पितृत्व र प्रसूति स्याहार बिदा: पुरुषको 'मान्छे' बन्ने प्रक्रिया

बच्चा पेटमा आएपछि वा जन्मिएपछि “तिमीले कमाउने जति मै दिन्छु, जागिर छोडेर बस” भन्ने श्रीमान् पनि छन्। तर एक अध्ययनअनुसार घरमै बस्ने आमाहरूको तुलनामा काम गर्ने आमाले बच्चा राम्रोसँग हुर्काउन सक्छन्।

रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वाएँ 

सुत्केरीको नाम गरी टाउको मैले खाएँ 

ए हैन मैले ढाँटेको 

सत्य सत्य धरोधर्म झुटो कुरो छैन गरेको 

कुखुरी काँ, कुखुरी काँ 

गीतकार गणेश रसिकको “कुखुरी काँ” (२०२९) बोलको गीतले गायक द्वय गणेश र हिरण्य भोजपुरेलाई परिचित बनायो। तत्कालीन महिला सचिव (नेपालको तेस्रो महिला सचिव) उर्मिला श्रेष्ठले गीतबारे भनेकी छिन्, “सुरुमा यो हाँस्यव्यङ्ग्य लागे पनि गीतले नेपालको सामाजिक, आर्थिक र धार्मिक सन्दर्भ—विशेष गरी सुत्केरी महिलाको स्याहार र ‘अर्ग्यानिक’ आहारबारे बोलेको रहेछ।” 

स्वयं गीतकार गणेशले 'पलेटी' कार्यक्रममा भनेका थिए, “त्यति बेला मेरो विवाह भएको थिएन, व्यवहारिकता नबुझ्ने उमेर थियो। किराँतको घरमा जन्मसंस्कारमा रातो भाले काट्ने चलन देखेर मैले गीत कोरेँ र गाइयो।”

उनले यो गीतलाई 'अन्कन्सस माइन्ड'बाट लेखिएको बताए पनि यसमा गहिरो सामाजिक–सांस्कृतिक मर्म र मूल्य लुकेको छ। बहुचर्चित लोकप्रिय गीतले समग्रमा सुत्केरीको स्याहार रेखदेख र आवश्यक हेरविचारको पक्षलाई बलियोसँग उठान गरेको छ।

शिशुलाई ९ महिनासम्म गर्भमा राख्ने र सुरक्षित रूपमा जन्म दिने कठिनतम अवस्था आमा मात्र भोग्छिन्। यो जिम्मेवारी अरू कसैले चाहेर पनि सापट लिन सक्दैन। तर, जन्मपश्चात् आउने अनुभव, चुनौती र अप्ठ्याराहरू भने सबैले साझा गर्न सक्छन्। विशेष गरी अभिभावकीय कर्तव्य र व्यवहार सुत्केरी आमा र नवजात शिशुको बाबु दुवैको समान भागमा पर्छ। 

मातृत्व (मदरहुड) को व्यापक चर्चा भए पनि पितृत्व (फादरहुड) या त गुमनाम छ, या त पिता र पुरुष हुनुको परम्परागत सामाजिक भूमिकामै कैद छ। शताव्दियौंदेखि स्पष्ट रूपमा परिभाषित सामाजिक लैङ्गिक भूमिकाअनुसार—जसरी भए पनि उपलब्ध गराउने (प्रोभाइड), पालनपोषण गर्ने (नर्चर), बाटो देखाउने/मार्गदर्शन गर्ने (गाइड)—मा मात्र सीमित गरिएको पितृत्वलाई सन्तानको स्याहारमा सक्रिय रूपमा खट्ने जिम्मेवार बनाउनु अत्यावश्यक छ। समाजको नजरमा ‘सुसेधन्दा’ कहलिएको आमाले प्रवाह गरिरहेको मातृत्वका व्यवहारहरू, बाबुहरूले पनि बरोबर वहन गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी हो। 

विभिन्न राज्यहरूले शिशु वा बालबालिकाको रेखदेखमा पिताको जिम्मेवारी महसुस गर्दै, पिता र सन्तानले सँगै समय बिताउन सकुन् भन्ने उद्देश्यले विभिन्न नीतिहरू निर्माण गरेका छन्। त्यसमध्ये प्रसूति स्याहार बिदा एक महत्त्वपूर्ण व्यवस्था हो। नेपालमा समेत सरकारले प्रसूति स्याहार बिदाको प्रावधान गरेको छ। श्रम ऐन, २०७४ को दफा ४५(७) बमोजिम, कुनै पुरुष श्रमिककी श्रीमती सुत्केरी भएमा निजले पारिश्रमिकसहितको १५ दिनको प्रसूति स्याहार बिदा पाउने व्यवस्था छ। प्रश्न उठ्छ—१५ दिनको यो अवधि कसरी सदुपयोग भएको छ? यस्तो बिदा दिनुको औचित्य के हो? वास्तवमै १५ दिन पर्याप्त छ? सुत्केरी अवस्थामा रहेका आमाहरूलाई श्रीमानले पाएको यो बिदा कत्तिको सहयोगी वा लाभदायक भएको छ? पितृत्वका थप नयाँ जिम्मेवारी के हुन्? प्रस्तुत आलेख यिनै प्रश्नहरूमा केन्द्रित छ।

पन्ध्र दिने प्रसूति स्याहार बिदा अपर्याप्त
पङ्कीकारद्वारा सरकारी सेवा (निजामती, शिक्षक, सेना, प्रहरी) सँगै गैरसरकारी क्षेत्रमा कार्यरत पुरुष कर्मचारीका चार दम्पतीसँग गरिएको कुराकानीमा, तीमध्ये तीन पुरुषले सरकारले व्यवस्था गरेको १५ दिनको प्रसूति स्याहार बिदा पर्याप्त नभएको धारणा व्यक्त गरेका छन्। 

गैरसरकारी क्षेत्रमा कार्यरत एक पुरुषको अनुभवअनुसार, १५ दिनको बिदाभित्र शिशुको स्याहार, आमाको स्वास्थ्य र मानसिक अवस्था सबैलाई सम्हाल्नु निकै कठिन हुन्छ। उनको भनाइमा बुबाको भूमिकामा बच्चा फकाउने, खाना खुवाउने, कपडा धुनेदेखि श्रीमतीलाई मानसिक भरोसा दिने जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर १५ दिन सकिएपछि या त बेतलबी बिदा लिनुपर्ने बाध्यता आउँछ या त दिनभरि सुत्केरी र बच्चालाई एक्लै छोडेर काममा खटिनुपर्छ। 

निजामती (वायु सेवा) तर्फ कार्यरत अर्का पुरुषलाई समेत, १५ दिनको प्रसूति स्याहार बिदा अपर्याप्त लाग्यो। शल्यक्रिया गरेर सन्तान जन्माएकी श्रीमतीलाई विशेष सहयोग आवश्यक भएकाले उनले थप एक साता बिदा लिएका थिए। राति बच्चा उठ्दा, आमाले स्वास्थ्यका कारण सम्हाल्न नसक्दा उनले ससाना कामहरूको जिम्मेवारी बोकेको सुनाए। उनकी श्रीमती थप्छिन् , “हस्पिटलबाट घर फर्केपछि म दुई–तीन दिनसम्म बिना कारण रोइरहन्थे। त्यो बेला श्रीमानले ‘म छु नि’ भन्ने अनुभूति निरन्तर दिलाइरहनुभयो। म के गर्दा खुसी हुन्छु भनेर निरन्तर लागिरहनुभयो। राति उठेर पनि ज्वानो, मटन सुप बनाएर खुवाउने, प्याड चेन्ज गरिदिने, नुहाइदिनेजस्ता सहयोग गर्नुभयो।”

त्रिवि (केन्द्रीय लैङ्गिक अध्ययन विभाग) मा अध्ययनरत निशा खत्रीले छोरी जन्माएर पहिलो पटक आमा बनेको अनुभव सुनाउँदै बताइन् कि उनका सैनिक श्रीमानले १५ दिनको बिदा छोटो भएको अनुभव गरेका थिए। उनले भनिन्, “सहसेनानी मेरो श्रीमानले फौजी नियमका कारण अतिरिक्त छुट्टी पाउनुभएन। तर पाएको छुट्टीको समयमै उहाँले मलाई र बच्चालाई तेल लगाइदिनेदेखि पुरै स्याहार गर्नुभयो। हाम्रो खानपानमा के–के ध्यान दिनुपर्छ भन्ने कुरा उहाँले युट्युबमा बुझेर व्यवहारमा देखाउनुभयो।” 

यसैगरी, बाली संरक्षक अधिकृत सुजित शर्मा (बागलुङ) ले पनि १५ दिन पर्याप्त नभएको अनुभव गरे। कार्यालय टाढा भएको कारण उनले बिदा थपेर ३६ दिनसम्म श्रीमती र बच्चासँग बस्दै सहयोग र स्याहार गरेका थिए। सुजितले भने, “श्रीमतीको सिजेरियन सेक्सन (सीसेक्सन) भएकोले 'सुत्केरी नछुनू' भन्ने नियम बेवास्ता गरेँ। नर्सहरूको सहयोगबाहेक बच्चा नुहाइदिने, लुगा धोइदिने सबै जिम्मेवारी मैले बोकेँ। दिशा पिसाबका लुगा धुँदा आफ्नो बच्चा भनेपछि माया लाग्छ, घिन हुँदैन। बाबुको रूपमा बच्चा प्रतिको भूमिका अझ बढी हुन्छ।”

पोस्टपार्टम डिप्रेसनबारे स्वअध्ययनबाट जानकार उनले श्रीमतीमा यही देखिँदा सजग भूमिका निभाए। वाणिज्य बैँकमा कार्यरत सुजितकि श्रीमती शोभा आचार्य श्रीमानका कुरामा सहमत हुँदै आफ्ना अनुभव व्यक्त गरिन्, “छोरी जन्माउँदा निमोनिया भयो, तर उहाँले अपेक्षा भन्दा धेरै सघाउनुभयो। उहाँ नभएको भए म छिट्टै निको हुने थिइनँ, पोस्टपार्टम डिप्रेसनमा पर्न सक्थेँ। छोरो जन्माएपछि उहाँ छुट्टीमा घर आउँदा तेल लगाइदिने, प्याड फेर्ने, बाथरूमसम्म लगिदिने सबै गर्नु भयो। मलाई सासू र आमाजूभन्दा उहाँसँग धेरै सहज महसुस भयो।” 

सुत्केरी र बच्चाको हेरविचार वा रेखदेखमा भरपुर पोषणयुक्त खाना खुवाउने, बच्चा र आमाको शरीर लुगा सरसफाइमा सहयोग गर्ने, रगत बगिरहने भएकाले प्याड फेर्न सहयोग गर्ने, दह्रो गरी टेक्न नसक्ने भएकाले चर्पी र बाथरूमसम्म लगिदिने, सुत्दा–उठ्दा सहारा दिने (विशेष गरी सिजेरियन र शल्यक्रियापछि), बच्चा जन्माएका महिलाहरू विविध सोच र परिस्थितिका कारण पोस्टपार्टम डिप्रेसनबाट गुज्रने अधिक सम्भावना भएकाले लक्षण चिनेर “म छु नि” भन्ने आश्वासन र मानसिक साथ, हौसला दिने, औषधी लगाइदिने (जस्तै: पाठेघरमा औषधि राखिदिने), घरमा छोइछिटो नगरीकन/नएक्लाईकन सहज तरिकाले प्रस्तुत हुने वातावरण बनाउनेजस्ता कार्यहरू पर्छन्। 

साथमा बच्चा रातबिरात रुने, बच्चाले दिशा पिसाब गरेका (डाइपर र लुगा) फेर्नेजस्ता क्रियाकलाप एक्लै गर्नुपर्दा आमाहरूमा थकान बढेर झिँजिने, निद्रा नपुगेर चिडचिडाहट हुने हुन्छ। यस अवस्थामा मध्यरातमा उठेर बच्चा फकाउने, मनाउने सुत्केरी आमालाई पूरा निद्रा निदाउन सघाउने, निमोनिया वा कुनै बिमार भएकी आमाले बच्चालाई दूध चुसाउन नसक्दा वा स्तनबाट पर्याप्त दूध नआउँदा, बच्चालाई तातो चिसो दूध मिलाएर खुवाउने, स्याहार गर्ने, काखमा समाएर बस्ने, आत्मीयता (इमोसनल एट्याचमेन्ट) वृद्धि गर्ने, बच्चाको स्वास्थ्य र आवश्यकता बुझ्ने काम उसको आमाको मात्र नठान्ने लगायत यी सबै कामहरू श्रीमान् र बुबाले समेत बराबर सघाउनुपर्ने देखिन्छ। पहिलो पटक सन्तान जन्माउँदा आमाबुबा दुवै अनुभवहीन हुने हुँदा दुवै मिलेर गर्नु झन् महत्त्वपूर्ण छ। 

यस प्रकारको शारीरिक, मानसिक र भावनात्मक सहयोग र शिशु स्याहारमा पुरुषहरू अग्रसर देखिएका छन्। अध्ययनमा सहभागी दम्पतीहरूले भावनात्मक आत्मीयता र मानसिक स्वास्थ्यमा बुबा र श्रीमानको संलग्नतालाई महत्त्वपूर्ण ठहर्‍याए। सुत्केरी महिलाहरूले श्रीमानले पाएको १५ दिने बिदा अपुग भएको महसुस गरेको देखियो। यद्यपि, सासू वा घरका अन्य महिला सदस्यले सहयोग गरेका भए पनि, श्रीमानको साथ र सहयोग पाउँदा महिलाहरूले आफूलाई ढुक्क र सहज महसुस गर्दा रहेछन्। एक महिलाले त डेरामा सघाउने श्रीमानले घरमा आफ्नी आमासामु केही नगरेकोमा दिक्क भएको अनुभव पनि सुनाइन्। पुरुषले किन यसो गर्छन् भन्ने विषय बेग्लै बहसको विषय हो। 

मनोचिकित्सक फ्रैंक पिटम्यानका अनुसार, “बुवा बन्न डराउने पुरुषहरूले बुझ्दैनन् कि पितृत्व (फादरहुड) भनेको सिद्धहस्त पुरुषले गर्ने काम होइन, बरु पितृत्व नै मानिसलाई सिद्धहस्त बनाउने प्रक्रिया हो। बच्चा पालन–पोषणको अन्तिम नतिजा बच्चा मात्र होइन, अभिभावक आफैँ पनि हुन्।” यस भनाइबाट पनि स्पष्ट हुन्छ कि बच्चा स्याहारसुसार गर्ने तौरतरिका मात्र होइन, यसको महत्वसमेत गहिरो छ। किनकि, यस प्रक्रियाले अभिभावकलाई परिपक्व, जिम्मेवार र संवेदनशील बनाउँदै लैजान्छ। 

प्रसूति कक्ष (म्याटर्निटी वार्ड) मा प्रसव पीडामा रहेकी महिलाका श्रीमान् नजिक गएका बेला "लोग्ने मान्छेहरू आउने र हेर्ने ठाउँ होइन यो। बाहिर जाऊ", भन्दै कुरुवा महिला बोलेको सम्झना पङ्तिकारसित छ। यी पारिवारिक तर नजरअन्दाज गरिएका व्यवहारहरूले पुरुषलाई महत्त्वपूर्ण हेरचाहको भूमिकाबाट पर राख्छन् र बारम्बार “तिमीहरू त पुरुष हो, खुवाउने स्याहारसुसार गर्ने सुसेधन्दामा अल्झिएर बस्नु हुँदैन” भन्ने अनुभूति दिलैदेखि उमार्न सघाउ पुर्‍याउँछन्। 

कतिपय आमा–हजुरआमाहरू पचास–साठी वर्ष नाघेपछि हाडजोर्नी लगायतका शारीरिक समस्या बढेको गुनासो पोख्छन्। उनीहरूको भनाइमा, यसको मूल कारण सुत्केरी बेलामा पर्याप्त पोसिलो खाना, आवश्यक स्याहार र आराम नपाउनु हो। उनीहरूबाट अक्सर “हिजो सन्तान जन्माउँदा सासू वा घरकाले भरपेट खान पनि दिएनन्” भन्ने सुनिन्छ। पङ्क्तिकारलाई आफ्नै आमाले भनेको कुरा अझै ताजा छ– “टन्न घिउ भात र मासुको झोल खान मन लाग्थ्यो, तर छोरी पाई भनेर होला घरकाले दिए पो।” 

तर अध्ययनमा देखिएका दम्पतीका अभ्यासहरूले पछिल्लो समयमा पुरुषहरू पतिका रूपमा, पिताका रूपमा श्रीमती र सन्तानप्रति भावनात्मक रूपमा नजिक हुँदै स्पष्ट देखिने गरी प्रेम र सहयोग गर्न सक्रिय भएको प्रस्ट देखाउँछ। 

अमेरिकी कर्मचारी हार्वर्ड डब्ल्यु। हन्टरले भनेका छन्– “बुबाले आफ्ना छोराछोरीका लागि गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको आमालाई माया गर्नु हो।” 

उनले भनेका 'आमालाई माया गर्नु'भित्र नगण्य कुराहरू—स्नेही, प्रेमील र सहयात्रामूलक व्यवहारहरू—समावेश हुन्छन्। तर यस्तै समाजमा केही पति वा पितारूपी पुरुषहरू छन्, जसले श्रीमतीको विशेष कष्टप्रद परिस्थितिमा साथ दिनुको सट्टा निर्ममतापूर्वक व्यवहार गरेका छन्। केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ। 

सन्तान जन्माउनु सजाय साबित
रुपन्देही खबरकी प्रबन्धक तथा कार्यकारी सम्पादक उर्मिला यादवले प्रहरीसमेत रहेका श्रीमानसँग मनमुटावबीच गर्भवती हुँदादेखि सन्तान जन्माउँदा सम्मको तिक्त भोगाइलाई व्यक्त गर्दै भन्छिन्, “घरमै पनि राम्रो सुत्केरी स्याहार भएन। प्रहरीले सुत्केरी भत्ता भनेर दिने १२ हजार र बिदा लिन मलाई तु का तु सिडिओ कार्यालय लगेका थिए। नत्र अगाडि त अंश दिनुपर्छ भनेर बिहे दर्ता र मेरो नागरिकतासमेत बनाउन मानेका थिएनन्। त्यस बेला मैले राम्रोसँग पानीसमेत खान पाइनँ। दूध पनि कम आउँथ्यो। सुत्केरी बिदामा एक महिना श्रीमान् घरमै भए पनि मसँग एक शब्द पनि बोलेनन्। त्यस बेला उनी खासमा त्यही १२ हजारको लोभमा मात्र सँगै बसेका रहेछन्।” (उकेरा) 

यसैगरी शोभा दुलालले आफ्नो ‘धूमिल स्मृति’ नामक संस्मरणमा लेख्छिन्, “ओहो! महिलाले बच्चा जन्माउनु भनेको त ठूलै सजाय पो रहेछ त।” उनका यी अनुभूति पछाडि उनका शब्दमा “कम्युनिस्ट” श्रीमानले गर्भावस्थामा अस्पताल जाँच गर्न कहिल्यै साथ नजानु, शोभा सधैँ एक्लै जान पर्नु, लुगा धुने वा नुहाउने बेला “बाबु हेर्नु” भन्दा पनि “काम छ” भन्दै बाहिर निस्कनु, वास्तविक काम नभए पनि किताब बोकेर “टीयूको जंगलमा पढ्न जान्छु” भन्दै टार्नु, बच्चा गम्भीर बिरामी भएर अस्पताल लैजान आग्रह गर्दा पनि “भोली लैजाउँला” भन्दै बेवास्ता गर्नु, बच्चाको खोप लगाउन जाँदा वा बच्चा बिरामी हुँदा पनि “भ्याउँदिन” भनेर साथ नदिनु, बच्चा जन्मिएको बिहानै सुत्केरी श्रीमती एक्लै छोडेर पार्टी बैठकमा जानु, खाटको खुट्टामा बच्चालाई बाँधेर दिशा पिसाबका लुगा धुन बाध्य पार्नुजस्ता असहयोग र गैरजिम्मेवारी व्यक्त भएका छन्।

त्यसैले शोभा आफूलाई दुखाइरहने यो व्यवहारलाई पीडा मिश्रित शब्दमा बगाउँछिन्, क्रान्तिकारी, प्रगतिशील, कम्युनिस्ट भनिनेहरूले समेत आफ्ना जीवनसाथीलाई दुःखका बेला, अप्ठ्यारो बेलामा खालि अरूका भरमा मात्र पूरै छोडेर आफू ढुक्कले काममा लागिरहने कस्तो खालको क्रान्तिकारिता हो? यसरी असहज र संवेदनशील समयमा, सुत्केरी आमा र नवजात शिशुको सन्दर्भमा संवेदनाहीन रूपमा प्रस्तुत भएका बाहरूले आफ्नो कर्तव्य र जिम्मेवारीबाट च्युत भएको प्रमाणित गर्छन्।

‘बा’ हुन साहस र प्रण चाहिन्छ
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको भनाई भन्दै इन्टरनेट र सञ्जालमा केही शब्द भेटिन्छन्, "इट्स द करेज टु रेज अ चाइल्ड द्याट मेक्स यू अ फादर", अर्थात्, “बच्चा हुर्काउने साहसले मात्र वास्तविक अर्थमा तिमीलाई बाबु बनाउँछ।” यो साहसलाई यसरी अर्थ्याउन सकिन्छ: शिशुलाई पूर्ण मानव बनाउने जिम्मेवारी उठाउने साहस; आधारभूत मानवीय आवश्यकतामा परिपूर्ति गर्न तत्पर हुने साहस; जस्तोसुकै कठिन वा अप्ठेरा परिस्थितिमा पनि सन्तानमा “मेरो अभिभावक छ” भन्ने अनुभूति दिन सक्ने साहस र सन्तानमा भावनात्मक वा अन्य कुनै प्रकारको अभाव महसुस हुन नदिन कसरत गर्ने साहस। मूलतः आफ्ना व्यक्तिगत रुचि, आकांक्षा, सपना र लक्ष्यहरूलाई स्थायी वा अस्थायी रूपमा बिर्सने वा बलिदानी दिने क्षमता हो बाबुआमा बन्ने साहस। 

बाराकलाई पुनः उद्धृत गरी हेरौँ: 
"मैले के सिकेको छु भने हाम्रा सन्तति—सबै सन्ततिहरू—का लागि अहिलेको भन्दा राम्रो संसार विरासतको रूपमा छाड्न आफ्नो सानो योगदान गर्न तयार नहुने हो भने जिन्दगी खासै अर्थपूर्ण हुँदैन। कुनै पनि मूर्खले बच्चा जन्माउन सक्छ। तर त्यत्तिले कसैलाई बाबु बनाउँदैन।" 

यस भनाइबाट पनि पिताको भूमिका र जिम्मेवारीको असंख्य आयाम अनुमान गर्न सकिन्छ। फेरि फर्कौँ–सुत्केरी श्रीमती र शिशुको स्याहारको नाममा लिइएको बिदालाई श्रीमान् वा बाबुहरूले कसरी सदुपयोग गर्छन् भन्ने विषयतर्फ।

प्राध्यापक बिन्दु पोखरेलको विचार उल्लेखित पात्रहरूभन्दा फरक छ। बिन्दु भन्छिन्, "हाम्रोमा त सुत्केरी बिदासमेत पुरुषहरू घुमेर बिताउँछन्। पेटमा बोक्न नसके पनि जिम्मेवारी लिन जरुरी छ। श्रीमती गर्भवती छ भनेर बाहिर यौन सन्तुष्टि लिने समाजलाई परिवर्तन गर्न जरुरी छ।" (उकेराडटकम)

यो भनाइ हरेक विवाहित पुरुषमा, विशेष गरी जसका श्रीमती गर्भवती छन्, अनिवार्य रूपमा लागू नहुन सक्छ। तर “सुत्केरीलाई छुनु हुँदैन” वा “प्रसव कक्षमा श्रीमान् बस्नु हुँदैन” भन्ने सोच बढी भएको यो समाजमा प्रसव कक्षमा श्रीमानलाई अनिवार्य उपस्थित गराउने नियम भएमा, यसले बाबुलाई पनि आफ्नो सन्तानप्रति जिम्मेवारी र आत्मीयता महसुस गराउन गहिरो प्रभाव पार्न सक्छ। 

पहिलो सन्तानको रूपमा छोरी जन्मिएपछि गायक प्रकाश सपुतले श्रीमती बिन्दु बोहरालाई बधाई दिँदै, छोरी च्यापेको तस्बिर सहित फेसबुकमा लेखे, “फाइनल्ली, सृष्टिको सुन्दर नियम पनि पुरा गरियो। हत्केलामा मृत्यु च्यापेर भयानक पीडा सहेर प्रिय बिन्दुले हाम्रो सन्तान (छोरी)लाई जन्म दिएकी छन्। बधाई छ बिन्दु! तिमीले पिडालाई जितेर आमा भयौ।” अनि उनले बुबा बनेको क्षणमा एक प्रण गरे, “आज एउटा असल बुबा बन्छु भन्ने प्रण गर्न मन लागेको छ।” 

असल बुबा बन्न गरिने प्रयासहरू सधैँ जटिल हुँदैनन्, तर ती प्रयासहरू बच्चाको सर्वाङ्गिण विकासको आधार तयार गर्न अपरिहार्य हुन्छन्। विशेष परिस्थितिबाहेक, बच्चालाई स्तनपान गराउन बाहेक बच्चाको हेरचाह, स्वास्थ्य रेखदेख, खानपानमा ध्यान दिनु र दुधे बच्चासँग सम्बन्धित आमाको आहारमा ख्याल राख्नु—यी सबै कुरा एउटा असल बुबाले गर्न सक्ने जिम्मेवारी हुन्। यस्ता कार्यहरू आमाको मात्र जिम्मेवारी होइनन्।

पितृसत्तात्मक संरचनामा बा अर्थात् पुरुष पात्रहरूको भूमिका प्रायः संरक्षणकर्ता र पालनकर्ताका रूपमा तोकिएको हुँदा, उनीहरू आफ्ना सन्तानसँग चाहेर पनि आमा जत्तिकै नजिक हुन पाउँदैनन् भन्ने कुरा गलत होइन। हुरिवतास, घाम–पानी र जस्तासुकै अवस्थामा परिवारको ओत लाग्ने छानो बन्नुपर्छ भनेर भूमिकाको सीमा बाँधिएका बाहरूबारे “बाले माया देखाउन जान्दैनन्, गर्छन् मात्रै” भन्ने भाष्य निर्माण गरिएको छ। तर सन्तानलाई भावनात्मक माया दिँदा मात्र काम चल्दैन, हुर्किँदो सन्तानका लागि बाको भावनात्मक स्नेह र व्यवहारिक स्याहार–हेरचाहरूपी प्रेम पनि उत्तिकै जरुरी हुन्छ। यसले “बा हेर्दा मात्र कडा हुन्, मनका कोमल छन्” भन्ने धारणा तोड्न सक्छ र आजसम्म 'अनुपस्थित दाता' (एब्सेन्स प्रोभाइडर) का रूपमा रहेका बाहरूलाई आमा हाराहारीका हेरचाहकर्ता पनि हुन सक्ने सन्देश दिन्छ। 

सन्तान स्याहारमा बाबुहरूको सक्रिय उपस्थितिले घरमा रहेका सीपक्षमतायुक्त आमाहरूलाई सार्वजनिक क्षेत्र वा रोजगारीमा उपस्थित हुन मौका दिने मात्रै होइन कि यसले परम्परागत सामाजिक–लैङ्गिक भूमिकाहरूमा पूर्ण परिवर्तनको रेखा कोर्न पनि टेवा पुग्छ। त्यसैले हरेक बाले सन्तानलाई निश्चित उमेरसम्म स्तनपान गराउने जैविक जिम्मेवारी आमाको हो भने पनि त्यस अतिरिक्त सन्तान हुर्काउने हरेक दैनिक व्यवहारिक क्रियाकलापमा आफूले पनि अहम् भूमिका खेल्न सकिने बोध गर्न आवश्यक छ। 

हजारौँ वर्षको पितृसत्ता तोड्दै केही ‘बा’
सन्तान जन्मिएर कक्षा दशसम्म पुगिन्जेल परम्परागत बाबुभन्दा फरक भूमिका निर्वाह गरिरहेका नागरिक अभियन्ता वसन्त रञ्जितकारको अनुभव आम पुरुषका लागि अनुकरणीय छ। ‘आर्टिभिज्म’मा सक्रिय अस्मिना रञ्जितका जीवनसाथी वसन्तलाई महिलाले गर्नुपर्ने भनिएका कामहरू गरेर मिडियामा बताउनुलाई “एक हिसाबले जनजागरणका लागि प्रचार जस्तो लाग्छ, अर्को हिसाबले मैले व्यक्तिगत रूपमा गर्नै पर्ने जिम्मेवारी हो" भन्ने लाग्छ। 

एक सन्तानका बुबा वसन्त भन्छन्, "दूध पिलाउने र कोखमा राख्नेबाहेक सबै गर्नै पर्छ। मैले बाबुको आमा बाहिर हुँदा राति उठेर दूध बनाई पिलाउनेदेखि सबै काम गरेँ। डाइपरको समय भए पनि मैले पुरानो साडीबाट प्याड बनाएर त्यसमा दिसा गरी धोइ पखाली गरेर घाममा सुकाएर पुनः प्रयोग गर्थेँ। बच्चाको बा होस् वा आमा, यो त श्वासप्रश्वासजस्तै गर्नै पर्ने काम हो। तर सन्तानको हेरचाहमा अधिकांश समय खर्च गर्ने बाबुले सामाजिक र पारिवारिक असामान्य प्रतिक्रियाहरू पचाउनुपर्दो रहेछ। छरछिमेक र परिवारका अरू सदस्यले के भन्लान् भन्दा पनि त्यस्ता कुरा सहने वा नजरअन्दाज गर्ने क्षमता चाहिन्छ, जुन एकै चोटि सजिलै सम्भव छैन। जोईटिङ्ग्रे भनिन्छ भने पचाउन सक्ने क्षमता चाहिन्छ र त्यो म आजसम्म गरिरहेको छु। सार्वजनिक ठाउँमा तपाईँ आजकाल के काममा व्यस्त हुनुहुन्छ भन्ने कुरा सबैको अगाडि नर्भस नभईकन म हाउसह्यान्ड भएर व्यस्त छु भन्छु गर्वसाथ। यसो गर्न हजारौँ वर्षको पितृसत्ताले रोक्दो रहेछ।" 

अवश्य पनि पितृसत्ताले महिला र पुरुष अर्थात् बा र आमाको निश्चित भूमिका तोकेको छ। तर त्यसलाई नजरअन्दाज गरी आफ्नो सहजता, रुचि र आवश्यकताअनुसार भूमिका र व्यवहार प्रदर्शन गर्न खोज्ने पात्रले विभिन्न उपनामहरूले डामिनुपर्छ।

महिला सदस्यले समाजमा प्रतिष्ठा बनाउने, घरका लागि नगद आम्दानी गर्ने काम गरेमा र उक्त महिलाको पारम्परिक घरेलु भूमिका पुरुषले निर्वाह गरेमा उसलाई विभिन्न अपमानजनक नामहरूले डसिन्छ—जस्तै नामर्द, भाँडा माझेर बच्चाका थाङ्ना धोएर बस्ने हुतीहारा, जोइटिङ्ग्रे, स्त्रीसुलभ चरित्र (एफेमिनेट) वाला, सिस्सी, वा केटी र आइमाईजस्तो! यस्ता लेबल पितृसत्तात्मक सन्दर्भमा प्रयोग हुन्छन्, जसले परम्परागत मर्दाना मानदण्ड नझल्काउने पुरुषलाई कमजोर बनाउन लक्षित हुन्छ। यसले काँडारूपी बोली र व्यवहार सामना गर्न धैर्यता, सहनशीलता (स्ट्रोइसिज्म), भावनात्मक संयम र तागतजस्ता विशेषताहरूको माग पनि गर्छ।

यी विशेषताहरूले पुरातन लैङ्गिक नियम तोडेर परम्परागत पुरुषत्वका आधार भत्काउने र नयाँ लैङ्गिक अभ्यास स्थापित गर्ने यात्रातर्फ डोहोर्‍याउँछ। सुधारिएको व्यवहार र परिवर्तित चेतनाले बा र आमा हुनुको पुरानो स्टिरियोटाइपलाई चुनौती दिने मात्र होइन, पुरुष वा महिलाद्वारा गरिएका कुनै पनि भूमिकालाई सामान्यीकरण गर्न सक्ने नवजमात तयार गर्छ। 

तर सुरुवात प्रसूति स्याहार बिदाको सही सदुपयोगबाट हुनुपर्छ। हाल पनि कतिपय निजी क्षेत्रमा संलग्न पुरुषहरूले प्रसूति स्याहार बिदा पाउँदैनन्। यस्तो अवस्थामा, ती रोजगारदाताले बुबाहरूलाई समयअनुसार लचिलो वातावरण प्रदान गरी सघाउन सक्छन्। 

बच्चा जन्मिँदै हुर्किन्जेलसम्म बाहरू दैनिक संघर्ष गर्छन्, तर त्यो प्रायः घरबाहिर सीमित रहन्छ। सार्वजनिक बिदा, पर्व वा साँझ–बिहान फुर्सद नपाइने अवस्थामा बच्चाको हेरचाहको बोझ आमामाथि नै पर्छ। यसर्थ, बुबा ती पनि हुन् जसले आफूले माया गर्नेहरूको बोझ कम गर्छन्। 

प्रसूति स्याहार बिदा: पोस्टपार्टम डिप्रेसन रोक्न सहयोगी र ओखती
कतिपय आमाहरूलाई बच्चासँग घरमै बस्नुपर्ने हुँदा निरसता बढ्छ र सार्वजनिक क्षेत्रमा रोजगारी वा अन्य काममा जान नपाउँदा उनीहरूको सार्वजनिक जीवन न्यून र कटौती/गुमनाम हुन्छ। यस्तो अवस्थामा आफू केवल आमा वा पत्नीमा सीमित भएको र सार्वजनिक पहिचान गुमेको अनुभवले पनि पोस्टपार्टम डिप्रेसनको जोखिम बढाउँछ। जागिरबाट टाढा रहेर एकै ठाउँ र दिन चर्यामा बस्दा आत्मविश्वास घट्ने सम्भावना पनि रहन्छ। 

बच्चा जन्माइसकेपछि आमाहरूले आफ्ना अनुभव साटेका पाइन्छन् केही अध्ययनमा। लेखकद्वय सविता आचार्य र करुणा देवकोटाले लेखमार्फत् श्रीमान् लगायत अन्यले दिने भावनात्मक साथको अभाव, मानसिक चोट दिने वचन व्यवहार अनि परिवार देखि समाजमा सुत्केरी महिलाप्रति हुने संवेदनशीलताको कमीले सुत्केरी महिलाहरू गहिरो अवसादमा पुग्ने उल्लेख गर्दै भनेका छन्, हामी आफैँले पनि गर्भवती र सुत्केरी अवस्थामा त्यस्ता थुप्रै मानसिक र भावनात्मक पीडाको अनुभूति गरेका छौँ, जसको सम्झनाले मात्रै पनि मन अमिलो अनि आँखा रसिला बनाउँछ। आफूले अर्को एउटा सिर्जना यो सुन्दर संसारमा ल्याइरहँदा, आफू हुनुको अस्तित्व नै हराएको अनुभूति आमा बन्दै गरेका र भर्खर आमा बनेका अधिकांशको समान भोगाइ रहेछ” (उकालो: प्रिन्याटल र पोस्टपार्टम डिप्रेसनस् सामाजिक बुझाइ र अभ्यास) 

विमेन्स वेभ अनलाइनमा प्रकाशित मदरहुडस् वर्किङ अर जस्ट स्टे एट होम् शीर्षकको लेखमा, घरमै बस्ने आमा अम्बिका सुब्रमण्यम भन्छिन्, “यो निरन्तर संघर्ष हो। छोरा जन्मिएपछि म काममा फर्किनँ।" लेखमा उनले आमा हुँदाका बेफाइदा र निराशाजनक अनुभवका रूपमा निराशा, हैरानी, दिक्दारी र पट्यारलाग्दो दैनिकी, आत्मविश्वासमा कमी, पहिचानको अभाव (‘एक्स, वाई, जेड’की पत्नी वा एबीसीको आमा हुनु बाहेक) का साथै काम र घर दुवै व्यवस्थापन गर्ने अन्य महिलाप्रति ईर्ष्याजस्ता विषय साटेकी छिन्। 

उनको अनुभवमा आमा हुनुका फाइदाहरूमा तरल समय (फ्लेक्जिबिलिटी), परिवार र बच्चासँग बिताउने समय, कर्पोरेट जीवनको तनाव नहुनु र सन्तानको बाल्यकालका अमूल्य तस्बिर र भिडियोहरू संकलन गर्ने अवसर समावेश छन्। 

यथार्थमा यो समाजमा बच्चा पेटमा आएपछि वा जन्मिएपछि “तिमीले कमाउने जति मै दिन्छु, जागिर छोडेर बस” भन्ने श्रीमान् पनि छन्। तर अमेरिकी मनोवैज्ञानिक संघको अध्ययनअनुसार घरमै बस्ने आमाहरूको तुलनामा काम गर्ने आमाहरूले बच्चा राम्रोसँग हुर्काउन सक्छन्। अध्ययनले देखाएको छ कि काम गर्ने आमाहरूले स्वास्थ्यको लाभ उठाउँछिन्, कामकाजी आमामा डिप्रेसनका लक्षण कम देखिन्छन् र बच्चाको समग्र सिकाइ अवसरहरूमा पनि वृद्धि हुन्छ। 

यसर्थ, अबका बाबाहरूले भूमिका बाँडफाँड गरी सन्तानकी आमाको स्वास्थ्य र प्रगतिमा पनि उत्तिकै ख्याल गर्नुपर्छ। 

अन्त्यमा दैनिक शिशुसन्तान हेरचाह, आमाको स्वास्थ्य र भावनात्मक समर्थनमा सक्रिय भूमिका निर्वाह गर्न पुरुषहरूलाई दिइएको १५ दिने प्रसूति स्याहार बिदा पर्याप्त छैन। सरकारले यस अवधि पुनर्विचार गरी बुबाहरूले समेत सन्तानको प्रारम्भिक जीवनमा पर्याप्त समय र सहयोग दिन सक्ने व्यवस्था गर्नुपर्ने देखिन्छ। 

(प्रणेता नागरिक अभियानी हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)