Sunday, May 12, 2024

-->

५० वर्षअघिको अमेरिका, ५० वर्षअघिको नेपाल

विदेशका मानिस नेपालका सुन्दर हरिया डाँडा र मोहक हिमशृंखला हेर्न आउँछन्, तर तुवाँलोले छेकेका कारण रित्तै फर्किनु पर्‍यो भने अर्को पटक उनीहरू यहाँ आउने छैनन्।

५० वर्षअघिको अमेरिका ५० वर्षअघिको नेपाल

म सन् १९६६ (२०२३ साल) मा पहिलो पटक नेपाल आएँ। उतिखेर अमेरिकन सरकारको 'पिस कर्प'मा काम गर्ने क्रममा यहाँ आएको थिएँ। उतिखेरका अमेरिकन राष्ट्रपति केनेडीले 'पिस कर्प' संस्था शुरू गरेका थिए। अमेरिकन युवालाई नेपाल, अफ्रिका, दक्षिण अमेरिका लगायतका देशमा भाषा पढाउने, कृषि कार्यक्रम सञ्चालन गर्ने, सडक निर्माण तथा जनस्वास्थ्यमा काम गर्ने उद्देश्यले पिस कर्पले भर्ती खुलाएको थियो। नेपालमा म शिक्षकका रूपमा आएको थिएँ।  

नेपाल आउनुपूर्व अमेरिकामा मलाई ८ या १० जना नेपाली शिक्षकले तालिम दिएका थिए। उनीहरूले नेपाली संस्कृति र दैनिक व्यवहारबारे हामीलाई परिचित गराएका थिए, बायाँ हातले खाना नखानू, कसैको घरमा छिर्नुअघि जुत्ता खोल्नू। महिला तथा युवतीसँग हात नमिलाउनु! उनीहरूले नेपाली भाषाको सामान्य ज्ञान पनि दिलाएका थिए। नेपाली परिकार दालभात पकाउन सिकाएका थिए। यसरी अमेरिकामै नेपालबारे केही जानेर हामी नेपाल आएका थियौँ। 

सुनौला बजार र बनेपापछि जावलाखेल
नेपाल आएपछि धादिङको सुनौला बजारमा रहेको स्कुलमा पढाउन मलाई खटाइयो। उतिखेर सुनौला बजार नै धादिङको सदरमुकाम थियो। पछि धादिङवेशीलाई सदरमुकाम बनाइएको हो। धादिङ उतिखेर अति विपन्न थियो। सडक, विद्युत्, उद्योग, हाई स्कुल थिएनन्। मलाई लाग्छ, त्यतिखेर धादिङका ९५ प्रतिशत मान्छे निरक्षर थिए। अधिकांशको पेसा जसोतसो निर्वाहमुखी कृषि थियो। 

धादिङको एउटा सानो स्कुलमा करिब डेढ वर्षसम्म अंग्रेजी पढाएँ। अंग्रेजी पढाउने क्रममा विद्यार्थीले कण्ठ पारेर भाषा सिक्ने रहेछन् भन्ने थाहा पाएँ। विद्यार्थीहरूको स्मरण शक्ति भने राम्रो थियो। तर उतिखेरको अंग्रेजी पाठ्यक्रम विद्यार्थीका लागि एकदम कठिन थियो। 

त्यसपछि मलाई बनेपाको अर्को स्कुल सारियो: आजाद हाई स्कुल। त्यहाँ मैले एक वर्षसम्म पढाएँ। बनेपा क्षेत्रको एक मात्र हाई स्कुल थियो र राम्रो थियो। त्यसपछि म सेन्ट जेभियर्स स्कुल जावालाखेल पुगेँ। गाउँको स्कुल हुँदै म त्यस समयको नेपालकै उत्कृष्ट मानिने शहरी स्कुल 'सेन्ट जेभियर्स'मा पुगेर पढाउने अवसर पाएँ। 

म क्याथोलिक र पादरी थिइनँ। पादरीको सन्तको नाममा स्थापित सेन्ट जेभियर्स स्कुलमा मैले विद्यार्थीहरूलाई फरक विषयहरू पढाएँ। नेपालमा नाम चलेका कतिपय व्यक्तिलाई समेत मैले पढाउने अवसर पाएँ: कनकमणि दीक्षित (पत्रकार), ज्योतिमान शेरचन (मल्पी स्कुलका अध्यक्ष), दीपक देवकोटा (लक्ष्मीप्रसाद देवकोटाका छोरा), मैले ठ्याक्कै उनको नाम सम्झिनँ तर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरालाई समेत मैले पढाएँ। केही बेलायती गोर्खा सैनिकका छोराहरूलाई पनि मैले पढाएँ। जेभियर्समा मैले एक वर्ष पढाएँ। मेरो लागि यी अनुभव आफैँमा धेरै रोचकपूर्ण लागे। 

त्यो समय र यो समय
म उतिखेर पनि पढाउन आएको थिएँ। यस पटक पनि म स्वयंसेवक शिक्षकमा रूपमा विगत एक महिनादेखि पनौतीको माल्पी स्कुलमा पढाइ नै रहेको छु। शहर अहिलेजस्तो व्यस्त थिएन। मान्छेहरू चाखलाग्दा लाग्थे।

उतिखेर काठमाडौँमा एक ठाउँमा मात्र, न्युरोडमा ट्राफिक लाइट थियो। एकदमै थोरै ट्याक्सी थिए। म जहाँसुकै प्राय: साइकल चढेर जान्थेँ। उतिखेर एकदमै कम प्रदूषण थियो। खाना पकाउन काठमाडौँ उपत्यका भित्रसमेत सबैजसो परिवारले दाउरा बाल्थे। त्यसो हुँदा बिहानै काठमाडौँ पातलो तुवाँलोझैँ देखिन्थ्यो, तर केही बेरमै त्यो हट्थ्यो र हिमालहरू देखिन्थे। तपाईं हामी सबैलाई थाहा छ, अहिले के अवस्था छ काठमाडौँको!

म पहिलो पटक नेपाल आउँदा नेपालमा विरलै महिलाहरू जागिर गर्थे। केही अस्पतालमा नर्स र उतिखेरको शाही नेपाल वायुसेवा निगममा एयरहोस्टेस जागिर खाने महिलाबाहेक अरूले जागिर खाएको भेटिँदैनथ्यो। एकदमै थोरै महिला शिक्षक थिए। सरकारीमा त अझै कम संख्या थियो महिलाको। 

तर आज त प्रशस्त महिलाहरू शिक्षित र जागिरे छन्। कतिपय अध्ययन र कामका लागि  अमेरिका युरोप र अस्ट्रेलियासमेत पुगेका छन्। त्यहाँ पनि राम्रो जागिर खाएका छन्, पढेका छन्। यसबीचमा अकल्पनीय परिवर्तन भएको छ। 

अर्को कुरा, अहिले नेपालको राजनीतिक प्रणाली बदलिएको छ। म नेपाल आउँदा राजा महेन्द्रले प्रत्यक्ष शासन गरिरहेका थिए। मैले उनलाई कहिल्यै भेटिनँ। उसो त, पिस कर्पले पनि नेपालको राजनीतिमा चासो राख्थेन। 

म त्यसपछि सन् १९७३ मा नेपाल आएँ, जतिखेर अमेरिकामा म पीएचडी गर्दै थिएँ। दोस्रो पटक पनि अध्ययनकै लागि नेपाल आएको थिएँ। त्यतिखेर म दुई वर्ष नेपाल बसेर अमेरिका फर्किएँ। 

जागिर खाएँ र जब जागिरबाट १२ वर्षअघि निवृत्त भएँ, त्यसयता कोरोना महामारीको वर्षबाहेक प्रत्येक वर्ष म नेपाल आइरहेको छु। कहिलेकाहीँ त म वर्षको दुईचोटि पनि नेपाल आउँछु।  अहिलेसम्म गरेर १५ देखि २० पटक म नेपाल आइसकेँ हुँला।

मलाई नेपाल धेरै मन पर्छ। मसँग नेपालसम्बन्धी किताबहरूको ठूलो संग्रह छ। म नेपालमा किताब किन्छु, अमेरिका लिएर जान्छु। इन्टरनेटमा राख्छु र बेच्छु। त्यो कुनै ठूलो व्यवसाय होइन, तर मलाई त्यसो गर्दा मजा आउँछ। 

मैले नेपालबारे विभिन्न चार किताब लेखेको छु। 'रेलवेज् इन् नेपाल' र 'अमेरिका मिट्स नेपाल।' बाँकी नेपालका पुराना तस्वीरहरू समेटिएका दुई किताब छन्। 

नेपालको राजनीतिक परिवर्तन
म वर्षको दुई या तीन महिना मात्र नेपालमा हुन्छु। नेपाल बसाइँका क्रममा खुबै चासोका साथ नेपालबाट निस्कने अंग्रेजी अखबार किन्छु। अमेरिकामा यहाँको खबर अनलाइनबाट पढ्न त मिल्छ, तर त्यहाँ हुँदाझैँ चासो लिएर पढिन्न। 

व्यवस्था बदलिएयता नेपालमा धेरै सकारात्मक परिवर्तन भएको छ, तर २०४६ सालको परिवर्तनपछि एउटा कुरामा एकरूपता छ, त्यो हो अस्थिरता। त्यसो हुँदा सरकारका कतिपय योजना कार्यान्वयनमा समस्या हुने गरेझैँ लाग्छ। एउटा सरकारको एउटा योजना हुन्छ, अर्कोको बेग्लै। छिटोछिटो सरकार बदलिँदा योजना कार्यान्वयन हुन कठिन हुन्छ। योचाहिँ एउटा चुनौती हो नेपालको।  

माओवादी द्वन्द्वले नेपालमा ठूलो प्रभाव छाडेको छ। त्यसका कतिपय राम्रा र कतिपय नराम्रा दुवै असर छन्। अहिले पनि नेपाली प्रशासन राणाकालकै केन्द्रीकृत मानसिकतामा छ। संघीयतापछि पनि अझै शक्तिचाहिँ काठमाडौँमा नै केन्द्रित देखिन्छ। 

अमेरिका र नेपाल कति बदलिए?
सन् १९६६ यता अमेरिका काफी बदलिएको छ। त्यतिखेर भियतनाम युद्ध चल्दै थियो। सन् १९६८ मा अमेरिकामा प्रमुख राजनीतिक नेताको हत्या भए। रोबर्ट केनेडी र मार्टिन लुथर किङको त्यही समय हत्या भयो। मलाई खुशी लाग्छ कि, त्यतिखेर म अमेरिकामा नभएर नेपालमै थिएँ। त्यतिखेर अमेरिकामा उहापुह हुँदै थियो। 

त्यतिखेर विश्वमा 'हिप्पी मुभमेन्ट'को लहर चलेको थियो। पश्चिमी देशबाट धेरै युवायुवती नेपाल आउँथे। कतिपय सही उद्देश्यका साथ नेपाल आउँथे। तीमध्ये थोरैलाई बौद्ध र हिन्दू धर्मप्रति चाख थियो। तर धेरैलाई चाहिँ लागूपदार्थले आकर्षित गरेको थियो। कतिपय आफूलाई विद्रोही भन्न रुचाउँथे। 'समाजप्रति विद्रोह गर्दै' यहाँ आएका थिए। तर मलाई लाग्थ्यो उनीहरू के चाहन्छन् भन्ने कुरामा आफैँ अन्योलमा थिए। त्यही समयमा नेपालको झोँछेमा 'फ्रिक स्ट्रिट' खुल्यो। विचित्रका हरकत हुने, एक खालको छाडा ठाउँ।    

मलाई भने हिप्पीबारे खासै चासो थिएन। उनीहरूको पहिरन भद्दा थियो, मनलाग्दी पोसाक लगाउँथे। तर हिप्पीबारे धेरै 'रूमानीकरण' भएको छ कि उनीहरू सबै सही थिए भन्नेलगायत कोणबाट व्याख्या गरिन्छ। 

तर केही समयपछि हिप्पीका कारण नेपाललाई खासै आर्थिक लाभ नभएको यहाँको सरकारले समेत महसुस गर्‍यो। आएका मध्ये धेरै हिप्पीहरूले यहाँको मूल्य र मान्यता नमानेको देखियो। मेरो बुझाइमा उतिखेर विदेशी महिलाले नेपाल सुहाउँदो पहिरन लगाउँदैनथे। पुरुषहरू पनि सर्ट या टिसर्ट नलगाई सडकमा डुल्थे। 

अमेरिकामा त्यतिखेर 'सेलफोन' थिएन। भर्खर भर्खर अमेरिकामा रंगिन टेलिभिजन आउँदै थियो। तीन वर्षसम्म नेपाल रहँदा म मेरो बा–आमासँग टेलिफोनमा कुरा गर्न पाइनँ। मेरो परिवारसँग कुरा गर्न पहिले नेपाल दूरसञ्चार संस्थान (अहिलेको नेपाल टेलिकम) को कार्यालय  गएर कलको 'रिजर्भेसन' गर्नुपर्थ्यो। तीन मिनेटको १५ डलर तिर्नुपर्थ्यो। 

काठमाडौँको सर्किट मुम्बईबाट महासागर मुनिमुनि हुँदै न्युयोर्कसम्म पुग्थ्यो, तर प्राय: टेलिफोनले काम गर्दैनथ्यो। त्यसो हुँदा म एक रुपैयाँ तिरेर 'एरोग्राम' चिठी पठाउँथे। दुई हप्तामा मैले पठाएको चिठी मेरो बा–आमाकहाँ पुग्थ्यो। त्यसपछि उति नै समय लगाएर बा–आमाको प्रतिउत्तर आइपुग्थ्यो।

तर समय कति बदलियो, संसारको जहाँसुकै जति नै खेर इन्टरनेटमार्फत कल गर्न सकिन्छ। संसार कति साँघुरो भएको! यो अमेरिका, नेपाल र विश्वकै साझा र अकल्पनीय परिवर्तन हो। 

काठमाडौँमा मोटर कार
मलाई ठ्याक्कै थाहा छैन कति संख्यामा काठमाडौँमा मोटर–कार गुड्थे, तर त्यतिखेर सडकमा गाडा गुड्थे। साइकल प्रशस्त देखिन्थे। केही मोटरसाइकल देखिन्थे। थोरै ट्याक्सी थिए। कूटनीतिज्ञहरू 'ल्यान्डरोभर' जिप चढ्थे। म  सन् १९७५ मा नेपालमा थिएँ। त्यतिखेर राजा वीरेन्द्रको राज्यारोहण थियो। राज्यारोहणकै लागि लक्षित गरेर सरकारले धेरै ट्याक्सीहरू देश भित्र्याएको थियो। धेरै विदेशीहरू वीरेन्द्रको राज्याभिषेकमा आएका थिए। 

त्यस समय बस सेवा सञ्चालनमा थियो र तर बसमा भिडभाड ज्यादा थियो। म काठमाडौँबाट बनेपा र त्रिशूली बजार बसमै जान्थेँ। खास गरी गाउँमा कंक्रिट घर बनेकै थिएनन्। सबै परम्परागत घर थिए।

उतिखेर अहिलेजस्तो रेस्टुरेन्टहरू थिएनन्। ठमेल आफैँमा साह्रै सानो बजार थियो। अहिले काठमाडौँले आफ्नो 'चार्म' हराएको छ। यहाँ भिडभाड र प्रदूषण  बढेको छ। १९७० मा जम्मा १० हजार हवाई पर्यटक नेपाल आएका थिए, तर अहिले दसौँ लाख पर्यटक नेपाल  भित्र्याउने योजना छ सरकारको। यसबीचमा अमेरिका पनि अभूतपूर्व रूपमा परिवर्तन भएको छ। न्युयोर्क र वासिंटनलगायत प्रत्येक ठाउँ बदलिएका छन्। 

नेपालको भाग्य र भविष्य
म कुनै भविष्य द्रष्टा होइन। अहिले धेरै नेपाली विदेश गइरहेका छन्। बाहिरी देशमा नेपाली जाने ट्रेन्ड नेपालको लागि ठूलो समस्याका रूपमा देखिन्छ। 

धेरै यस्ता मानिस जो पढेलेखेका छैनन्, उनीहरू मलेसिया, जापान र कर्पियाजस्ता मुलुक गइरहेका छन्। बर्सेनि पाँच लाख मानिस रोजगारीसम्बन्धी भिसामा विदेश जाने कुराले नेपाल ब्रेन ड्रेनमा फसेको देखिन्छ। धरै शिक्षित मानिस पनि विदेश भासिएका छन्। 

भारत, अस्ट्रेलिया, अमेरिका, चीन र जापानलगायत मुलुक कलेज र विश्वविद्यालय शिक्षाका लागि जाँदै छन्। जसमध्ये धेरै सफल पनि हुन्छन्, तर उनीहरू नेपाल फर्किएपछि के अवसर पाउँछन्? कम्प्युटर विज्ञानमा स्नातकोत्तर, विद्यावारिधि गरेर, वातावरण अध्ययनजस्ता पढाई सकेर आएकाका लागि कस्ता जागिर उपलब्ध छ नेपालमा?

उनीहरू यहाँ टिक्न सक्दैनन् र राम्रो जागिरका लागि फेरि उनीहरू अस्ट्रेलिया, अमेरिका र जापान फर्कन्छन्। उनीहरू कहिल्यै नेपाल नफर्कन सक्छन्। यस कारण नेपालले आफूलाई राम्ररी विकसित गर्न नसक्ने हो भने शिक्षित र सक्षम जनशक्तिको पलायन रोकिने छाँट छैन। 

नेपालको लागि बेरोजगारी ठूलो समस्या हो। जलवायु परिवर्तन र त्यसले निम्त्याएको संकटभन्दा विकराल समस्या हो नेपालका लागि बेरोजगारी। जलवायु संकट कुनै समस्या नै होइन भन्न मैले खोजेको होइन, तर नेपालको तत्कालीन समस्या नै यहाँ पर्याप्त रोजगारीको सिर्जना नहुनु हो। 

पहाडका गाउँहरू युवाविहीन हुँदै छन्। केही शिक्षा आर्जन गरेर उनीहरू गाउँ छोडेर काठमाडौँ आउँछन् र नेपाल बाहिर जाने तयारी थालिहाल्छन्। मैले नेपालको भविष्य अनुमान गर्न खोजेको होइन र म कुनै भविष्य द्रष्टा पनि होइन। 

जस्तो कि: प्रदूषणकै कारण नेपालको पर्यटन व्यवसायलाई ठूलाे धक्का पुग्ने देखिँदै छ। विदेशका मानिस यहाँका सुन्दर हरिया डाँडा र मोहक हिमशृंखला हेर्न आउँछन्, तर तुवाँलोले छेकेका कारण रित्तै फर्किनु पर्‍यो भने अर्को पटक उनीहरू यहाँ आउने छैनन्। काठमाडौँ आफैँमा भिडभाड र प्रदूषणयुक्त शहर बनेपछि नेपालकै आकर्षण घट्छ। त्यसो हुँदा नेपालले वातावरण स्वच्छ र सफा बनाउने कुरा गम्भीर मुद्दा हो। समय लाग्ला, तर विद्युतीय सवारी प्रचलनमा ल्याएर प्रदूषण फैलाउने गाडी विस्थापित गर्नचाहिँ सकिन्छ।

अर्को कुरा, कतिपय नेपालीहरूले विदेशबाट फर्केर विदेशी कम्पनीकै लागि यहीँबाट केही नेपालीलाई रोजगारी दिएका छन्। कतिले कृषिमार्फत पनि राम्रो आम्दानी गरेका छन्। म कुनै रोजगारीसम्बन्धी विज्ञ पनि होइन, तर स्थानीय आवश्यकताहरूलाई ध्यान दिएर पनि रोजगारी सिर्जना गर्न सकिएला। नेपालको राम्रो वैश्विक 'इमेज' सिर्जना गर्न सक्दा पर्यटनबाट पनि नेपालले राम्रो पैसा कमाउन सक्ला। 


उकालोका लागि प्रकाश अजात र रितेश त्रिपाठीले लेखक एडवर्ड्ससँग गरेको कुराकानीमा आधारित। तस्वीर: किसन पाण्डे। 


सम्बन्धित सामग्री