यस्तो कमजोर अवस्थामा धनी देशहरूले नै फाइदा लिन्छन्। द्वन्द्व बढ्दै जाँदा आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हतियारको ठूलो बजार संयुक्त राज्य अमेरिका हो। हतियार बेचेर ठूलो फाइदा अमेरिकाले लिन्छ।
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणबाट सिर्जित युद्धको ४० औँ दिनमा दुई हप्ताका लागि युद्धविराम भएको छ। यसबाट स्थायी शान्ति सम्भव हुने थोरै आशा विश्व समुदायले गरिराखेको छ। डोनाल्ड ट्रम्पले ४८ घण्टाको अल्टिमेटम इरानलाई दिएका थिए। उक्त अवधिमा स्ट्रेट अफ हर्मुज खुला नगर्दिए भीषण आक्रमण गर्ने चुनौती दिएका थिए। उनले यदि यो अवधिमा इरान अमेरिकी प्रस्तावमा स्वीकार गर्न नआए इरानका ठूला आधारशिलाका संरचनाहरू, ऊर्जा केन्द्रहरू सबै ध्वस्त बनाउने र इरानी सभ्यता नै तहसनहस बनाइदिने धम्की दिएका थिए। यसबाट विश्व समुदाय भयभीत भएको थियो। मध्यपूर्वी क्षेत्रका देशहरू अत्यन्त आतंकित बनिराखेका थिए। यस समस्याको तार्किक निष्कर्षमा पुग्नुपर्ने अनिवार्यता सबैले सोचेका थिए।
यसलाई गम्भीरतापूर्वक लिई पाकिस्तानको अग्रसरतामा टर्की र इजिप्ट समेत तीन देशहरूले वार्ताको वातावरण दुवै पक्षहरूसँग बनाए। उनीहरूकै प्रयास स्वरूप दुई हप्ताको लागि युद्धविराम भएको छ। यो युद्धविरामले अब भावी दिनमा इरानलगायत मध्यपूर्वमा शान्ति स्थापना स्थायी रूपमा हुने हो वा पुन युद्ध चम्किने हो? अनुमान हुन थालेको छ। इरानले राखेका १५ बुँदे प्रस्ताव र संयुक्त राज्य अमेरिकाले राखेका दस बुँदे प्रस्तावहरू दुवैलाई द्वन्द्वरत पक्षहरूले पूर्ण रूपमा स्वीकार गरेका छैनन्। स्टेट अफ हर्मोन पूर्ण रूपमा खुला भइसकेको पनि छैन। इरानको सैन्य निगरानी यो युद्धविरामको अवधिमा पनि जारी नै छ। इरानविरुद्ध गरिएका सबै प्रकारका नाकाबन्दीहरूलाई खुला गर्नुपर्ने, सधैँका लागि इरान सुरक्षित हुनुपर्ने उसको माग छ। इरानलाई सहयोग गरिरहेका उसका असल मित्रराष्ट्रहरूका विरुद्ध कुनै आक्रमण गर्न पाइने छैन।
यी सबै चासो र चिन्ताका बीच भएको युद्धविरामले केही दिनका लागि राहत प्रदान गरेको छ। दुई हप्ताका लागि मात्र अस्थायी युद्धविराम गर्न सहमत भएका हुन्। युद्धविरामका लागि भएका समझदारीहरूमा अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, इरानले अमेरिका दूतावासमा बन्धक बनाएका ५२ जना बन्धकहरूलाई रिहा गर्ने, इरानको सम्पत्ति अनफ्रिज गर्ने, इरानले परमाणु कार्यक्रमलाई सीमित गर्नुपर्ने, अन्तर्राष्ट्रिय अनुगमनलाई इरानले आफ्नो देशमा प्रवेश गरी निरीक्षण गर्न स्वीकृति दिने, इरानका विरुद्ध आर्थिक प्रतिबन्ध हटाउनेजस्ता कुराहरूमा सहमति भएपश्चात् केही सहज अवस्था बनेको हो। २० दिनभित्र अर्को निर्णयमा पुगिने समाचार सम्प्रेषण भएको छ।
इस्लामाबाद एकर्ड नाम दिएको यो समझदारी भएपछि पाकिस्तानका प्रधानमन्त्रीको राजनीतिक उचाइ बढेको छ। विश्वमै यतिखेर उनको चर्चा छ। दुवै युद्धरत पक्षहरू आफ्ना आफ्ना अडानमा दृढ देखिएका छन्। दुवै पक्षहरूले विजयी हुने विकल्प भावी दिनहरूमा दिन सक्नुपर्ने स्थिति छ। यसका लागि पाकिस्तानको प्रयासको प्रशंसा सबै शान्तिकामीहरूबाट भइराखेको छ। के विश्व शान्ति सम्भव होला? यो युद्ध हुनुका पछाडिका कारणहरू के के हुन्? ती समस्याहरूको स्रोतमा पुगी समस्या समाधानमा द्वन्द्व पक्षहरू पुग्लान्? यो युद्धबाट विश्वले भोगिरहेको नकारात्मक प्रभावहरूबाट उन्मुक्ति पाउने सम्भावना कति छ? यिनै विषयहरूमा यो आलेखलाई केन्द्रित गरिएको छ।
युद्ध हुनुका कारण
इरानमा सिया मुसलमानहरू छन्। मध्यपुरको प्राय: अन्य देशमा सुन्नीहरू छन्। सिया र सुन्नीको धार्मिक आस्थाका हिसाबले पृथक् हुन्छन्। मक्कामदिना साउदीमा भएका कारणले साउदी अरब मुस्लिमहरूको विशेष गरी सुन्नी समूहहरूको धार्मिक राजधानीको रूपमा प्रतिष्ठित छ। त्यहाँ मदिना पुग्ने इस्लामहरू आफूलाई भाग्यशाली सम्झन्छन्। सिया धर्म मान्ने सिया समूहमा पर्ने इस्लामहरूको संरक्षकका रूपमा इरानले आफूलाई उपस्थिति दिएको छ। यी दुई द्वन्द्वात्मक समूहका रूपमा धार्मिक हिसाबले आफूलाई प्रस्तुति दिन्छन्। त्यही कारणले गर्दा पनि संयुक्त अरब इमिरेट्स, कतार, साउदीलगायत अधिकांश मुसलमानको आस्थाको केन्द्र साउदी अरब हो। उनीहरू धार्मिक हिसाबले इरानको नेतृत्व स्वीकार गर्दैनन्। सियामा शिष्यलाई र सुन्नीमा सन्ततिलाई उत्तराधिकारी बनाइन्छ। इरान पक्षका सियाहरूले पनि सुन्नी समूहका धर्मावलम्बीहरूलाई धार्मिक हिसाबले सौहार्द्यता देखाउँदैनन्। यही कारण मध्यपूर्वी क्षेत्रमा अधिकांश इस्लामिक देशहरू इरानको विपक्षमा छन्।
यसका अतिरिक्त इजरायल यस्तो पृथक् देश बनेको छ, जहाँ यहुदीहरू रहेका छन्। उनीहरू इजरायललाई भगवानलाई स्वागत गर्न बनेको देश भन्दछन्। उनीहरूको धार्मिक आस्था यी दुवै समूहसँग भिन्न छ। त्यसैले आफ्नो क्षेत्रमा यहुदीहरूको उपस्थिति शून्य गराउने एकल लक्ष्यका साथ इरान अघि बढिराखेको छ। इरानले पटक पटक इजरायलको अस्तित्व भूगोलबाटै नामेट गराउने चुनौती दिँदै आएको छ। यसबाट इजरायल आफ्नो सुरक्षाको लागि गम्भीर बनिराखेको स्थिति हो। इरानले परमाणु बम बनाइराखेको सूचना पाउँदा इजरायल स्वतः आतंकित बन्न पुगेको हो। इरानसँग तुलना गर्दा इजरायल कमजोर छ।
त्यसैले इजरायलले संयुक्त राज्य अमेरिकाको संरक्षकत्वलाई स्वीकार गरिराखेको छ। देशको जनसङ्ख्या, आर्थिक सफलता, राष्ट्रियताप्रतिको प्रतिबद्धताले युद्धमा नैतिक बल प्रदान गर्छ। उच्च मनोबलका साथ युद्धमा विजय हुन सहज बनाउँछ। इरान धार्मिक हिसाबले एकताबद्ध छ। अपवादका केही सरकारसँग सन्तुष्ट छैनन्। इजरायलको जनसङ्ख्या ९६ लाख भएकोमा इरानको ९ करोड छ। यसैगरी इजरायलको जीडीपी ६०० बिलियन हुँदा इरानको ४५० बिलियन छ। स्रोत साधनका हिसाबले सम्पन्न इरानले आफ्नो ठूलो स्रोतको हिस्सा सामरिक हातहतियार र सैन्य सुदृढीकरणमा खर्च गरेको छ। यस कारण सैन्य शक्तिका हिसाबले इजरायलभन्दा इरान धेरै माथि छ। इरानसँग ठूलो मात्रामा ब्यालिस्टिक क्रुज मिसाइल छ भनिन्छ। आणविक हातहतियार बनाउने क्षमता इरानसँग छ। संयुक्त राज्य अमेरिकाजस्तो देशसँग भिड्न उसलाई चीनको सहयोग प्राप्त छ। यहुदी र क्रिश्चियनविरुद्ध धर्म युद्धको घोषणा पटक पटक गरिराखेको छ। इरानले परमाणु बम बनाएको आशंका उसका शत्रुराष्ट्रहरूलाई छ। चीनले क्रुज मिसाइल बनाउन इरानलाई सहयोग गरेको भनिन्छ। यही राष्ट्रको ठूलो चुनौती इजरायललाई हुँदा उसले इरानको हतियार उत्पादनलाई नियन्त्रण र नलिँदा आफ्नो देशमा संकट आउने निश्चित देखेको हो।
अर्कोतर्फ अमेरिका पनि इरानसँग त्रसित छ। उसलाई परमाणु बम तयार हुनै लागेको आशंका भइरहेको थियो। उक्त बम बनाउने आणविक भट्टीहरू सबै ध्वस्त बनाएर विश्व समुदायलाई सुरक्षा प्रदान गर्ने र आफू पनि सुरक्षित रहने दाबी अमेरिकाले गरेको छ। ३० ट्रिलियन डलर जिडीपी भएको संयुक्त राज्य अमेरिकासँग ४३० बिलियन इकोनोमी भएको देश इरानले युद्ध गर्ने धम्की दिइराखेको छ। इरानमा शाहको शासनकालमा सम्भवतः विश्वमै सबैभन्दा नजिकको संयुक्त राज्य अमेरिकाको मित्र राष्ट्र बनेको थियो। शाह शासनको अन्त्यपश्चात् यो देश शत्रु राष्ट्र बनेको छ। अमेरिका इरानको सत्तापलट गरेर आफ्नो नियन्त्रणको सरकार स्थापित गर्न चाहन्छ। मध्यपूर्वका प्राय: सबै देशका तेलखानीमा संयुक्त राज्य अमेरिकाको चासो अत्यन्त ज्यादा छ।
इरानको तेल भण्डारणमा पनि आफ्नै देशका तेल कम्पनीले कारोबार गरी अमेरिका लाभान्वित हुनुपर्छ भन्ने सोच ट्रम्पसँग छ। मुनरो सिद्धान्तअनुरूप ल्याटिन अमेरिकी देशहरूमा अमेरिका आफ्नो नियन्त्रण कायम गर्न चाहन्छ। मध्यपूर्वी क्षेत्रहरूमा पनि प्राय: सबैतिर यही सिद्धान्तले काम गरेको छ। इरानले अमेरिकाविरोधी माहौल खडा गरिराखेको छ। गाजा क्षेत्रमा हमास, लेबनानमा हिजबुल्ला र यमनमा हुतीहरूलाई साथ लिएर यो क्षेत्रमै साम्राज्य खडा गर्ने सोच इरानको छ। यसलाई अमेरिकाले नियन्त्रण गर्न चाहेको हो। लामो समययता आफ्नो अनन्य मित्रराष्ट्र रहेको इजरायललाई पनि अमेरिका संरक्षण प्रदान गर्न चाहन्छ। गरिराखेको छ। चीनले उसको लागि आवश्यक पर्ने ५० प्रतिशत तेल इरानबाट आपूर्ति गरिराखेको छ। तेलको व्यापारमा इरानसँग चीनको एकाधिकारजस्तै छ। यसबाट दुई देशहरूको बीचको आर्थिक प्रतिस्पर्धामा चीनलाई कमजोर बनाउने रणनीति पनि ट्रम्पको हो। यिनै कारणहरूले इरानमा संयुक्त राज्य अमेरिकाले इजरायलसँग मिलेर संयुक्त रूपमा आक्रमण गरिराखेको छ।
युद्धको विश्वव्यापी प्रभाव
इरानमा गरेको आक्रमणबाट धार्मिक शासकको अन्त्य गर्ने अमेरिकी योजना विफल भएको छ। अर्को धार्मिक नेता स्थापित भएका छन्। अतः अमेरिकाको सो उद्देश्य पूरा भएको छैन। जल डमरु क्षेत्रमा इरानले गरिराखेको नियन्त्रणबाट विश्व प्रभावित भइराखेको छ। अमेरिका पनि यसबाट प्रभावित छ। आक्रमणपश्चात् इरानले जलडमरु नाकामा प्रति ट्रिप रकम उठाइराखेको छ। यसबाट इरान आर्थिक हिसाबले सफल हुन्छ। तर इन्धनको मूल्य वृद्धि भई विश्व नै प्रभावित भइराखेको छ।
अमेरिकन सैनिकका अगाडि इरान कमजोर छ। तर उसले आफ्नो अधिकांश स्रोत सैन्य रणनीतिमा खर्च गरेकाले लामो अवधिसम्म युद्ध लड्न सक्छ। अमेरिकाका सम्बन्ध राम्रो नभएका राष्ट्रहरूले इरानलाई अप्रत्यक्ष रूपमा सहयोग गरिराखेकै छन्। प्रत्यक्ष सहयोग गर्ने सम्भावना पनि प्रबल छ। त्यसैले लामो समय युद्ध जारी रहने सम्भावना देखिँदैछ। यसबाट विश्वको अर्थतन्त्र प्रभावित हुन पुग्दछ, भइराखेको छ। ट्रम्पको प्रतिष्ठाको विषय भएका कारणले पनि इरानलाई नियन्त्रणमा लिनुपर्ने सोच देखिन्छ। परमाणु बम उत्पादन केन्द्र सम्पूर्ण ध्वस्त गरिदिएको दाबी अमेरिकाले गरिरहँदा इरानले यसलाई स्वीकारेको छैन। हालसम्म हवाई र सामुद्रिक क्षेत्रबाट युद्ध भइराखेको छ। जमिनबाट युद्ध गर्न इजरायल र अमेरिकाले सकेका छैनन्। युद्धबाट नियन्त्रणमा लिन जमिन मै सेनाहरू आमनेसामने हुनैपर्छ। यो अवस्था नहुँदा युद्ध लम्बिन्छ।
विश्व परिवेशमा हेर्दा विभिन्न देशहरू युद्धग्रस्त छन्। कम्बोडिया र थाइल्यान्ड, पाकिस्तान र अफगानिस्तान, रुस र युक्रेन, इजरायल-इरान आदि देशहरू युद्धरत छन्। जापान र चीनको बीचको शीत युद्ध बढिराखेको छ। ताइवानको समस्याबारे संयुक्त राज्य अमेरिका र चीन विवादित छन्। नेटो संगठनसँग ट्रम्पले बिस्तारै सम्बन्ध बिगार्दै छन्। भेनेज्युएलाका मदुरोको अवस्था सर्वविदितै छ। विश्व व्यवस्था ओरल्ड अर्डर ट्रम्पले ध्वस्त बनाएका छन्। इरानलाई ध्वस्त बनाएर गाजामा पूर्ण नियन्त्रण लिएर इरानका मित्र राष्ट्रहरूमाथि धावा बोलेर इजरायलले आफ्नो क्षेत्र विस्तार गर्ने आकांक्षा लिइराखेको छ। ग्रेटर इजरायलको गन्तव्य निर्धारण गरेको छ। यसबाट तेस्रो विश्वयुद्धको अवस्था सिर्जना हुने हो कि भन्ने सन्त्रास विश्व समुदायमा रहेको छ। किनकि अमेरिकाको रवैया यही हिसाबले अघि बढ्दै जाँदा अर्को खेमाका राष्ट्रहरू एकत्रित हुने स्थिति बन्छ।
यो अवस्था भएर आमनेसामने हुने परिस्थितिमा तेस्रो विश्व युद्धको भयावह अवस्था विश्व मानवले सामना गर्नुपर्ने हुन्छ। युद्धग्रस्त अवस्थाबाट सम्पन्न र विकसित राष्ट्रहरू नै फाइदामा पुग्छन्। किनकि यतिखेर विश्वका देशमध्ये ४० भन्दा बढी मुलुकहरू असफल बन्दैछन्। यस्तो कमजोर अवस्थामा धनी देशहरूले नै फाइदा लिन्छन्। द्वन्द्व बढ्दै जाँदा आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हतियारको ठूलो बजार संयुक्त राज्य अमेरिका हो। हतियार बेचेर ठूलो फाइदा अमेरिकाले लिन्छ। इन्धन संकट आइरहँदा देशसँग स्टकमा रहेको ठूलो मात्रामा पेट्रोलियम पदार्थलाई महँगो मूल्यमा बिक्री गरी आफ्नो देशलाई फाइदा दिलाउने उद्घोष ट्रम्पले गरिसकेका छन्। यसबाट पनि मर्कामा पर्ने प्रभावित हुने देश भनेका कमजोर र विकासशील अवस्थाकै हुन्।
रुसले पनि ऊर्जा संकटको समयमा पटक पटक फाइदा लिइराखेको छ। सामान्य अवस्थामा पनि निर्यातमुखी देशहरू फाइदामा हुन्छन्। संकटको अवस्थामा यस्ता देशहरू अझै बढी लाभान्वित हुन्छन्। आयातमा निर्भर रहने देशहरू सधैँ कमजोर हुन्छन्। संकटको अवस्थामा अत्यन्त ज्यादा समस्याग्रस्त बन्न पुग्छन्। युद्धग्रस्त समय र युद्धपश्चात् विश्वबैंक अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता दाता संस्थाहरू पनि ती देशहरूको पुनर्निर्माणका लागि व्यस्त रहन्छन्। यसबाट अन्य सानातिना देशले सहयोग प्राप्त गर्न कठिन हुन्छ।
नेपाल पनि यो अवस्थामा प्रभावित बनेको छ। हामी आयातमा निर्भर रहेका छौँ। युक्रेन युद्धबाटै हाम्रा भातभान्सा प्रभावित भए। इरान विरुद्धको युद्धले हामी थप प्रभावित बनेका छौँ। आयातमा निर्भर रहने देशहरूमा मुद्रास्फीति बढ्दै जान्छ। उदाहरणका लागि नाइजेरिया आफै तेल उत्पादक राष्ट्र हो। यसले पनि तेलको मूल्य नियन्त्रण गर्न सकेको छैन। यो अवस्थाको नियन्त्रण नेपालबाट सम्भव छैन। हामीले प्रभावित मात्र बनिराख्ने हो। २० लाख नेपाली युवाहरू यस क्षेत्रमा आतंकमा बाँचिराखेका छन्। युद्ध लम्बिँदै जाँदा नेपालको विप्रेषणको मात्रा घट्ने निश्चित छ।
निष्कर्ष
इरान ध्वस्त भएको छ। संयुक्त राज्य अमेरिकालाई पनि विश्व परिवेशमै एक्लिँदै जाने परिस्थिति निर्माण हुँदैछ। इरानसँग भएको युद्धको विरोध देशभित्र तीव्र भइराखेको छ। देशको इतिहासमै राष्ट्रपति सबैभन्दा आलोचित भएको यो प्रथम पटक हो। यसबाट ससम्मान फिर्ता हुने मार्ग ट्रम्पले खोजिराखेको अनुभूति हुन्छ।
इरान अहिले पहिलेको अफगानिस्तानझैँ बनेको छ। इजरायल र ट्रम्प समर्थक खाडी मुलुकहरू उपर उसले आक्रमण पनि गरिराखेकै छ। यी देशका तेल भण्डारण र खानीहरू सबै इरानको निशानामा छन्। साउदी अरबले तेल उत्पादन नै बन्द गरिसकेको छ। बहराइनमा ६० प्रतिशत सिया मुसलमानहरूले विद्रोह प्रारम्भ गरेका छन्। संयुक्त अरब इमिरेट्स र बहराइनमा भीषण आक्रमणको तयारी इरानले गरिरहेको छ। संयुक्त राज्य अमेरिकाले जुन जुन देशमा युद्धका लागि प्रोत्साहित गरेको छ र सहयोग गरेको छ, ती देशको अवस्था नाजुक बनेको छ। भियतनाम र अफगानिस्तान यसका उदाहरण हुन्। युक्रेनलाई पनि रुसले ध्वस्त बनाई पराजित गर्ने सम्भावना देखिँदैछ। नेटो देशहरूले सहयोगको लागि हात बढाउँदै गर्दा युक्रेनबाट ट्रम्पले प्राय: आफ्नो भूमिका कम गर्दै लगेको छ। यसबाट इजरायलले पनि पाठ सिक्नुपर्छ। तर उसको बाध्यता छ। इजरायल र इरान बीचको तिक्तता नामेट हुन अत्यन्त कठिन छ।
जहाँसम्म नेपालको प्रश्न छ–महँगीको मार देशले भोग्नुपर्छ नै। नेपाल र भारत बीचको आपूर्ति संस्थागत भएकै कारण हामीले भारतको सौहाद्रता प्राप्त गरेको अवस्थासम्म आपूर्तिले निरन्तरता प्राप्त गर्छ। यसका लागि एसियन जायन्ट्ससँग अत्यन्त राम्रो र सन्तुलित सम्बन्ध राख्नु अत्यावश्यक छ। अबको परराष्ट्र नीति नेपालले निरपेक्ष रूपमा असंलग्न अवलम्बन गरेर पुग्दैन। रणनीतिक परराष्ट्र नीतिका आधारमा अघि बढ्नुपर्छ। तर नेपालमा कुनै पनि समय संकट आउन सक्छ। छिमेकीहरूका विरुद्ध आतंकवादी गतिविधि निषेध गर्नुपर्छ। एक चीन नीतिको समर्थक राष्ट्र नेपाल हुनु जरुरी छ।
अन्य राष्ट्रहरूसँग पनि मित्रवत् सम्बन्ध कायम हुनुपर्छ। अन्तर्राष्ट्रिय राजनीतिक गतिशीलताको अध्ययन विस्तृत रूपमा गरी हाम्रो कूटनीतिलाई सफल बनाउन जरुरी हुन्छ। अन्यथा छिमेकी तथा मित्रराष्ट्रहरूले खुला हृदयले हामीलाई सहयोग गर्ने छैनन्। सरकारको ध्यान जानु अत्यावश्यक छ। दुई हप्ताको युद्धविराम घोषणा भएसँगै इजरायलले लेबनानमा आक्रमण गरेको छ। यसको विरोध स्वरूप इरानले जल डम्बर नाकामा थप कडाइ गरिरहेको छ। यी यस्ता घटनाहरू हुन्, जसले शान्ति कायम गर्नको लागि अवरोध पुर्याइराखेका छन्। दीर्घकालीन शान्तिको सन्दर्भ संकटमा छ। विश्व शान्तिको कामना गर्ने एक मात्र विकल्प हामीजस्ता कमजोर मुलुकको भागमा पर्छ।
(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
