सम्पदा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने दाताको चर्चा धेरै हुन्छ, तर ऐतिहासिक र सांस्कृतिक सम्पदा उस्तै मौलिक संरचनामा बनाउन खटिएका कलाकर्मीहरूको योगदान नभइदिएको भए उही स्वरूपमा ठडिन सम्भव थिएन।
काठमाडौँ– “चार नारायणको मन्दिर पूरै भत्कियो रे,” २ मिनेटअघि मात्र सोही मन्दिर घुमेर आएका पाटनका स्थानीय दिलेन्द्रराज श्रेष्ठ हतारमा रेस्टुरेन्टबाट बाहिर निस्किए। उनी पाटनस्थित कृष्ण मन्दिरपछाडि रहेको आफ्नो रेस्टुरामा आइ मात्र पुगेका थिए, भूकम्पले हल्लाउन थालिहाल्यो।
भूकम्पको कम्पन कम भएपछि पाटन दरबार परिसर पुगे। त्यहाँ चार नारायण र हरिशंकर मन्दिर पूर्णरूपमा ध्वस्त थिए। २०७२ वैशाख १२ गतेको त्यो कहालीलाग्दो दृश्य अहिले पनि उनको मानसपटलमा ताजै छ। उनी भन्छन्, “आँखैअघि योगेन्द्र मल्लको शालिक ढल्यो। शालिकमाथि रहेको चरा हराएकाे हल्ला चल्याे।”
उक्त चराबारेको किवंदन्ती इतिहास अध्येताका लागि महत्त्वपूर्ण रहेकाले पनि आफूहरू भत्किएका संरचनाका अवशेष संकलन र संरक्षणमा लागेको उनी बताउँछन्।
पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखे पनि चार नारायण मन्दिर भत्किँदा पाटन दरबार परिसरमा नै थिए। “त्यस दिन हामी मिटिङमा थियौँ। भूकम्प आउन थालेपछि मिटिङमा बसेका सबै जना भाग्न थाले। म टेबुलमुनि लुकेँ,” लाखे भन्छन्, “भूकम्प आउँदा आत्तिएर भाग्नेभन्दा पनि सकेसम्म सुरक्षित तरिकाले बस्नुपर्छ भन्ने स्कुलेजीवनको पढाइ त्यस दिन उपयोग भयो।”
पहिलो कम्पन रोकिएपछि लाखे पनि बाहिर निस्किए। बाहिर निस्किँदा पाटन दरबार परिसरका कतिपय ऐतिहासिक र सांस्कृतिक सम्पदा भत्किएका थिए। यद्यपि, आठ वर्षमा अधिकांश संरचनाको पुनर्निर्माण गरिएपछि पाटन दरबार परिसर भूकम्पअघिकै अवस्थामा पुगेको संग्रहालय प्रमखु लाखे बताउँछन्।
अहिले देगु तलेजु र भैदेग मन्दिर निर्माण भइरहेका छन्। अदालत भवन निर्माण शुरू हुनै बाँकी छ। दरबार परिसरको भीमसेन मन्दिर, विश्वेश्वर मन्दिर, कृष्ण मन्दिर, चार नारायण मन्दिर, हरिशंकर मन्दिर, पाटन दरबार संग्रहालय भने पुनर्निमाण भइसकेका छन्।
पुनर्निर्माणमा पाटनका स्थानीय तहदेखि काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट, अस्ट्रेलियन एम्बेसी, विभिन्न बैंक तथा वित्तीय संस्थालगायतले सहयोग गरेको लाखे बताउँछन्। तर, सिकर्मी, डकर्मीलगायत कलाकर्मी र कामदारको योगादन पनि ठूलो रहेको उनको भनाइ छ।
पूर्णरूपमा भत्किएका, छरिएका, बिग्रिएका सम्पदासँग सम्बन्धित इँटा, खम्बा, टुँडाल, थाम जोड्दै पूर्ववत् अवस्थामा ल्याउन कामदार र कलाकर्मीले ठूलो मिहिनेत गरे। “उहाँहरूको योगदान अमूल्य छ। उहाँहरूले पुर्खादेखिको सीप, कलालाई निरन्तरता दिँदै आउनु भएको कारण आज पाटन दरबार परिसरले आफ्नो मौलिक स्वरूप पाएको छ,” प्रमुख लाखे भन्छन्, “भूकम्प मात्र नभई पहिले हराएका कतिपय मूर्ति, खम्बाको पनि रिप्लिका बनाएर पुनस्र्थापित भएको छ।”
सम्पदा पुर्ननिर्माणले दिएको सम्मान
पुनर्निर्माणको चरणमा रहेको पाटनको देगु तलेजु मन्दिर परिसरमा केही फ्लेक्स लस्करै टाँसिएका छन्। ती फ्लेक्समा सम्पदा निर्माणमा खटिएका कामदारका तस्वीर र नाम लेखिएको छ। त्यहाँ आफ्नो पनि तस्वीर र नाम देख्दा सूर्यबहादुर रञ्जितकार दंग छन्। भक्तपुरमा पनि उनको नाम र तस्वीर यसरी नै राखिएको छ, जहाँ उनले बत्सला मन्दिरको पुनर्निर्माणमा काम गरेका थिए।
“मलाई त भक्तपुर गए पनि फोटोमा देखेको भन्छन्। पाटनमा २०६६ सालदेखि काम गरेको, जहाँ गए पनि चिन्छिन्,” सूर्यबहादुर भन्छन्, “मैले मेरो हजुरबा, बुबाले गर्न नपाएको सम्पदा पुनर्निर्माणको काम गर्न पाएँ। ढुंगामा बुट्टा भर्ने काम मेरो पुर्खाले गर्नुभएको थिएन, मैले यहाँ सिक्न, अनुभव गर्न पाएँ।”
ढुंगा कुद्ने उनको पुर्खौली काम हो। उनका हजुरबुवा र बुवाहरू सादा ढुंगामा काम गर्थे। उनले भने ढुंगामा बुट्टा कुँद्न पनि सिके, जसले गर्दा भत्किएका सम्पदा मौलिक रूपमा पुनर्निर्माण गर्न सम्भव भयो।
सूर्यबहादुर पाटनको कृष्ण मन्दिरको पुनर्निर्माण गर्ने समूहमा थिए। कृष्ण मन्दिर आंशिक रूपमा मात्रै भत्किएको थियो। मन्दिरको पहिलो तलाको दक्षिणतर्फको थामका केही भागका बुट्टा चर्किएका तथा फुटेका थिए। थामहरू बिग्रिएका थिए। कृष्ण मन्दिरको अधिकांश काम उनैले गरे।
आफ्नो कौशलकै कारण भक्तपुरको बत्सला मन्दिरमा काम गर्ने जिम्मा पनि सूर्यबहादुरले नै पाएका थिए। “यता कृष्ण मन्दिरलाई समय दिनुपर्ने हुँदा उता भ्याउँदिन भनेको थिएँ,” उनले भने, “तर, मलाई नै समय मिलाएर काम गर्न भनेपछि बिहानको समय बत्सला मन्दिर र दिउँसो कृष्ण मन्दिरमा काम गरेँ।”
काष्ठकलामा लागेका पाटनका इन्द्रकाजी र उनका छोरा इन्द्रप्रसाद शिल्पकारले पनि पाटन परिसरका सम्पदा पुनर्निर्माणमा योगदान गरेका छन्। उनीहरूले मणिमण्डप (पाटन परिसरका दुई पाटी), विश्वेश्वर मन्दिर, चार नारायण मन्दिर र हरिशंकर मन्दिरका काठका मूर्तिलाई मौलिक आकृति दिएका थिए।
“नयाँ बनाउनेभन्दा पनि बिग्रिएका, चर्र्किएका काष्ठकलामा काम गर्न अझ गाह्रो हुन्छ,” इन्द्रप्रसाद भन्छन्, “नयाँ मूर्ति बनाउँदा निश्चित खाकामा आफ्नै ढंगले काम गर्न सकिन्छ, पुरानामा नबिग्रिएको भागलाई छाडेर बिग्रिएकोलाई उस्तै स्वरूप दिनुपर्ने हुन्छ।”
इन्द्रकाजीले काष्ठकलाको काम गरेको ४० वर्ष भयो। उनका छोरा इन्द्रप्रसादले पनि यही काम गरेको २० वर्ष भयो। यो उनीहरूको पुर्ख्यौली पेशा हो।
मठमन्दिरको काम गर्नु पाउनु भाग्य र गर्व दुवै भएको छोरा इन्द्रकाजी बताउँछन्। “भूकम्पपश्चात पाटन परिसरको अवलोकन गर्दा दुःख लाग्यो,” इन्द्रकाजी भन्छन्, “फेरि उठ्छ वा उठ्दैन भनेर डर थियो। तर, बिस्तारै काम अघि बढ्न थाल्यो। पुराना अभिलेख तथा चित्रका आधारमा हाम्रो जिम्मेवारीमा आएको काम सकायौँ।”
चार वर्षको अवधिमा गरेको कामबाट पाएको सम्मान सबैभन्दा महत्वपूर्ण भएको उनी बताउँछन्। “सम्पदा क्षेत्रमा काम गर्नेहरूलाई सम्मानका साथ हेर्न थालियो, यसैमा खुशी लागेको छ,” उनले भने, “सबै कलाकर्मीले यस्तो मौका पाउँदैनन्।”
जसले गारोको काम गरे
डकर्मी विश्वराम सुवालले मन्दिरलाई स्वरूप दिने काम गर्छन्। उनले मौलिक स्वरूपमा मन्दिरको गारो लगाउने, पेटी बनाउने, टायल राख्ने काम गरे। यी संरचनाका पुराना नक्सा हुने र इन्जिनियर तथा नापीको सल्लाहमा काम गर्नुपर्ने उनको भनाइ छ।
पाटन दरबार परिसरमा बनेको प्रायः सम्पदाको पुनर्निर्माण गर्दा विश्वरामले यस्ता संरचनाको बनोटबारे धेरै कुरा सिक्न पाएको बताए। पुरानो समयमा मन्दिर बनाउँदा भएका केही त्रुटि पनि थाहा पाउने अवसर पाएको उनको भनाइ छ। “गारो बनाउँदा बीचबीचमा टुटेफुटेका इँटा पनि राखिएको रहेछ, त्यो हुनुहुँदैन भन्ने मेरो मान्यता हो,” उनले भने।
हाल देगु तलेजु मन्दिरको जिर्णोद्धारमा खटिएका उनले उक्त मन्दिरको छतको नमूना बनाएका छन्। छतमा रहेको इँटाको संरचना, नापीदेखि गजुरको खाका सबै उनले तयार गरेका छन्। “पिल्लर सिस्टमको भवन बनाएजस्तो हुँदैन सम्पदा निर्माणको काम,” उनी भन्छन्, “यसमा थप मिहिनेत लाग्छ।”
आफूले गरेका यी काम आगामी पुस्ताले पनि देखून् भन्ने उनको चाहना पूरा भएको छ। “भूकम्पजस्तो भवितव्य समय–समयमा आइपर्छ,” उनी भन्छन्, “यस्तोमा सम्पदा पूनर्निर्माणका कामदार र कलाकौशल लोप हुने अवस्थामा हुन्छ। त्यसैले सरकारले नयाँ पुस्तालाई सम्पदा निर्माणको सीप तथा तालिम दिइरहनुपर्छ।”
जोखिम पनि उस्तै
भूकम्पका परकम्पहरू गइरहँदा सम्पदा पुनर्निर्माणका काम रोकिएका थिएनन्। भग्नावशेष संरचना बनाउने क्रममा परकम्प जाँदा कामदारहरूलाई पनि जोखिमको सम्भावना हुन्थ्यो।
एकपटक सूर्यबहादुर रञ्जितकार कृष्ण मन्दिरको छतमा बसेर ढुंगा कुदिरहेका थिए। त्यही बेला परकम्प गयो। वरपरका मानिस उनलाई तल बोलाउँदै चिच्याउन थाले। “तर, मैले त थाहा नै पाइनँ। हेल्मेट लगाइरहेको कारण सुरक्षित छु भन्ने लागेको थियो। मनमा थोरै डर भने पलाएको थियो,” उनी सम्झिन्छन्।
इन्द्रप्रसाद र इन्द्रकाजी बाबुछोरा नै विश्वेश्वर मन्दिरको छानामा गएका थिए। छानामा नाप लिन जाँदा घचक्क हल्लिएको अनुभव भयो। खास ठूलो परकम्प नभए पनि मनमनै डर भनेका लागेको उनीहरू बताउँछन्। काम गर्दा यस्ता परकम्प धेरै भोगेर र सहेर काम गरेको उनीहरूको अनुभव छ।
अहिले पनि विश्वराम देगु तलेजु मन्दिरको पुनर्निर्माणमा संलग्न छन्। उनको धेरै अधिक समय मन्दिरभित्रै बित्छ। “अहिले अलि रोकिएको हो, नत्र पराकम्प गइरहेको हुन्छ। मनमा केही हुँदैन भन्ने सोच राखेर काम गर्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
