व्यवस्थापनका सन्दर्भमा कुशल छन्। लोकतन्त्र पक्षधर पत्रकार धेरै रहेको नेपालका मुख्य प्रकाशनगृहमा राम्रो वाक् क्षमता भएका, तर्क गर्न सक्ने, तर्कले मानिसको विश्वास जित्न सक्ने गगनजस्ता कांग्रेसी वा नेपाली राजनीतिज्ञ नै हातमा गन्न सकिने मात्र छन्। गगनका 'फ्यान-मिडिया' गगनको आलोचना सजिलै गरिहाल्दैनन्।

तर गगनलाई यो पनि थाहा छ कि लोकतन्त्रको सुन्दर पक्ष भनेकै रचनात्मक आलोचना हो। नेताहरूले कतै बिराए भने उनलाई सही मार्ग देखाउने काम मिडिया, नागरिक समाज, र बौद्धिक जगत‍्को हो। 

अन्त्यमा, एक्कासि लोकप्रियतावादको चर्चा आज गर्नु किन महत्त्वपूर्ण हुन गयो भने नेपाली लोकतन्त्र अझै कमजोर छ र पप्युलिजम‍्ले यसलाई थप धराशायी बनाउने डर छ। गगनजस्ता नेता आफूभन्दा अन्य (बालेन, रवि, सुमना) नेताहरू चर्चामा आउँदा 'फुटेज प्राप्त गर्न' सस्तो लोकप्रियतातर्फ लाग्दा सो डर अझै मजबुत हुँदै गएको छ।

क्षमता बोकेका गगन र सुमनाजस्ता नेताहरूको काम लोकप्रिय हुनेभन्दा पनि लोकतन्त्रलाई कसरी संस्थागत गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ। पप्युलिजम् मा विपक्षी आवाज दबाइन सक्ने अवस्था धेरै रहेकाले बहुल सहभागिता संकटमा पार्छ र निरंकुशतालाई बढावा दिन्छ। पप्युलिजम्मा नयाँ विचारहरूले सहजै प्रवेश नपाउने हुँदा जनताले भाषण सुनेर तुरुन्तै ताली त पिट्लान् तर लामो समयसम्म नेताले डेलिभर गर्न नसक्दा जनताको विश्वास टुटेर थप निराशा पैदा हुन सक्ने सम्भावना पनि छँदैछ।

केही विश्लेषकहरूले ट्रम्प फेरि अमेरिकाको राष्ट्रपतिमा चुनिन सक्ने बताउँदै गर्दा उनी संकटहरूमा फसेका छन्। मोदीजस्ता अन्य पप्युलिस्टको पनि यो दिन नआउला भन्न सकिन्न। नेपाली नेताहरूले बेलैमा सोचुन् !


सम्बन्धित सामग्री