Monday, May 06, 2024

-->

चराहरू, फेरि बोलाउँछौ त खोप्रा!

खोप्रासम्मको पैदल यात्रामा ६५ प्रजातिका चरा देखिए। थप समय भएको भए र खयर तालसम्म पुग्न पाएको भए अझै देखिन्थे होला। कतिपय चरा देखिए पनि धेरै हिमाली चरा त्यस यात्रामा छुटे।

चराहरू फेरि बोलाउँछौ त खोप्रा

होटलको कोठामा ब्याग राखेर बाहिर निस्कँदा घामको प्रतिविम्बले ’दक्षिण अन्नपूर्ण’ टिलिक्क टल्किएको थियो। ’होटल मिलन’को आँगन सुनसान थियो। अन्नपूर्णको मोहक दृश्यको कदर गर्दै म बिस्तारै भर्‍याङबाट तल झरेँ। होटलको ’आगमन कक्ष’मा लहरै कुर्सीहरू थिए। क्यामरा र दूरबिन त्यही कुर्सीमा राखेर म भान्सातिर छिरेँ।

’चिया खान सकिन्छ?’

’मज्जाले सकिन्छ, दूध कि कालो?’ भान्साभित्रबाट होटेल साहुजीले सोधे।

 ’चिया त दूध भएकै खानपर्छ।’

हरेकचोटि ’चिया खाने’ कुरो चल्दा ’खाने कि पिउने’ भन्ने कुरा मेरो दिमागमा आउँछ। ’पिउने’ भन्नु पर्ने हो, तर कहिल्यै भनिँदैन। बुझ्नेले पनि बुझेकै छन्। चलेकै छ।

त्यति भनेर बाहिर निस्केँ। घामको प्रकाशले अन्नपूर्ण अझै बलेको थियो। बादल अलि धेरै भएर हो कि, दिन भने त्यति उज्यालो थिएन।

खोप्रा गाउँ

सन् २००९ मा पहिलोपटक टेकेकाे घान्द्रुक २०२२ मा पुग्दा त्यहाँ धेरै कुरा फेरिएको थियो। यसअघि (२०१७) मै जाँदाभन्दा पनि यसपटक धेरै नै फरक लाग्यो। आजभोलि त गाउँको फेदसम्म नै गाडी जाँदो रहेछ। हामी बसेको होटलबाट तल रोडसम्मै देखिन्थ्यो। धेरै समयपछि त्यहाँ पुगेकाले बेग्लै प्रकारको उमंगले म पुलकित थिएँ।

धेरै पछि हिमालको काखमा पुग्न पाउँदा खुशी थिएँ। हिमालका चराहरू देख्न पाउँदा अझै रोमाञ्चित भएँ। अन्नपूर्ण क्षेत्रका चराबारे स्नातकोत्तरको शोधपत्र लेखेको हुँदा मलाई त्यहाँका चराहरू बढी आफ्ना र प्यारा लाग्छन्। पाँच वर्षको अन्तरालपछि त्यहाँ गएको भएर कतै मैले धेरै चराहरू नै चिन्दिनँ कि भनेर अलि चिन्तित थिएँ।

सोचमा डुब्दै गर्दा पछाडि कोही आएझैँ लाग्यो। मसँगै विश्वविद्यालयमा पढ्ने एक अमेरिकन साथी पनि केही हप्ताका लागि चरा हेर्न नेपाल आएकी थिइन्। तराई, पहाड र हिमालकै चराहरूसँग परिचित गराउने हिसाबले मैले उनको यात्राको योजना बनाएको थिएँ। काठमाडौँ वरपरको ’बर्डिङ’ पछि हाम्रो यात्रा खोप्रा डाँडा र खयर लेकको थियो। उनी धेरै उत्साहित थिइन्। 

नेपालमा देखिएका धेरै चरा उनका लागि “लाइफर” थियो। लाइफर चरा भन्नाले जिन्दगीमा आफूले पहिलोपटक देखेको चरा बुझिन्छ। मैले उनीलाई नेपालको यात्राभरिमा कम्तिमा पनि ३०० वटा चरा त देखाउँला भनेर वचन दिएको थिए। काठमाडौँ, मुख्य रूपमा शिवपुरी राष्ट्र निकुञ्ज र रानीबारी डुलेर नै एकै दिनको बर्डिङमा ५०–६० चरा त पुगिसकेको थियो। घान्द्रुक निस्किनु अगाडि बिहान पोखरामा अर्को २२ वटा जति नयाँ थपिएको थियो। अब पालो थियो हिमालका चराहरू खोज्ने।

मैले उनका लागि भनेर कभर पन्नामा डाँफे भएको ’बर्ड्स अफ नेपाल’ पुस्तक किनेको थिएँ। ’जसरी भए पनि हिमालयन मुनालचाहिँ हेर्नै छ,’ उनी समय समयमा भन्दै गर्थिन्। मचाहिँ उनीलाई ’माथि लागेपछि देख्न सकिन्छ’ भनेर आश्वासन दिन्थेँ। देखिन्छ भन्ने पनि लागेको थियो। शायद गोसाइँकुण्ड या लामटाङ क्षेत्रमा भएको भए मैले ढुक्कका साथ देखाइदिन्छु भन्न सक्थेँ। अन्नपूर्णमा भने उति निर्धक्क भएर भन्न सकिनँ। तर पनि आसचाहिँ थियो। 

’मैले चिया भनेको छु है’ भनेर मैले आफ्नो कुर्सी समातेँ। उनी पनि आफ्नो हातमा भएको ’बर्ड्स अफ नेपाल’ पुस्तक टेबलमा राखेर नजिकैको कुर्सी तानेर बसिन्।

चिया सकेर चरा हेर्न एकछिन बाहिर निस्किनुपर्ला भनेर म उनीसँग कुरा गर्न थालेँ। चार बज्नै लागेको थियो, हामीसँग केही घण्टाको दिन बाँकी थियो। एकछिन भए पनि केही नयाँ चराहरू देखिन्छन् कि भन्ने आस थियो। चिया आउँदासम्म हामीसँग यात्रामा सामेल मेरो अर्को नेपाली साथी पनि तल आइसकेकी थिइन्।

चिया खाँदै हामी नेपालको पहाडी बाटोबारे कुरा गर्दै बसिरहेका थियौँ। पहिलो पटक अमेरिका छोडेर आएकी उनलाई पहाडको त्यस्तो सानो बाटोमा बस गुडेको देखेर अचम्म लागेको थियो। ’जिप नै कसरी अटेको छ यहाँ?’ भनेर उनले प्रश्न गर्दै गर्दा अगाडिको सडकमा फेरि अर्को बस दौडियो र उनी छक्क परिन्। 

चिया आयो। हामी चियातर्फ लाग्यौँ। चिया खान एकैछिन कुरामा ब्रेक लगाउन नपाई डाँडाको तलपट्टि चरा कराएको सुनियो। शायद कुरा गर्दै गरेको भएर हामीले चरा कराएको आवाज ख्याल गरेका थिएनौँ। मैले लगभग ५ वर्षपछि ’त्यो’ चरा कराएको सुनेँ। त्यस चराको गीत भने मैले बिर्सेको थिइनँ।

’व्हाट इज ड्याट्?’ उनले सोधिन्।

आफूले चिनेकै चरा परेकाले मैले खुशीका साथ ’ब्लु ह्विस्लिङ थ्रस’ भनेर जवाफ दिएँ र आफ्नो कुर्सीबाट उठेर त्यो चराको आवाज आएकोतिर नियाल्न थालेँ। ब्लु ह्विस्लिङ थ्रसको नेपाली नाम हो कल्चौँडे। यो चराको गीत एकदम राम्रो र सुरिलो हुन्छ। अझै रमाइलो कुरा, धेरैजसो गाउँघरतिर, यसको गीतले ’काली छु, कल्चौँडी हुँ, तेरो बाउको के खाइदिएको छु?’ बोल्छ भन्ने लोकबुझाइ रहेछ। कल्चौँडे पनि फेला पर्‍यो। उनलाई दूरबिन दिएर चरा भएतर्फ देखाएँ। आफैँचाहिँ फोटो खिच्न लागेँ।

कल्चौँडे (ब्लु ह्विस्लिङ थ्रस)

केहीबेरको ’चरा दर्शन’ पछि हामी आफ्नो कुर्सीतर्फ फर्क्यौं। आफूले खिचेको फोटो कस्तो आए छ भनेर हेर्दैथिएँ। हामीभन्दा अलि पर पानीको ट्यांकीमा बसिरहेको अर्को चरा देखाएर साथीले ’त्योचाहिँ के?’ भनेर सोधिन्। टाढैबाट समेत फ्याट्टै चिन्न सकिने चरा थियो त्यो। ट्यांकीबाट आकाशतर्फ सोझिएको पिभीसी पाइपको टुप्पोमा थियो भद्राई।

भद्राई (लङ टेल्ड स्राइक)
 

काठमाडौँ वरपर प्रशस्तै पाइने यो चरा हामीले बूढानीलकण्ठबाट माथि लाग्नेबित्तिकै पनि देखेका थियौँ।

दुई चराले केहीबेर रमाइलो गराइदिए। फर्केर आउँदासम्म त साथीहरू दुई जनाकै चिया चिसो भइसकेछ। जिब्रो पोल्नेगरी तातो चिया खाने बानी भएको मैले भने चरा हेर्न उठ्नुअघि नै  चिया सकाएको थिएँ। 

साथीहरूले पनि चिया रित्त्याएपछि हामी तयार भइवरी घान्द्रुक गाउँतिर चरा खोज्न निस्कियौँ। बसेको होटलबाट बाहिर निस्किन नपाई अलि अगाडि एउटा सानो चरा उडेको देखियो। केही पर पुगेर त्यो चरा रोकियो। म आफ्नो क्यामरा तेर्साएर फोटो खिच्न लागेँ।

यो पनि मैले मनाङमा धेरै पटक देखेको चरा थियो। नीलटाउके खञ्जरी। भाले नीलटाउके खञ्जरीको नीलो टाउको र सुन्तला रङको शरीर भए तापनि पोथी भने खैरो रङका हुन्छन्।

नीलटाउके खञ्जरी


मेरो साथीका लागि त्यो पनि ’लाइफर’ (जीवनको पहिलो अनुभव)  थियो। उनी खुशी हुँदै त्यसको फोटो खिच्न लागिन्। मैले पनि २–४ ’सट’ लिएँ र हामी अघि बढ्यौँ। घरबस्ती वरपर हिँडेको भएर बेलाबेला ’घर भँगेरा’को आवाज सुनिन्थ्यो। त्यो भने हामी दुवैले राम्रोसँग चिन्ने प्रजाति। आफ्नो त पीएचडीको विषय नै त्यही। भँगेरा त जहाँ देखे पनि खुशी लाग्छ। ’रुख भँगेरा’ भने अमेरिकातिर भेट्न अलि गाह्रो हुने भएकाले उनी त्यो देख्दा धेरै उत्साहित हुने गर्थिन्। भँगेराको कुरा गर्दै हामी गाउँको गल्लीगल्ली लाग्यौँ। उनी बेलाबेला ’कस्तो राम्रो’ भन्दै रोकिँदै घान्द्रुक गाउँका घरहरूको फोटो लिन्थिन्।

रुख भँगेरा

हिमशृंखलाको पृष्ठभूमि र अगाडि परम्परागत गुरुङ समुदायका घरहरू, घान्द्रुकको सुन्दरता बिछट्टै मनमोहक छ। हामी बिस्तारै घान्द्रुक गाउँ छोडेर माथितिर लाग्दै गयौँ। उकालो लाग्दै गर्दा परबाट तीव्र बेगमा एउटा चरा उडेर गयो र केही पर रुखको टुप्पोमा बस्यो। रुखमा बस्न नपाई उसको पुच्छरको चाल हेरेर नै हामीले चिनिहाल्यौँ। साथी नै पहिले कराइन्, ’केस्ट्रल।’ केस्ट्रलको नेपाली नाम बौँडाई! यो एउटा सानो प्रकारको बाज हो। अमेरिकामा पाइने अमेरिकन केस्ट्रल यहाँ पाइने सबैभन्दा सानो ’फ्याल्कन’ मा पर्छ। फ्याल्कनमै पर्ने सबैभन्दा चर्चित फ्याल्कन भने ’पेरेग्रिन फ्याल्कन’ वा शाही बाज हो। 

शाही बाज (पेरेग्रिन फ्याल्कन)

केस्ट्रल छोडेर हामी अघि बढ्यौँ। एकैछिनको हिँडाइपछि जब गाउँ पूरै छोडेर केही माथि पुगेका थियौँ, मैले अलि परबाट फेरि भँगेरा देखेँ। तर, कताकता अघिभन्दा भिन्न लाग्यो। हतारहतार दूरबिन झिक्न लागेँ। पच्छयाउँदै गरेका साथीहरूले भने यसबारे मेसो पाएका थिएनन्। मैले दूरबिनबाट हेरेँ र हतारमै क्यामराले फोटो खिच्न थालेँ। त्यो देखेर साथीहरूले सोध्न थाले: ’के रहेछ?’

म ’एकैछिन है’ भन्दै फोटो खिच्नतिरै लागेँ। मैले देखेको चरा भँगेरा नै रहेछ तर त्यो न घर भँगेरा थियो, न त रुख भँगेरा। त्यो त ’रसेट्स स्प्यारो (कैलो भँगेरा) रहेछ। मलाई याद भएसम्म कैलो भँगेरा मैले पहिले देखेको थिइनँ। 

कैलो भँगेरा (रसेट्स स्प्यारो)

अमेरिका पुगेदेखि ’इबर्ड’ नामको एप्लिकेसन चलाउन थालेको हुँ। अहिले भने इबर्डले आफूले देखेका सबै चराको रेकर्ड राखिदिन्छ। नेपाल हुँदा भने म सानो कागजमा चराहरूको विवरण लेखेर हिँड्ने गर्थें। फर्केर त्यो नोटमा हेर्दा मेरो लिस्टमा ’कैलो भँगेरा’ छैन। ’लाइफर’ सँगै नेपालमा पाइने भँगेराका सबै प्रजाति देखिएको त्यो पल साह्रै खुशी भइयो। सँगै गएका साथीहरू दुवै जनाका लागि पनि त्यो लाइफर नै थियो।

उत्साहको सीमा नै रहेन। मैले क्यामरामा लिएको तस्वीरलाई पुस्तकमा रहेको कैलो भँगेरासँग तुलना गरेर फेरि ’कन्फर्म’ गरेँ– ’रसेट्स स्प्यारो।’

हामी सबै खुसी भयौं र अरू चराको खोजीमा हिँड्यौँ।

बाटोमा धेरै जुरेली देखिए। तल गाउँतिर परेवाको झुन्ड उडेको देखिन्थ्यो। ठूला–ठूला रूखका टुप्पोमा बसेर कागहरू कराइरहेका थिए। बिस्तारै साँझ पर्दै गइरहेको थियो। गाउँ छोडेर जंगलतिर लाग्दा खासै केही देखिएन। अलि धेरै नै माथि लागेपछि भने बिस्तारै चराहरूको चिरिबिरी बढ्दै गयो। सबैभन्दा पहिले सुनियो न्याउली। नजिकै जस्तो सुनिए पनि न्याउली कतै पर कराइरहेको हुन्थ्यो। उसको गीतसँगै अर्को न्याउली कहीँ परैबाट उसलाई जवाफ दिइरहेको हुन्थ्यो। 

न्याउली (ग्रेट बार्बेट) हामीले काठमाडौँमै देखिसकेका थियौँ।

जुरेली

 

न्याउली (ग्रेट बार्बेट)

म डाँडामा अघिअघि लाग्दै थिएँ। साथीहरू पछिपछि। अगाडि हिँड्नुको फाइदा भइहाल्यो। केही कदम अगाडि सानो फ्लाइक्याचर (उड्दै कीरा फट्यांग्रा खाने एक प्रकारका चरा) भुर्र उडेको देखेँ। हतार गरेर तस्वीर लिइहालेँ: ’हड्सन रेड्स्टार्ट’ अर्थात् तनकम्प खञ्जरी। मेरो लागि यो चरा नयाँ थिएन। मनाङमा टन्नै देखेको थिएँ। अरू दुई साथीहरूका लागि भने नयाँ थियो। 

तनकम्प खञ्जरी (हड्सन रेड्स्टार्ट)

डाँडाबाट तल हेर्दा मेरा साथीहरू अर्कै चरा हेर्दै रहेछन्। मलाई देखेपछि ’ऊ… त्यो के हो?’ भनेर सोधे। मैले उनीहरूको कुरातिर ध्यान नदिई भनेँ, ’यहाँ हड्सन रेड्स्टार्ट छ।’ उनीहरू हतारिँदै मतर्फ आए। तर त्यो रेड्स्टार्ट फेरि भेटिएन। दुःखको कुरा, त्यहाँ मात्र होइन, त्यो यात्राभर उनीहरूले त्यो चरा देख्ने माैका पाएनन्। मैले दोबाटोमा फेरि देखेको थिएँ, तर उनीहरूले त्यसबेला पनि हेर्न छुटाए।  ’लाइफर’ मा आफूले देख्ने मौका पाएको र चिन्न सक्ने चरा मात्र पर्छन्। त्यसैले उनीहरू दुवैको ’लाइफ लिस्ट’मा त्यो चरा पर्न सकेन।

रेडस्टार्ट नदेखिएपछि म उनीहरूले देखेको चरा खोज्नतिर लागेँ। हामीभन्दा परको ढिस्कोमा भुईंमा केही खोजिरहेको त्यो चरालाई देख्नेबित्तिकै मैले चिनिहालेँ: ब्ल्याक थ्रोटेड थ्रस (कालोकण्ठे चाँचर)। विदेशी साथीको लागि त्यो पनि ’लाइफर’ नै थियो। उनले त्यसको  फोटो लिन थालिन्।

कालोकण्ठे चाँचर (ब्ल्याक थ्रोटेड थ्रस)

हामी बिस्तारै अघि बढ्यौँ। पर कतैबाट काठमा केही बजारेझैँ ट्वाकट्वाक आवाज आइरहेको थियो। रुखको हाँगातिर हेर्दै म बिस्तारै हिँड्दै थिएँ। काठफोर चरा हो कि जस्तो लागेको थियो। तर कतै पनि भेट्न सकिएन। बरु काठफोरको खोजीमा रूखतिर नियाल्दै हिँड्दा ’रस्टी फ्ल्यान्क्ड ट्रिक्रिपर’ भेटियो। यो एउटा सानो प्रकारको रूखमा बस्ने चरा हो।

रस्टी फ्ल्यान्क्ड ट्रिक्रिपर

थ्रस र ट्रिक्रिपरबाहेक त्यो जंगलमा अरू केही भेटिएनन्। रात पनि पर्न लागेको थियो। हामी बिस्तारै होटलतिर लाग्यौँ। छोटो समयको भए पनि त्यो दिनको बर्डिङ राम्रो भयो। होटल पुगेर खाना खाँदै दिउँसो देखेका चराबारे केहीबेरको कुराकानीपछि हामी सुत्न गयौँ। 

बिहान उठेर टाढापानीतिर लाग्ने योजना थियो। हिँडेको भए घान्द्रुकदेखि दोबाटो गाउँ नै पुगिने भए पनि हामी चराहरू हेर्दै/खोज्दै जाने भएकाले बिस्तारै गएर टाढापानी बसेर भोलिपल्ट मात्र दोबाटो जानेवाला थियौँ।

भोलिपल्ट बिहानै उठेर खाजा खाइवरी आफ्नो बाटो लाग्यौँ। बिहानै भएर होला घान्द्रुक गाउँ छोडेर हिँड्दासम्म खासै केही देखिएन। गाउँ कटेर माथि नै पुगेपछि मात्र उज्यालो हुन लागेको थियो र जंगलमा बिस्तारै चराहरूको गीत गुन्जिँदै थियो। पर कतै न्याउली अझै कराइरहेको थियो। कतै हिजोकै न्याउली त होइन यो भन्ने सोच्दै म त्यसको खोजीमा हिँडेँ। घान्द्रुक गाउँ कटेर लगभग ३० मिनेट हिँडिँसक्दा पनि खासै केही देखिएन।

सानो सानो आवाजमा चराहरूको गीत भने सुनिइरहेको थियो। चराहरू देखेरै चिन्न गाह्रो हुन्छ। आवाजले मात्रै चिन्नु त झनै गाह्रो कुरा हो। मैले गएका केही वर्षयता चराको आवाज सुनेर चिन्ने अभ्यास गर्दैछु, तर अहिलेसम्म पोख्त हुन सकेको छैन। 

फिल्डमै बसेर चरा देखेर/आवाज सुनेर अभ्यास गर्न सके आवाज/रूपरङबाटै बिस्तारै चरा चिन्न सकिन्छ। त्यहाँ आवाज सुनेकै भरमा धेरै चरा त चिन्न सकिनँ। एउटा भने मैले चिनेँ: ग्रे हुडेड वार्ब्लर

अर्थात् (तुमुलकारी फिस्टो)। यो सानो प्रकारको फिस्टे चरा हो। खरानी रङको टाउको भएको चराको गीत ’टियीँ टियीँ’ झैँ सुनिने। अमेरिकामा पाइने एउटा फ्लाइक्याचरझैँ सुनिने त्यसको गीत हामीले काठमाडौँको रानीबारीमा सुनेपछि अमेरिकन चराको झैँ रहेछ भनेर सम्झेका पनि थियौँ। त्यही ’टियीँ टियीँ’ त्यहाँ पनि सुनेपछि दूरबिनले हेरेर 'कन्फर्म' गर्दा त्यही चरा रहेछ।

तुमुलकारी फिस्टो (ग्रे हुडेड वार्ब्लर)

घामको न्यानो किरणसँगै बिस्तारै चराहरूको आगमन हुन थाल्यो। व्हाइट थ्रोटेड लाफिङ थ्रस (सोइरने तोरीगाँडा), स्केली लाफिङ थ्रस (कत्ले तोरीगाँडा), ब्ल्याक थ्रोटेड थ्रस (कालोकण्ठे चाँचर), ग्रे बुशच्याट (हिमाली झ्याप्सी), कोल टिट (सानो फुस्रे चिचिल्कोटे) इत्यादि नामहरू चराहरूको तालिकामा थपिँदै गए। मेरा लागि यी चरा नयाँ थिएनन्, तर साथीहरूका लागि भने लगभग सबै नयाँ थिए, नेपाली साथीका लागि बुशच्याट बाहेक। माथि उल्लिखित चराहरू सामान्यतया त्यहाँको आसपास आइरहन्थे। त्यो दिनको हिँडाइमा मेरो लागि नयाँ चरा थियो– चेस्नट क्राउन्ड वार्ब्लर।

चेस्नट क्राउन्ड वार्ब्लर

चरा खोज्दै बिस्तारै हिँडे पनि हामी लगभग अपराह्नतिर टाढापानी पुगिसकेका थियौँ। खाना खाएर केहीबेर विश्राम गरेर फेरि त्यस आसपास चरा खोज्न जाने योजना थियो।

लगभग साँझ पर्नै लागेको बेला हामी टाढापानी वरपर नै चराहरू खोज्न निस्क्यौँ। टाढापानी पुग्नु अघि, मोडबाट तल एउटा गोठ देखेको थिएँ। गोठ वरपर चराहरू देखिन्छन् कि भनेर त्यता लाग्यौँ। नभन्दै त्यहाँ त चराहरूको मेला नै लागेको रहेछ। सुनठूँडे लामपुच्छ्रे, थोप्ले खोलेधोबिनी, कण्ठे चाँचर, चेस्नट थ्रश। जहाँ हेरे पनि चरैचरा! धेरैजसो दिनभरको हिँडाइमा देखिएका चरा नै थिए ती। 

चेस्नट थ्रश

 

सुनठूँडे लामपुच्छ्रे

थोप्ले खोलेधोबिनी

म भने त्यो झुन्डमा केही नयाँ चरा छन् कि भनेर नियाल्दै थिएँ। नभन्दै, सोचेजस्तै भयो। सानो खोल्सोको छेउमा भुईंमा हिँडिरहेको चरा मैले चिन्न सकिनँ। थ्रसझैँ देखिने चरा के रहेछ भनेर हतारहतार मैले २–३ वटा फोटो लिइहालेँ। अनि दूरबिनले नियालेर हेर्न थालेँ। शरीरको बनावट हेरेर मलाई थ्रसजस्तो लागेको चरा आखिरमा रहेछ थ्रसकै एउटा प्रकार– ग्रे विङ्ड ब्ल्याकबर्ड (मदना चाँचर)। त्योचाहिँ मेरो लागि लाइफर नै थियो। म अगाडि अगाडि हिँडेकाले देख्न भ्याएको थिएँ। नेपाली साथी मभन्दा केही कदम पछाडि भएकाले उनले पनि हेर्न भ्याइन्, तर विदेशी साथीले भने देख्न पाइनन्। हामीले त्यो चरालाई त्यसपछि पनि धेरैबेर खोज्यौँ, तर भेटिएन।

मदना चाँचर (ग्रे विङ्ड ब्ल्याकबर्ड)

विदेशी मित्रका लागि भए पनि भोलिपल्ट बिहान त्यो चरा खोजौँला भनेर हामी होटेलतिर लाग्यौँ। त्यसबेला अँध्यारो भइसकेको थियो।

बिहान निद्रा खुल्न नपाई म क्यामरा र दूरबिन लिएर बाहिर निस्केँ। केही विदेशीहरू सूर्योदयको फोटो लिन ट्राइपडमा क्यामरा अड्काएर तम्तयार थिए। मलाई पनि सूर्योदय हेर्न रमाइलो नलाग्ने त होइन, तर मचाहिँ सूर्योदय छोडेर फेरि अघिल्लो साँझ गएको जंगलतिर हेर्न थालेँ। त्यही ठाउँमा चाँचरहरू डुलिरहेका थिए। त्यही झुन्डमा थियो एउटा मदना चाँचर! म दौडिँदै गएँ र हिजो त्यो चरो हेर्न नपाएकी साथीलाई बोलाएर ल्याएँ। उनी आउँदासम्म पनि चरा त्यहीँ थियो। यो चरा उति दुर्लभ नभएता पनि देख्न र देखाउन पाउँदा कम्ती रमाइलो लागेको होइन। 

मदना चाँचरको फोटो खिचेर हामी बिहानी खाजा खानतिर लाग्यौँ।

आज हामी उकालो चढ्दैछौँ बिस्तारै। बाटोमा देखिने अन्य चरा त छँदै छन्, हिमाली भेगमा मुनाल (डाँफे) पाउन थाल्छ भन्दै म साथीलाई आश्वासन दिँदै थिए। खाजा खाइसकेर हामी बिस्तारै आफ्नो बाटो लाग्यौँ। टाढापानी छोडेर केही पर पुग्न नपाई हामीले रूखको टुप्पोमा उफ्रिरहेको एउटा सानो चरा देख्यौँ।

विश्कर्ड युहिना! (जुँगे जुरे चरा) भनेर म कराएँ। मेरो लागि यो नयाँ नभए पनि मलाई एकदम मन पर्ने चरामा पर्छ यो। टाढापानीको गाउँ सकिन नपाउँदै आइपुग्ने जंगलमा धेरै जुरे चराहरू थिए। दुवै साथीले दूरबिनबाट त्यो चरा हेरे। अमेरिकन साथीले भनिन्, ’यो त हाम्रो टफ्टेड टिटमाउस जस्तै रहेछ।’ यो चरो अमेरिकामा पाइने टफ्टेड टिटमाउस जस्तै देखिन्थ्यो।

विश्कर्ड युहिना

हामी फेरि आफ्नो बाटो लाग्यौँ। अघिल्लो दिनझैँ चाँचर, जुरेली र ट्रिक्रिपरहरू बाटोभरि देखिन्थे। कहिलेकहीँ आकाशमा हिमाली गिद्ध पनि सयर गरिरहेको हुन्थ्यो। बिहान देखेमध्येका सबैभन्दा रमाइलो लागेको चराचाहिँ भूमिचर नीलकण्ठ (ब्लु थ्रोट) थियो। 

हिँड्दै गर्दा कुनै जीव ठूलो स्वरमा कराएको सुनियो।

’चरा हो र यो?’ साथीले सोधिन्। ’होइन!’ एक्कैछिन झुकिए पनि मैले त्यसलाई चिनिहालेँ। बाँदर विशेषज्ञ मुकेश चालिसे सरसँग डुलेर बाँदरबारे सिक्न पाएकोले मैले त्यो आवाज पहिल्याउन सकेको थिएँ। केही बेरको कसरतपछि बाँदर भेटियो। फोटो खिच्यौँ। त्यो दिन भने त्यस्तो धेरै नयाँ चरा भेटिएनन्। लगभग दिउँसै जस्तो हामी दोबाटो पुग्यौँ।

होटलमा पुगेर चिया पिउँदै गर्दा म आफूले खिचेका फोटो हेर्दै देखिएका चराहरूको सूची ’कन्फर्म’ गर्दै थिएँ। त्यत्तिकैमा ’होटलको दाइ’ आउनुभयो र भन्नुभयो, ’चराहरू खोज्न आउनुभएको हो तपा‍ईंहरू?’ भित्र डाइनिङ टेबलमा बसिरहनुभएका अर्का एक जना ’गाइड’ पनि हाम्रो कुराकानीमा सामेल हुनुभयो। मैले मनाङ र गोसाइँकुण्डको आफ्नो यात्राबारे उहाँहरूलाई सुनाएँ। उहाँहरूले मलाई ’दिदी खयरलेक’ र ’बहिनी खयरलेक’ बारेमा भन्नुभयो। खोप्रा र दोबाटो हुँदै चल्ने ’मुल्दै ट्रेक’को विकासबारे सुनाउनुभयो। हामी धेरै बेरसम्म त्यहाँ कुरा गरेर बस्यौँ।

’यतातिर डाँफे कत्तिको पाइन्छ दाइ?’ मैले सोधेँ।

दाइले भन्नुभयो, ’यहीँ त पाइँदैन, भोलि तपाईंहरू खोप्रा जाँदै हुनुहुन्छ। त्यता जाँदा बाटोपारिको डाँडातिर मज्जाले डाँफे देख्न पाइन्छ।’ बिस्तारै डाँफे दर्शनको आस पलाउँदै थियो। पहिलो पटक गोसाइँकुण्ड जाँदा देखेको बेला डाँफेको तस्वीर खिच्न मसँग क्यामरा नै थिएन। पछि स्नातकोत्तर गर्ने क्रममा लामटाङ जाँदा सानो कम्प्याक्ट क्यामरा बोकेर गएको बेला फेरि डाँफे देखियो, तर त्यो बेला खिचेको फोटो भने राम्रो आएन। यसपालि राम्रो फोटो लिन्छु भन्ने आस थियो।

साँझ नेपालका विभिन्न ठाउँमा पाइने चरा र वन्यजन्तुबारे कुरा गर्दै बित्यो। त्यो ट्रेकमा गर्मी याममा भालुले एकदम दुःख दिने कुरा त्यहाँका एक जना दाइले बताउनुभयो। हामी गएको समय जाडो मौसम भएकाले भालुहरू ’हाइबर्नेसन’ मा हुने हुँदा खासै डर थिएन।

त्यो रात रमाइलो गफगाफ भए। भोलिपल्ट बिहानै उठेर मुल्दै पिक गएर खोप्रातिर लाग्नुपर्ने भएकाले हामी अलि चाँडै सुत्न गयौँ।

भोलिपल्ट बिहान झिसमिसेमै उठेर हामी सूर्योदय र संयोग जुरेमा चरा हेर्न भनेर माथितिर लाग्यौँ। लगभग ३०–३५ मिनेटको हिँडाइमा मुल्दै पिक पुगियो। धेरै हिमाली ठाउँ डुलेको भएता पनि मुल्दैबाट देखिने दृश्यले मलाई छक्क पार्‍यो। अझ सूर्योदय पछिको सूर्यको घामले टल्किएको हिमालको दृश्य त सधैँ हेरिरहुँ जस्तो। तर रोबर्ट फ्रस्टको कबितामा भनेजस्तो ’माइल्स टु गो बिफोर आइ स्लिप’ को अवस्था थियो। 

हामीलाई खोप्रा पुग्नुथियो, डाँफे पनि खोज्नु थियो। बिहानपख देख्ने सम्भावना धेरै भएकाले सक्दो चाँडो डाँफे देख्ने ठाउँ हामीलाई पुग्नुथियो। एकजना स्थानीय दाइले ’फलानो ठाउँमा पाउँछ’ भनेर ढुक्क बनाउनुभएको थियो। त्यही अनुसार त्यहाँ एकछिन विश्राम गरेर हेर्ने योजनाका साथ हामी हिड्यौँ।

डाँफे देखिने भनेको ठाउँ पुग्नुअघि नै हामीले एउटा रमाइलो चरा भेट्यौँ। ढुंगामा हिँडिरहेको चरा परबाटै देखेर म एकछिन रोकिएँ। युरेसियन रेन (चित्री) रहेछ। त्यसको फोटो खिचेर हामी फेरि आफ्नो बाटो लाग्यौँ। डाँफे पाइने भनेको ठाउँतिर रोकिएर धेरैबेर दूरबिनले नियाल्यौँ तर केही देखिएन। अनि माथि पाइएला भन्दै अघि बढ्यौँ। त्यो ठाउँ छोडेर गएको एक घण्टा जस्तो बितेपछि एक ठाउँमा केही प्रकारका फेजेन्ट (डाँफे र कालिजहरूको परिवार) कराएको सुनियो। तर मैले आवाजबाट त्यो चरा चिन्न सकिनँ। तेर्सो बाटोमा हिँड्दै गर्दा तल चट्टानको फेदतिरबाट आएको आवाजवाला चरा देख्न सकिएन।

चित्री (युरेसियन रेन)

त्यस दिनको हिँडाइमा नयाँ चरा नभेटिए पनि बाटोभरि धेरै चरा देखिए। हिमाल र डाँडाकाँडा मात्र नभएर चराहरूको लागि त्यो रुट एकदमै रमाइलो रहेछ। नयाँ चरा खोज्दै हामी लगभग २ बजे चिस्टिबाङ पुग्यौँ। त्यहाँ पुगेर होटेलका दाइलाई खाना भन्न भित्र छिरेँ। बाहिर निस्किँदा ठ्याक्कै अगाडिको रुखमा एउटा सानो चरा देखेँ। दूरबिनबाट नियाल्दा त्यसलाई मैले चिनेँ। पहिलो पटक मनाङको पिसाङमा त्यो त्चराको फोटो खिचेको थिएँ– व्हाइट विङ्ड ग्रसबिक! मैले साथीहरूलाई चरा देखाएँ र आफू चाहिँ फोटो खिच्नतिर लागेँ।

चरा हेरिसकेपछि हामी आफ्ना ब्यागहरू हाेटलमा थन्क्याएर होटेल बाहिरका कुर्सीमा घाम ताप्दै बस्यौँ। होटलमा एउटा सानो बिरालो रहेछ। बिरालोसँग खेल्न थाल्यौँ। त्यतिकैमा खाना आयो।

मैले खाना खान मात्रै के शुरु गरेको थिएँ, माथि आकाशमा केही उडेझैँ लाग्यो। खाना छोडेर हेर्दा हामीभन्दा केही फिट मात्र माथि बेर्डेड भल्चर (हाड फोर गिद्ध) देखेँ। हिमाली भेगमा धेरै पटक देखेको भएता पनि त्यति नजिकबाट मैले त्यो गिद्धलाई त्यसअघि देखेको थिइनँ। ढुङ्गा वा चट्टानमा जनावरहरूको हड्डी खसालेर खाने भएकोले यसको नाम हाडफोर राखिएको हो। चुच्चो नजिक दारीझैँ देखिने भएकोले अंग्रेजीमा बेर्डेड भल्चर भनिएको हो।

हाड फोर गिद्ध (बेर्डेड भल्चर)

त्यस दिनको लागि सबैभन्दा राम्रो चरा दर्शन त्यही नै भयो।

खाना खाएर खोप्रातिर लाग्दै गर्दा आकाशबाट खसेको अँध्यारोले धर्ती धमिल्याउँदै थियो । खोप्र पुग्दा त झमक्कै रात पर्‍यो । 

साथीहरूलाई त्यहाँसम्म पुग्दा नै खुट्टाले धोका दिइसकेकाले खयर लेक पुगिन्छ जस्तो लाग्न छाडिसकेको थियो। त्यही पनि रातिसम्म हेरौँ अनि निर्णय गरौँला भनेर हामी बिस्तारै माथि लाग्यौँ।

राति होटेल पुगेपछि साथीहरु दुवै जनाले खयर लेक चाहिँ शायद जान सकिन्न कि भनेको जस्तो कुरा गरे। गाह्रो भई भई लेकको यात्रा गर्नु पनि हुन्न। हिमाल कहीँ जाने हैन। अर्कोचोटिलाई छँदैछ नि भनेर हामी खोप्राबाट तल झर्ने निर्णयमा पुग्यौँ।

बिहानै उठेर खोप्रा वरपरका चराहरू हेर्नु थियो। डाँफेको त आस थिएन, तर हिमाली लेक चरी, टुङ्गा, टेमु, कोङ्मा र हिउँकुखुरा चाहिँ देखिन्छन् कि भन्ने आस थियो।

बिहान उठ्दा धौलागिरि हिमाल झलमल्लै थियो। धौलागिरिको त्यति राम्रो दृश्य शायद अरू कहीँबाट पनि देखिन्न होला। चराहरू भने बिहान खासै देखिएनन्।

अरू चराहरू नदेखे पनि बिहान हिमाली लेकचरी (अल्पाइन एसेन्टर) र शिला बगेडी (रक बन्टिङ) चाहिँ देखियो।   

अल्पाइन एसेन्टर (हिमाली लेकचरी)

बिहानी खाजा खाएर हामी त्यहाँबाट तातोपानीतिर झर्‍यौँ।

चरा खोज्दै हिँडेको खोप्राको यात्रा धेरै नै यादगार रह्यो। खोप्रासम्मको पैदल यात्रामा ६५ प्रजातिका चरा देखिए। थप समय भएको भए र खयर तालसम्म पुग्न पाएको भए अझै देखिन्थे होला। कतिपय चरा देखिए पनि धेरै हिमाली चरा त्यस यात्रामा छुटे। त्यही छुटेको चराहरूको बहानामा भए पनि खोप्राले फेरि बोलाउने छ भन्ने आशा लिएर हामी फर्कियौँ। शायद तिनै चराहरूले नै बोलाउलान् कि! 

प्रिय चराहरू बोलाऊ ल!


अमेरिकास्थित नर्थ डकोटा स्टेट युनिभर्सिटीबाट ’भँगेराको वृद्धि र जीवनमा वातावरणीय अवस्थाको असर’ शीर्षकमा पीएचडी गरेका घिमिरे सोही विश्वविद्यालयमा रिसर्चरका रूपमा कार्यरत छन्।


सम्बन्धित सामग्री