काठमाडौंका शहरी मतदाताको ‘मूड’ आकलन गर्न सहज छैन। तर, बाहिरी काठमाडौंका बस्तीहरूको मनोविज्ञान पनि यसपालि पहिलेको जस्तो देखिँदैन।
काठमाडौं– गत असोज २१ गते विवेकशील साझा पार्टी छाडेको घोषणा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले त्यसको पर्सिपल्ट, असोज २३ गते राप्रपाबाटै काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराए। त्यसयता उनी लगातार चुनावी तयारीमा छन्। मतदातासँग भेटघाट, अन्तरक्रिया गरिरहेका छन्। अहिले त घरदैलो नै शुरु गरिसके।
भुईंमान्छे, सुकुम्बासी बस्ती, हेल्थ क्लबदेखि योग साधना केन्द्रसम्म पुगिरहेका मिश्रकै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले उम्मेदवारी दिएका छन्। बम त निर्वाचन मिति घोषणा हुनुभन्दा पहिल्यैदेखि मतदाता भेटघाटमा सक्रिय छन्। भौतिक भेटघाटदेखि सामाजिक सञ्जालमासमेत उसैगरी सक्रिय मिश्र र बम ती प्रतिनिधि उम्मेदवार हुन्, जसले मुलुकको राजधानीको पछिल्लो ‘मूड’लाई प्रतिनिधित्व गर्ने मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन्।
के काठमाडौंको ‘मूड’ मिश्र र बमजस्तै उम्मेदवारले चलाएका गतिविधिकै वरिपरि छ त? यसबारे बुझ्न हामीले भित्री काठमाडौं मात्र होइन, काठमाडौंको बाहिरी क्षेत्रका मतदातालाई पनि भेटेर कुरा गर्यौँ। त्यसक्रममा विभिन्न निर्वाचन क्षेत्रका ३५ जना मतदातालाई भेटेर कुरा गर्दा अनौठो त के देखियो भने काठमाडौं–१ लगायत भित्री काठमाडौंका केन्द्रमा जे–जस्ता चुनावी चहलपहल देखिए, काठमाडौंको बाहिरी क्षेत्रमा त्यस्तो चहलपहल अत्यन्त न्यून देखियो। त्योभन्दा पनि रोचक चाहिँ पार्टी र उम्मेदवारलाई लिएर मतदाताको भिन्न ‘मूड’ देखियो।
मतदाताको आक्रोश : पार्टी कि नेताप्रति?
काठमाडौंको क्षेत्र नम्बर १० अन्तर्गत पर्छ, कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा अवस्थित टौदह। त्यही टौदहमा माछाको दाना बेच्दै गर्दा भेटिइन् निर्मला कार्की (५३)। निर्मलाले मतदान गर्नयोग्य भएदेखि प्रत्येक निर्वाचनमा मतदान गर्दै आएकी रहिछन्। “मतदान भनेको दान हो, भोट नगर्ने कुरै आउँदैन, यसपालि पनि भोट गर्ने हो”, निर्मलाले भनिन्, “तर, यसपटक सोचविचार गरेर मात्र भोट दिन्छु।”
यसपटक उनको मतदानको योजना नै भिन्न छ। नयाँ तरंग उठाइरहेका स्वतन्त्र उम्मेदवार वा अहिलेको व्यवस्थाकै विरोध गरिरहेका राजावादीलाई समर्थन गर्ने मूड प्रस्ट्याउँदै उनले भनिन्, “सधैँ नाम चलेका ठूला पार्टीलाइ मात्र भोट दिएँ, उनीहरूले भोटको इज्जत गरेनन्। चुनावका बेला घरदैलो चहार्ने, चुनावपछि जनतालाई नचिन्ने गरे। सधैँ आशाको त्यान्द्रोमा मात्र झुण्ड्याइरहे। यसपालि म पनि त्यस्तो गर्ने छैन।”
यसपालि भोट कसलाई दिने भनेर घरसल्लाह भइनसकेको, तर पहिले भोट दिएकै पार्टीलाई नदिने उनले प्रस्ट्याइन्।
कार्की एकल महिला हुन्। टौदह छेउमा गर्ने सानोतिनो व्यापारबाट उनको दैनिकी बित्छ, गुजारा चल्छ। केही वर्षयता दैनिक उपभोग्य वस्तुमा भएको अचाक्ली मूल्यवृद्धिले उनलाई पिरोल्नु पिरोलेको छ। भान्सामा अत्यावश्यक खाद्यान्न–तरकारीको जोहोदेखि सानो नाङ्ग्लो पसल सञ्चालनमा परेको कठिनाइबाट निराश निर्मला भन्छिन्, “महँगी यति बढ्यो कि गुजारा गर्न पनि नसकिने भइयो। हाम्रो भोट चाहिनेहरूले हाम्रा समस्या चाहिँ हेर्नु नपर्ने?”
कीर्तिपुरको बागभैरब मन्दिर रहेको क्षेत्र पनि काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत पर्छ। मन्दिर आसपासका चिया र किराना पसलदेखि मन्दिर परिसरमा बिहानैदेखि चुनावी माहोल तात्दोरहेछ। बागभैरव छेउमै बस्ने चन्द्रलक्ष्मी श्रेष्ठ (७२) मधुमेहकी बिरामी हुन्। दैनिक औषधि खानु पर्छ। तर, पछिल्ला वर्षमा भएको अचाक्ली मूल्यवृद्धिले उनी हैरान छिन्। “विदेशमा त हामीजस्ता बूढाबूढीलाई निःशुल्क स्वास्थ्य सेवा मिल्छ रे, हामीले कहिले पाउने?”, उनले भनिन्।
नेताहरूले आसेपासेलाई मात्र हेर्ने गरेको गुनासो रहेछ उनको। “चिनजानका मान्छे हुनेको नक्सापास भएर घर बनिसक्यो, हाम्रो अहिलेसम्म नक्सामै अल्झिएको छ”, लक्ष्मीदेवी भन्छिन्, “जुन जोगी आए पनि कानै चिरेका। हाम्रो समस्या बुझिदिने कोही रहेनछ।”
उनको यस्तो असन्तुष्टि यसपालि मतदानमा प्रकट हुनेछ। यसअघि ठूला पार्टीलाई भोट दिँदै आएकी उनले यसपटक स्वतन्त्र उम्मेदवार (राष्ट्रिय स्वतन्त्र पार्टी पनि) रोज्ने संकेत गर्दै सोधिन्, “बरु स्वतन्त्रमा को–को उठेका छन्, हामीलाई भनिदिनुस् न।”
टोखा नगरपालिका वडा नम्बर–१ मा पर्ने झोर, काठमाडौं क्षेत्र नम्बर ६ मा पर्छ। हरिराम अधिकारी (४६) त्यहीँका मतदाता हुन्। १५ वर्ष मध्यपूर्वको मुलुक इजरायलमा ‘केयरटेकर’को काम गरेका उनी दुई वर्षअघि मात्र फर्केका हुन्। १५ वर्ष इजरायल बस्दा उनले आफू काम गर्ने परिवारमात्र होइन, त्यहाँको राजनीति, व्यवस्था र त्यसले गरिरहेको ‘डेलिभरी’लाई पनि नजिकबाट नियाल्ने मौका पाए।
“चुनावको दिनलाई त्यहाँका मानिसले अरू दिनजस्तै सामान्य रूपमा लिन्छन्। मतदान गर्छन्, फर्केर आफ्नो नियमित काम गर्छन्। पार्टीको समर्थन–प्रचार गर्ने, घर गाडीमा झण्डा राख्ने, र्यालीमा हिड्ने जस्ता काममा उनीहरूलाई वास्तै हुन्न”, अधिकारीले भने, “कुन पार्टी वा नेताले विगतमा के कस्ता काम गरे, त्यहीअनुसार उनीहरूले भोट दिँदा रहेछन्।”
मंसिर ४ को निर्वाचन नजिकिइरहँदा उनलाई इजरायलकै झझल्को आइरहेको छ। तर, यहाँका सबै कुरा भिन्न छन्। यहाँको राजनीतिबाट दिक्दार बनेरै हुनसक्छ, उनले व्यवस्थाप्रति नै असन्तोष पोखे। र, यसपालि ‘विकल्प खोज्ने’ योजना सुनाए। टोखा नगरपालिका–१ का धेरैजसो मतदाताको ‘मूड’ यस्तै रहेको सुनाउँदै उनले भने, “चुनावको दिनसम्म के हुन्छ त म भन्न सक्दिनँ, ५५–५६ उमेरमाथिका बुबाआमाले परिवारलाई डोर्याइरहेका छोरा-बुहारीको सल्लाहबमोजिम नै भोट हाल्नुहुन्छ होला। तर, नयाँ पुस्ता यसपालि विगतको गल्ती दोहोर्याउन चाहन्न। मेरै कुरा गर्नु हुन्छ भने म यी पार्टीलाई भोट दिन्नँ। कि स्वतन्त्रलाई दिन्छु, नभए यी बहुदलवादीभन्दा राजावादीलाई नै दिन्छु।”
दक्षिणकाली नगरपालिकाका दीपक सापकोटा (५०) आफ्नो क्षेत्रमा भइरहेको बालुवाखानी दोहन र त्यसमा रहस्यमय मौनता साँधिरहेको स्थानीय सरकारको रवैयाबाट रुष्ट छन्। वर्षौंदेखि पहुँचवालाले गर्दै आएको बालुवाखानी दोहनले आफ्नो बस्ती नै जोखिममा परिसक्दा पनि स्थानीय सरकार चुपचाप बसेको उनले बताए। “यसअघिको स्थानीय सरकार पनि मूकदर्शक बन्यो। नवनिर्वाचित स्थानीय सरकारले पनि यस विषयमा केही गरेन”, उनले भने, “सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि केही भएन। बरु दोहन गर्नेहरूले उल्टै ज्यान मार्ने धम्की दिनथालेका छन्।”
यस्तै, कुराले यहाँ स्थानीय सरकार, पार्टी र नेताहरूप्रति विश्वास उठ्दै गएको रहेछ। “हामीलाई अब यस्तो अपराधलाई संरक्षण गर्ने पार्टी र नेताप्रति पटक्कै विश्वास छैन”, उनले भने, “यसपालिको भोट उनीहरूले पाउँदैनन्। हामी बरु स्वतन्त्रलाई भोट दिन्छौं।”
२५ वर्षीया सृष्टि महर्जन तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा बस्छिन्। यो ठाउँ काठमाडौं क्षेत्र नम्बर ९ मा पर्छ। तारकेश्वरको मनमैजु मन्दिरनजिकै उनको पसल छ। सृष्टि ती मतदाताको प्रतिनिधि हुन् जो यसपालि दोस्रोपटक मताधिकार प्रयोग गर्दैछन्।
पाँच वर्षअघि मतदान गर्दा उनलाई लागेको थियो, देशमै रोजगारीको अवसर होला, कामअनुसारको सुविधा र आम्दानी पनि मिल्ला। त्यति भए अहिले भइरहेको युवाको विदेश पलायन आधै घट्ने उनको आशा थियो। तर, त्यो भएन। सृष्टि भन्छिन्, “देश रित्तिन लागिसक्यो। उच्च शिक्षा र रोजगारीका लागि हुने वैदेशिक पलायन रोक्ने कसरी? रोक्ने कसले?”
यसपालिको निर्वाचनअघि उनलाई यस्तै प्रश्नले पिरोलेका छन्। त्यहीकारण खोज्दैछिन् सचेत, शिक्षित र व्यावहारिक उम्मेदवार। उनलाई थाहा छ, पार्टीहरूबाट नयाँ र युवा अनुहार नै उम्मेदवार बनेर आए पनि उनीहरू पार्टीबाटै सञ्चालित हुने भएकाले केही गर्न सक्दैनन्। “यसपालि स्थानीय निर्वाचनबाट आएका जनप्रतिनिधिको कार्यशैली पनि हेरिसकियो”, उनले भनिन्, “अब विकल्प खोज्ने हो, कसैबाट सञ्चालित नहुनेलाई नै रोज्ने हो।”
७७ वर्षीय नारायण महर्जन सृष्टिका हजुरबुबा हुन्। नयाँ पुस्ताले नयाँ अनुहार र नेतृत्वप्रति रूचि देखाइरहँदा नारायणले भने केही निर्क्योल गरिसकेका छैनन्। संगठनात्मक रूपमा सबल पार्टीलाई मत दिने योजना सुनाए पनि कसलाई रोज्ने भनेर उनी खुलेनन्। यसअघि आफ्नो छोरा धनमान नेपाल मजदुर किसान पार्टीबाट राजनीतिमा सक्रिय रहँदा उनले नेमकिपालाई समर्थन गरेको उनले बताए। “यसपालि कसलाई रोज्ने भनेर परिवार र वडास्तरमा सल्लाह हुन भने बाँकी नै छ”, नारायणले भने, “यहाँ नेवार समुदायको बाहुल्य छ, पहिले पनि सरसल्लाह गरेर धेरैजसो भोट एउटै पार्टी वा नेतालाई हाल्दै आएका हौँ।”
तर, आफ्नो भोटको महत्त्व नेतृत्व तहमा रहेका नेताहरूले बुझ्न नसकेको गुनासो पनि उनमा छ। भन्छन्, “पुरानासँग सन्तुष्ट छैन, नयाँको पनि विश्वास छैन।”
भित्री काठमाडौंका मतदाताको ‘मूड’ बुझ्न कठिन भइरहेका बेला तुलनात्मक रूपमा यातायात, शिक्षा, स्वास्थ जस्ता आधारभूत पूर्वाधारको कमजोर व्यवस्था रहेका बाहिरी काठमाडौंका बस्तीहरूको मनोविज्ञान भने यसपालि प्रष्ट देखिन्छ। हामीले भेटेर कुरा गरेका ३५ जना मतदातामध्ये अधिकांश ‘स्वतन्त्र लहर’बाट तरंगित छन्। अहिलेका प्रमुख पार्टीभन्दा बरु पुरानै व्यवस्थामा विश्वास गर्ने पार्टी अर्थात् ‘राजावादी’प्रति पनि ध्यान बढेको देखिन्छ। कीर्तिपुरमा भेटिएका एक व्यवसायीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, “नेताले नै पार्टी चलाउने हुँदा हामीलाई अहिलेका पार्टी र नेता दुबैप्रति विश्वास छैन। यसपालि आशाभन्दा पनि असन्तुष्टिको मत बढी हुन्छ जस्तो लाग्छ।”
किन यस्तो मनोविज्ञान?
यस्तो मनोविज्ञान बाहिरी काठमाडौंमा मात्र छ त? राजनीतिक विश्लेषक दिनेश प्रसाईं काठमाडौंको ‘कोर’ क्षेत्रमा पनि दलहरूप्रति यस्तै वितृष्णा रहेको बताउँछन्। पार्टीका नेतृत्व तहमा रहेकाहरू कहिल्यै परिवर्तन नहुनु, त्यही नेतृत्वले सधैँ पार्टी चलाइरहँदा राजनीति गतिशील बन्न नसक्नुलाई उनी यसको कारण मान्छन्। राजनीतिक वृत्तमा फस्टाएको भ्रष्टाचार, नातावाद, कृपावाद लगायतले जनमानसमा निराशा पैदा गरेको उल्लेख गर्दै प्रसाईंले भने, “जनता परिवर्तन खोजिरहेका छन्। यसको विकल्प कि त नयाँ स्वतन्त्र उम्मेदवार हुन् या त पुरानो राजव्यवस्था हो। तर, जनताले १६ वर्षअघि उखेलेर फालेको व्यवस्था आत्मसात गर्नु उचित होइन।”
यद्यपि, मतदाताको मनोविज्ञान फेरिन र भोट ‘स्विङ’ हुन कुनै समय नलाग्ने उनको आकलन छ।
वैशाख ३० मा स्थानीय तह निर्वाचनमा शंखरापुर मात्र काठमाडौं उपत्यकाको त्यस्तो नगरपालिका हो जहाँ राप्रपाका उम्मेदवार रमेश नापित मेयरमा निर्वाचित भए। यसले पनि काठमाडौंको बाहिरी क्षेत्रमा बदलिएको मतदाताको मनोविज्ञान र प्रमुख पार्टीहरूप्रतिको असन्तुष्टि झल्काउँछ। शंखरापुर नगरपालिका काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ।
प्रसाईंको बुझाइमा विधिको शासन स्थापित नहुनु नागरिकले गरेको परिवर्तनको चाहनामा मुख्य बाधक हो। “पाइला पाइलामा नभई नहुने सोर्सफोर्स र यस्तै व्यावहारिक पक्षले आमजनलाई पनि पार्टी र आफ्नो मान्छे चाहिने रहेछ भन्ने लाग्नु नौलो कुरा होइन। त्यसो हुँदा जति नै असन्तुष्टि रहे पनि अन्तिममा फेरि दलतिरै भोट स्विङ हुने सम्भावना पनि रहन्छ”, उनले भने।
बाहिरी काठमाडौंको अर्को विशेषता के हो भने त्यहाँ समुदायमा हरेकले हरेकलाई चिनेका हुन्छन्। “फ्रस्ट्रेसनलाई व्यक्त गर्दा भोलि विद्रोहीको लेबल लाग्ने डर हुन्छ, त्यसकारण सेन्टिमेन्ट र चुनावी परिणाममा भिन्नता हुनसक्छ”, प्रसाईं भन्छन्, “राजा फर्काउन चाहने वा स्वतन्त्र उम्मेदवार भन्ने हुटहुटी जनताको मागभन्दा पनि दलप्रतिको वितृष्णाको उपज हो। तर, राजा वा स्वतन्त्र चयनको अर्थ दल कमजोर भएको भने चाहिँ होइन। दलहरूको पकड अझै पनि बलियो छ।”
समाजशास्त्री चैतन्य मिश्र नेताहरू मतदाताप्रति जिम्मेवार नबन्दा यसखाले वितृष्णा पैदा भएको बताउँछन्। जनजीविकाका सवाल र आवश्यकता छायामा पर्नु, नेताहरू आफू र आफ्नो पार्टीप्रति मात्र जिम्मेवार हुँदा यस्तो अवस्था आएको ठान्ने मिश्र पार्टीहरूको विकल्प राजा वा स्वतन्त्र भने नबन्ने बताउँछन्। “काँठ क्षेत्र केन्द्रकै वरिपरि भए पनि बत्तीमुनिको अँध्यारो हुन्। केही किलोमिटर पर रहेको केन्द्र झिलिमिली हुँदा काँठे बस्ती भने स्वास्थ्य सेवा, सडक, बिजुली लगायतका विकासका पूर्वाधारमा पछि परेका छन्”, उनी भन्छन्, “त्यो प्रताडना प्रकट भएको हो।” यहीकारण पनि बाहिरी काठमाडौंको मतदानमा फरक रुझान देखिनसक्ने उनको आकलन छ।
स्थानीय तहमा स्वतन्त्र र राप्रपाको अवस्था
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित हुनु धेरैको लागि अप्रत्यासित थियो। त्यसक्रममा साहले प्रमुख दलका ‘हेभीवेट’ उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। शंखरापुर नगरपालिकामा राप्रपाले मेयर जित्यो भने दक्षिणकाली, चन्द्रागिरि, नार्गाजुन र कागेश्वरी मनोहरा नगरपालिकामा तेस्रो स्थानमा रह्यो। तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा चौथो स्थानमा रहेको राप्रपा कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिकामा पाँचौँ स्थानमा थियो।
काठमाडौं महानगरमा बालेनले ‘चमत्कार’ गर्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले झण्डै १४ हजार मत ल्याएका थिए। बाँकी स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य भए पनि उनीहरूले चर्चा गर्नलायक मत पाएनन्। स्थानीय निर्वाचनको परिणामबाट हौसिएर काठमाडौंमा प्रतिनिधिसभा सदस्यमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेका छन्। काठमाडौं जिल्लामा कूल १५६ उम्मेदवारमध्ये ५३ जना स्वतन्त्र छन्। त्यस्तै, प्रदेशसभा सदस्यका लागि २२० जनामध्ये ७७ जना स्वतन्त्र उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
