टोकियोमा ‘नेपो–बेबी रिभिजिटेड’

यो हदको बेपरवाह, मनलाग्दी वा थेत्तरो तिथि त्यस बेलादेखि अहिलेसम्म यथावत् नै छ। यस्तो बेथितिको स्थितिमा अरबी भाषामा केही भन्नुपरेमा प्रचलित शब्दावली छ, खल्लीबल्ली।

काठमाडौँ– एक महिनाअघि मात्रै नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी संज्ञा पोखरेलको नाम निकै चर्चामा आयो। यसको मुख्य कारण उनी राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी हुनु हो।

यससँगै राष्ट्रपतिले अर्की छोरी अवज्ञा पौडेललाई आफ्नै ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ नियुक्त गरी बाकु (अजरबैजान) सम्मेलनदेखि राष्ट्रसंघीय सामाजिक विकास सम्मेलन (दोहा) सम्म साथमा लैजानुले पनि ‘नेपो–बेबी’को चर्चा थप चर्किएको थियो।

चर्को बहस र विवादपछि एउटी छोरी संज्ञाको नाम समानुपातिक बन्द सूचीबाट हटाइए पनि अर्की छोरी अवज्ञा ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ कायम छिन्। आइतबार शुरू भएको राष्ट्रपति पौडेलको औपचारिक जापान भ्रमणमा जोडिएको १५ सदस्यीय प्रतिनिधिमण्डलमा फेरि उनिएको छ, प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल।

एउटा सम्मानित संस्था र पद्धतिको नाम–पहिचान स्थापित गर्ने क्रम–उपक्रम चलिरहेकै बेला आफ्नै संकुचित वृत्तमा घुमिरहेको छनक अहिलेको यत्रो परिवर्तनमा पनि कहीँ कतैबाट देखिएको छ भने राष्ट्रपति कार्यालयबाटै देखिएको छ। आधा दर्जनभन्दा बढी सल्लाहकार र स्वकीयको भारले के ‘ओज’ बढाउन सकेको छ भनेर परिणाम देखाउन नसकिरहेका बेला संवैधानिक राष्ट्रपतिले कार्यकारी सरह आम सरोकारको आवाज (विद्रोह) लाई सुन्न नचाहनु आफैमा अनौठो देखिएको छ।

२०८१ कात्तिकमा आयोजित बाकु सम्मेलनमा जाँदा कतार एयरवेजमा ‘बिजनेस क्लास’ टिकट चाहिने भन्दै चर्को दबाब दिएकी थिइन्, उनै ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ले। फेरि दोहा समिट (२०८२ कात्तिक)मा कतार सरकारले विशिष्ट अतिथिलाई उपलब्ध गराएको ‘सोभनियर ब्याग’ भित्रको विशेष उपहार (सुनको डल्लोसहित) गायब पारिएको भन्दै अनौठो ताकेता गरेकी थिइन्। त्यसबेला विशेषतः काठमाडौँबाट साथैमा गएका परराष्ट्र मन्त्रालय, प्रोटोकलका कर्मचारीको हत्तु हैरान बयान अझैसम्म सिंहदरबार चियाचमेना कक्षमा सुन्न पाइन्छ। जेजसरी हुन्छ, कतारका अमिर तमिम बिन हमद अल थानीसँग भेटवार्ता गराउनैपर्ने भन्दै राष्ट्रपति पौडेल र ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ले देखाएको तन्मयता कूटनीतिक मर्यादा बाहिरको थियो, जति रोइलो गरे पनि त्यसबेला अमिरसँग भेट हुन सकेको थिएन, साइडलाइन बाहेक।

देशको मर्यादा र संस्थागत प्रोटोकलभन्दा पर्तिर उभिएर राष्ट्रपति पत्नी (फस्ट लेडी) सबिता पौडेलले उनै छोरी ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ र ज्वाइँ लिएर दोहाको सिटी सेन्टरमा ‘सपिङ’मा गएको खबर त्यसबेला त्यत्ति महत्वमा रहेन। तर, परराष्ट्र मन्त्रालयदेखि दोहास्थित नेपाली दूतावास र कतार सरकारकै प्रोटोकल अधिकारीका निम्ति त्योबला फस्ट लेडीको खोजीनिती तथा सुरक्षा/सेवाको शिष्टाचार झन्डै संकटमा परेको स्थिति थियो। अझै पनि यो शिष्टाचार र पद्धतिबारे राष्ट्रपति कार्यालय बेखबरझैँ देखिन्छ।

यो हदको बेपरवाह, मनलाग्दी वा थेत्तरो तिथि त्यस बेलादेखि अहिलेसम्म यथावत् नै छ। यस्तो बेथितिको स्थितिमा अरबी भाषामा केही भन्नुपरेमा प्रचलित शब्दावली छ— खल्लीबल्ली।   

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निम्तोमा आइतबार नेपाल वायुसेवाको जहाज चढेर टोकियोतर्फ लागेका राष्ट्रपति पौडेलसँग यसपटक पनि ‘राष्ट्रपतीय प्रतिष्ठा’का विषय जोडिएकै छन्। वर्तमान सरकारले शासकीय पद्धति र सुशासनको नाममा सरकारप्रमुख वा राष्ट्र प्रमुखले विदेश भ्रमणमा जाँदा १० सदस्यीय प्रतिनिधिमण्डल लैजाने भनिएकोमा योपटक ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’सहित १५ पुगेको छ। टोकियोमा हाल नेपाली राजदूत नरहेको अवस्थामा समेत नियोगमा रहेका ३/४ सदस्य यो मण्डलमा मिसिनेछन् नै।

जापान सरकारबाट ‘ग्रान्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित हुने राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितासँग शिष्टाचार भेट गर्नेसहित औपचारिक कार्यक्रम बाहिर आएका छन्। यो संयोग मात्रै हुन सक्छ कि यसअघि भदौ १८ मा उत्तरी छिमेकी चीनले बेइजिङमा आयोजना गरेको सैनिक परेडमा निम्तो आएर पनि राष्ट्रपति पौडेल सहभागी भएका थिएनन्। यो संयोग राष्ट्रपति पौडेलको सट्टाभर्नामा बेइजिङ पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नामकाम जोडिन पुगेको छ। जुन परेड ‘दोस्रो विश्वयुद्धताका जापानले अत्याचार गरेको विरोधमा आयोजित’ थियो। 

बेइजिङ परेडमा मार्चपास गरेर काठमाडौँ फर्किएको अर्को सातामै जेन–जी विद्रोहबाट ओली सत्ताच्युत भएका थिए। ओली लगत्तै गठित सुशीला कार्कीको सरकारलाई सहस्र स्वागत गर्ने पहिलो चरणको सरकारमा जापान आएको थियो। यो कदाचित संयोग मात्रै थिएन, कूटनीतिक कित्तामा देखिएको ‘संकेत’ थियो।  

जेन–जी विद्रोहपछिको राजनीतिक उथलपुथल र नेपो–बेबी सहितको दिव्यदृष्टि बाट नेपाली राजनीतिमा कोही पनि बेखबर रहेनन्। आज झनै चर्को रूपमा पाका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली वा पुष्पकमल दाहालका सन्तान अथवा भाइ–भारदारको अनावश्यक मोलाहिजाबारे लेखाजोखा भइरहेकै छ। त्यसमाथि फागुनमा हुन लागेको निर्वाचनको मुखमा एउटा अजेन्डा नै बनेको छ, नेपोटिजम।

यो घडी यत्रो असन्तुष्टि र रोषपूर्ण आवाज चारैतिरबाट उठिरहेका बेला राष्ट्रपति पौडेल स्वयंले सुन्नुपर्ने हुन्छ, नेपो–बेबी विरुद्धको ध्वनिलाई। अन्यथा ढिलो वा चाँडो ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’को कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने अवस्था आउन सक्छ। सधैँसधैँ नेपो–बेबी रिभिजिटेडको यो ट्याग न लेखिरहन सुहाउँछ, न सुनिरहनै सुहाउँछ।