Saturday, April 27, 2024

-->

दुईपांग्रे 'राइड सेयरिङ' कति सुरक्षित?

पठाओ वा इनड्राइभ कति सुरक्षित छ त भन्ने प्रश्नमा ३३.३ प्रतिशतले 'सुरक्षित छ' भन्ने जवाफ दिए। १६.७ ले सुरक्षित महसुस नगरेको र ५० प्रतिशतले कहिले सुरक्षित र कहिले असुरक्षित महसुस गर्ने गरेको बताए।

दुईपांग्रे राइड सेयरिङ कति सुरक्षित

मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएर घर फर्कँदै थिएँ, ठूलो पानी पर्‍यो। म अनलाइन 'इनड्राइभ' खोजिरहेकी थिएँ, त्यहाँ देखाएको दरभन्दा लगभग ६० रुपैयाँ बढी तिरेर मान्छेहरूले यात्रा गरिरहेको देखियो। त्यति बेला 'अफलाइन सर्भिस प्रोभाइड' गर्नेहरू 'पठाओ चाहिएको हो?' भन्दै सोधिरहेका थिए। मैले हो भनेँ र आफ्नो ठाउँ बताएँ। उनीहरूले मसँग २५० रुपैयाँ लाग्ने बताए, जबकि इनड्राइभमा देखाइरहेको मूल्य १३० थियो। मैले १५० दिन्छु भनेँ। एउटाले भनिहाल्यो, '१३० देखाको ठाउँमा जम्मा १५० दिने? को जान्छ?' म अन्ततः अर्कैसँग अनलाइनमार्फत मैले तोकेकै मूल्य १३० तिरेर घर आएँ। 

यो एउटा प्रतिनिधि घटना मात्रै हो।

पठाओ या इनड्राइभ 'अफलाइन सर्भिस' र बार्गेनिङ काठमाडौँमा चलिरहेको नयाँ 'व्यवसाय' हो। तपाईं एउटा चोकमा उभिनुस्, बाइकवाला युवाहरू 'पठाओ हो?' भन्दै सोधेर हैरान पार्छन्। ट्याक्सी मिटरमा जान नमान्दा हुने बार्गेनिङभन्दा कम छैन अफलाइन चढ्नेहरूको बार्गेनिङ। उनीहरू चलेको अनलाइन दरमा पचास, सय र डेढ सयसम्म बढी दिए मात्र 'सेवा' दिन राजी हुन्छन्। 

धेरैजसोले अफलाइन चलाउन थालेपछि अनलाइनमा त्यति राइडरहरू भेटिँदैनन्। आजभोलि यस्तो 'सेयरिङ राइड' कसले चलाउँछ भनेर झट्ट थाहा नहुन सक्छ। तर उनीहरूको दुईपांग्रे अगाडि राखिएको मोबाइलको खोलले केही संकेत गर्छ। अझ ट्राफिक देखेपछि चालकहरूले त्यही मोबाइलको खोल पनि लुकाउँछन्। उनीहरू भन्छन्, "इनड्राइभ या अफलाइन भन्ने थाहा पाएपछि पुलिसले 'ल्याङ' गर्छ। यो चलाउन पाइँदैन नि। यसको अफिस छैन, कर तिर्नुपर्दैन, बिमा पनि हुँदैन त्यसैले।"

अफलाइन र बार्गेनिङ
म आफ्नै घरबाट म कहिल्यै पठाओ वा इनड्राइभ सेवा लिने गर्दिनँ। बिहान होस् वा राति, करिब पाँच मिनेटको चोकको 'लोकेसन' राखेर यो सर्भिस प्रयोग गर्छु। बोलक्कड चालक परे भने 'तपाईं यो चोकदेखि कता बस्नुहुन्छ भन्ने प्रश्नबाट शुरू भएर घर कहाँ र माइती कहाँसम्म?' पुग्छन्। अविवाहित भन्ने थाहा पाएपछि 'बिहे कहिले गर्ने, कि नगरी बस्ने? काठमाडौँमा के गर्नुहुन्छ?'सम्म प्रश्न गर्छन्। सेवा प्रदायकहरूको अनावश्यक प्रश्न र 'ल्याङल्याङ'को यो दोस्रो प्रतिनिधि घटना हो।

प्राय: पठाओ वा इनड्राइभवालाहरू अनलाइन कारोबार गर्छन्, तर इसेवा र खल्तीमार्फत। हामीलाई पनि त्यही सजिलो हुन्छ, किनकि त्यसो गर्दा खुद्रा पैसा छैन भन्ने नाममा बढी पैसा दिएर हिँड्नुपर्ने बाध्यता हुँदैन। तर मेरो हकमा भने चार–पाँच पटक त चालकहरूले पैसा नै प्राप्त भएर पछि मेसेज गरेका छन्, जबकि उनीहरूलाई नै देखाएर, 'क्यास ट्रान्सफर' भएपछि आफू हिँडिएको हुन्छ। यो भयो 'पेमेन्ट'सँग जोडिएको ल्याङल्याङ। यो तेस्रो घटना हो। 

क्यास नै तिरिएको छ भने पाँच–सात रुपैयाँको हिसाब नगर्नु भए हुन्छ। किनकि, त्यो पैसा फिर्ता आउने सम्भावना कम हुन्छ। खुद्रा छैन भनेर उनीहरू तर्कन्छन्, दौडिहाल्छन्।

चौथो चासोमा आउँछ 'सुरक्षा'। 

म नियमित ट्याक्सीमा भन्दा बिहान सबेरै वा राति घर फर्किनुपर्दा पठाओ सुरक्षित ठान्छु, तर सडक दुर्घटनाको सवालमा पठाओ वा इनड्राइभर दुईपांग्रे कति सुरक्षित हुन्छ, अनुमान गर्न सकिन्छ। 'बालबाल बचियो' भनेर मैले नै कैयौँ पटक महसुस गरेकी छु। मेरै साथीहरूको गफ सुनेकी छु, पोस्ट हेरेकी छु। बडो हतारमा हुन्छन् चालक। अझ कुन–कुन गल्लीबाट पसेर कहाँ पुर्‍याउँछन्, ठम्याउनै गाह्रो हुन्छ। योबाहेक बीचबीचमा ब्रेक हानेर 'असहज' बनाउने गरेको पनि राइड–प्रयोगकर्ता महिलाहरूको गुनासो छ। 

मैलेचाहिँ आजसम्म त्यस्तो महसुस गरेकी छैन। एक जना पठाओ प्रयोगकर्ताले भनिन्, 'म पठाओ (अनलाइन) मा स्नातकोत्तरको चौँथो सेमेस्टरको परीक्षा दिन पाटन जाँदै थिएँ। चालकले ब्याग पछाडि बोक्नुस्, बीचमा राख्दा अप्ठ्यारो हुन्छ भन्यो। मैले त्यसै गरेँ। तर उसले पटक–पटक आवश्यक नभएकै अवस्थामा समेत ब्रेक हानिरह्यो। म उसको ढाडमा ठेस्सिइरहेँ। अति असहज भयो उतिखेर। पठाओमा 'रिपोर्ट गर्न' मिल्ने सुविधासमेत हुन्छ भन्ने मलाई उतिखेर थाहा थिएन। त्यस कारण रेटिङ पनि दिइनँ।' यो भयो यात्रुको सुरक्षा र उत्पीडनको सन्दर्भ। 

पठाओ र इनड्राइभ
अनलाइनबाट बाइक र ट्याक्सीमार्फत तपाईंले चाहेको ठाउँमा व्यक्ति वा सामान पुर्‍याइदिन सहयोग गर्ने एप्लिकेसन हो पठाओ। पठाओ काठमाडौँ उपत्यकाभित्र सञ्चालित छ। नेपाल र बंगलादेशमा 'पठाओ'को नामले परिचित यो कम्पनीका अनुसार अहिलेसम्म करिब ३५ लाख पटक पठाओ एप्लिकेसन डाउनलोड गरिएको छ। उसका अनुसार पठाओले दैनिक करिब एक लाख पचास हजार राइड र डेलिभरी सेवा दिने गर्छ। 

आजका दिन '५० लाख जिन्दगीलाई प्रभाव पारेको' पठाओको दाबी छ। सन् २०१५ मा बंगलादेशमा यो सेवाको शुरूआत भएको थियो भने नेपालमा सन् २०१८ बाट यो सेवा शुरू भएको हो। यसको अफिस काठमाडौँको मध्यबानेश्वरमा छ। जीपीएस ट्रयाकिङ, लाइभ लोकेसन सेयरिङ र रिपोर्ट सिस्टमसमेत भएको पठाओ नेपालको सुरक्षित राइडिङ सेवाका रूपमा चिनिन्छ। यात्रु र चालक दुवैबाट २० प्रतिशत कमिसन लिने पठाओले दुर्घटना भएको अवस्थामा एक लाखसम्म उपचार खर्च बेहोर्ने नीति लिएको छ। 

सन् २०१२ मा रसियामा शुरू भएको इनड्राइभ नेपालमा २०१९ बाट सञ्चालनमा आएको हो। इनड्राइभले नेपालमा वैधानिक रूपमा दर्ता गर्ने क्रममा रहेको बताउने गरेको छ। कसैलाई कमिसन तिर्न नपर्ने भएकाले इनड्राइभ चलाउन सजिलो हुने चालकहरू बताउँछन्। यद्यपि, केही पहिलेबाट इनड्राइभले समेत राइडरसँग १० प्रतिशत कमिसन लिन थालेको 'ब्रान्डगफडटकम'मा उल्लेख छ। यसमा 'राइडर/यात्रु' को दुर्घटना बिमा हुँदैन। 

सवारी प्रयोग गर्ने क्रममा यात्रु दुर्घटनामा परे यात्रु र चालक दुवैले आ–आफ्नो उपचार गर्नुपर्ने इनड्राइभ चालकहरू बताउँछन्। इनड्राइभ ४७ देशमा सञ्चालित छ, जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। यसले मूल्य घटाउने या बढाउने (बार्गेनिङ)को 'अप्सन' दिन्छ र पठाओको तुलनामा यसको जीपीएस ट्रयाकिङ एकदमै राम्रो छ। 

चालक र यात्रु दुवैको यात्रा-बिमा नगरिएको भए पनि सहजै यसमा धेरै चालकहरू उपलब्ध हुने गरेका कारण यात्रुको छनोटमा इनड्राइभ पर्ने गरेका छन्। त्यसै कारण पनि नेपालमा इनड्राइभ युजरहरू बढिरहेका छन्।

यो लेख–अनुभव लेख्नुपूर्व महिलाहरू सक्रिय रहेका केही फेसबुक ग्रुपहरूमा सर्भे गरेँ, जसमा सहभागी भएर प्रतिक्रिया जनाउने ७३ जनामध्ये ६६.७ प्रतिशत नियमित पठाओ प्रयोगकर्ता थिए भने ३३.३ प्रतिशतचाहिँ कहिले पठाओ त कहिले इनड्राइभर प्रयोग गर्नेवाला थिए। सर्भेमा सहभागी महिलाहरूले आफूले 'अफलाइन पठाओ' सर्भिस प्रयोग नगरेको बताए। 

सुरक्षाको हिसाबले पठाओ वा इनड्राइभ कति सुरक्षित छ त भन्ने प्रश्नको उत्तरमा ३३.३ प्रतिशतले 'यो सेवा रोड सुरक्षाको हिसाबले सुरक्षित छ' भन्ने जवाफ दिए भने १६.७ ले 'आफूले सुरक्षित महसुस नगरेको' बताए। ५० प्रतिशतले चाहिँ कहिले सुरक्षित र कहिले असुरक्षित महसुस गर्ने गरेको बताए। 

यात्राका क्रममा चालकबाट अनावश्यक प्रश्नको झन्झट भोग्नुभएको छ कि छैन भन्ने प्रश्नको उत्तरमा ५० प्रतिशतले छ भने, ५० प्रतिशतले छैन। हिंसासम्बन्धी प्रश्नमा १६.७ प्रतिसतले आफूले हिंसा, नराम्रो व्यवहार र चालकले पछि एक्कासि फोन गर्ने समस्या झेलेको बताए। 

धेरैको असन्तुष्टि चालकले हतारहतार सवारी चलाउने विषयसँग थियो। राइडिङ सेवाको नाममा 'अफलाइन' सेवा बन्द हुनुपर्छ, पठाओ इनड्राइभजस्ता अनलाइन सर्भिस सुरक्षित र मर्यादित बनाउन नियमहरू ल्याउनुपर्छ, सवारीको स्पिडबारे सीमा तोकिनुपर्छ भन्ने धेरैले चाहेका छन्। इन्टरनेटको बढ्दो प्रयोगसँगै पठाओजस्ता सुविधाको प्रयोग बढ्दै गए पनि यो कत्तिको सुरक्षित हो भन्ने प्रश्न यथावत् छ। 

इन्टरनेटको अनुपलब्धता या प्रयोगको असमर्थताको लाभ लिँदै कतिपयले गर्ने गरेको 'अफलाइन' सेवामूलक व्यवसाय आफैँमा चुनौतीपूर्ण छ। धेरैजसो चालक इमानदार होलान्, तर यसको नाममा अपराध र हिंसाको खतरा पनि उत्तिकै छ। त्यसो हुँदा अफलाइन सर्भिस बन्द गराउँदै ऐन कानूनको प्रावधान र उचित नियमन तथा निगरानीसहित यो सेवा प्रयोगमा ल्याइयो भने धेरै यात्रु लाभान्वित हुन सक्छन्। 

जाममा परे पनि वैकल्पिक बाटोहरू प्रयोग गरेर ठाउँमा समयमा पुर्‍याउने, ठाउँ नचिनेकाहरूका हकमा पनि ठेगाना बताएकै आधारमा पुर्‍याउने, सार्वजनिक सवारीको भीड र ढिलाइबाट बच्ने सन्दर्भमा यी सेवा सही छन्। थोरै लगानीमै यस्तो सेवा–पेसा चलाएर जीवन धान्ने व्यक्तिसमेत बढेका कारण यसका राम्रा पक्ष छन्, प्रयोगकर्ता बढेका छन्। 

महँगो ट्याक्सी सेवा लिनुभन्दा तुलनात्मक रूपमा सस्तो राइडिङ सेवा काठमाडौँ उपत्यकावासीका लागि राम्रो छनोट बनेको छ। तर अझै 'डेटा इन्टरनेट' महँगो हुँदा या सबैको स्मार्टफोन र डेटा इन्टरनेटमा पहुँच नहुँदा या चलाउन नजान्दा, कतिपय अवस्थामा हतारका कारण यात्री 'अफलाइन बाइक राइड' चढ्न बाध्य छन्। त्यस्तो अवस्थामा र इनड्राइभजस्तो बिमा नहुने सेवाका कारण यी यात्रा पूर्ण रूपमा सुरक्षित छैनन्। 

अर्को कुरा, एकाधबाहेक अधिकांश दुईपांग्रे चालकहरू पुरुष हुने गरेका छन्। दुईपांग्रेमा बस्दा चालकको ढाडमा ढेसिन या कतिपय अवस्थामा सपोर्ट लिनसमेत बाध्य हुन्छ पिलियन राइडर (यात्रु)। अर्को कुरा, अनलाइन सेवा प्रयोग गर्दा व्यक्तिको फोन नम्बर सेयर हुन जान्छ र त्यस फोन नम्बरको चालकले दुरुपयोग गर्ने सम्भावना पनि उत्तिकै हुन्छ। यी अवस्थामा खास गरी महिलाको हकमा उत्पीडनको सम्भावना बढ्छ।  

यी सबै पक्ष केलाउँदै राइडिङ सेयरिङ सेवालाई सुरक्षित बनाउन काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकाको नेतृत्व जुट्नुपर्ने देखिन्छ।


सम्बन्धित सामग्री