विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीर सडकको मर्मत गरिने

त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सडक विभागले मर्मतको ढाँचा तय गर्न विज्ञ टोली खटाएको छ।

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने भन्नेबारे अध्ययन गर्न विभागले टोली पठाएको हो।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (मुग्लिन–मलेखु) का रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो। त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान गर्दा सडक भासिएको उनले बताए।

त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्नेबारे विज्ञ टोली आएपछि मात्र भन्न सकिने उनले बताए।

सो ठाउँमा भित्तो काटेर सडक चौडा गर्न कठिन भएको उनको भनाइ छ। सो ठाउँमा २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भासिएको छ। ६० मिटर अग्लो सडक भासिएको हो। सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको हो। अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डे बताउँछन्।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक भासिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको छ। टोलीले हेरेपछि साँझसम्ममा कसरी मर्मत गर्ने भन्नेबारे एकीन भन्न सकिने उनले बताए। तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उनले जानकारी दिए।

अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले सोही सडक प्रयोग गर्न उनले आग्रह गरे। विज्ञ टोलीको अध्ययनपछि एकतर्फी वा दुईतर्फी सडक कसरी खोल्न सकिन्छ त्यसबारे भन्न सकिने उनको भनाइ छ। यो सडक राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडक हो।

यो सडक हुँदै दैनिक १४ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्छन्। यसअघि विसं २०५६ मा सो सडकमा पहिरो खसेर धेरै दुःख दिएको थियो। तत्कालीन अवस्थामा तलबाटै उकासेर सडक मर्मत गरिएको थियो। भित्तोपट्टी पहिरो रोकथामको काम गरेर पहिरो रोकिएको थियो। गत वर्ष सोही ठाउँमा सडक केही भासिएपछि मर्मत भइरहेको थियो। मर्मतकै क्रममा पुनः जगैसम्म सडक भासिएको र चिरिएको हो।