आपसी सम्बन्ध लामो भए पनि शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा कहिल्यै बाजी मार्न नसकेका रामचन्द्र पौडेल अन्ततः देउवालाई सहयोग गर्दा सर्वोच्च पद हासिल गर्ने संघारमा छन्।
काठमाडौं– “नेपालको संविधान रक्षाको जिम्मेवारी पूरा गर्ने क्रममा मैले पहिलो चरणमा प्रेरणा पाएको छु, नेपाली कांग्रेसबाट।” कांग्रेस कार्यसम्पादन समितिको शनिबार बिहान बसेको बैठकले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिए। उनले थपे, “मप्रति नेपाली कांग्रेसले मात्र होइन सबै राजनीतिक दलले सद्भाव राखेका छन्। त्यो मैले महसुस गरेको छु।”
पौडेलले त्यसअघि आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्नसाथ कार्यसम्पादन समितिको बैठकमै भनेका थिए, “यो निर्णय गरेकोमा म साथीहरूसँग आभारी छु। योसँगै मेरो संघर्षले पूर्णता पाएको अनुभव गरेको छु।”
पहिले बैठक भित्र र पछि बाहिर निस्केर यस्तो भनिरहँदा पौडेल पटक–पटक भावुक मुद्रामा देखिएका थिए। त्यसपछाडि जोडिएको छ, झन्डै ६ दशक भन्दा लामो राजनीतिक यात्रामा पौडेलले मुलुकको सर्वोच्च पदमा पुग्न त्यसको दैलोभित्र छिर्ने अवसर पाउनु। त्यसैले यसपटक उनी भावुक मात्र देखिएनन् सचेत पनि रहेको बताउन थालेका छन्। “नेपालको संविधान रक्षा, राष्ट्रियताको संवर्द्धन र नेपाली जनताको रेखदेख गर्ने जिम्मेवारी आउन थालेकोले म यसप्रति सचेत छु,” उनले भने।
कांग्रेसमा मात्र होइन, अरू पार्टीमा पनि आफूसरहका समकालीन नेताहरूले बेग्लै मुकाम भेट्टाउँदा पौडेल भने त्यसबाट विमुख रहँदै राजनीतिक जीवन विट मार्ने संघारमा पुगेका थिए। प्रधानमन्त्री बन्न उनले वर्षौंसम्म गरेको प्रयत्न सफल नभएको मात्र होइन, मुलुकको प्रमुख कार्यकारी बन्ने उनको ‘सपना’ लगभग सिद्धिइसकेको थियो। र, यहीबीचमा उनले सम्भवतः नचिताएको, सर्वोच्च मुकाम प्राप्त गर्ने दैलोमा पाइला राखेका छन्।
पौडेललाई अवसर दिलाउने त्यो ‘गुन’
२००१ सालमा तनहुँमा जन्मेका पौडेलको राजनीतिक यात्रा २०२७ सालमा नेविसंघको संस्थापक सदस्यका रूपमा भएको थियो। २०१७ सालमा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै सत्ता हातमा लिएपछि राजनीतिमा जोडिएका पौडेल पटक पटक गरेर करिब १४ वर्ष जेल परे। त्यसबेला उनी जम्मा १६ वर्षका थिए।
२०३३ सालमा बीपी कोइराला निर्वासनबाट फर्केपछि कोइरालाको नजिक रहेर काम गर्ने मौका पाउनु उनको राजनीतिक जीवनको महत्त्वपूर्ण कालखण्ड थियो। सम्भवतः त्यहीकारण अहिले पनि उनी आफ्नो राजनीतिक आदर्श बीपी कोइराला रहेको बताउने गर्छन्। तर, कांग्रेस राजनीतिमा लागेर उनी सर्वोच्च पदनजिक पुग्नुमा भने शेरबहादुर देउवासँगको उनको संगतको खास भूमिका छ।
देउवासँग उनको सम्बन्ध सधैँ एकैनास भने रहेन। कुनै बेला नेविसंघमा उनीहरु एउटै समितिमा रहेर काम गरेका थिए। २०५९ सालमा नेपाली कांग्रेस विभाजन भयो। त्यो बेला शुरूमा देउवालाई साथ दिन पौडेल तयार थिए। तर, पार्टी विभाजन हुने दिन उनी अचानक पछि हटे। त्यसको मुख्य कारण थियो– गिरिजाप्रसाद कोइरालाले उनलाई फोन गरेर फकाउनु।
विभाजनका लागि आयोजित सभामा जाँदै गरेका उनी त्यसपछि देउवालाई साथ नदिएर तत्कालीन सभापति कोइरालाले नेतृत्व गर्ने संस्थापन पक्षमै रहे। पछि सभापति बनेका सुशील कोइरालाको निधन भएपछि पौडेलले केही समय कांग्रेसको कार्यवाहक सभापति भएर काम गरे। तर, पार्टी नेतृत्वमा पुग्न भने उनलाई फेरि देउवाकै चुनौती रह्यो। देउवालाई पन्छाउन नसक्दा उनी कांग्रेसको नेतृत्वमा पुग्ने अवसरबाट वञ्चित भए।
“मैले संघर्ष चिनेको छु। विगतमा जति कठिन भए पनि म विचलित भइनँ। संविधान र लोकतन्त्रको म रक्षक हुँ। यो प्रेरणा शीर्ष नेताबाट त्यो बेला नै पाएको हुँ,” पौडेलले शनिबार राष्ट्रपतिको उम्मेदवार बन्ने निर्णयपछि भने पनि।
मुलुकको पुरानोमध्येको पार्टीको नेतृत्व गर्ने प्रयास असफल भए पनि पौडेलले राजनीतिक जीवनको अधिकांश समय जनताको समर्थन भने पाइरहे।
२०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि उनी पहिलोपटक २०४८ सालको आमनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि बनेको सरकारमा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने। २०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बने।
२०५६ मा तनहुँ–२ बाटै पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि २०५७ मा उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने। २०६२ सालमा कांग्रेसको महामन्त्री बनेका उनी २०६३ सालमा पौडेल फेरि शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनी तनहुँ–२ बाटै निर्वाचित भए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी त्यहीँबाट निर्वाचित भए। निर्वाचनमा पहिलो पराजय भने उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बेहोरे। एमाले र माओवादीले गठबन्धनबाट चुनाव लड्दा कृष्णकुमार (किसान) श्रेष्ठले उनलाई पराजित गरेका थिए।
यसपटक मंसिर ४ मा सम्पन्न निर्वाचनमा भने उनी तनहुँबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
पार्टी र सरकारको नेतृत्वमा पुग्न उनले पटक–पटक प्रयत्न गरे, तर कहिल्यै सफल भएनन्। प्रधानमन्त्री बन्न उनले २०६७ मा १७ पटक उम्मेदवार बनेर पनि सफलता हात पार्न सकेनन्। २०६५ मा संसदीय दलको नेता बनेपछि प्रधानमन्त्रीको दाबेदार बन्ने अवसर पाए पनि उनका लागि प्रधानमन्त्री पदले कहिले साथ दिएन।
कांग्रेसभित्र पौडेल तुलनात्मक रूपमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा चिनिन्छन्। १३ औँ महाधिवेशनमा पौडेल पार्टी सभापति बन्न शेरबहादुर देउवासँग प्रतिस्पर्धामा थिए, तर देउवालाई पराजित गर्न सकेनन्। महाधिवेशनपछि सभापति देउवाको कार्यशैली गलत भएको भन्दै पौडेलले केही समय उनको चर्को आलोचना गरे। तर, त्यो अवस्था लामो समय रहेन। सम्भवतः राजनीतिक यात्रामा सफलता प्राप्त गर्न नेतृत्वको आलोचना मात्र होइन, नेतृत्वलाई रिझाउन पनि सक्नुपर्छ भन्ने पौडेललाई लाग्यो।
त्यसबेला अप्रत्यक्ष रूपमा पार्टीभित्र देउवालाई अप्ठेरो पार्ने काम गर्न छाडेका पौडेल आलोचक भन्दा शुभचिन्तकका रूपमा प्रस्तुत हुन थाले। यतिसम्म कि १३ औँ महाधिवेशनमा देउवाको प्रतिस्पर्धी बनेका पौडेल १४ औँ महाधिवेशनमा आइपुग्दा उनका सारथि जस्तै बन्न पुगे। देउवालाई सभापति बन्न उनले नै अर्थपूर्ण सहयोग गरे। मंसिर ४ को निर्वाचनपछि त देउवालाई संसदीय दलको नेता बनाउन पौडेल प्रस्तावक बनेरै उभिए।
कांग्रेसका नेताहरूले देउवाले राष्ट्रपति बनाउन पहल गर्ने आश्वासन दिएपछि पौडेलले देउवालाई गुन लगाएको त्यसबेलै बताउने गर्थे। “रामचन्द्र दाइ आफैँमा गलत नेता होइन। तर, उहाँले पार्टीभित्र विपक्षी हुँदा मात्र माथि पुगिन्न भन्ने महसुस गरेका दिनबाट उहाँ सभापति नजिक रहनुभयो। त्यसको उदाहरण १४ औँ महाधिवेशन नै हो,” कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
समय कसरी फेरियो भने पौडेलले देउवालाई संसदीय दलको नेतामा जिताएपछि आफूलाई भावी राष्ट्रपतिका रूपमा चिनाउन थालेका थिए। त्यही रूपमा राजनीतिक भेटघाट तीव्र पारेका थिए। आफू राष्ट्रपति बन्ने प्रयासमा उनले कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन भत्किन नदिन पनि निकै मिहिनेत गरेका थिए। पुस १० गते त्यो गठबन्धन भत्किएपछि पौडेल नै सम्भवतः सबभन्दा धेरै मर्माहत भएका थिए।
तर, त्यसपछि पनि उनी दलका नेताहरूलाई फकाउने प्रयासमा केन्द्रित भइरहे। पुस २६ गते कांग्रेसले आश्चर्यजनक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुले राष्ट्रपतिमा केही उलटफेर हुने संकेत मिलिसकेको थियो। त्यो भनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले पाउने भनेको राष्ट्रपति कांग्रेसको पोल्टामा आइपुग्नसक्ने संकेत थियो। र, त्यसको अग्र भागमा पौडेल नै देखिन्थे।
तर, यसबीचमा घटनाक्रम छिनछिनमा बदलिइरहे। राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयासकै बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाममा सहमति जुटाउन कांग्रेसलाई मनाउने निर्णय गरेपछि पौडेल झस्किएका थिए। तर, समयले फेरि उनलाई नै साथ दियो। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रस्ताव गरे।
बैठकमा सहभागी ८ वटै दलले दाहालको प्रस्तावमा सहमति जनाएर औपचारिक निर्णय गरे। शनिबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समिति पार्टीको बैठकले सर्वसम्मत रूपमा पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीकै प्रस्तावमा पौडेलले मनोनयन दर्ता गराएका छन्।
एमालेले पौडेलसँग प्रतिस्पर्धा गर्न सुवास नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार साँझ विकसित भएको राजनीतिक घटनाक्रममा कुनै नाटकीय फेरबदल नआए फागुन २५ गते हुन राष्ट्रपतिको निर्वाचनमा पौडेलको जित सुनिश्चित झैँ देखिन्छ। कांग्रेसका एक नेता भन्छन्, “रामचन्द्र पौडेल आफै राष्ट्रपति बन्न योग्य व्यक्ति हो। तर, उहाँलाई यसका लागि आफ्नो क्षमता र इतिहासभन्दा शेरबहादुर देउवाको सहयोगी बन्नुले सहयोग पुर्यायो।”
राष्ट्रपति निर्वाचित भएमा भने पौडेलका लागि चुनौतीपूर्ण दिन शुरू हुनेछन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य संविधान रक्षाका निम्ति राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यसमा पौडेलले सचेत भएर काम गर्नुपर्ने बताउँछन्। “संविधान मात्र होइन, मुलुक पनि असहज अवस्थामा छ। यसलाई संकटबाट उठाउन राष्ट्रपतिको पनि भूमिका हुन्छ। त्यसलाई न्याय गर्ने काम राष्ट्रपतिको हो,” आचार्यले भने।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कूल मतभार ५२ हजार ७८६ छ। यो मतभारमा बहुमत ल्याउने उम्मेदवार निर्वाचित हुनेछ। अहिले बनेको आठ दलको गठबन्धनसँग ३१ हजार ५१६ मतभार छ। यो मतभार राष्ट्रपति निर्वाचित हुन पर्याप्त छ। अर्थात् यसरी हेर्दा पौडेल राष्ट्रपति निर्वाचित हुने निश्चित जस्तै छ। चुनौतीचाहिँ पौडेललाई राष्ट्रपतिमा निर्वाचित भइसकेपछि शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
