कृष्णभीर पहिरो : वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ।

काठमाडौँ– त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ।

सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस अनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाई सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाउनेछन्। कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ।

त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाइने भएको छ। बाढी तथा सडक अवरोधका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिइने निगमले जनाएको छ।