कांग्रेस २.० : खै, बुझिँदैन !

हाम्रो राजनीतिमा केही ‘दागलागी नामहरू’ छन् जसबारे सधैं प्रश्न गरिनुपर्नेमा त्यसो गरिन्न। अनि, यी नामहरू आफैं ‘दोषी चस्मा’को हविगतमा उतर्सिएर हिँडिरहेका छन्।

विषय प्रवेश गरौं– नेपाली कांग्रेस दलको अधोगतिमा जोडिएका शीर्षस्थहरूको सिंहावलोकनबाट। संयोग के भने यी शीर्षस्थहरू धेरैजसो लाभको पदमा रहेका बहाल वा पूर्वहरू छन्, माननीय र सम्माननीयहरू अधिकांश छन्।

« कांग्रेस कोटाका पूर्वराष्ट्रपति रामवरण यादव जसले विगतको आफ्नो स्वच्छ छायाँछविलाई बिर्साउने गरी छोरा डा.चन्द्रमोहन यादवलाई कांग्रेस समानुपातिकमा जिताए।

« कांग्रेस कोटाका राष्ट्रपति रामचन्द्र पौडेल जसले आफ्नी एउटी छोरीलाई आफ्नै ‘प्राइभेट प्रिन्सिपल सेक्रेटरी’ बनाए र अर्की छोरीलाई शुरूमा कांग्रेस समानुपातिकमा घुसाउन चाहे र अहिले राष्ट्रियसभामा पठाउन अड्को थापिरहेका छन्।

« भागबण्डाअन्तर्गत कांग्रेस राजदूत बनेर गएका र फितलो कार्यसम्पादन, आर्थिक अपचलन सहितका कारणले फिर्ता बोलाइएकामध्ये तीनजना महामहिम अझै पनि परराष्ट्र मन्त्रालयको ‘एम्बेसडर्स रुम’(बिना विभागीय कक्ष)मा बसेर तलब थापिरहेकै छन्, जो आफैंलाई पदमुक्त गर्न अझै पनि संस्थापन कांग्रेसको आदेश पर्खिबसेका छन्। सर्वश्री डा.शैल रूपाखेती(जर्मनी), धनप्रसाद पण्डित(इजरायल)र शनिल नेपाल(स्पेन)ले अझै पनि कांग्रेस संस्थापन ब्युँतेला वा अदालतले आफूहरूलाई फेरि यथास्थानमा फर्काइदेला भनेर जेजसरी ढुकुवा भएर बसिरहेका छन्, यो नेपाली कांग्रेसको घाँटीमा जोडिएको २.० को अपव्याख्या मात्रै हो। 

यो पनि: कूटनीतिक भाषामा भनिएको हो– राजीनामा देऊ

यो श्रृङ्खला निकै लम्बिन सक्छ, तर उदाहरणका रूपमा यिनै शीर्षस्थका नामकाम काफी छन्, जसले कांग्रेसलाई हरिहालतमा पुर्याउन अझै साथ दिइरहेका छन्। यहीबेला बदलिएको कांग्रेसले छानेका समानुपातिक नामका केही शीर्षस्थ हेर्दा पनि लाग्छ– अहँ, कांग्रेस बदलिएको छैन। धेरै उत्खनन् नगरी खसआर्य कोटामा आएका वयोवृद्ध अर्जुनरसिंह केसी र थारू क्लस्टरमा परेकी प्रमिलाकुमारी गच्छदार हुँदै मधेशी कोटाका डा.चन्द्रमोहन यादवका नामहरू काफी छन् जसले घाटामा गएको कांग्रेसको स्रेस्ता हरदिन देखाइरहेका छन्।

आजभन्दा ४५ वर्षअघि सूर्यबहादुर थापा प्रधानमन्त्रीत्व कार्यकालमै स्वास्थ्य र जनसंख्या राज्यमन्त्री बनिसकेका केसी शिक्षा, शहरी विकास, भौतिक योजना लगायतका मन्त्रालयमा अनवरत मन्त्री पद थेग्दै आएका थिए। संयोगले अहिले कांग्रेसका सभापति गगन थापाको नातागत सम्बन्ध देखाएर केसीको जरोकिलो खोतल्न खोजिँदै गर्दा केसीको समानुपातिक नाम ‘पुरानो कांग्रेस’कै पालामा सिफारिस भएको थियो भनेर चोखोनितो हुने प्रयास भैरहेकै छ। यो प्रयासको अर्थ कति थोरै छ र अनर्थ कति धेरै छ भन्ने पनि कांग्रेस २.० का व्याख्याताहरूलाई थाहा होला।

अहिले आएको परिवर्तन र हेराफेरिमा जोडिएको सबैभन्दा महत्वपूर्ण पक्ष हो– नयाँपन। उही आलोपालो र उस्तै बा, दाजु–भाउजू, छोराछोरीको अतिरञ्जनाबाट पार पाउन नयाँ पुस्ताले खोजेको नयाँपनमा ‘चार पटके प्रम’ ओली बढारिएका हुन्। कांग्रेसका शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशशरण महत, मिनेन्द्र रिजाल र विजय गच्छदारहरू पाहा झैं पछारिएका हुन्। एमालेका शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई, सूर्य थापा, देवराज घिमिरेहरू नामेट बनेका हुन्। नयाँपनकै खोजीमा, ज्ञानेन्द्रकालीन गृहमन्त्री कमल थापादेखि ४ पटक उपप्रधानमन्त्री बन्ने विजय गच्छदारहरूको जमानत जफत भएको हो।

यो सबकुछ थाहा हुँदाहुँदै त्यही ‘नाममा के छ?’ साइनो–सम्बन्धकी प्रमिलाकुमारी गच्छदारको नाम फेरि पनि कांग्रेस समानुपातिकमा जोडिएर आउँदा कांग्रेस नयाँ कि पुरानो भन्ने प्रश्न उब्जन्छ। यस्ता नातागोता नामहरूको पक्षधर भएर अर्का विज्ञ (र, हालै चुनावमा पराजित) नेता डा.गोविन्द पोखरेलले बोलिरहेकै भए पनि यथार्थ अलग छ। प्रमिलाकुमारीको आफ्नै पहिचान र योगदानको टेको एकातर्फ होला, तर अर्कातर्फ प्रत्यक्ष–परोक्ष नातावाद–कृपावादको चल्दै आएको (बे)थिति पनि यसमा छँदैछ।

जस्तो– भूतपूर्व माओवादी एवं पूर्व गृहमन्त्री रामबहादुर थापा(बादल)की श्रीमती भएकैले नैनकला थापा नेता केपी ओलीको प्रधानमन्त्रीत्वमा सञ्चारमन्त्री मात्रै बनिनन्, बरु नक्कली भुटानी शरणार्थी प्रकरणका छानबिन मिसिलहरूमा नाम जोडिए पनि छानबिनमा पर्दै परिनन्। तिनै गृहमन्त्री वादलका पालामा चर्केको नक्कली शरणार्थी प्रकरणमा मन्त्रीका छोरा प्रतीक थापा र प्रमुख सल्लाहकार इन्द्रजित राई भने दुई वर्षयता पुर्पक्ष थुनामैं छन्।

जस्तो– नक्कली शरणार्थी निर्मातामध्येका अर्का अग्रज पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मन्जु खाँड समानुपातिक सांसद मात्रै बनेकी थिइनन्, बरु शरणार्थी प्रकरणमा २ करोड रूपैंया (मोलाहिजा) उठाएको भन्ने भ्वाइस–रेकर्डको प्रमाण बाहिर आएर पनि कहींकतै छानबिनमा परिनन्। बरु मन्त्री खाँड ६ महिनाभन्दा बढी पुर्पक्ष थुनामा परेर महान्यायाधिवक्ता कार्यालयको ‘स्पोन्सर्ड क्लिन चिट’ पाएर कांग्रेसको हविगत रसातलमा पुर्याउन लागिरहेकै छन्।

जस्तो– कांग्रेसका पूर्वसभापति, ५ पटके प्रधानमन्त्री शेरबहादुर देउवाकै श्रीमती आरजु राणा समानुपातिक सांसद मात्रै बनिनन्, दहीचिउरा काण्ड(२०८१ असार १५) लगत्तै परराष्ट्र मन्त्री समेत बनिन्। उनी पनि खाँडकी श्रीमती मन्जु खाँडसँगै नक्कली शरणार्थी प्रकरणमा ६ करोड रूपैयाँ (मोलाहिजा) उठाएको भन्ने भ्वाइस–रेकर्ड(प्रमाणित)को नेक्ससमा तानिएकी थिइन्। यो प्रकरणका मुख्य प्रतिवादी केशव दुलालले दिएका बयानहरूमा पनि मन्जु, आरजु जोडिएकै हुन्। तर, खोइ त तहकिकात?

यसकारण यिनीहरू पनि र जेनतेन समानुपातिकमा आएका (आउन लागेका) श्रीमतीहरू पनि कांग्रेस अधोगतिका कारण हुन्। यो लैङ्गिक अवचेतन वा अपव्याख्या कदापी होइन। तर, यतिखेर कांग्रेस २.० को व्याख्या सुनेर मुसुमुसु गर्ने सत्पात्र समेत हुन् यी श्रीमती समानुपातिक (नेपो–वाइफ)हरू। 

यो पनि: राष्ट्रपतिको भैपरी आएको भ्रमण, आफ्नै छोरी ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी’

यो ‘मानक’ भन्ने चिज बनाउने कसले? इज्जत कसले बढाउने? आफ्नो मर्यादा कसले तोकिदिने?

प्रश्न यहाँनेर योबेला उब्जिएको छ जहाँ राष्ट्रिय पहिचान र संस्थागत सृदृढीकरणका सरोकारमा राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यकक्षसम्मका हरेक गतिविधि, सुराकी र संयन्त्रहरू ध्यानाकर्षणमा रहन्छन् नै। त्यही भएर तिनका बारेमा खबरदारी पनि हुन्छ नै। जस्तो– प्रधानमन्त्री सुशीला कार्कीको सफलतम चुनावी कार्ययोजनासँगै उनले सहस्र चेपेका आदर्श श्रेष्ठ(निजी सहायक) र सविता भण्डारी(महान्यायधिवक्ता) सम्मको ‘आलोच्य गतिबिधि’ पनि समीक्षामा आउँछ नै। उनै प्रधानमन्त्री कार्कीले अन्तिम घडीसम्म विश्वास गरेका अनि साथ पाएका अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको ‘विवादरहित कार्यसम्पादन’ पनि मूल्यांकनमा आउँछ नै।

यतिखेर यिनै गृहमन्त्री अर्यालको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस हुनै लागेको चर्चामाझ अर्को सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको आशय–दुराशय बाहिर आएको छ जहाँ कुनै विधि विधानको अड्कोभन्दा आफ्नै निहित स्वार्थले सर्वथा स्थान पाएको देखिन्छ। आफ्नै छोरीहरूका निम्ति ‘पर्सनल प्राइभेट सेक्रेटरी’ हुँदै अन्य मानका खातिर मानका उपाधीहरू खोज्दै आएको नजिरका सामु राष्ट्रपति कार्यालयले ‘यो हुँदै होइन’ भने पनि पत्याइहाल्ने अवस्था छैन।

आलोपालो, कुशासन र नातावाद–कृपावादको विरुद्धमा चर्किएको जेनजी विद्रोहको अन्तर्यलाई जतिसुकै हाहु–जुलुस भने पनि त्यही ‘नेपोटिजम्’ पत्तो पाउन नसकेको विचित्र अवस्थामा अझै पनि छ– राष्ट्रपति कार्यालय। राष्ट्रपति रामचन्द्र पौडेलका वरपर छाएका झण्डै एक दर्जन सल्लाहकारहरू अबको पालोमा अमेरिका उड्न पाइएला कि अजरबैजान (?) भन्दै औंला भाँचेरै विचित्रको सल्लाह दिइरहेको मुड–मुद्रामा भेटिन्छन्।

राष्ट्रियसभा सदस्य नियुक्तिका निम्ति राष्ट्रपति कार्यालयमा पुगेका नाम (हरू) ‘होल्ड’मा परेको दुई साता हुनै लागेको छ। यसमा पनि सबैभन्दा चर्चामा छ गृहमन्त्री अर्यालको नाम जहाँ संविधानको धारा ८७(ङ) लाई उद्धृत गर्दै ‘कुनै लाभको पदमा बहाल नरहेको’ बुँदालाई आधार मान्दै ‘होल्ड’मा राखिएको तर्क बाहिर आएको छ। विगतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रावधानको यो धारालाई राजनीतिक विचार र दर्शनअनुसार ‘होल्ड’ गरेकी थिइन्। जस्तो, शेरबहादुर देउवा सरकार(२०७४)ले सिफारिस गरेका ३ सदस्यको नाम ‘होल्ड’मा राखेर उनले केपी ओली सरकारले पठाएका नामलाई सतत सिफारिस गरेकी थिइन्। भनेपछि यो ‘होल्ड’ पनि समय र परिस्थितिको आवश्यकता अनुसार हुँदो रहेछ, संवैधानिक धाराभन्दा पनि।

अहिलेको कठीन परिस्थिति र आवश्यकतामा गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन अहम् भूमिका निभाएकै हुन्। गृहमन्त्रीका रूपमा न उनी बालकृष्ण खाँडको छविमा दाँजिएका छन्, न रमेश लेखकको छेउछाउ उभिन्छन्। बामदेव गौतम, रामबहादुर थापा वा विजय गच्छदारको जस्तो चित्रबिचत्रका गृहकर्ममा पनि अहिलेका गृहमन्त्री अर्याल जोडिएका (तानिएका) छैनन्। यो घडीमा रहेभएका आफूमाथिका संशय हटाउन र संस्थागत पहिचान बढाउनै पनि अर्याल राष्ट्रियसभामा पुगेमा त्यति हानी हुने देखिन्न, जति ‘होल्ड’का नाममा फेरि पनि राष्ट्रपति कार्यालयबाट अर्को ‘नेपोटिजम्’को दसीप्रमाण बाहिर आएमा अर्को बितण्डा उब्जिन सक्छ। यसकारण पनि मानमनितो र मर्यादा खोज्ने आफैंले हो, अरुले जीहजुरी र ‘हो मा हो’ गर्ने–भन्ने त त्यही कुर्सीमा रहुन्जेल मात्रै हो।

यो पनि: टोकियोमा ‘नेपो–बेबी रिभिजिटेड’

फेरि बुझ्ने चेष्टा गरिहेरौं– कांग्रेस २.०।

प्रखर लेखक शंकर लामिछानेको एउटा निबन्धको शीर्षक छ– खै बुझिँदैन!

घटना वा सन्दर्भले अर्कै निबन्धकारिता भएपनि कांग्रेस २.० मा लामिछानेको यो व्याख्या सतत मिल्छ जहाँ उनी लेख्छन्–“एक प्रकारले यथार्थलाई वास्तविक रूपमा दर्शाउनु सट्टा ऊ रचनालाई वास्तविकताको प्रतिनिधित्व गर्दछ। उसका रचना राजदूत हुन् जसले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दागर्दै पनि वैयक्तिक विशेषता गुमाएका छैनन्। एउटा राजदूत र त्यस राष्ट्रको नक्सामा जत्ति फरक हुन्छ, त्यत्ति फरक एब्स्ट्रयाक्ट पेन्टिङ र रियलिस्ट पेन्टिङमा छ। राजदूतसँग परिचय हुँदा हामी कसैले पनि ‘खै चिन्दैनौं!’ भन्न सक्दैनौं। बरु हामी चिन्ने प्रयासमा लाग्छौं, आत्मीय हुने प्रयत्न गछौं र, आफ्ना गुणहरू तिखार्न थाल्छौं।”

हो, कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका गगनकुमार थापाले नै आविष्कार गरेका हुन्: कांग्रेस २.०! नवीन कांग्रेस, विद्रोही कांग्रेस, पुस्तान्तरण कांग्रेस...धेरै कुरा आए कांग्रेस २.० व्याख्यानमा। यो कांग्रेस २.० बुझाउनमा गगन वरपरकै केही आत्मकेन्द्रित अध्येताहरू पनि लागीपरे, केही पदेन विद्वानहरू पनि देखा परे। बुझ्नेले पनि कांग्रेस २.० भनिहेरे, नबुझ्ने पनि यही २.० रटनामा लागिरहे। तर, उही शंकर लामिछानेको ‘खै, बुझिँदैन’ स्टाइलमा। 

साह्रै छोटो अवधिमा गगनले जे गरे, अद्भूत गरे। जस्तो, कम्युनिष्ट कित्ताका लेखक खगेन्द्र संग्रौलाले भनेकै छन्–"गगन थापाको कदम नेपालको दलीय इतिहासभरि सबैभन्दा जोखिमपूर्ण, सबैभन्दा साहसपूर्ण र सबैभन्दा दूरदर्शी कदम हो भन्ने म ठान्छु। गगनले विधिवत् विद्रोह गरेका हुन्, हाम्रो लागि 'नयाँ' यही हो।"

यिनै गगनले कोइराला कोटरीपछि मौलाएको दाजु–भाउजूको किचेन–कांग्रेसलाई सबैले देख्ने र बुझ्ने कांग्रेस बनाए। नेताहरू विश्वप्रकाश शर्मा र गगन थापा आशाका पुन्ज झैं भएर निस्किए। तर, यहाँ पनि चुनावको मुखैमा कांग्रेस २.० को व्याख्यालाई हुर्मत लिनेगरी विजय गच्छदार आइहाले, प्रकाशशरण महतदेखि बलबहादुर केसी आइहाले। समानुपातिकमा अर्जुननरसिंह केसीदेखि चन्द्रमोहन यादव झुल्किहाले।

कतिसम्म भने चुनावको प्रचारप्रसार गर्दैगर्दा उम्मेदवारहरू मिनेन्द्र रिजाल हुन् वा शेखर कोइराला, कसैले पनि गगनको अभ्युदय स्वीकार्नै सकेनन्। कांग्रेस २.० भर्सन त परैको कुरा भयो। चर्चामा आएअनुसार, सर्लाही–४ मा स्वयम पार्टी सभापति गगन थापालाई हराउन अन्तर्घातसम्मका प्रमाणयुक्त सूचनाहरू पनि बाहिर आए। अथवा, उसैगरी कांग्रेस २.० होइन कि उही पुरानै कित्तामा र अन्तर्घातको आफ्नै आचरणमा फर्किएको बोध भयो।

यहाँ कमरेड माओको आदर्शबाट उदाएको माओवाद(प्रचण्डपथ)ले कित्ता फेरिसक्यो। बहुदलीय जनवाद क्षतविक्षत भैसक्यो। चलीआएको पार्टी संगठन र कार्यकर्ताको सनातनी व्याख्या धुलिसात भैसक्यो। यहाँ सबैतिर उलटपुलट छ। तैपनि आश्चर्य यो छ– नवनिर्मित २.० कांग्रेसका पार्टी सभापतिको हस्ताक्षरमा टिकट थापेर चुनाव उठ्न गएका कांग्रेसी अगुवाहरू आज फेरि पूर्वसभापति देउवाको स्वदेश आगमन पर्खिरहेका छन्, व्यग्रता र आशक्तिसहित। ‘आपत्कालीन कार्यवाहक’ बनेका पूर्णबहादुर खड्का र सधैंसधैं ‘भिजिबिलिटी लो’ हुने नेता रमेश लेखकहरू पनि दाजुभाउजू–कांग्रेसकै पक्षमा आर्शीवचन दिन थालिसकेका छन्। खोइ त कांग्रेस २.० को बुझाइ? कहाँ छ कांग्रेस २.०? अहँ, बुझ्न–बुझाउन सकिएकै छैन कांग्रेस २.०!

कथम्, यो कांग्रेस २.० कवि मोहन कोइरालाको ‘फर्सीको जरा’ जस्तो नबनिदयोस्, अमूर्त र बुझ्न–बुझाउनै नसकिने! ‘फर्सीको जरा’ जो पाठकले नबुझेरै चर्चित औं क्लासिक बनेको छ।

“अनन्त बिडम्बनाले अनन्त हातले
अनन्त चिलले झम्टा मारेको
वर्तमान एक टुक्रा समय,
रक्तचापको डिग्रीमा चढेको पारो
जसलाई पर्खिरहेछौं,
चल्ला बनेर!
......
हुटिट्याउँको आकाशे खुट्टा माटोमा उभिन्छ–मलाई हिंड्न देऊ
अनन्त फोरेर
म फर्सीको मन्टा हुँ आकाश छेडिरहेको
म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको
म फर्सीको जरा हुँ, पृथ्वी पक्रिरहेको!”