Saturday, April 27, 2024

-->

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

पहिलो विश्वयुद्ध सन् १९१८ मा थामियो। चार वर्षसम्म चलेको वितण्डा त रोकियो तर अमेरिकाको उत्तरपूर्वी ओक्लाहोमा राज्यका ओसेज कबिला (अमेरिकाका आदिवासी) को भने मृत्युको सिलसिला बल्ल शुरू हुँदै थियो। सन् १९१८–१९२३ बीचमा यो समुदायका नागरिक धेरैले ज्यान गुमाए। १९२० को दशकभरि पनि यो सिलसिला जारी रह्यो। 

विश्वयुद्ध सबैको चासोमा थियो। तर ती आदिवासीमा फैलिएको मृत्युको श्रृंखलाप्रति ओक्लाहोमाको स्थानीय सरकारले बेवास्ता गरेको थियो। सोही घटनालाई डेभिड ग्रानले सन् २०१७ मा आफ्नो पुस्तक ‘किलर्स अफ द फ्लावर मुनः द ओसेज मडर्स एन्ड द बर्थ अफ द एफबीआई’मार्फत छर्लंग पारे। सन् २०२३ मा निर्देशक मार्टिन स्कोर्सेजीले यसलाई फिल्मको पर्दामा उतारेका छन्। 

फिल्मको आधारः सत्य घटना
तेस्रो सन्तान जन्मँदा मोली बुर्खाट (ओसेज कबिलाकी सदस्य) आफ्नो वरपरका मानिस हेर्छिन्। अग्लो कद, सुटबुट, स्टाइलिस चस्मा, गोरो छालाका मानिस। आफ्नैजस्तो अनुहारको आकृति, छालाको रङ र पहिरनका मानिस औँलामा गन्न मिल्ने मात्र छन्। यसले उनलाई आफ्नो कबिलाका मानिसहरू घट्दै गएको महसुस हुन्छ। मोली मनमनै प्रश्न गर्छिन्, “हाम्रो कबिलालाई के भयो? तिमी (आफैँ)लाई के भयो?”

ओसेज समुदायका २५ देखि ४० वर्ष उमेर समूहका मानिस असामान्य रूपमा मर्न बाध्य भइरहेका छन्। मोली के भइरहेको छ थाहा पाउँदिनन्।

ओसेज आदिवासीहरू आफ्नो वास्तविक भूमि कान्ससबाट उत्तरपूर्व ओक्लाहोमामा बसाइँ सरिरहेका छन्। तर उनीहरूसँगै वितण्डाले पनि ओक्लाहोमामा डेरा जमाउन थालेको छ। यसको कारण एकाएक प्राप्त भएको सम्पत्ति हो।

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल विस्फोट हुन्छ। सँगै ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले उनीहरू भरिपूर्ण हुन्छन्। त्यसताका ‘पर क्यापिटा इन्कम’को आधारमा ओसेज समुदाय अमेरिकाका सबैभन्दा धनी थिए। त्यसपछि ‘ह्वाइट अमेरिकन्स’ पनि काम र सुविधाको अवसरमा ओक्लाहोमा बसाइँ सरे। प्रायः गोरा अमेरिकीले ओसेजका गाडी चलाउने, नोकरी गर्ने गर्थे। 

यसैबीच ओसेजहरूको मृत्युको श्रृंखला चल्न थाल्यो। कोही बिरामीले मर्छन्, कोही आत्महत्या गरेको मानिन्छ भने, कोहीको हत्या नै भएको आशंका हुन्छ। तर यसमा स्थानीय सरकारको ध्यान जाँदैन।

आफ्नै परिवारमा आमा, दिदीबहिनी, भिनाजू र भाइको रहस्यमयी किसिमले मृत्यु भएपछि मोली आफैँ पनि त्रासमा छिन्। उनको बहिनी आना खोलामा मृत भेटिन्छिन्। उनको शरीरमा गोली लागेको हुन्छ। बहिनी रिटाको घरमा बम पड्किन्छ। बहिनी मिनी पनि मारिन्छिन्। आमा भने बिरामी भएर ज्यान गुमाउँछिन्। तर औषधिमा कसैले मिसावट गरिदिएको उनी शंका गर्छिन्। उनी आफैँ पनि मधुमेहको बिमारी हुन्छिन्। 

यी सबै घटनाबाट मोली आजिद छिन्। उनले एक ‘प्राइभेट’ जासुस राखिन्छन्। तर उ पनि मारिन्छ। स्थानीय सरकारमा रहेका भ्रष्ट कर्मचारीबाट केही नहुने भएपछि अस्वस्थताबीच उनी राजधानी वासिङटन डिसीमै गएर चिनजानका व्यक्तिमार्फत जाँचको याचना गर्छिन्। त्यसपछि बिरामीले च्याप्छ। सक्रिय भएर काम गर्न सक्दिनन्। 

ओसेज समुदायको श्रृंखलाबद्ध मृत्युपछिको रहस्य के होला? यसको लागि मार्टिन स्कोर्सेजीले निर्देशन गरेको करिब साढे तीन घण्टा लामो ‘किलर्स अफ द फ्लावर मुन’ हेर्नुपर्छ।

मृत्युको आधा दशक अर्थात्, ‘रेन अफ टेरर’
फिल्मको नाम ओक्लाहोमामा फूल्ने एउटा फूल ‘फ्लावर मुन’बाट राखिएको छ। यो फूलमार्फत फिल्ममा प्रतीकात्मक रूपमा ओसेज समुदायको अवस्था दर्शाइएको छ। लेखक डेभिड ग्रानले भने ओसेज समुदायका धेरैले मृत्युवरण गर्नुपरेको सन् १९१८ देखि १९२३ बीचको अवधिलाई ‘रेन अफ टेरर’ नाम दिएका छन्।

आफूले सञ्चारमाध्यमका लागि गरेको रिपोर्टिङ, अध्ययन र अनुसन्धानका क्रममा ओसेज आदिवासीले भोग्नु परेको नियति अमेरिकाको आपराधिक इतिहासको निर्मम र क्रुरमध्येको एक भएको ग्रानले एक अन्तवार्तामा भनेका छन्। उनका अनुसार गुप्तचरहरूले पाँच वर्षमा गरेको अध्ययनले २४ जना ओसेजको मृत्यु भएको देखाएको थियो। यद्यपि, ओसेज नेशनका प्रमुखले उक्त संख्या ६० भन्दा बढी भएको दाबी गरेका छन्।

घटनाको अनुसन्धानमा संलग्न गुप्तचर कोही चलिरहेको रेलमा धकेलेर मारिए, कसैको गोली हानेर हत्या भयो। को किन मारियो जानकारी कतै राखिएन। न त गतिलो अनुसन्धान नै भए। भ्रष्ट स्थानीय सरकारले मृत्युको फर्जी प्रतिवेदन मात्र बनाएन, सनाखतमा ढिलासुस्ती गरिदिने, अन्तिम संस्कार गर्न हतारिने, तथ्यगत छानबिन नगर्ने जस्ता काम गरेको विभिन्न अन्तर्वार्तामा लेखक ग्रान बताउँछन्।

धन, वैभवले भरिपूर्ण ओसेज समुदायका सदस्य बिस्तारै कुलतमा फसेको देखाइएको छ। पुरूषहरू जाँडरक्सी पिउने र रमाइलो गर्नेमै सीमित भएको देखाइन्छ। अथवा, उनीहरूलाई त्यसैको लत लगाइन्छ। उनीहरूको पेयपदार्थमा केही मिसाइएको हुन्छ जसले उनीहरू बिस्तारै सुस्त, धिमा र बेचैन हुन्छन्। 

फिल्मको शुरूआतमा ओसेज आदिवासीका एक सदस्य हेनरीसँगै अर्नेस्ट बुर्खाट (लियोनार्डो डिक्याप्रियो) बस्तीमा पुग्छन्। ओसेजमा पाइला टेक्दा अर्नेस्ट छक्क पर्छन्। जमिनको मालिकबारे उनले सोधपुछ गर्दा हेनेरी भन्छन्, “यो मेरो जमिन हो।”

हेनरीबाहेक कबिलाका अन्य सदस्य स्क्रिनमा देखिए पनि पात्रकै हिसाबले स्थापित गरिएको छैन। फिल्म ओसेजका महिला पात्रमा बढी केन्द्रित छ जो माया, प्रेम र विवाहको नाममा झुक्काइएका छन्।

निराश ओसेज महिला 
ओसेज समुदायमा मातृसत्ता चल्छ। धनसम्पति र निर्णयमा ओसेजका महिलाहरूको अधिकार हुन्छ। उनीहरू कबिलामा स्वछन्द छन्। कबिला बाहिरका केटासँग विवाह गर्छन्, घुम्छन्। उनीहरूको खातामा टन्न रकम हुन्छ। सेता छाला भएका महिला उनीहरूको नोकरचाकार छन्। यो सन् १९९२ को घटना हो, जति बेला अन्य ठाउँमा गोरा अमेरिकीले काला जातिमाथि उत्पीडन गरिरहेका थिए।

प्राय: ओसेज महिलाहरूको विवाह सेता छाला भएका अमेरिकीसँग भएको छ। तेलखानी थाहा भएसँगै ओक्लाहोमामा पाइला राखेका अमेरिकीका लागि ती खानीमा आधिपत्य जमाउने सहज तरिका नै ओसेज महिलासँगको विवाह हो। द हिस्ट्री डटकममा लेखक भिन्सिन्ट सिलिङले उल्लेख गरेअनुसार, ओसेज कबिलामा  समुदायको सम्पत्तिलाई सगोलमा हेरिन्छ। कसैले पनि निजी सम्पत्तिको रूपमा बेच्न मिल्दैन। तर वंशज सम्पत्तिको रूपमा श्रीमान्–श्रीमती जो कोहीमा सर्छ। यसरी ओसेज महिलासँग विवाह गरेर गोराहरूले सम्पत्तिमा कब्जा गर्छन्। त्यही कारण ओक्लाहोमा जाने गोरा पुरुष ओसेज महिलालाई भागबन्डा गरेरै विवाह गर्ने उक्त लेखमा उल्लेख छ।

मोलीको विवाह अर्नेस्ट बुर्खाटसँग हुन्छ। उनी विलियन हिल किङका भातिजा हुन्छन्। विलियम हिल ओसेजसँग राम्रो सम्बन्ध भएका र उक्त स्थानमा ओसेजसरह अधिपत्य जमाएका व्यक्ति हुन्। यद्यपि, उनी यतिमा सन्तुष्ट छैनन् र आफ्नो भतिजा अर्नेस्टलाई मोलीसँग विवाहको लागि माहोल सिर्जना गर्छन्। आफूलाई ‘किङ’को रूपमा सम्बोधन गरेको सुन्न चाहन्छन्। यो उनको महत्वकांक्षाको सानो झलक पनि हो। यद्यपि, ओसेज समुदायमाझ उनले आफूलाई शुभचिन्तकको रूपमा उभ्याएका छन्। 

त्यस्तै, ओसेज कबिलामा सानैमा विवाह गनै चलन हुन्छ। जसअनुसार, मोलीको विवाह बाल्यकालमै हेनरीसँग भएको हुन्छ। यद्यपि, यसले उनलाई अर्नेस्टसँग विवाह गर्नबाट रोक्दैन। मोलीकी आमा भने गोरा छालासँग विवाह गर्ने ओसेज महिलासँग रुष्ट छिन्। उनीहरूको रगत मिश्रित हुने कारण पाप गरेको उनले मोलीलाई सुनाउँछिन्।

मोलीलाई उनका श्रीमान् अर्नेस्टले उनको जातिकोे रङ कस्तो हो भनेर प्रश्न गर्छन्। यसले अमेरिकामा भइरहेको विभेदलाई झल्काउँछ। यो सन् १९९२ को समय हो, जति बेला सिनेटमा सबैभन्दा धेरै १०३ महिला सांसद चुनिएका थिए। त्यसलाई ‘इयर्स अफ वुमन’को रूपमा लिइन्छ। यद्यपि, उस्तै शक्ति भएका ओसेज महिलाको भने पतन भइरहेको थियो।  

के ओसेजले न्याय पाए?
यो फिल्ममा अन्यभन्दा फरक भनेको अन्तिममा गएर कथाको गाँठो फुकाउन खोजिएको छैन। न त फिल्मका प्रमुख पात्र मोली र अर्नेस्टलाई देवत्करण गरेका छन्, उनीहरूलाई यस हत्या श्रृंखला रोक्ने मसिहाको रूप चित्रण गरिएको छ। फिल्म रिलिजको क्रममा कान्स फिल्म फेस्टिभलको एक प्रेस समारोहमा निर्देशक मार्टिन स्कोर्सेजीले फिल्मलाई ‘सस्पेन्स’ र ‘थ्रिलर’भन्दा पनि ओसेजमाथि भएको अन्याय र उनीहरूको धारणा देखाउनको खोजेको बताएका छन्।

स्कोर्सेजीका फिल्ममा ‘ह्वाइट सुप्रिमेसी’ कतै पनि प्रस्तुत भएको छैन। आम चलचित्रमा दुखीका लागि कोही साहारा भएर आउने गर्छन्। निर्देशक स्कोर्सेजीले त्यसलाई हटाएर ओसेजलाई स्थान दिएका छन् जसका लागि उनले गुप्तचर पक्षको रोललाई हाबी हुन दिएका छैनन्।

अन्यायमा परेका ओसेजलाई अन्तिममा गुप्तचरबाट केही न्याय मिल्छ। यसका लागि पनि ओसेज समुदायले करिब २० हजार डलर तिरेको क्रिस्ट्रोफर केलिनले द हिस्टी डटकममा लेखेको लेखमा उल्लेख छ। दुई सभ्यताबीचको अदृश्य टकरावमा नयाँ उदाएको कानूनले आदिवासीलाई न्याय नगर्दा गुप्तचरलाई दिइएको उक्त रकमलाई उनले न्यायोचित मानेका छन्।

यद्यपि, फिल्म यतिकै सकियो भन्ने नठान्नु होला। मार्टिन स्कोर्सेजीको जादू हेर्न अन्तिमसम्म धैर्यधारण गर्नुपर्ने छ।


सम्बन्धित सामग्री