निर्वाचनको माहोलका बीच सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चिततामार्फत आफ्नो जीवनस्तर उकासिने र परम्परागत पहिचान जोगिने आशमा बोटे समुदाय रहेका छन्।
नवलपरासी– यहाँका बोटे समुदाय अझै पनि परम्परागत पेसामै निर्भर छन्। पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला–मजदुरी गर्ने पुर्ख्यौली पेसा नै यस समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो।
शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी शिविरका रनकुमार बोटे आफ्नो समुदायले नयाँ पेसा–व्यवसाय गर्ने सोच राखे पनि पूरा हुन नसकेको बताउँछन्। “हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन। तालिम र रोजगारीको अवसर भए नयाँ काम गर्न सकिन्थ्यो, तर हालसम्म यही पेसामा निर्भर हुनुपरेको छ,” उनले भने।
नदी किनार आसपास बसोबास गर्ने बोटे समुदायका अधिकांश परिवार बिहानै नदीमा पुग्छन्। कसैले जाल हाल्छन् त कसैले डुङ्गा चलाएर जीविका चलाउँछन्। दिनभरको मेहेनतपछि कमाएको थोरै रकमले परिवार धान्नुपर्ने अवस्था रहेको स्थानीय श्यामकुमारी बोटेको भनाइ छ। उनका अनुसार वैकल्पिक रोजगारी नहुँदा नयाँ पुस्ता पनि पुरानै पेसामा बाँधिन बाध्य छन्।
श्यामकुमारी भन्छिन्, “छोराछोरी पढिरहेका छन्, तर पढेपछि के गर्ने भन्ने अन्योल छ। काम गरिखाने सीप सिकाउने तालिम पाए फरक क्षेत्रमा जान सक्थे, जसले सम्मानित जीवन जिउन सहज हुन्थ्यो।”
विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले साविक नारायणी गाविस–३, ४ र कोल्हुवा गाविस–६ नन्दपुरका २३८ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये करिब ३८ बोटे परिवारलाई हालको मध्यविन्दु नगरपालिका–२ शिविर बोटे माझी टोलमा स्थानान्तरण गरिएको थियो। सरकारले दिएको १० धुर जग्गामा उनीहरू वर्षौँदेखि बसोबास गर्दै आएका छन्, तर अझै जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन।
स्थानीय बासिन्दा भन्छन्, “जमिनको स्वामित्व सुनिश्चित भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो। हाल बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा असुरक्षा महसुस हुन्छ।”
सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत मानिएको यस समुदायलाई राज्यले शिक्षा, सीपमूलक तालिम र लक्षित रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय पूर्णिमा बोटेले बताइन्। परम्परागत पेसा संरक्षणसँगै आधुनिक सीप विकास गरिए मात्रै नयाँ पुस्ता गरिबीको रेखाबाट बाहिर निस्कन सक्ने उनको भनाइ छ।
“स्थानीय तहले केही सामाजिक सुरक्षा र आधारभूत सेवा उपलब्ध गराए पनि दीर्घकालीन आयआर्जनका कार्यक्रमको अभाव छ,” पूर्णिमाले भनिन्, “माछा मार्ने पेसालाई सम्मानजनक रूपमा आधुनिकीकरण गर्दै पर्यटन, मत्स्यपालन तथा साना उद्यमसँग जोड्ने गरी सरकारले योजना ल्याउनुपर्छ।”
जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास छ। विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लामा बोटे समुदायको जनसङ्ख्या दुई हजार ४०६ रहेको छ।
बोटे समुदायका ज्येष्ठ नागरिकहरू भन्छन्, “हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ। अब राज्यले हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदियो भने हाम्रो सङ्घर्षको सार्थकता हुनेछ।”
परम्परागत ज्ञान र संस्कृतिको धनी बोटे समुदाय आज पनि जीवनयापनको आधार खोज्दै सङ्घर्षरत छ। सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चितता भए उनीहरूको जीवनस्तर उकासिनुका साथै परम्परागत पहिचान पनि जोगिने विश्वास गरिएको छ। निर्वाचनको माहोल चलिरहेको अवस्थामा यस समुदायले दल तथा तिनका उम्मेदवारबाट यही आशा राखिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
