Sunday, May 05, 2024

-->

पुस्तक समीक्षा
हवर्डले पुनर्लेखन गर्न खोजेको अमेरिकी जनताको इतिहास

राजा, मन्त्री, रथी, महारथी र मुखियाहरूको चर्चालाई मात्रै कुनै देश र समुदायको इतिहास ठानिने प्रचलन आफैँमा एक कपट हो। त्यसो हुँदा देशको वास्तविक अतीत र निकट वर्तमान बुझ्न  इतिहासको पुनर्लेखन हुनुपर्छ।

हवर्डले पुनर्लेखन गर्न खोजेको अमेरिकी जनताको इतिहास

स्कुल या कलेजमा पढाइने इतिहास प्राय: ठूलाठालु र शासकहरूको बखान र 'वीर गाथा'ले भरिएको हुन्छ। कुनै देश 'स्थापना गर्न' कुनै 'महारथी'ले गरेको पराक्रमको चर्चा र लामा वर्णन इतिहासको पाठमा समेटिएका हुन्छन्। तर विरलै तल्लो दर्जाका सिपाही र जनताको पराक्रम, योगदान, बलिदान र वीरताको चर्चा त्यहाँ हुन्छ। 

देशको अर्थतन्त्र मौलाउँदा ठूला व्यापारी र घराना चर्चित बन्छन्। किसान र मजदुरहरू ओझेलमै रहन्छन्, तर विकासको मूल चालक भने तिनै किसान र मजदुर हुन्। यस सत्यलाई शासक र शासकका भजन मण्डलीहरूले इतिहासमा स्थान दिएका हुँदैनन्, जबकि मजदुर र किसानबिना त केही पनि हुन सक्दैन। 

विद्यालयमा पढाइने इतिहासले मूक सर्वसाधारणहरूको जीवन, संघर्ष र बलिदानबारे केही बताउँदैन। हामी 'पृथ्वीनारायण शाह, भीमसेन थापा र अमरसिंह थापाले देशका लागि लडे' भन्दै पढ्छौँ, तर देश र राज्यका लागि लाखौँ व्यक्तिले इतिहासमा आफ्नो ज्यान गुमाएका छन्। ती सिपाही र सर्वसाधारणको मृत्युमा बिधुवा र विदुर बनेका व्यक्ति, टुहुरा बनेका बालबच्चा र बेसहारा बनेका वृद्धवृद्धाहरूका कष्टका कथा भने कहीँ पढ्न पाउँदैनौँ। 

राजा, मन्त्री, रथी, महारथी र मुखियाहरूको चर्चालाई मात्रै कुनै देश र समुदायको इतिहास ठानिने प्रचलन आफैँमा एक कपट हो। त्यसो हुँदा देशको वास्तविक अतीत र निकट वर्तमान बुझ्न  इतिहासको पुनर्लेखन हुनुपर्छ। इतिहासको समावेशी पुनर्लेखन हुनुपर्छ। 

हवर्ड जिनले आफ्नो बहुचर्चित पुस्तक 'अ पिपुल्स हिस्ट्री अफ् द युनाइटेड स्टेट्स' (संयुक्त राज्य अमेरिकाको जनताको इतिहास) मा लेखेका छन्,  'राष्ट्र समुदाय होइन, कहिले पनि भएन। कुनै पनि देशको इतिहास, एउटा परिवारको इतिहास हो भनेर मानिन्छ, तर वास्तवमा त्यो केबल प्रखर क्रूर स्वार्थको द्वन्द्वको अभिव्यक्ति हो। त्यो चीरकालिक द्वन्द्व कहिले मुखरित हुन्छ भने कैले दमित हुन्छ। त्यो द्वन्द्व विजेता र पराजित, मालिक र दास, पुँजीपति र श्रमजीवी, जात, वर्ग र लिंगभित्रका शासक र शासितबीच हुन्छ। पीडित र जल्लादबीचको द्वन्द्व हो त्यो। अल्बर्ट कामुको शब्दमा, विवेकशील व्यक्ति कहिल्यै पनि जल्लादको पक्षमा उभिनु हुँदैन।'  

जिन अमेरिकी इतिहासकार र राजनीतिशास्त्री हुन्। उनको यो पुस्तक सन् १९८० मा प्रकाशित भएको थियो। यो पुस्तक प्रचलित मूलधारमा लेखिने इतिहासका पुस्तकभन्दा अलग छ। किनकि, यसमा जिनले सर्वसाधारण जनताको अलिखित पाटोलाई आफ्नो पुस्तकको मूल विषय बनाएका छन्। 

जिनको यो पुस्तक कतिपय अमेरिकन विद्यालय र कलेजको पाठ्यक्रममा समावेश छ। पुस्तक सन् १९८० को नेसनल बुक अवार्डको उपविजेता (रनर अप)  हुन पुगेको थियो। 

जनता, प्रकृति, सभ्यता या कुनै वैज्ञानिक खोजी या आविष्कार अथवा मानव मानवबीचको संघर्षको कुनै कालखण्डको इतिवृत्त नै इतिहास हो। हाम्रो अतीतको या बर्तमानको सामाजिक, राजनीतिक, आर्थिक स्थिति या परिस्थितिहरूको पर्दाफास हुनु पर्ने हो इतिहास। तर त्यसो हुँदैन। 

बरु, इतिहास निश्चित शासक वर्गको निर्दिष्ट कुनै कालक्रमको अभिलेखन मात्र बन्न पुगेको छ। जुन प्राय: झुटो या परिकल्पित हुन्छ। चाहे त्यो नेपालको इतिहास होस् या अमेरिकाको अथवा जहाँसुकैको, बिरलै जनताको इतिहास पढ्न पाइन्छ। 

हामीलाई इतिहास बुझ्न कठिन हुन्छ, किनभने हामीले जुन इतिहास पढेका छौँ, त्यसमा थोरै सत्यता हुन्छ, मिथ्या या कपोलकल्पित कुरा बढी हुन्छ। इतिहासले सत्य कुरा बतायो भने शासक वर्गका लागि त्यो खतरापूर्ण हुन सक्छ। त्यो उनीहरूको अस्तित्वका लागि जोखिम हुन सक्नेछ।  त्यसैले इतिहासलाई संशोधन गरिन्छ, अदल-बदल गरिन्छ।

इतिहासको परम्परामा जहिले पनि एउटा सानो र अभिजात वर्गको बाहुल्य हुन्छ, उनैको स्तुति या महिमामै इतिहास विसर्जित हुन्छ। तमाम सर्वसाधारण जनता सीमान्तकृत र उपेक्षित बन्छन्। कथित पारम्परिक इतिहासमा जनसंहारबारे बिरलै उल्लेख गरिन्छ। क्रिस्टोफर कोलम्बसहरू जस्ताको 'वीर गाथा'का कुरैमा इतिहास सीमित हुन्छ। संयुक्त राज्य अमेरिकामा कोलम्बसको 'आगमन'को दिन अर्थात् अक्टोबर १२, (कोलम्बस १४९२ अक्टोबर १२ मा अमेरिका पुगेका थिए) लाई उनको सम्मानमा राष्ट्रिय बिदा दिएर मनाइन्छ। 

जबकि, कोलम्बसजस्तै, प्रारम्भका युरोपियन अन्वेषकहरूले दक्षिण अमेरिकाको आरवक जातिमाथि गरेको अत्याचार, बस्ती विनाश र त्यसबाट हुन गएको नरसंहारका विषय इतिहासमा उल्लेखनीय भूमिका पाएका थिएनन्। 

यो एउटा तात्कालिक इतिहासको प्रतिकारस्वरूप जन्मेको बेजोड पुस्तक हो, जसले इतिहासमा उल्लेखित मूल्य मान्यता र स्थापित विश्वासमाथि प्रश्न गरेको छ।

जिन सन् १९६० को नागरिक अधिकार आन्दोलनमा सक्रियता साथ लडेका व्यक्ति थिए। उनको पूरा जीवनको उद्देश्य शक्तिहीनको पक्षमा बहस गर्नु थियो। उनले आफ्नो पुस्तकको पहिलो अध्यायमा हेनरी किसिन्जरको भनाइ उद्धृत गरेका थिए, 'इतिहास राज्यहरूको स्मृति हो।' तर जनताको इतिहासमा उनको भनाइ थियो, 'हामी राज्यहरूको स्मृतिलाई हाम्रो आफ्नै हो भनेर स्विकार्दैनौँ।'

कतिपय इतिहासकार तथा रूढिवादी विचारका मान्छेले जिनलाई 'अमेरिकी विरोधी' भन्दै निकै आलोचना गरे। कतिले उनको पुस्तकका विचारधाराहरू मौलिक नरहेको र द्वितीय स्रोत तथा उपाख्यानमा आधारित भएको आरोप लगाए। केही आलोचकहरूले जिनको पुस्तक एकपक्षीय रहेको, नकारात्मक पक्षहरूले ओतप्रोत रहेको र संयुक्त राज्य अमेरिकाको सकारात्मक पक्षको धज्जी उडाएको बताए। 

इन्डियानाका राज्यपाल मिच डेनियल्सले जिनको मृत्युको खबर पाएपछि भनेका थिए, 'जिनको सो पुस्तकको प्रत्येक पृष्ठ साँच्चै नै निन्दनीय, तथ्य विरोधी र अमेरिकी इतिहासको दुष्प्रचारले भरिएको छ।'

यो पुस्तक अमेरिकन महिला, कारखानाका मजदुर, अफ्रिकी अमेरिकी, मूल निवासी अमेरिकी, मजदुर, आप्रवासीहरूको शब्द, भावना पक्ष र दृष्टिकोणबाट लेखिएको छ। मूल निवासी 'इन्डियन'हरूको युरोपियनहरूसँगको संघर्ष, अश्वतहरूले गरेको जातिवाद विरोधी आन्दोलन, महिलाहरूले पितृसत्ता या पुरुष आधिपत्यविरुद्ध गरेका युद्ध तथा मजदुरहरूको पुँजीपतिसँगको संघर्ष आदिलाई पुस्तकमा समावेश गरिएको छ।

संक्षेपमा यो पुस्तक युद्धोत्तर ऐतिहासिक खोज हो, जसमा वामपन्थी, बहुसांस्कृतिक, साम्राज्यवाद विरोधी जनमानसको चित्कारको अभिव्यक्ति पाइन्छ। यसले  'क्लासिक' अमेरिकन संशोधनवादी इतिहास, राष्ट्रिय एकता, प्रगति आदिको आख्यानलाई एउटा 'धुवाँको पर्दा'को रूपमा हेरेको छ। त्यस पर्दाले एउटा अभिजात वर्गले आम जनतालाई कसरी दबाएर र अत्याचार गरेर राखिराखेको छ भन्ने कुराको पुष्टि गरेको छ, प्रमाणित गरेको छ। यो पुस्तकले त्यो धुमिल पर्दा च्यातेको छ,  एउटा कठोर सत्यको पर्दाफास गरेको छ।

जिन पुस्तकमा कोलम्बस अमेरिका पसेयताको चर्चा गर्छन्। युरोपियनहरूले अमेरिका पसेर त्यहाँका आदिवासी अमेरिकनप्रति गरेको अत्याचार, प्राचीन परम्परा र सभ्यताको तहसनहसबारे उल्लेख गर्छन्। मूल निवासी जनतालाई दास बनाउँदै कोलम्बसले गरेको नरसंहार र संस्कृतिको विनाश आदिको प्रमाणित आख्यान पुस्तकमा उल्लेख छ। 

कोलम्बसको कपट
सन् १९४२ को हिउँदमा कोलम्बस बहामामा पुग्छन्। त्यहाँका निवासी जसलाई 'आरवक' भनिन्छ, ती निकै भलाद्मी हुन्छन्, उनीहरूसँग कुनै फलामका औजार र हतियारसमेत हुँदैनन्। आदिवासीहरूले ती कोलम्बसको समूहलाई भेटेलगत्तै उपहारहरू दिन्छन्। आफूसँग भएका सबै कुरा दिन तयार हुन्छन्। कोलम्बस उनीहरूसँग भएका ससाना सुनका गहना जबरजस्ती लुट्छ। 

हतियारविहीन आरवकहरूलाई आफ्ना हातहतियार प्रयोग गरेर कोलम्बस बन्दी बनाउँछ। सुनको तलासमा कोलम्बसको समूह क्युबा, हिस्पानिओला, हैती, डोमिनिकन रिपब्लिकसम्म पुग्छ। 

जिनले उपनिवेशका महिलाबारे बोलेका छन्, 'यहाँसम्म कि श्वेत महिलाहरू पनि स्वतन्त्र छैनन्। लिंगभेदको सिकार भएका छन्। त्यो कुरा कुरा बाइबल पढ्दासमेत थाहा हुन्छ। अफ्रिकन महिला भने नारी र दासी दुवै रूपमा पीडित छन्।'

इतिहासको संरचनाबारे जिन भन्ने गर्थे, 'इतिहास कुनै विशेष समयको राज्य व्यवस्थामा रहेका शासकहरूको गुणगान ,वीर गाथाभित्रै परिमित हुन्छ। जनताको इतिहासले बिरलै चर्चा पाउँछ। 

जिनले नरसंहार नीति, जबरजस्त निष्कासन र निराकरण, खण्डित र विघटित सन्धिहरू, सांस्कृतिक दमनद्वारा अमेरिकाका मूल निवासीमाथि गरेको अत्याचारमा निकै गहन विश्लेषण गरेका छन्। जिनले 'अमेरिका उदार र प्रजातान्त्रिक देश हो, जहाँ राज्य सञ्चालनमा सबै जनताहरूको साझेदारी हुन्छ' भन्ने कुरा गलत हो भनेर पुष्टि गरेका छन्। 

जिनको लेखनको अर्को सुन्दर पक्ष हो मतभेद या विमति। उनी  पीडित, सीमान्तकृत र उपेक्षित वर्गको प्रतिनिधि या आवाज बनेर श्रमिक संघका लागि श्रम आन्दोलन, महिला मताधिकार, नागरिक अधिकार संघर्ष, युद्धविरोधी आन्दोलन, 'ग्रास-रुट' आन्दोलन आदिमा पहिलेदेखि नै समर्पित थिए। आम जनताको सशक्तीकरणको लागि आजीवन संघर्षरत भए। आफ्ना किताब तथा अन्य माध्यमबाट उनी आम जनतालाई उनीहरू उत्पीडित र दमित भएको कुरा अवगत गराइरहन्थे, त्यसविरुद्ध लड्न अभिप्रेरित गरिरहन्थे।

अर्को कुरा, जिनको लेखन सरल र सुलभ छन्। अति गहन ऐतिहासिक तथ्य र अवधारणालाई उनले सर्वसाधारणका लागि सहज र पठनीय बनाएका छन्। उनले पुस्तकमा प्राथमिक स्रोतहरू, जस्तै: डायरी, चिठी पत्र, भाषण र पत्रपत्रिकाका समाचार/लेख आफ्नो तर्क र प्रमाणका आधार बनाएका छन्।

पुनश्च: जिन अमेरिकाको आर्थिक उत्थानका लागि काम गर्ने तर आफ्ना आवाज नभएका सीमान्तकृत, नारी र फरक रङका मान्छेलाई अग्रस्थानमा ल्याएर इतिहासलाई नयाँ आकार दिने कोसिस गर्छन्। 

इतिहासको अलिखित पाटो बुझ्ने सन्दर्भमा जिनको यो पुस्तक अद्वितीय हो। यस पुस्तकबाट हामी हाम्रो इतिहासको पनि अनुमान गर्न सक्छौँ। हाम्रै इतिहास 'डिबंक' गर्ने सन्दर्भमा समेत पृष्ठभूमि हुन सक्छ यो किताब।


सम्बन्धित सामग्री