भूकम्पले जीर्ण बनाएको श्रीमहलको पुनर्निर्माण १० वर्षपछि शुरू गरिँदा सम्पदा तथा संरक्षणविद्हरू भने असन्तुष्ट छन्। पुरातात्त्विक संरचनाको प्रबलीकरण नगरी राज्य किन पुनर्निर्माणमा जोड दिइरहेको छ?
ललितपुर– पुल्चोकस्थित १०२ वर्ष पुरानो श्रीमहललाई अहिले हरियो कपडाले बेरिएको छ। अब यो भवन भत्काइँदैछ। भवनको माथिल्लो भागबाट भत्काउन थालिएको छ।
युरोपियन निओक्लासिक डिजाइनमा बनेको तीनतले चतुर्भुज आकारको श्रीमहलको पुनर्निर्माण थालिएको छ। यसको पुनर्निर्माण लागत करिब ७२ करोड रुपैयाँ छ। भदौ १५ गतेबाट थालिएको पुनर्निर्माण दुई वर्षमा सक्ने योजना छ।
श्रीमहल तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवी र दुई छोरा विष्णुशमशेर तथा मदनशमशेरका लागि १९८० सालमा बनाइदिएका थिए। भवनको डिजाइन नरसिंह राणाले गरेका थिए।
१९८६ मंसिर ३० गते चन्द्रशमशेरको निधनपछि भीमशमशेर सत्तामा आए। चन्द्रशमशेरकी रानी बालकुमारी र उनका जेठा छोरा विष्णुशमशेर विदेश पलायन भए। कान्छा छोरा मदनशमशेर र उनी श्रीमती जगदम्बा देवी श्रीमहलमै बसे।
राणा शासनको अन्त्यसँगै रानी जगदम्बाले करिब १८० रोपनीमा बनेको उक्त महल र वरपरका क्षेत्र विभिन्न प्रयोजनमा दान तथा बिक्री गरिन्। त्यसमध्ये श्रीमहल २०१७ सालमा कृषि महाविद्यालय सञ्चालनका लागि दान दिएको समाचार २०१७ मंसिर २७ गतेको गोरखापत्रमा प्रकाशित छ। महलको मुख्यद्वारको २२ रोपनी जग्गा भने साझा यातायातलाई दिएकी थिइन्। हाल श्रीमहलकै एक भागमा साझा यातायातको कार्यालय छ।
२०७२ सालको भूकम्पले क्षति गरेपछि श्रीमहल जीर्ण भएको थियो। पुरातात्त्विक महत्त्वको श्रीमहल पुनर्निर्माण गर्ने कि प्रबलीकरण भन्ने विवाद थियो। अब पुनर्निर्माण नै हुने निश्चित भएर काम थालिएको छ। तर पुरानै शैली, प्रविधि र स्वरूपमा बनाइने पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांग बताउँछिन्।
आरसीटी ढलानबाट भवन पुनर्निर्माण गर्ने प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको प्रधानांगको दाबी छ। “आगामी दिनमा पुरातात्त्विक भवन र संरचनालाई पुरानै प्रविधि र सामग्रीले बनाउने अडान हामीले राखेका छौँ,” उनी भन्छिन्।
शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष आयोजना शाखाले पुनर्निर्माण गरिरहेको छ। आयोजना प्रमुख सुनीलकुमार ठाकुरका अनुसार, श्रीमहललाई ‘लोड बियरिङ’ शैलीमा बनाइने छ। “पुराना भवनलाई आरसीटीमा नबनाउने अडान विभागकी महानिर्देशक सौभाग्य प्रधानांगको थियो। त्यसपछि सो डिजाइन क्यान्सिल गरियो,” ठाकुरले भने।
बज्र, सुर्की, इँटा र काठले पर्खाल निर्माण गरी बनाइने राणाकालीन शैलीलाई लोड बियरिङ भनिन्छ। श्रीमहलपछि हरिहर भवन पनि सोही शैलीमा बनाइने प्रमुख ठाकुरले बताए।
विवाददेखि पुनर्निर्माणसम्म
२०७२ सालको भूकम्पअघि श्रीमहलमा स्थानीय पूर्वाधार विभाग (डोली) को कार्यालय थियो। भूकम्पपछि डोली कार्यालय नजिकैको अर्को भवनमा सर्यो। श्रीमहल भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मामा आयो।
२०७९ सालमा मात्रै श्रीमहल पुनर्निर्माण वा प्रबलीकरणको विषय छलफलमा आयो। प्राधिकरणकै रेखदेखमा डोली आफैले भवन बनाउन अघि सरेको भए पनि डिजाइनमा विवाद हुँदा पछि हटेको डोलीका उपनिर्देशक शिशिर कार्की बताउँछन्। “प्राधिकरणबाट भवन निर्माणका लागि बजेट छुट्याइएको थियो, तर खारेज हुन पुग्यो,” उनले भने, “यसबाहेक थप जानकारी हामीकहाँ छैन।”
बजेट रोकिनुको प्रमुख कारण नै छडसहितको ढलानको डिजाइन थियो। बजेट पारित भएर भवन पुनर्निर्माण पुरातत्त्व विभागको स्वीकृतिबिना अघि बढिरहेको थियो। पुरातात्त्विक संरचनालाई पुनर्निर्माणभन्दा पनि प्रबलीकरण गर्नु पर्नेमा कतिपय सम्पदा अभियन्ताको जोड थियो।
यसैबीच, आरसीटी शैलीमा नै श्रीमहल पुनर्निर्माण गर्ने गरी शहरी विकासको विशेष आयोजनालाई जिम्मा दिइयो। “यहाँ आइपुग्दा पुरानै तर छडसहितको ढलान शैली डिजाइन भयो,” विशेष आयोजनाकी इन्जिनियर रेखा लामिछाने भन्छिन्, “प्राचीन स्मारक ऐनअन्तर्गत रही पुरातत्त्व विभागमा पुग्दा त्यताबाट प्रविधि र सामग्री सबै पुरानै हुनुपर्ने जानकारी आयो।”
प्राचीन स्मारक ऐन २०१३ अनुसार, १०० वर्ष पुगेका भवन, स्तम्भ, शिलालेख, पात्रलगायत वस्तु पुरातात्त्विक हुन्, जसलाई कुनै प्रकारको क्षति पुर्याउन पाइँदैन। १०० वर्ष ननाघेका तर अद्वितीय किसिमका कलाकृति पनि बचाउनुपर्ने व्यवस्था ऐनमा छ।
इन्जिनियर लामिछानेका अनुसार, अध्ययनको क्रममा श्रीमहलका कौसीलगायत केही भाग विभिन्न समयमा परिवर्तन भएको पत्ता लाग्यो। मदन पुरस्कार पुस्तकालयबाट प्राप्त श्रीमहलको पुरानो प्रमाणिक तस्वीरअनुसार नै भवन डिजाइन गरेको लामिछाने बताउँछिन्। पुराना प्रविधिका दक्ष विज्ञ भए पनि पहिलेको जस्तो सुर्की र ती सुर्कीको परीक्षण कहाँ कसरी गर्ने भन्ने चुनौती देखिएको उनको भनाइ छ।
पुरातत्त्व विभागको अनुमतिमै भवनभित्रको डिजाइन सामान्य परिवर्तन गरिँदैछ। “आवासीय प्रकृतिमा बनेको श्रीमहलको अबको लागि कार्यालयमैत्री भवन बनाउन भित्री भागमा रहेका पर्खालको संख्या घटाएर फराकिलो बनाइनेछ,” लामिछाने भन्छिन्, “तीनवटा पर्खाल भएका स्थानमा दुईवटा मात्र राखिनेछ।”
असन्तुष्ट सम्पदाविद्
सम्पदा संरक्षणविद् रवीन्द्र पुरी पुनर्निर्माणले संरक्षणको सिद्धान्तलाई आत्मसाथ नगर्ने बताउँछन्। राज्य पुराना संरचना मास्नतिर लागेको देखिएको उनको आरोप छ। राज्यले यस्ता पुरातात्त्विक संरचनालाई ऐतिहासिक महत्त्व नभई संरचनात्मक दृष्टिले मात्र हेरेको पुरीको भनाइ छ।
“श्रीमहल भत्काएपछि जस्तै पुरानो प्रविधि वा सामग्री प्रयोग भए पनि त्यो संरचना संरक्षण नहुने बुझिन्छ,” उनी भन्छन्, “लोड बियरिङ क्षमता भएको श्रीमहलजस्ता राणाकालीन संरचनालाई प्रबलीकरण गरेमात्र पनि पुग्छ।”
यसअघि, काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार पुनर्निर्माणको प्रस्तावित डिजाइन पनि विवादित भएको थियो। डिजाइनमा पहिलो भवनको बाहिरी मोहडा राणाकालीन झलक, दोस्रो लिच्छविकालीन र अर्को आधुनिक बनाउने योजना थियो। तर सम्पदा अभियन्ताको विरोधबीच २०७५ सालमा सर्वोच्च अदालतले बागदरबार नभत्काउन आदेश दियो।
कानूनी व्यवस्थाका बाबजुद पुरातत्त्व संरचना जोगाउन पुरातत्त्व विभागकै भूमिका कमजोर देखिएको पुरी बताउँछन्। “बालुवाटारस्थित राष्ट्र बैंक पुरातत्त्व विभागले नभत्काउन आदेश दिँदासमेत भत्काएर पुनर्निर्माण गरिएको थियोे,” उनी भन्छन्, “लगातारको विरोध र खबरदारीपछि सर्वोच्चबाट आएको परमादेशमा बागदरबार भत्किनबाट बच्यो।”
सर्वोच्चको आदेशपछि बागदरबार र सिंहदरबार प्रबलीकरणमा गएका थिए। त्यस्तै, हरिहर भवन पनि भत्काएर पुनर्निर्माण गर्ने योजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुगेको थियो। श्रीमहल र हरिहर भवन एकैपटक बन्ने भनिएको थियो। अब हरिहर भवन पनि पुरानो प्रविधि र सामग्रीबाट बन्ने भएको छ।
संस्कृतिविद् डा. सुदर्शनराज तिवारी पुनर्निर्माणलाई ‘लस्ट कज’ बताउँछन्। कुनै ऐतिहासिक तथा पुरातात्त्विक संरचना भत्किए वा भत्काएर पुनर्निर्माण गरिएपछि बिलौना गर्नु सिवाय विकल्प नरहेको उनी बताउँछन्।
२०७९ सालमै उनलाई डोलीबाट श्रीमहलको अध्ययन गर्न लगाइएको थियो। आफूले पुनर्निर्माण नभई प्रबलीकरण गर्न सकिने प्रतिवेदन दिएको उनी बताउँछन्। यद्यपि, सो अध्ययनको कुनै वास्ता नगरिएको पनि उनले बताए। “श्रीमहलको केही यस्ता महत्त्वपूर्ण र आकर्षक फिचर थिए, जुन अन्य राणाकालीन भवनमा थिएनन्,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
