काठमाडौँ महानगर जयबागेश्वरी र हाडीगाउँमा १८ करोड ४९ लाख खर्च गरेर बस्तीलाई ‘मौलिक स्वरूप दिने’ मास्टरप्लान कार्यान्वयनमा जुटिरहँदा यसको सम्पदामैत्री पाटो र स्थानीयलाई कति व्यावहारिक हुन्छ भन्ने प्रश्न यथावत् छन्।
काठमाडौँ– जयबागेश्वरी मन्दिरदेखि सिफल चौरको सेतो ढोका (टुयु ध्वाखाः) सम्मै तन्किएको बस्ती हो नवाली टोल। नाम जस्तै नौ वटा फल्चा, नौ डबली, हिटी (ढुंगेधारा), पोखरी, इनार, ढोका, नौ थरी जाति रहेको बस्ती हो यो। लिच्छविकालीन मानिने पुरातात्त्विक महत्वको यो बस्ती अर्थात् बागेश्वरीलाई नेपालभाषामा ‘ग्वल देः’ भन्ने गरिन्छ।
बस्तीको मध्य भागमा रहेको फल्चामा गत आइतबार स्थानीय राधिका संगत र उनका दुई संगी पारिलो घाम ताप्दै गफिइरहेका थिए।
फल्चाकै सामुन्नेमा छ राधिकाको घर। सडकछेउको उनको घरलाई वडा कार्यालयले ‘मौलिक नेवारी शैलीमा सजाइदिने’ भनेको छ, त्यो पनि सित्तैमा। सिमेन्टको प्लास्टर र सिसाको झ्याल भएको घरको अघिल्लो भागमा दाची अप्पा अनि काठको झ्याल राखेर मौलिक नेवारी शैली दिइने छ।
“एक वर्षभन्दा धेरै भयो, उनीहरूले हामीसँग यसबारे कुराकानी गरिरहेका थिए,” राधिकाले भनिन्, “बल्ल पास भएछ। अब हाम्रो टोल पनि मेरो माइती भक्तपुर जस्तै राम्रो हुने भयो।”

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ अन्तर्गत पर्ने जयबागेश्वरी र वडा नम्बर ५ मा पर्ने हाडीगाउँमा केही घरधुरी छनोट गरेर काठमाडौँ महानगरपालिकाले ती घरहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्ने मास्टरप्लान कार्यान्वयनको तयारी अघि बढाएको छ। त्यसमध्ये जयबागेश्वरीका लागि मात्र ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँ बजेट छुट्याइएको छ। यसअन्तर्गत जयबागेश्वरीदेखि सिफल चौरको सेतो ढोकासम्म २९० मिटर मुख्य सडकको दायाँबायाँ रहेका ७५ घरधुरीका घरमा अब मल्लकालीन वा राणाकालीन शैलीमा घरको अग्रभाग फेरिनेछ।
यहीकारण हुनसक्छ, सबैतिर निर्वाचनको चर्चाले छोपिरहँदा जयबागेश्वरीका घरघरमा भने आफ्नै घरबारे चर्चा चलिरहेको छ।
महानगरपालिकाको योजना अनुसार सिमेन्टको प्लास्टर लगाइएका घरहरूको अग्रभागलाई दाची अप्पा, माअप्पा अनि बर्ज सुर्कीले छोपिनेछ। त्यस्तै, फलामे सटर, आल्मुनियमका ढोका र झ्यालको ठाउँमा बुट्टेदार काष्ठकलाका ढोका र झ्याल राखिनेछ। परम्परागत शैलीको झल्को दिन घरको अघिल्लो मोहडामा रहेका बालेँसी, पेटी, पाखा–पालीमा झिंगटीको समेत प्रयोग हुने भएको छ।

२०४० सालमा भक्तपुरबाट विवाह गरेर जयबागेश्वरीको यो टोलमा भित्रिएकी राधिकालाई त्यसबखत काँचो इँटा र माटोको सानो घरमाथि पराल झिँगटीका छानो रहेको सम्झना छ। २०५८ सालतिर उनको त्यो घर भत्काएर सिमेन्ट, इँटासहितको ढलान घरमा परिणत गरिएको थियो। घरका तला पनि बिस्तारै थपिँदै गएर चार तला भए। अब आफ्नो खर्च बेगर नै घर सुन्दर बन्न लागेको थाहा पाएर उनी दंग देखिइन्।
राधिकासँगै घाम तापिरहेकी उनकी संगीले आफ्नो पनि घर बाटोमै भएको भए हुने रहेछ भनेर एक खालको थकथकी व्यक्त गरिन्। “अहिले शुरूमा ट्राइ गर्न लागेको होला, पछि सबैतिर गरिहाल्छन् नि,” राधिका साथीलाई सम्झाउँदै थिइन्।
काठमाडौँ महानगरपालिकाले यसलाई ‘पाइलट प्रोजेक्ट’को रूपमा अगाडि बढाउन खोजेको वडाध्यक्ष आशामान संगत बताउँछन्। उनी महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत हुन्। भन्छन्, “हामी अहिले कार्यान्वयनको चरणमा छौँ। यसमा व्यावहारिक कठिनाइ पक्कै आउनेछन्। त्यहीकारण पनि शुरूआती चरणमा बाटो छेउका घरलाई प्राथमिकता दिएका छौँ। यसबाट आउने प्रतिक्रियाअनुसार भित्री बस्तीमा पनि योजना ल्याउने छौँ।”

जयबागेश्वरी जस्तै सानो अनि गुजुमुजु परेर बसेको अर्को लिच्छविकालीन बस्ती हो हाडीगाउँ। हाडीगाउँमा पनि सडकछेउका ५४ घरको स्वरूप फेर्न महानगरपालिकाले ९ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ। हाडीगाउँको कृष्ण मन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडकको दायाँबायाँका घरको अग्रभागलाई मौलिक स्वरूपमा बदल्ने महानगरको तयारी छ।
हाडीगाउँका स्थानीय सुजन महर्जन महानगर र वडा कार्यालयको यो योजनालाई लिएर सकारात्मक देखिए। “इन्जिनियरले हरेक घरको मूल्यांकन गरेका रहेछन्, त्यो हिसाबले काम राम्रै हुन्छ होला,” उनले भने।
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि महर्जनले आफ्नो माटोको पुरानो घरलाई भत्काएर कंक्रिट भवनमा बदलेका थिए। मौलिक झल्को दिने दाची अप्पा, काठका झ्याल अनि झिँगटीले बस्तीको सौन्दर्य बढाउने, पर्यटकीय हिसाबले पनि थप टेवा मिल्ने उनको भनाई छ।
स्थानीय बासिन्दासँग पटकपटक गरिएका छलफलपछि पारित भएको यो योजनाबाट जयबागेश्वरीका ज्येष्ठ नागरिक आशामरू संगत (६९) पनि खुशी छन्। आफू हुर्किँदा देखेको घरको शैली बुढेसकालमा फेरि देख्न पाउने उनको आशा छ।
“यहाँ नास द्यः ( नृत्यका देवताको घर) अहिले कति राम्रो बनाएको छ, हाम्रो पालाको भन्दा राम्रो। अब बस्ती पहिले जस्तै, त्यो भन्दा अझ सुन्दर भएको हेर्न मन छ।”
मल्लकालीन, राणाकालीन नेवा शैली फर्काउने दाबी
काठमाडौँ महानगरपालिकाबाट पारित भएको यो योजनाको कार्यान्वयन मुख्यतः मल्लकालीन नेवा शैली र राणाकालीन नेवा शैली अन्तर्गत हुने महानगरको शहरी योजना आयोगका आर्किटेक्ट इन्जिनियर आनन्द मानन्धर बताउँछन्। यी दुई शैलीकै आधारमा काष्ठकलामा बुट्टा र फिनिसिङ हुने उनले उकालोलाई बताए।
“सबै घरधुरीमा स्लोप, छाना वा पाखा हुन्छन् भन्ने छैन। घरको मोहडा अनुसारले छाना वा पाखामा झिँगटीले रुफिङ गरिनेछ,” मानन्धर भन्छन्, “हाम्रो कामको स्कोप घरको मोहडा परिवर्तन मात्र गर्नु हो। निर्माण क्रममा आइपर्ने व्यावहारिक समस्या र जटिलताको हिसाब गर्दै योजना बनाइरहेका छौँ। घरहरूका मोहडा कसरी आकारमा ल्याउने भन्नेबारे गृहकार्य गर्दै छौँ।”

मानन्धरका अनुसार मल्लकालीन नेवा शैली र राणाकालीन नेवा शैलीमा पनि थरीथरीका ‘फसाड’ (वास्तुकलामा फसाड भन्नाले भवनको बाहिरी मुख वा अग्रभागलाई जनाउँछ) छन्। कतै विशुद्ध नियोक्लासिकल (राणाशैली) गर्न सकिने घर छन् त कतै मल्ल र राणाकालीन वास्तुकला मिश्रित छन्। सोहीकारण कतै चुनासुर्कीले प्लास्टर मात्र गरे पुग्ने छन् त कतै झ्याल, ढोकाको छेउछाउ अथवा पर्खालमा पिलर निकालेर राणकालीन आवरण दिइनेछ। त्यस्तै, एकमुखे, तीन मुखे, पाँचमुखे गरी बिजारे कुँदिएका बुट्टेदार परम्परागत झ्याल ती घरमा राखिनेछ। घरको मोडहाअनुसार कस्तो सुहाउँछ, त्यहीअनुसार गरिने मानन्धरले बताए।
सानो बस्तीका रूपमा रहेका हाडीगाउँ र जयबागेश्वरीका पुराना घर सम्पदामैत्री भएका कारण पनि शुरूआती समयका लागि यी स्थानबाट काम शुरू गर्नु उपयुक्त भएको उनी बताउँछन्।
सम्पदा संरक्षणविद् रवीन्द्र पुरी जेनतेन बचिरहेको अमूर्त सम्पदालाई जोगाउन बस्तीविशेषका मूर्त सम्पदाको मौलिक स्वरूप सुधार्नु आवश्यक रहेको बताउँछन्। सम्पदाले भरिपूर्ण तर बेवास्तामा रहेका ‘कोर एरिया’मा अझ महत्त्वकांक्षी रूपमा योजना प्रस्ताव गर्नुपर्ने उनी बताउँछन्।
दोस्रो विश्वयुद्धबाट क्षति भएका युरोपेली शहरले अझै पनि मौलिकता र सुन्दरता कायम राखिरहेका सन्दर्भ उल्लेख गर्दै पुरीले हाडीगाउँ र जयबागेश्वरीलाई पनि त्यस्तै प्रेरणामा मौलिक शैली दिन मिल्ने बताए। “यद्यपि, राम्रो उद्देश्यले काम गर्ने भन्दाभन्दै कहिलेकाहीँ काम नराम्रो हुन गइदिन्छ,” उनले भने, “सम्पदा क्षेत्र पुरातात्त्विक र ऐतिहासिक महत्वका हुने भएकाले सम्बन्धित क्षेत्रका विज्ञसँगको समन्वये अत्यावश्यक हुन्छ।”

कति सम्पदामैत्री, कति व्यावहारिक
सम्पदाबारेका अध्येता भरत महर्जन दाची अप्पा, काठ, सुर्की र झिँगटीले बस्तीलाई एकैनाशका र राताम्मे बनाउनु मात्र मौलिक स्वरूपका हिसाबले पर्याप्त नहुने बताउँछन्। “अहिले जताततै दाची अप्पा व्यापक प्रयोगमा छ। मसान होस् या शौचालय वा चौतारी, जताततै दाची अप्पा। ती इँटाको प्रयोग बस्ती विशेषमा पो हुनुपर्ने हो। यस्ता सम्पदा सामग्री प्रयोग गर्नुको निश्चित स्थान र उद्देश्य छ,” महर्जन भन्छन्, “मौलिकताको नाममा सम्पदा सामग्री हुन् या स्थान, नयाँ प्रयोग वा अभ्यासको बेथिति बसाल्न चाहिँ मिल्दैन।”
महर्जनका अनुसार सम्पदाले गौरवको अनुभूति गराउनु मात्र पर्याप्त हुँदैन, त्यसमा आम्दानी वा अर्थोपार्जन पनि जोडिनुपर्छ। “सम्पदाप्रतिको गर्व र मनोरञ्जन क्षणिक हो, सम्पदामा अपनत्वका लागि यसलाई अर्थोपार्जनसँग जोड्नै पर्छ,” उनले भने।
हुन पनि जयबागेश्वरी र हाडीगाउँमा अब थोरै मात्र पुराना घर बाँकी छन्। अधिकांश त पक्की घर नै छन्। अधिकांश घरका भुइँतलामा सटर राखिएका छन्। महानगरपालिकाको योजनाअनुसार यी घरको स्वरूप बदल्दा सटर निकालेर गारो र ढोका लगाउनुपर्ने हुन्छ। यस्तोमा पसल सञ्चालन वा अन्य प्रयोजनमा लगाइरहेका व्यवसायी र घरधनी मर्कामा पर्ने देखिन्छ।

काठमाडौँ महानगरपालिकाका आर्किटेक्ट आनन्द मानन्धर भन्छन्, “हामी फलामे सटर हटाउँछौँ। त्यसको सट्टा सम्पदामैत्री काठको सटर–कबल राखिदिन्छौँ। यो पनि सटर जस्तै खोल्न, बन्द गर्न मिल्छ। आर्थिक गतिविधिमा समस्या हुँदैन।”
२०७२ सालको भूकम्पपछि पिंला छेः मा प्रभावित घरहरूलाई रमेश महर्जनले मौलिक स्वरूप दिएका थिए। महर्जनको त्यो प्रयासको सराहना गर्दै मानन्धरले भने, “यस्ता योजनामा बजेट पेलेर मात्र बौद्धिकता र चेतना अभिवृद्धि हुँदैन, यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।”
उनले स्थानीय सरकारको ध्यान भौतिक विकास र त्यसको सौन्दर्यीकरणमा मात्र सीमित नभई विकासको चिन्तन, चेतना र गुणस्तरीय सेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरे।
हाडीगाउँ कृष्ण मन्दिरको दाहिने भागमा इन्द्रबहादुर मानन्धरको पुरानो घर छ। माटो र इँटाले बनेको तीनतले घरमा एकापट्टि साइकल पसल छ भने अर्कोतर्फ सानो नेवारी खाजा पसल। खाजा पसल उनी आफै चलाउँछन्।
२०११ सालमा बनेको जगमाथि उठेको उनको घर अहिले हाडीगाउँमा रहेका पुरानामध्येको घर हो। रातो रङ पोतिएको घरमा माअप्पा (काँचो इँटा) र सादा बुट्टासहितका काठका झ्याल देख्न सकिन्छ। २०७२ सालको भूकम्पमा खासै क्षति नपुगे पनि घर कमजोर भएको हुनसक्ने उनको अनुमान छ। यही कारण पनि उनी घरलाई भित्रैबाट बलियो बनाउने चाहन्छन्।

भूकम्पलगत्तै उनका दुई दाजुभाइ पुर्ख्यौली घर छाडेर अन्यत्र बसाइ सरे पनि उनी चार जनाको परिवारसहित यही घरमा छन्। वडा कार्यालयले ल्याएको योजना पनि उनलाई थाहा छ। तर उनको घरको स्वरूप परिवर्तन भने अहिले हुनेछैन। किनभने वडाले यसलाई तेस्रो लटमा मात्र स्वरूप परिवर्तन गर्ने भनेको छ।
वडास्तरमा भएको छलफलमा मानन्धरले आफ्नो घर सम्पदामैत्री भएकाले घरलाई बरु भित्री रूपमै बलियो बनाइदिन अनुरोध गरेका थिए। तर त्यसमा वडाध्यक्षसँग मतभेद भएको उनले सुनाए।
हाडीगाउँ पर्ने काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले अहिलेको योजना घरको बाहिरी फसाडलाई मौलिक स्वरूप दिनेमा मात्र केन्द्रित भएको बताएको उनी सुनाउँछन्।
“विकासलाई भौतिक स्वरूपमा मात्र बुझ्दा सम्पदामैत्री मोहडाका घर त महानगरले एक पटक बनाइदेला,” अध्येता महर्जन भन्छन्, “तर महानगरले यसबारे स्थानीयलाई महसुस गराउन सक्नुपर्छ। सम्पदाप्रतिको अपनत्व र चेतना कायम राख्ने अर्को चुनौती अब महानगर र वडा कार्यालयसामु छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
