एक वर्ष बित्दा पनि भेटिएनन् कारागारबाट भागेका ३५५६ कैदीबन्दी

जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका–भगाइएका ३ हजार ५५६ कैदीबन्दी र थुनुवा अहिलेसम्म समाजमै छन्। उनीहरू पुनः अपराधमा लागेपछि समाज नै असुरक्षित बनेको छ।

काठमाडौँ– २०८२ भदौ २४ गते देशभरका कारागार र बालसुधार गृहबाट एकैदिन ठूलो संख्यामा कैदी र बन्दी (थुनुवा) भागे। जेन–जी आन्दोलनका क्रममा हिंसात्मक बनेको प्रदर्शनका क्रममा कारागारहरूमा समेत आगजनी र तोडफोड गरिएपछि त्यसदिन जताततै कैदीबन्दी भाग्ने क्रम शुरू भएको थियो। त्यसको एक वर्ष बित्दा कारागार र बाल सुधार गृहबाट भागेका कैदीबन्दी र थुनुवामध्ये तीनहजार ५०० भन्दा धेरै अहिलेसम्म सम्पर्कबिहीन अर्थात् कारागार भन्दा बाहिरै छन्।

कारागार व्यवस्थापन विभागको गत साउन महिनासम्मको कैदी र थुनुवाको मास्केबारी तथ्यांक हेर्दा अझै तीनहजार ५५६ कैदी र थुनुवा फरार रहेको देखिन्छ। नेपाली नागरिक तथा विदेशी नागरिकसमेत जोड्दा २०८२ भदौ २४ गते देशभरका कारागारबाट १३ हजार ५८५ कैदी र थुनुवा भागेका थिए जसमध्ये १० हजार २९ जना पक्राउ परेका वा सम्पर्कमा आएका देखिन्छ। 

बाल सुधार गृहबाट भागेका ९४८ मध्ये ७०६ जना मात्र फिर्ता आएको र बाँकी फरार नै रहेको देखिन्छ। यसमा २७ जना विदेशी थिए जसमध्ये चारजना मात्र फिर्ता आएका छन्। कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपाने गत वर्ष देशभरका २८ कारागार र ९ बालसुधार गृहबाट कैदी र थुनुवा भागेको र तीमध्ये केही अझैसम्म बाहिरै रहेको बताउँछन्।

देशभरका कारागारबाट नेपाली १२ हजार ७६० कैदी र थुनुवा भागेकामध्ये ९ हजार ८०९ मात्रै पक्राउ परेका वा फिर्ता आएका छन्। विदेशी ८२५ जना भागेकोमा २२० मात्र पक्राउ परेका छन्। न्यौपानेले कतिपय घटनापछि आफै कारागारमा फर्किएका र कतिपयलाई सुरक्षा निकायले पक्राउ गरेको बताए।

त्यसबेला सबैभन्दा धेरै सुनसरीको झुम्का कारागारबाट एकहजार ७३३ जना भागेका थिए। त्यसमध्ये एकहजार ३८२ मात्र पक्राउ परेका वा आफै फर्किएर कारागारमा आएका थिए। यो कारागारबाट ६३ जना भारतीय नागरिक फरार भएका थिए। तीमध्ये अहिलेसम्म १४ जना मात्र फिर्ता आए।  त्यसपछि ललितपुरको नख्खुस्थित कारागारबाट सबैभन्दा धेरै एकहजार १९३ जना भागेका थिए। तीमध्ये ९२१ जना मात्र पुनः कारागारमा फर्किएका छन्। यो कारागारबाट ८५ जना भारतीय फरार भएकोमा २१ जना मात्र पक्राउ परेका छन्। 

नक्खु कारागार त्यही कारागार हो जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए। २४ गते त्यहाँका कैदी र थुनुवा भाग्नेक्रममा सनरुफ गाडी माथिबाट हात हल्लाउँदै निस्केका उनी केही दिनपछि आफै कारागार फर्किएका थिए। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्ले जेन–जी आन्दोलनपछि फरार रहेका कैदी र थुनुवा पक्राउ गर्न प्रहरीका हरेक तहसम्म विवरण पठाइएको र प्रहरीले अहिले पनि खोजी गरिरहेको बताउँछन्। 

कारागारबाट भागे, फेरि अपराधमा लागे
त्यसबेला कारागारबाट भागेका कतिपय कैदी र थुनुवा अहिले पनि पक्राउ परिरहेका छन्। कोही पुनः अपराधमा जोडिएपछि यसअघि फरार रहेको खुल्ने गरेको छ भने कतिपय लुकेर बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरिरहेको छ। यही सोमबार मात्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले हाडनाता करणी मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका ३४ वर्षीय हर्कबहादुर गुरुङलाई पक्राउ गरेको छ।

उनी २०८१ साउन १४ देखि कास्की कारागारमा कैद भुक्तान गर्दै आइरहेका थिए। तर ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान बाँकी हुँदा उनी गत वर्ष भदौ २४ गते कारागारबाट भागेका थिए। त्यसबेला फरार भएका कैयौँ व्यक्ति पुनः अपराधमा संलग्न भेटिएको प्रहरीको अनुसन्धानले देखाउँछ। 

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ का सन्तबहादुर गुरुङ कारागारबाट फरार भएको एक सातामै कर्तव्य ज्यान (हत्या) जस्तो गम्भीर अपराधमा संलग्न भए। नख्खु कारागारमा बलात्कारको कसुरमा सजाय भुक्तान गरिरहेका उनी गत भदौ २४ गते भागेर पनौतीस्थित घर पुगेका थिए। असोज २ गते उनले आफ्नी श्रीमती, ३० वर्षीया मनिषाको विभत्स तवरले हत्या गरे। कसैले हत्या गरेको शंका नगरोस् भनेर उनले शव खेतबारीमा व्यवस्थापन गरेका थिए।

भोलिपल्टै नख्खु कारागार फर्किएका उनी अहिले बलात्कार मुद्दामा सुनाइएको सजायसँगै कर्तव्य ज्यानसम्बन्धी कसुरको पनि सजाय काटिरहेका छन्। जबरजस्ती करणीको उद्योग सम्बन्धी कसुरमा कञ्चनपुर कारागारमा सजाय भुक्तान गरिरहेका कञ्चनपुरका दीपक सुनार गत वर्ष भदौ २४ मा कारागारबाट भागेका थिए। त्यही राति उनले दोधारा चाँदनीकी एक महिलालाई बलात्कार प्रयास गरे। उनलाई प्रहरीले लगत्तै पक्राउ गरेको थियो। महिलाले स्थानीयलाई गुहारेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। त्यसपछि बल्ल उनी कारागारबाट भागेको खुलेको थियो।

केही महिना अघि जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यकामा चोरी, लुटपाट गर्ने गिरोह नै समात्यो। काठमाडौँको बौद्ध, बालाजु र भक्तपुरको ठिमी क्षेत्रमा यो गिरोहले चोरी, लुटपाट गर्दै आइरहेको थियो। गिरोहका नाइके कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका विनय तामाङ थिए। उनी गत वर्ष प्रहरी वृत्त महाराजगञ्जको हिरासतबाट फरार भएका थिए। त्यतिबेला उनलाई प्रहरीले डाँकाचोरी मुद्दाको अनुसन्धानका लागि पक्रेर हिरासतमा राखेको थियो। तर हिरासतबाट भागेलगत्तै उनले पुरानै धन्दा शुरू गरेका थिए। 

कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय तोकिएपछि तुलसीपुर कारागारमा सजाय काटिरहेका तुलसीपुरकै खिमबहादुर विक गत वर्ष भदौ २४ गते कारागारमा आगजनी र तोडफोड भएपछि फरार भएका थिए। त्यसपछि केही समय लुकेर बसेका उनी फेरि अपराधमा जोडिए। असोज ११ मा उनले तुलसीपुर उपमहानगरपालिका–५ का ५३ वर्षीय एक स्थानीयलाई धारिलो हतियार प्रहार गरेर फरार भए। पछि प्रहरीले खोजी गर्ने क्रममा उनी पक्राउ परे।

लागु औषध मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका दाङको राप्ती गाउँपालिका–१ का आकाश मगर पनि कारागारबाट भागेपछि कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न भए। असोज १३ मा उनले काठमाडौँको ठमेलमा झगडा हुँदा एकजनाको चक्कु प्रहार गरी हत्या गरेका थिए। पछि प्रहरीले अनुसन्धान र खोजतलास गरेर मगरलाई पुस २३ मा रोल्पाबाट पक्राउ गरेको थियो।

बागलुङका सञ्जय बिक एक महिलाको हत्या गरी गरगहना लुटेको कसुरमा जन्मकैदको सजाय तोकिएका व्यक्ति थिए। त्यही सजाय भुक्तानका क्रममा कास्की कारागारमा रहेका उनी २०८२ भदौ २४ गते कारागारबाट फरार भए। तर फरार भएपछि पनि उनको अपराध रोकिएन। उनी फेरी हत्या र लुटपाटमै संलग्न भए।  गत चैत २३ गते उनले एक बृद्ध दम्पत्तीमाथि आक्रमण गरेर गरगहना लुटे। आक्रमणबाट घाइते भएका एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बैशाख १५ मा उनलाई काठमाडौँबाट पक्राउ गरेपछि बल्ल उनी कारागारबाट भागेको खुल्यो। 

आपराधिक घटनामा कारागारबाट भागेका कैदीबन्दीहरूको संलग्नता बढ्दै गएको देखाउने यी घटनाले समाजमा जोखिम र असुरक्षा बढिरहेको देखाउँछ। प्रहरी प्रवक्ता काफ्ले कारागारबाट भागेका अधिकांश व्यक्ति समाजमा गएर अन्य अपराधमा पनि जोडिएको पछिल्ला अनुसन्धानले देखाएको बताउँछन्।  “कारागारबाट भागेकाहरू कतिपय अन्य अपराधमा संलग्न भएको देखिन्छ,” उनले भने, “प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिएको छ।”

कारागार व्यवस्थापन विभागका प्रवक्ता न्यौपाने प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल गठन भएर अहिले पनि काम भइरहेको बताउँछन्। “सजाय तोकिएकाहरूबाट चुनौतीको सम्भावना त हुने नै भयो। तर, उनीहरू खुलेआम हिँड्ने अवस्था त छैन,” उनी भन्छन्, “भागेकाहरूको विवरण नै सार्वजनिक छ। जुनसुकै अवस्थामा पनि पक्राउ पर्न सक्छन्।”

कुन कारागारबाट कति भागे, अझै कति बाहिरै? 
जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते थुप्रै जिल्लाका कारागारबाट कैदी र थुनुवा फरार भए। मोरङमा एकजना फरार भएकामा उनी कारागारमै फर्किए भने सोलुखुम्बुमा ८२ जना फरार भएकोमा २ जना बाहिरै छन्। सप्तरीमा १९४ जना फरार भएकोमा ६३ जना बाहिरै छन्। त्यहाँबाट फरार ११ जना भारतीयमध्ये ६ जना अहिलेसम्म बाहिरै छन्। 

महोत्तरीमा ५३२ जना फरार भएकोमा २०८ अझै बाहिर छन्। तीमध्ये ४१ जना भारतीय थिए जसमध्ये ३१ जना बाहिरै छन्। रौतहट कारागारबाट फरार भएका २४७ मध्ये १०३ जना अझै फरार छन्। त्यसमा भारतीय १७ जनामध्ये ११ जना फरार नै छन्। सिन्धुलीमा फरार भएका ४६२ मध्ये ९१ जना अझै कारागारबाहिर छन् जसमा ५ जना भारतीय छन्। रसुवा कारागारबाट भागेका ९२ मध्ये ३ जना अझै फरार छन्। त्यहाँबाट भागेका ५ जना भारतीयलाई भने पक्राउ गरिएको छ।  डिल्लीबजार कारागारबाट २० जना फरार भएकोमा ९ जना अझै बाहिर छन्। चितवनबाट फरार भएका ७२२ मध्ये ८५ जना बाहिरै छन्। तिनमा १८ जना भारतीय रहेकोमा १० जना फरार नै छन्।

मकवानपुरबाट भागेका ४०१ मध्ये ९८ जना अहिलेसम्म फरार छन्। तिनमा ३९ भारतीयमध्ये २६ अझै फरार छन्। पर्वत कारागारबाट १९ जना भागेकामध्ये ६ जना बाहिरै छन्। त्यस्तै, म्याग्दी कारागारबाट ७५ जना भागेकोमा ७३ जना फिर्ता आएका छन्। त्यहाँका फरार एक जना भारतीय हुन्। तनहुँ कारागारबाट भागेका ३२२ मध्ये ३६ जना बाहिरै छन्। चारजना भारतीयमध्ये दुई जना फरार छन्। कास्की कारागारबाट ७५६ जना भागेकोमा १०५ जना फरार छन्। कास्कीमा भारतीय १७ जना रहेकोमा १३ जना बाहिरै छन्। 

नवलपरासी पश्चिमबाट भागेका ५०५ मध्ये १२८ जना अझै फरार छन्। त्यसमध्ये ४१ भारतीय रहेकोमा ३८ जना अझै फरार छन्। कपिलवस्तु कारागारबाट भागेका ४०७ मध्ये ९७ जना फरार छन्। त्यसमध्येका २३ भारतीयमध्ये १२ जना अझै फरार छन्। दाङको तुलसीपुरबाट भागेका २४५ मध्ये ५९ जना अझै फरार छन्। तिनमा भारतीय ८ जना रहेकोमा ७ जना फरार छन्। बाँकेको नौबस्तास्थित सुधारगृहबाट भागेका १२३ मध्ये ७३ जना फरार नै छन्। त्यसमध्ये २४ जना भारतीय रहेकोमा १८ जना फरार छन्।

रुकुम पश्चिमबाट भागेका ८८ मध्ये १७ जना अझै फरार छन्। जुम्लाबाट भागेका ३६ मध्ये ९ जना अहिलेसम्म फरार छन्। बझाङबाट भागेका ६५ मध्ये ११ जना फरार छन्। कैलाली कारागारबाट भागेका ६४४ मध्ये १८३ जना फरार छन्। तिनमा २१ भारतीय रहेकोमा १९ जना फरार छन्। दार्चुला कारागारबाट भागेका ७० जनामध्ये ५ जना फरार छन्। त्यहाँबाट भाग्नेमा एकजना भारतीय रहेकोमा पछि प्रहरीले पक्राउ गरेको थियो।

बैतडीबाट भागेका ५९ मध्ये एकजना फरार छन्। डडेल्धुराबाट भागेका ७८ मध्ये ४ जना फार छन्। त्यहाँबाट ७ जना भारतीय भागेकोमा सबै पक्राउ परेका छन्। कञ्चनपुर कारागारबाट भागेका ४२९ मध्ये ६९ जना फरार छन्। यो कारागारबाट भागेका २८ भारतीयमध्ये १७ जना फरार छन्।

कसरी भागे देशैभरका कैदी थुनुवा?
२०८२ भदौ २३ गते जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्न पुगेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एकै दिन बानेश्वर क्षेत्रमा २२ जनाले ज्यान गुमाएका थिए। भोलिपल्ट आन्दोलन थप चर्कियो। संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि प्रमुख प्रशासनिक केन्द्र, उद्योग कलकारखाना, राजनीतिक दलका नेता एवम् अन्यका घरहरू जताततै अगजानी गरियो। 

यसरी प्रदर्शन भड्किएपछि देशभरका कारागारबाट साढे १४ हजार भन्दा धेरै कैदीबन्दी भागे। गम्भीर प्रकृतिका अपराधमा संलग्न भएर सजाय तोकिएकादेखि अरु गम्भीर कसुरमा मुद्दा पुर्पक्ष भइरहेका कैदीबन्दी भागेका थिए।  कैदीबन्दी भाग्ने क्रमको शुरूआत ललितपुरको नक्खु कारागारबाट भएको थियो जहाँ सहकारी ठगी प्रकरणका अभियुक्त रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थिए। लामिछानेलाई कारागारबाट निकाल्नुपर्ने मागसहित प्रदर्शनकारीले नख्खु कारागार नियन्त्रणमा लिएपछि असुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले उनलाई छाडिदिएको थियो।  

लामिछाने नक्खु कारागारबाट बाहिर निस्कनु भन्दा अघिसम्म देशभरका कारागारको अवस्था सामान्य थियो। कैदीबन्दीहरू शान्तपूर्वक बसिरहेकै थिए। जब नक्खु कारागारबाट पहिले लामिछाने रिहा भएको र पछि एक हजार दुई सयभन्दा धेरै कैदीबन्दी बाहिरिएको खबर फैलियो, अवस्था एकाएक अर्कै बन्नपुग्यो।  

त्यसपछि देशभरका कैयौँ कारागारमा प्रदर्शन हुनथाल्यो। कैदीबन्दीले कारागारलाई नियन्त्रणमा लिएर प्रदर्शन गर्न थाले। अवस्था यसरी बिग्रिँदै गयो कि कारागार प्रशासन त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि विभिन्न कसुरमा कैद सजाय काटिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीहरू कारागारबाट भाग्ने अवस्था बन्यो।