शान्तप्रसाद: जसले पहिलो संसदीय चुनावमा मत दिए, पछि मतदान गराउन आफैँ खटिए

२०१५ सालमा पहिलो पटक मतदान गरेका शान्तप्रसाद पछिल्ला चुनावहरूमा भने निर्वाचन अधिकृतका रूपमा मतदान गराउन खटिए। प्रजातन्त्र, पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रामा उनी नेताहरूको निष्ठा र नेतृत्वमा आएको फेरबदलका साक्षी बने।

काठमाडौँ— कागेश्वरी मनोहरा नगरपालिकास्थित तेजविनायक माध्यमिक विद्यालयको गेट हुँदै बाहिर निस्किए— ८३ वर्षीय शान्तप्रसाद उपाध्याय पौडेल। निधारमा चन्दनको गोलो टीका, शिरमा टोपी, स्वेटरमाथि इस्टकोट अनि खैरो रङको ट्राउजरमा ठाँटिएका उनी बिहीबारको प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न त्यहाँ आइपुगेका थिए। मतदान सकेर विद्यालयबाट ओरालो झर्दै गर्दा उनी बाटोमा भेटिएका दौँतरीसँग एक छिन गफिए।

खोटाङको हलेसीमा जन्मिएका पौडेलले विसं. २०१५ सालको पहिलो संसदीय निर्वाचनमा जनकपुरबाट मतदान गरेका थिए। त्यतिबेला उनी आफ्ना दाइ विनोद पौडेलसँग जनकपुरस्थित ज्ञानकुप संस्कृत महाविद्यालयमा संस्कृतशास्त्र अध्ययन गरिरहेका थिए।

पहिलो निर्वाचनको चर्चा चल्दा छात्रावासका विद्यार्थी नेता टीकादत्त दाहालले उनीसहित ६०–७० विद्यार्थीको नाम मतदाताका रूपमा दर्ता गरिदिए। “हाम्रो उमेर त पुगेको थिएन तर कसोकसो मिलाइदिए,” पौडेल सम्झिन्छन्, “चुनावको चर्चा चर्को थियो। चुनाव हुन्छ रे! विश्वेश्वर प्रधानमन्त्री हुने रे! भन्दै हल्ला चलेको थियो, अहिले बालेनको चर्चा चलेको जस्तै।”

उमेर नै नपुगी पहिलो पटक निर्वाचनमा सहभागी हुँदाका अनेकौँ रोचक स्मृतिहरू उनीसँग अझै ताजा छन्। त्यतिबेला साथीभाइबीचको ठट्टामा कांग्रेसलाई ‘गोबर’ र कम्युनिस्टलाई ‘खरानी’ भन्ने उखान जस्तै सामान्य थियो। भोट हाल्ने दिन मतदान केन्द्र पुग्दा प्रहरीले उनलाई रोकेका थिए। हेर्दा उमेर नपुगेको शंका गर्दै केरकार गरेपछि विश्वविद्यालयका तिनै नेताले ‘जुँगादारी काटेर आएकाले सानो देखिएको’ भन्दै उनलाई मतदान गराएरै छाडेको उनी सम्झन्छन्।

२०१५ सालको पहिलो निर्वाचनदेखि पञ्चायतकालीन व्यवस्थासम्म आइपुग्दा उनी स्वयं निर्वाचन गराउने जिम्मेवारीमा समेत पुगे। आफूले देखेको र भोगेको राजनीतिक परिवर्तनपछि अहिलेको भोट भने उनी कर्तव्य ठानेर हाल्छन्। यसबाहेक उनीसँग कुनै ठूलो अपेक्षा छैन। पौडेल मतदानलाई ‘दान’ मान्छन्। धार्मिक मान्यतामा शुद्ध र पवित्र व्यक्तिलाई दान दिइन्छ। उनी भन्छन्, “मतको दानै दिने खालका कोही व्यक्ति छैनन्, तैपनि नराम्राभित्र कम नराम्रा लाग्नेलाई भोट दिएँ।”

null

पञ्चायतअघिका नेता र मतदाता दुवै ‘इमानदार’
जनकपुरबाट संस्कृतशास्त्र उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छँदै उनी २०२६ सालमा निजामती सेवामा प्रवेश गरे। उद्योग विभागअन्तर्गत घरेलु उद्योग अधिकृतका रूपमा सेवा शुरू गरेको दुई वर्षपछि २०२८ सालमा उनी निर्वाचन आयोगमा पुगे। सरकारी सेवाका क्रममा उनी आयोग, विभिन्न जिल्ला कार्यालयका शाखा अधिकृत, स्थानीय विकास अधिकारी (एलडीओ), प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदै श्रम मन्त्रालयअन्तर्गत श्रम विभागको उपनिर्देशकसम्म भए।

आम मतदातादेखि निर्वाचन गराउने जिम्मेवारीसम्मका अनेक किस्सा उनीसँग छन्। २०३७ सालको जनमतसंग्रहका बेला उनी सिन्धुपाल्चोकमा प्रशासकीय अधिकृत थिए। तत्कालीन जिल्ला पञ्चायत अधिकारी बिदामा रहँदा निर्वाचन अधिकृतको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो। सो क्रममा एउटा घटनाले उनको जागिर नै जोखिममा परेको थियो।

“मैले खटाएका एक इन्जिनियरले नेत्रविक्रम थापा उम्मेदवार भएको बुथमा गएर ‘यसरी भोट हाल्नुपर्छ’ भन्दै ‘रूख’ चिह्नमा छाप लगाउन सिकाएछन्, जुन आचारसंहिता विपरीत थियो। गृह मन्त्रालयमा मेरो नामसहितको रिपोर्ट पुग्यो, पछि जसोतसो कुरा मिलायौँ,” उनी सम्झिन्छन्।

मतदानको आन्तरिक व्यवस्थापन निकै जटिल र संवेदनशील हुने उनको अनुभव छ। “हेर्दा सामान्य लाग्छ, तर मतदान शुरू गर्न १० जनासहितको मुचुल्का उठाउनुपर्छ, सकिएपछि पनि त्यही गर्नुपर्छ। हामी त मुचुल्काको बेहोरासमेत कण्ठ पारेर जान्थ्यौँ,” उनले सुनाए।

उनको अर्को अविस्मरणीय सम्झना जननेता मदन भण्डारीसँगको भेट हो। २०४८ सालको निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं. १ को बुथमा खटिएका थिए, जहाँ तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र एमाले नेता मदन भण्डारी प्रतिस्पर्धी थिए। 

“मतदान शुरू गर्न बाहिर सयौँ मानिसको लाइन लागिसक्यो, तर एमालेका प्रतिनिधिले मतपत्रमा हस्ताक्षर गर्न मानिरहेका थिएनन्। धन्न त्यही बेला मदन भण्डारी आइपुग्नुभयो,” उनले भने, “मैले उहाँलाई घटनाबारे बताएपछि उहाँले आफ्ना प्रतिनिधिलाई सम्झाउनुभयो र बल्ल मतदान शुरू भयो।”

बहालवाला प्रधानमन्त्री भट्टराईलाई पराजित गर्दै भण्डारी यही क्षेत्रबाट निर्वाचित भएका थिए।  

त्यतिबेलाका नेता र जनता दुवै असल र इमानदार भएको उनको बुझाइ छ। “त्यस बेला नेता र जनता दुवै असल र इमानदार थिए। सानो–ठूलो भन्ने भेदभाव थिएन, मर्यादा थियो। मतदाता पनि इमानदार हुन्थे,” उनी भन्छन्, “अहिलेका केटाकेटी(नेता)को छाँटकाँट देख्दा त भोट दिन नआए पनि हुन्थ्यो जस्तो लाग्छ।”

null

निर्वाचन आयोगमै कार्यरत रहँदा उनी एक पटक निर्वाचन गराउन हुम्ला जानुपरेको थियो। कुन सालको निर्वाचन भन्ने यकिन याद नभए पनि चुनाव गराउन त्यहाँ पुग्दा भोग्नुपरेको कठिनाइ उनी अझै सम्झिन्छन्।

“त्यहाँ १५–२० जनाभन्दा बढी मतदाता थिएनन्, तर चुनाव त गराउनै पर्‍यो। सात दिन हिँडेर, भरियालाई सामान बोकाएर, रासनसहित हामी निस्किएका थियौँ,” उनी भन्छन्, “मलाई सो अञ्चलकै जिम्मेवारी थियो। वाकीटाकीबाट पूरै अञ्चलको कमान्ड सम्हालेको थिएँ।”

सन्तानको न्यास्रो
अहिले 'स्ट्याम्प' जस्तो आकारमा रहेको स्वस्तिक छापको सट्टा पहिले औँठीको जस्तो छाप हुने गर्थ्यो। अघिल्ला दुई निर्वाचनपछि मात्र त्यसमा परिवर्तन आएको उनले बताए। त्यसबाहेकका अधिकांश निर्वाचन सामग्रीमा आयोगले खासै परिवर्तन नगरेको उनको अनुभव छ।

पहिलो पटक जनकपुरको पिपलको बोटमुनि खसालेको मतदेखि अहिलेसम्मको समयलाई सम्झँदा उनी नयाँ वा पुराना निर्वाचनमा कुनै भिन्नता नभएको बताउँछन्। एक नागरिकका रूपमा कर्तव्य ठानेर आफूले कहिल्यै मतदान नछुटाएको उनको भनाइ छ।

जीवनको उत्तरार्द्धमा आइपुग्दा उनलाई देशको राजनीतिभन्दा पनि आफ्नो दैनिक जीवनमा सन्तानको अभावले बढी पिरोल्ने गरेको छ। “अस्ति सिरकमा खोल हाल्न खोज्दै थिएँ, सकिनँ। विदेशमा रहेका आफ्ना केटाकेटी साथमै भइदिए हुन्थ्यो जस्तो लाग्छ,” उनले भावुक हुँदै भने, “मेरा दाजुभाइको पनि उस्तै हाल छ।”