३६ वर्षदेखि सत्तामा रहेका ८६ वर्षीय खामेनीको हत्या भएसँगै अब इरानमा नेतृत्व कसको हातमा जान्छ भन्दा पनि तत्कालै अमेरिका-इजरायलसँगको युद्ध कसरी अगाडि बढाउँछ भन्ने मुख्य विषय बनेको छ।
काठमाडाैँ– अमेरिका–इजरायलको संयुक्त आक्रमणमा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भइसकेको छ। इरानी राज्य समाचार एजेन्सीहरूले खामेनीको हत्याको पुष्टि गर्दै उनलाई शहीदको रूपमा प्रशंसा गरेका छन्। साथै ४० दिनसम्म देशभर शोक घोषणा गरिएको छ।
आक्रमणमा खामेनीसहित इरानका अति शक्तिशाली व्यक्तिहरूको पनि मृत्यु भएको त्यहाँका राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी समाचार संस्था आईआरएनएले सर्वोच्च नेताका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रतिरक्षा परिषद्का सचिव अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर-इन-चिफ मोहम्मद पाकपोर मारिएको पुष्टि गरेको छ।
रोयटर्सले विश्वस्त स्रोतलाई उद्धृत गर्दै इरानी रक्षामन्त्री अमिर नासिरजादेहको पनि आक्रमणमा परेर मृत्यु भइसकेको उल्लेख गरेको छ। यस्तै, खामेनीका छोरी, ज्वाइँ र नाति पनि मारिएका समाचार आएका छन्। यीबाहेक इरानमा सयाैँ मानिसले ज्यान गुमाएका समाचार आएका छन्। एकै विद्यालयका ५० भन्दा धेरै छात्राको मृत्यु भएको छ।
३६ वर्षदेखि सत्ता चलाइरहेका ८६ वर्षीय खामेनीको निधन भएसँगै अब इरानमा नेतृत्व कसको हातमा जान्छ भन्दा पनि तत्कालै विद्रोहीसँगको कारबाही कसरी अगाडि बढाउँछ भन्ने मुख्य विषय बनेको छ। यसैबीच इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले देशले आज अन्तरिम नेतृत्व परिषद् स्थापना गर्ने बताएका छन्। यो दिवंगत अयातोल्लाह अली खामेनीको उत्तराधिकारी चयन हुनुअघि अस्थायी उपायको रूपमा आएको हो।
संविधान अन्तर्गत सर्वोच्च नेताको हत्यापछि एउटा प्रक्रिया शुरू हुन्छ, जसमा इरानी राष्ट्रपति, न्यायपालिका प्रमुख र अभिभावक परिषद्का एक धर्मगुरुले देशको नेतृत्व गर्न परिषद् गठन गर्छन्। आईआरएनए समाचार एजेन्सीका अनुसार, यही तीन सदस्यीय परिषद्ले अस्थायी रूपमा देशको सबै नेतृत्वदायी कर्तव्यहरू सम्हाल्नेछ।
खामेनीको मृत्युको पुष्टि भएलगत्तै आईआरजीसीले विज्ञप्ति जारी गर्दै अब इरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। उसले अमेरिकी अड्डा र इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने चेतावनी दिएको हो। विज्ञप्तिमा भनिएको छ, "इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाको इतिहासको सबैभन्दा खतरनाक आक्रमण केही क्षणमै कब्जा गरिएका क्षेत्रहरू र अमेरिकी आतंकवादी अड्डाहरूमाथि शुरू हुनेछ।"
इरानका राष्ट्रपति मसुद पेजिस्किएनले पनि खामेनीको हत्याको निर्मम बदला लिने बताएका छन्। "यो महान् अपराध कहिल्यै अनुत्तरित रहने छैन र इस्लामिक संसार र शिया धर्मको इतिहासमा नयाँ पाना खोल्नेछ," उनले भनेका छन्, "यस उच्च पदस्थ नेताको शुद्ध रगत गर्जनको झरना जस्तै बग्नेछ र अमेरिकी-यहुदी दमन र अपराधलाई उन्मूलन गर्नेछ।"
इरानले यदि कडा प्रतिकार गरे के अमेरिका र इजरायल चुप लाग्लान् त? अमेरिकी राष्ट्रपति ट्रम्पले यसको जवाफ दिइसकेका छन्। ट्रम्पले इरानलाई निरन्तर बदला लिने चेतावनी दिँदै सामाजिक सञ्जालमा एक पोस्टमा अमेरिकाबाट अत्यधिक बल प्रयोग गरिने बताएका छन्।
"इरानले भर्खरै भनेको छ कि उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै नगरेको भन्दा कडा," ट्रम्पले ट्रुथमा लेखेका छन्, "तिनीहरूले त्यसो नगरेकै राम्रो, किनकि यदि तिनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई यस्तो बलले प्रहार गर्नेछौं जुन पहिले कहिल्यै देखिएको थिएन।"
अहिले पनि इरानले इजरायलसहित अमेरिकी बेस क्याम्प रहेका मध्यपूर्वका भूभागलाई लक्षित हमला गरिरहेको छ। खामेनीको मृत्यु पुष्टि हुनुअघि नै कतार, यूएई, साउदी, बहराइन तथा कुवेतमा रहेका करिब २० वटा अमेरिकी बेस क्याम्पमा आक्रमण गरेको इरानी मिडियाले लेखेका थिए। खामेनीको मृत्यु पुष्टिको खबरपछि दोहा र दुबईमा विष्फोटका आवाज सुनिएका छन्।
इरानी आक्रमणबाट इजरायलमा १ जनाको ज्यान गएको र सयाैँ घाइते भएका समाचार आएका छन्। यस्तै दुबई, दोहामा भएका आक्रमणबाट पनि केही घाइते भएका स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
तर महत्त्वपूर्ण कुरा, इरानको अबको प्रतिआक्रमण कुन हदसम्म जाने हो हेर्न बाँकी छ। किनकि, इरानभित्रै पनि कट्टर इस्लामिक शासन नरुचाउनेहरू र खामेनीको शासनबाट असन्तुष्ट भएकाहरू सडकमा उत्सव मनाइरहेका छन्।
खामेनीको मृत्युमा खुशी
इरानको प्रेस टीभीले मशहद शहरमा रहेको इमाम रेजाको दरबारमा खामेनीका समर्थकहरूले उनको मृत्युमा शोक मनाएको फुटेज पोस्ट गरेको छ। धेरै मानिसहरू रोइरहेको सुनिन्छन् भने, अरूहरू शोकमा भुईंमा ढलेका देखिन्छन्।
घोषणापछि तेहरानमा उत्सव र आतिशबाजीको रिपोर्ट पनि आएको छ। खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएपछि कतिपय इरानीहरू सडकमा उत्रिएर गीत संगीत बजाउँदै खुशीयाली मनाएका थिए। समाचार एजेन्सी एपीका अनुसार, इरानमा खामेनीप्रति रुष्ट नागरिक धेरै भए पनि ती सबै सडकमा उत्सव मनाउन निस्किएनन्। गत महिना भएको सरकार विरोधी विशाल प्रदर्शनमाथि भएको घातक कारबाहीपछि धेरै इरानीहरू डराएका छन्। हालैका हप्ताहरूमा देशभर हजारौँ प्रदर्शनकारीहरूको हत्याको आदेश दिएकोमा धेरै इरानीहले खामेनी र उनका सुरक्षा बलहरूलाई दोष लगाएका छन्।
ट्रम्पले खामेनीको हत्याको घोषणा गरेको केही घण्टापछि सर्वोच्च नेताको स्थानमा कसलाई लिने भन्ने अमेरिकालाई जानकारी भएको पनि बताएका छन्। अमेरिकी आक्रमणहरू आवश्यक परेसम्म जारी रहने उनको भनाइ छ।
मृत्युलाई ट्रम्पले ठूलो उपलब्धि मानेका छन्। "इतिहासको सबैभन्दा दुष्ट मानिसमध्ये एक, खामेनी अब मरेका छन्," उनले आइतबार बिहानै आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए, "यो इरानका जनताका लागि मात्र होइन, तर खामेनी र उनको रक्तपिपासु गिरोहद्वारा मारिएका वा घाइते भएका महान अमेरिकीहरू र विश्वभरका धेरै देशका जनताका लागि पनि न्याय हो।"
इरानका अन्तिम राजाका निर्वासित छोरा रेजा पहलवीले पनि खामेनीको मृत्युमा खुशी व्यक्त गरेका छन्। अमेरिकामा बस्दै आएका उनले 'हजारौँ इरानीहरूलाई मार्ने खामेनी अब इतिहासको हिस्सा बनेको' सामाजिक सञ्जालमा लेखेका थिए। उनले खामेनीको मृत्युसँगै इस्लामिक गणतन्त्रको प्रभाव समाप्त भएको पनि उल्लेख गरेका छन्।
पहलवीले इरानी अधिकारीहरूलाई नयाँ नेता नचुन्न अपील गर्दै सेना र प्रहरीलाई अब जनतासँग सम्पर्क गर्ने अन्तिम मौका रहेको बताए। "यो हाम्रो महान राष्ट्रिय उत्सवको शुरूआत हो, तर यो अन्त्य होइन," उनले लेखेका छन्। सन् १९७९ को क्रान्तिपछि पहलवी आफ्नो परिवारसहित देश छोडेर अमेरिकामा बस्दै आएका छन्।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पटक-पटक इरानी नागरिकलाई कट्टरपन्थीबाट मुक्ति दिलाउने आश्वासनसहित उपयुक्त नेता चुन्न भन्दै आएका छन्। त्यसैले यतिबेला पहलवीको सत्ता पुनर्गमनको संभावनाबारे पनि बहस हुन थालेको छ। यद्यपि, सजिलो छैन।
मध्यपूर्वमा नेपाली
मध्यपूर्व तथा खाडी क्षेत्र नेपाली श्रमिकका लागि मुख्य श्रम गन्तव्य हो। यूएईमा मात्रै करिब सात लाख नेपाली छन्। त्यस्तै साउदी अरबियामा तीन लाख, त्यति नै संख्यामा कतारमा र पाँच हजार जति नेपाली इजरायलमा रहेको अनाैपचारिक आँकडा छ। यीबाहेक बहराइन, कुवेत, ओमान र इरानमै पनि नेपाली नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन्।
अमेरिका-इजरायलले इरानमा आक्रमण गर्ने सम्भावनाबीच गत माघ १८ गते सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको थियो। अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकालाई भ्रमण स्थगित गर्न समेत भनेको थियो। शनिबार पनि मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीका लागि एड्भाइजरी जारी गरेको थियो।
यस्तै, मध्यपूर्वका देशहरूमा रहेका नेपाली दूतावासहरूले पनि एड्भाइजरी/सूचनाहरू जारी गरिरहेका छन्। साइरन बजेपछि सुरक्षित स्थानमा जान, प्रशासनको निर्देशन मान्न आग्रह गर्दै केही परे सम्पर्क गर्नका लागि दूतावासहरूले सूचना जारी गरेका छन्।
आबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा बस्न तथा होहल्लाको भरमा नलाग्न र पुष्टि नभएका समाचार तस्वीर/भिडियो शेयर/पोस्ट नगर्न सूचित गरेको छ। यस्तै कतार, साउदी, बहराइन, कुवेतलगायत देशमा रहेका नेपाली दूतावासले पनि यस्तै खाले सूचना जारी गरेका छन्।
मध्यपूर्वको युद्ध कति लम्बिने हो भन्न सक्ने अवस्था छैन। यो कुरा इरानले गर्ने प्रत्याक्रमणमा भर पर्ने विश्लेषकहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
