मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार

मधेशका कतिपय जिल्लामा बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा भित्तामा ब्यानर राख्न थालिएको छ। यस्तो क्रेज देखिनुको मुख्य कारण पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री देख्ने चाहना भएको स्थानीय बताउँछन्।

काठमाडौँ– जनकपुरधामको क्याम्पस चोकस्थित ‘पुरानो जंक्सन’ क्याफेमा पछिल्ला दुई सातादेखि चर्चाको केन्द्रमा एउटै नाम छ, बालेन शाह। क्याफेमा आउने जो कोही पनि कि त बालेनको प्रसंग झिकेर कुरा थाल्छन्, कि कुरा सुनेर बस्छन्। तर बालेनबारे कुराकानी नभएको कुनै दिन नहुने क्याफे सञ्चालक निरजबिक्रम साह बताउँछन्।

रामसागर रामस्वरूप बहुमुखी क्याम्पस नजिकै रहेको यो क्याफे मुख्यगरी युवाहरू जम्मा हुने ठाउँ हो। राजनीति वा राजनीतिक दलबारे छलफल चल्दा पहिला पनि बालेन छुट्दैन थिए। पछिल्लो समय रास्वपामार्फत दलीय राजनीतिमा आएको घोषणासँगै आगामी निर्वाचनमा ‘भावी प्रधानमन्त्री’को रूपमा सारिएपछि उनी चर्चाको केन्द्रमा छन्।

क्याफे सञ्चालक साहका अनुसार, दुई सातायता उनलाई ‘मधेशबाट पहिलो प्रधानमन्त्री’का रूप प्रचार गरिँदैछ। “यहाँ आउने सबैले एउटै वाक्य दोहोर्‍याउँछन्, बालेनलाई जिताउनुपर्छ,” उनी भन्छन्, “बालेन निर्वाचनमा उठ्ने कुराले साँच्चै नै मधेशका युवाहरूमा फरक खालको उत्साह ल्याइदिएको छ।”

जनकपुरमा यस्तो माहोल केवल पुरानो जंक्सनमा मात्रै सीमित छैन, जनकपुर उपमहानगरपालिका कार्यालय छेवैको ‘दलान’ क्याफेमा पनि उस्तै छ। दलानका सञ्चालक सञ्जय चौधरीका अनुसार, बालेनले दलीय राजनीतिमा आउने घोषणा गरेसँगै क्याफेमा हुने कुराकानीको विषय त्यसैमा केन्द्रित छ।

जनकपुरमा बालेनको समर्थनमा ब्यानर प्रदर्शन।बालेनको ‘साइड इफेक्ट’ यतिसम्म पर्ने आफूले आकलन नगरेको चौधरी बताउँछन्। “म प्रायः सबैको टेबलमा पुगिरहेको हुन्छु। सबैमा बालेनकै प्रसंग चलिरहेको हुन्छ,” उनी भन्छन्, “जनकपुरमा कुनै राजनीतिक व्यक्तिका लागि यो लेभलको क्रेज सम्भवतः पहिलोपटक नै होला।”

जानकी मन्दिर छेउमा रहेको ‘बीबीएस चायवाला’मा हुने संवादमा पनि बालेन नै केन्द्रमा छन्। यसका सञ्चालक उत्सव गुप्ता भन्छन्, “धेरैले बालेन खाली युवामाझ चर्चित भएको बताउँछन्, तर यो बुझाइ बिल्कुल गलत छ। चिया खान आउने पाका मान्छेहरूले पनि यसपटक बालेनलाई नै भोट दिने भनिरहेका छन्।”

यसैबीच, माघ ५ गते रास्वपाले आयोजना गर्न लागेको ‘परिवर्तनको उदघोष सभा’मासहभागी हुन बालेन जनकपुर जाँदैछन्। पार्टीको कार्यक्रममा बालेनको यो पहिलो उपस्थिति मात्रै होइन, राजनीतिक रूपमा पहिलो सम्बोधन पनि हुनेछ। त्यसअघि, माघ ४ गते उनले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिँदैछन्।

‘अब की बार, बालेन सरकार’
दलीय राजनीतिमा आउने उद्घोष र रास्वपाले उनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सारेपछि मधेशमा उनको पक्षमा माहोल बनिरहेको स्थानीयको भनाइ छ। उनको तस्वीर प्रयोग गरेर ‘अब की बार, बालेन सरकार’ लेखिएका ब्यानर प्रदर्शन हुन थालेका छन्। त्यस्ता तस्वीर सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनिरहेका छन्।

सर्लाहीको सदरमुकाम मलंगवामा पुस २८ गते मात्र रास्वपा सभापति रवि लामिछानेसमेत रहेको बालेनको ठूलो तस्वीर एउटा घरको भित्तामा झुन्ड्याइएको छ। त्यसमा ‘अब की बार, बालेन सरकार’ लेखिएको छ। यस्ता तस्वीरमा रविको भन्दा बालेनको तस्वीर ठूलो बनाएर राखिएको देख्न सकिन्छ। कतिपयमा त रविलाई नराखी बालेनको मात्र प्रचार पनि भइरहेको छ।

सर्लाही सदरमुकाम मलंगवास्थित श्रीराम चोकमा राखिएको ब्यानर।बालेनको गृहजिल्ला महोत्तरीसँगै, सिरहा र सप्तरीमा पनि उनको पक्षमा जनमत देखिन थालेको छ। मधेशमा अधिकांशले उनको समर्थन गर्नुको मुख्य कारण सरकार प्रमुखको रूपमा पहिलोपटक मधेशी मूलका नेता देख्ने चाहना नै भएको स्थानीय बताउँछन्। 

बालेनको पक्षमा मधेश यसरी खुल्नुको अर्को कारण उनको ‘बेदाग छवि’ र मधेशलाई उकास्न सक्ने अपेक्षा भएको राजनीतिक विश्लेषक उमेशलाल दास बताउँछन्। कांग्रेस, एमालेसहित मधेश केन्द्रित दलले पनि मधेशका जनताको विश्वास गुमाइसकेको हुँदा बालेनलाई विकल्प देख्न थालेको उनको भनाइ छ।

तर अहिले नै उनको पक्षमा ठूलो जनलहर आइनसकेको दास बताउँछन्। “भ्रष्टाचाररहित छवि र केही गर्न सक्ने सम्भावना देखिएकाले बालेनप्रति मधेश आकर्षित भइरहेको सत्य हो,” उनी भन्छन्, “काठमाडौँजस्तो ठाउँमा केही गरेर आएको मान्छेले मधेशलाई धोका नदिने आशले पनि उनको पक्षमा समर्थन देखिएको हो।”

मधेश केन्द्रित दललाई कति चुनौती?
बालेनप्रतिको समर्थन बढेसँग मधेश केन्द्रित दलहरू आफ्ना प्रत्येक सभामा उनीप्रति टिप्पणी गर्न थालेका छन्। विशेषगरी, मधेशी ‘सेन्टिमेन्ट’ बालेनतर्फ जाने संशयले मधेश केन्द्रित नेताहरू उनको पहिचानमै प्रश्न उठाउन थालेका छन्।

गएको साता एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले बालेन स्वयंले हालसम्म आफू मधेशी समुदायको भएको स्वीकार नगरेको दाबी गरे। “ऊ आफैले अहिलेसम्म आफू मधेशी भनको छ? कहिले सुन्नुभएको छ?” राउतले भनेका छन्, “कहिले होसमा हुन्छन्, कहिले बेहोसीमा। त्यस्तोलाई प्रधानमन्त्री बनाउन सकिन्छ?”

nullजसपा प्रवक्ता मनीष सुमन पनि रास्वपामा बालेन आउँदा वा नआउँदा मधेशमा कुनै फरक नपर्ने बताउँछन्। केही ठाउँमा रास्वपाको चर्चा भए पनि मधेशभरि कतै संगठन नहुँदा मधेश बुझ्नै समय लाग्ने सुमनको दाबी छ।

अहिले सबै मधेश केन्द्रित दल एक भएको हुँदा पनि अबको निर्वाचन मधेश केन्द्रित दलकै पक्षमा आउने उनको भनाइ छ। उनी भन्छन्, “यसपटक मधेशले मधेशवादी दललाई नै हेर्छ। बालेनजीले अर्को पाँच वर्षपछि अवसर पाउनुहोला भन्ने शुभकामना दिन चाहन्छु।”

जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउत पनि ‘बालेन फ्याक्टर’ले आफूहरूलाई मात्रै होइन, मधेशमै केही फरक नपर्ने बताउँछन्। सामाजिक सञ्जाल र शहरी क्षेत्रमा गाइँगुईं चले पनि भित्री मधेशमा प्रभाव शून्य बराबर रहेको उनको दाबी छ।

“म आफै पनि अहिले मधेशमै छु। बालेनबारे कतै सुनिनँ। अर्को कुरा, मधेशबारे उहाँहरूको क्लियर अजेन्डा पनि छैन,” राउत भन्छन्, “प्रधानमन्त्रीको रूपमा प्रचार गरेर मधेशले मत दिँदैन। एकखालको चर्चा छ, नभएको होइन, तर सामाजिक सञ्जालमा मात्रै।”

कांग्रेस र एमाले कति ढुक्क?
बालेनको आगमनलाई मधेश केन्द्रित दल मात्रै होइन, अधिकांश चुनावमा देशकै ठूला राजनीतिक दल बन्ने कांग्रेस र एमालेले पनि चुनौती नमानेको दाबी गर्छन्। एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल मधेशमा अहिलेसम्म बालेन र रास्वपाको चर्चासमेत नभएको बताउँछन्।

रास्वपा नेता कार्यकर्ताको प्रयासले एमालेलाई केही फरक नपर्ने मण्डलको दाबी छ। “उनीहरूको उम्मेदवारको त जमानत जफत हुन्छ, जित्ने त परको कुरा भयो,” उनी भन्छन्, “मधेशका ३२ निर्वाचन क्षेत्रबाट उनीहरूको कुन क्षेत्र बलियो छ? कुन जिल्लामा प्रभाव छ? हावामा चुनाव जितिँदैन।”

कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव पनि बालेनको प्रभाव मधेशमा नपर्ने दाबी गर्छन्। मधेशमा मधेशी भन्दै मत माग्न आउने जसलाई पनि स्वीकार नगरिने उनी बताउँछन्। 

“मधेशमा बालेनको प्रभाव जिरो छ। यो काठमाडौँ होइन, जो उनलाई सजिलै स्वीकार्छ,” यादव भन्छन्, “मधेश बहुतै सुझबुझपूर्ण हिसाबले मत दिन्छ र त्यसमा कांग्रेस नै पहिलो दल हुन्छ भन्ने हामी ढुक्क छौँ।”