भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवा क्षेत्रबाट १ हजार ३२१ जना सम्पर्कविहीन भएका छन् भने दुई हजार ४५६ जनाको उद्धार गरिएको छ।
नुवाकोट– भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आइतबार उक्त तथ्यांक सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिए।
उद्धार गरिएकामध्ये दुई हजार २२५ नेपालीसहित २३१ जना विदेशी छन्। त्यसैगरी ६४ जनाको शव संकलन गरिएको उनले बताए। “उद्धार गरिएकामा ५८ जना घाइते छन्,” उनले भने, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोही अनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली र १५७ जना विदेशी छन्। त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेको उनले जानकारी दिए।
खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री 'ए' मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए। त्यसैगरी थ्री 'बी' मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ। “थ्री 'ए' को सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरुङ रहेको स्थान पहिचानको प्रयास भइरहेको छ,” उनले भने, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ।”
प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताए। शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। त्यसका लागि त्रिशूली नदी वारिपारि गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ।
बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताए। उनका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ।
त्यसैगरी, ढुंगेबजार क्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ। ढुंगे र त्रिशूली बजार जोड्नका लागि तत्कालका लागि तुइन जडान प्रारम्भ गरिएको छ। “तुइन जडानका लागि लठ्ठा आइसकेको छ,” प्रजिअ रेग्मीले भने, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्ने गरी प्रयास गरिएको छ।”
बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ। हालसम्म १४० संघसंस्थाले राहत सामग्री उपलब्ध गराएको प्रजिअ रेग्मीले जानकारी दिए। उनका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा संकलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ।
बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि गरिएको छ। शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ पुर्याइएको उनले बताए। होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
