एक थिएटरमा मञ्चन भइरहेको नाटकमा आमाको ममता, जंगलमा मान्छे र जनावरको प्रेमिल सम्बन्ध, च्याब्रुङ उत्पतिको कथा जस्ता विषय सुन्दर ढंगले बुनिएको छ। नाटक याक्थुङ समुदायको मुन्धुममाथि बनाइएको हो।
काठमाडौँ– ‘म सिमलको रुखमा पर्खिरहनेछु, केसामीलाई त्यहीँ पठाइदिनू। म रहिन भनेँ सेक्मुरी ओइलाउला, आम्भु (दाजु) रहेन भने अन्दङफुङ ओइलाउला।’ नाम्सामीले दुई वटा फूल आमाको दुइटा हातमा राखिँदिँदै भन्छ।
आमासँग आफ्नै दाजु केसामीलाई युद्धका लागि पठाइदिन लल्कार्दै भाइ नाम्सामी बाटो लाग्छ। आमाले भाइको खबर दाइ केसामीलाई सुनाइदिन्छिन्। तर उनी सम्भावित पुत्रवियोगको पीडामा पर्छिन्। केसामी भाइसँग युद्ध गर्न सिमलको रुखतिर जान्छ।
त्यसपछि नाटकमा चरम द्वन्द्व शुरू हुन्छ। यो द्वन्द्वको कारण भने सृष्टिको शुरूआतमा एउटै आमाको कोखबाट जन्मिएका बाघ र मान्छे मिल्न नसक्नु नै हो। केसामी बाघ भएर जन्मिएको हुन्छ। नाम्सामी मान्छे हुन्छ।
त्यो समय थियो सहअस्तित्वको। जंगलमा जनावर र चराहरु पनि मान्छेसँगै पा:लाम गाउँथे। मान्छे र जनावर सँगै खेल्थे। तर जब बाघको रूपमा जन्मिइएको केसामीले प्रकृतिको नियम विपरीत शिकार गर्न थालेको नाम्सामी बताउँछ। यसले जंगलमा त्रास जन्माउन थाल्छ।
भाइ नाम्सामीले केसामीलाई कतिपय जनावरको शिकारमा रोक्न थाल्छ। आफै पनि भगाइदिन्छ। यता बाघले मारिदिएका जनावर र चराका आमाले केसामी र नाम्सामीकी आमालाई रिस पोख्न थाल्छन्।
यसै बेला आमासँग बाघको गुनासो बढ्दै जान्छ। उसले आमालाई मान्छे भएर जन्मिएको भाइलाई बढी माया गरेको आरोप लगाउँछ। आफू अघाएको नअघाएको ख्याल नगरेको, के खान्छ भनेर चासो नराखेको गुनासो गर्छ। तर आमाले भने दुवै छोराहरू अर्थात्, बाघ र मान्छेलाई उत्तिकै माया देखाएकी हुन्छिन्। उनको दाबी पनि त्यही हुन्छ।
जब भाइ नै आफ्नो शिकारलाई आफूबाट बचाउन लाग्छ, तब मान्छे र बाघबीचको द्वन्द्व चरममा पुग्छ। बाघ भाइले आफूलाई भोकै राखेको र आफूविरुद्ध लागेको भनेर क्रोधित हुन्छ। जंगलका जनावरले पनि बाघबाट टाढै बस्न खोज्छन्। बाघले खेल्ने साथी पनि पाउन छाड्छ। भोकै हुन थाल्छ।
अब आफ्नै दाजु बाघले भाइ अर्थात् मान्छेलाई नै मारेर खाने निधो गर्छ। भाइ दाजुबाट भागिरहन्छ। तर कहिलेसम्म भाग्ने?
नियम बिग्रिँदै गएपछि भाइ नाम्सामीले दाइ केसामीलाई अन्तिम युद्धका लागि बोलाउँछ। अनि सिमलको रुखमा शुरू हुन्छ अन्तिम युद्ध। युद्धका लागि भाइसँग नौवटा बाँड हुन्छन्। आठ वटा बाँड हान्दासम्म बाघलाई लाग्दैन।
अन्तिममा नाम्सामीसँग भाँचिएको एउटा बाँड मात्र बाँकी हुन्छ। अनि नाम्सामीले हार स्वीकार गरेर बाघको मुखमा आफै पसिदिने घोषणा गर्छ। बाघलाई भन्छ, 'मलाई नदुखाई खा है।'
भाइलाई खान जब बाघ आँ मुख बाउँछ, कथाले नयाँ मोड लिन्छ। यो नै नाटकको चरम अवस्था हो। नाटकमा आमाको ममता, मान्छे र जनावरको प्रेमिल सम्बन्ध, च्याब्रुङ उत्पतिको कथा जस्ता विषयलाई सुन्दर ढंगले बुनिएको छ।
नाटक याक्थुङ (लिम्बू) समुदायको मुन्धुममाथि बनाइएको हो। यसमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई पनि राम्रोसँग देखाइएको छ। मान्छे र जंगल तथा खोलानालाको सम्बन्ध पनि देखाइएको छ।
मुन्धुमको नाट्य रुपान्तरण यासेली योङहाङले गरेका छन्। यसको निर्देशक अनिल सुब्बा हुन्। नाटक काठमाडौँको थापागाउँस्थित एक थिएटरमा भदौ १३ सम्मका लागि बुधबारबाहेक हरेक दिन मञ्चन भइरहेको छ। नाटकमा सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बु, अन्जना राई, पुष्पाञ्जली लिम्बु, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरुको अभिनय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
