त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो ​​​​​​​

त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।

गोरखा– त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११:३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए।

पुल बगाएपछि गण्डकी गाउँपालिका–७ र ८ का बासिन्दालाई त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ। “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो यही हो,” उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए।”

यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल बगाएको थियो। सो पुल बगाएपछि स्थानीय घ्याल्चोकको पुल भएर वारपार गर्ने गर्थे। यो पुल पनि बगाएपछि स्थानीयलाई ठूलो समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउँछन्।

घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो यो पुल छ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ। योसँगै त्रिशूलीको बाढीले गोरखामा तीनवटा झोलुङ्गे पुल बगाएको छ भने एउटा पुलमा पूर्ण रूपमा क्षति पुगेको छ।